अनुसूची–१ करका दरहरू

अनुसूची–१ करका दरहरू

(दफा ४ सँग सम्बन्धित)

१. प्राकृतिक व्यक्तिको सम्बन्धमा :

(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२) र (४) का अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ :–

(क) पचपन्न हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,

(ख) पचपन्न हजार रुपैयाँभन्दा बढी तर एकलाख तीसहजार रुपैयाँसम्म करयोग्य आय भएमा पचपन्न हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र

(ग) एक लाख तीस हजार रुपैयाँभन्दा बढीको करयोग्य आय भएमा एकलाख तीसहजार रुपैयाँ सम्मको करयोग्य आयमा रु. ११,२५०।– र एक लाख तीस हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।

(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पत्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ :–

(क) पचहत्तर हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,

(ख) पचहत्तर हजार रुपैयाँभन्दा बढी तर एकलाख पचास हजार रुपैयाँसम्म करयोग्य आय भएमा पचहत्तर हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र

(ग) एकलाख पचासहजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा एक लाख पचासहजार रुपैयाँसम्मको करयोग्य आयमा रु. ११,२५०।– र एकलाख पचासहजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।

(३) यस अनुसूचीको उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछ :–

(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पचपन्न हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा पचहत्तर हजार रुपैयाँभन्दा बढी आय भएको, र

(ख) गैर–व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदअनुरुप करयोग्य आयको गणनामा समावेश भएको ।

(४) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ :–

(क) देहायका रकममध्ये जुन बढी छ सो रकममा सो प्राकृतिक व्यक्ति वा दम्पतीको सो मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ :–

(१) सो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट सो लाभको रकम घटाई बाँकी हुन आउने रकम, वा

(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा पचपन्न हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा पचहत्तर हजार रुपैयाँ ।

(ख) सो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ ।

तर स्वीकृत अवकाश कोषबाट भुक्तानी भएको संचयकोष तथा उपदानमा छ प्रतिशतका दरले मात्र कर कट्टी गर्नु पर्नेछ ।

(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूको लागि यस अनुसूचीको उपदफा (१), (२), (३) र (४) मा उल्लिखित कर नलाग्ने सीमाको रकम पचपन्न हजार रुपैयाँ र पचहत्तर हजार रुपैयाँमा दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा तीसहजार रुपैयाँसम्म बृद्धि गर्न सकिनेछ ।

(६) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिमको सीमा एक लाख रुपैयाँ आय र दश लाख रुपैयाँ बराबरको कारोबार हुनेछ ।

(७) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिमको हुनेछ :–

(क) महानगरपालिका वा उप–महानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुईहजार रुपैयाँ,

(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एकहजार पाँचसय रुपैयाँ,

(ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एकहजार रुपैयाँ ।

(८) गैर बासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चिस प्रतिशतका दरले कर लाग्नेछ ।

(९) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृतिभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागी उपदफा (१) को खण्ड (क) वा दम्पत्तिको लागी उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकम को पच्चीस प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा वमोजिम करको गणना गरिनेछ ।

२. निकायको सम्बन्धमा :

(१) यस दफा को उपदफा (२), (३), (४), (५) र (७) को अधीनमा रही कुनै आय वर्षमा कुनै निकायको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ :–

(२) कुनै आय वर्षमा कुनै बैड्ढ, वित्तीय संस्था, सामान्य बिमा व्यवसाय गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्नेछ ।

स्पष्टीकारण : पेट्रोलियम कार्यको हकमा “करयोग्य आय” भन्नाले पेट्रोलियम सम्झौतामा उल्लिखित कार्यविधि तथा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्धारण भएको करयोग्य आय सम्झनु पर्छ ।

(३) कुनै निकायको नेपालको स्रोतबाट देहाय बमोजिम कुनै आय वर्षमा भएको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

(क) सो निकाय कुनै वर्षभरि पूर्णरुपले यस ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग सञ्चालनमा संलग्न रहेमा,

(ख) सो निकायले,–

(१) कुनै सडक, पुल, टनेल, रोप–वे वा आकाशे पुल निर्माण गरी सञ्चालन गरेमा, वा

(२) कुनै ट्रली बस वा ट्राम सञ्चालन गरेमा ।

(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्था वा संघले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा।

तर देहाय बमोजिमका बचत तथा ऋण सहकारी संस्था वा संघलाई देहाय बमोजिम छुट हुनेछः-

(१)   नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा लाग्ने करको दरमा पचहत्तर प्रतिशत‚

(२)   उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा लाग्ने करको दरमा पचास प्रतिशत।

(३ख) सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको कर योग्य आयमा बीस प्रतिशतको दरले कर लाग्नेछ।

(४) कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

(५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको द्रब्य वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा सो द्रब्य वा ट्रष्ट बासिन्दालाई प्राकृतिक व्यक्ति सरह मानी यस अनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्नेछ ।

(६) कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा दश प्रतिशतका दरले कर लाग्नेछ ।

(७) कुनै आय वर्षमा दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैर– बासिन्दा व्यक्तिको करयोग्य आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ ।