परिच्छेद–३ सैनिक अदालतको कार्यविधि

परिच्छेद–३ सैनिक अदालतको कार्यविधि

 

१५. सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड अधिकृत खटाउनेः (१) प्रधानसेनापति वा निजबाट अधिकार प्राप्त गरेका अधिकृतले सैनिक अदालतको अध्यक्ष वा सदस्यको रूपमा कार्य गर्न ऐनको दफा ६७ को उपदफा (१) बमोजिमका अधिकृत तथा दफा ८१ को उपदफा (१) बमोजिम प्राड विवाक वा प्राड अधिकृतलाई खटाइ दिन सैनिक सचिव विभाग समक्ष अनुरोध गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा सैनिक सचिव विभागले प्राड विवाक वा प्राड अधिकृतलाई निर्धारित मिति, समय र मुकाममा खटाइ दिनु पर्नेछ ।
(३) सैनिक अदालतका अध्यक्ष, सदस्य तथा प्राड विवाक वा प्राड अधिकृत उपस्थित भई शपथ ग्रहण गरेपछि सैनिक अदालत गठन भएको मानिनेछ ।

१६. प्राड विवाक वा प्राड अधिकृतको काम, कर्तव्य र अधिकारः (१) नियम १५ बमोजिम खटिएको प्राड विवाक वा प्राड अधिकृतले कानून र न्यायको विषयमा सैनिक अदालतको अध्यक्ष एवं सदस्यहरूलाई जानकारी गराउनेछ ।
(२) नियम १५ बमोजिम खटिएको प्राड विवाक वा प्राड अधिकृतले सैनिक अदालतको प्रशासकीय अधिकृतको रूपमा समेत काम गर्नेछ ।

१७. विरोध भए वा नभएको सोध्नु पर्नेः (१) सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड विवाक वा प्राड अधिकृत सैनिक अदालतको मुकाममा उपस्थित भइसकेपछि प्राड विवाक वा प्राड अधिकृतले अध्यक्ष र सदस्यहरू उपर अभियुक्तको कुनै किसिमको विरोध छ वा
छैन भनी सोध्नु पर्ने र निजको विरोध नभएमा अनुसूची–३ बमोजिमको ढाँचाको कागजमा अभियुक्तको दस्तखत गराइ मिसिल सामेल राख्नु पर्नेछ ।
(२) सैनिक अदालतको अध्यक्ष वा कुनै सदस्य उपर अभियुक्तको कुनै विरोध भएमा ऐनको दफा ८२ को प्रक्रिया अपनाई सैनिक अदालतको काम कारबाही अगाडि बढाउनु पर्नेछ ।

१८. शपथ ग्रहणः(१) सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले अभियुक्तको रोहबरमा अनुसूची–४ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(२) सैनिक अदालतमा प्राड विवाक वा प्राड अधिकृतले अभियुक्तको रोहबरमा अनुसूची–५ मा तोकिएको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(३) सैनिक अदालतमा साक्षीको रूपमा उपस्थित हुने प्रत्येक व्यक्तिलाई बकपत्र गराउनु अघि अनुसूची– ६ बमोजिमको ढाँचामा शपथ गराउनु पर्नेछ ।

१९. पोशाक सम्बन्धी व्यवस्थाःसैनिक अदालतका अध्यक्ष, सदस्यहरू र प्राड विवाक वा प्राड अधिकृतले ट्युनिक, फरेज क्याप, अफिसर बुट, कालोपेटी, अलङ्कार पदकहरू भएमा सो समेत लगाइ खड्ग सहित सैनिक अदालतमा उपस्थित हुनु पर्नेछ ।

२०. सैनिक अदालतको इजलासःसैनिक अदालतको इजलास सम्बन्धित सैनिक अदालतको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

२१. प्रतिरक्षा सम्बन्धी व्यवस्थाः(१) ऐनको दफा ८१ को उपदफा (२) बमोजिम कुनै कसूरको अभियोगमा मुद्दा चलाईएको अभियुक्तले आफ्नो प्रतिरक्षाको लागि प्राड अधिकृत खटाई पाउँ भनी प्राड विवाकको प्रतिरक्षा शाखामा निवेदन दिन सक्नेछ । त्यस्तो निवेदन
प्राप्त भएमा प्राड विवाकले अभियुक्तको प्रतिरक्षाको लागि प्राड अधिकृतको व्यवस्था गरिदिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खटिएको प्राड अधिकृतले सैनिक अदालतमा उपस्थित भई अभियुक्तको तर्फबाट बहस पैरवी लगायत निजको प्रतिरक्षा सम्बन्धी कार्य गर्नेछ ।
(३) अभियुक्तको तर्फबाट प्रतिरक्षा गर्ने प्राड अधिकृतले अभियुक्तको विरुद्धमा वा निजको प्रतिकूल हुने गरी कुनै प्रमाण लगायतका कुराहरू सैनिक अदालत समक्ष पेश गर्न सक्ने छैन । अभियुक्त र निजको प्रतिरक्षा गर्ने प्राड अधिकृतबीच भएका कुराहरूको बारेमा
सैनिक अदालतमा प्रश्न उठाउन र त्यस्ता कुराहरू सैनिक अदालत समक्ष प्रकट गर्न बाध्य पारिने छैन ।
(४) सैनिक अदालतका अध्यक्ष एवं सदस्यहरूले अभियुक्तको प्रतिरक्षा गर्ने प्राड अधिकृत उपर कुनै पनि किसिमले नकारात्मक असर पर्ने गरी प्रभाव पार्नु हुँदैन र निजले प्रतिरक्षाको सिलसिलामा उठाएका कुनै पनि कुरालाई लिएर निज उपर कुनै नकारात्मक
टीकाटिप्पणी गर्नु हुँदैन ।

२२. अभियुक्तको बयानःसैनिक अदालतले अभियुक्त तथा निजको तर्फबाट उपस्थित प्राड अधिकृतलाई मिसिल कागजात तथा अभियोगपत्र पढी बाँची सुनाएपछि इजलासमा अभियुक्तसँग लिखित बयान लिई अभियुक्तको दस्तखत गराइ राख्नु पर्नेछ । अभियुक्तको बयान कागजकोे शीर पुछारमा सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले दस्तखत गर्नु पर्नेछ ।

२३. प्रारम्भिक सुनुवाई सम्बन्धी व्यवस्थाः(१) अभियोगपत्र दायर भई अभियुक्तको वयान भई सकेपछि सैनिक अदालतले मुद्दाको प्रारम्भिक सुनुवाई गर्नेछ र प्रारम्भिक सुनुवाईको सिलसिलामा सैनिक अदालतले कसूरको मात्रा र कसूर गर्दाको अवस्था समेत विचार गरी
अनुसूची–७ बमोजिमको ढाँचामा देहायकोमध्ये कुनै एक आदेश गर्न सक्नेछः–
(क) अभियुक्तलाई तारेखमा राखी पुर्पक्ष गर्ने,
(ख) अभियुक्तलाई आवश्यक परेका बखत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुर्पक्ष गर्ने,
(ग) अभियुक्तसँग धरौटी वा जमानत माग्ने,
(घ) अभियुक्त भागी जाने वा प्रमाण नष्ट गर्ने सम्भावना भएमा वा पटके कसूरदार भएमा थुनामा राखी पुर्पक्ष गर्ने ।
(२) सैनिक अदालतले उपनियम (१) बमोजिम गरेको आदेशको व्यहोरा अभियुक्तलाई पढी बाँची सुनाइ आदेश सुनी पाएको कागज गराइ राख्नु पर्नेछ ।

२४. पीडितको बयानः सैनिक अदालतले अभियुक्तको रोहबरमा पीडितको बयान गराइ निजको दस्तखत गराइ राख्नु पर्नेछ । पीडितले गरेको बयानको शीर पुछारमा सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले दस्तखत गर्नु पर्नेछ ।

२५. अभिलेख राख्नेः प्राड विवाक कार्यालयले सैनिक अदालतबाट भएको फैसलाको अभिलेख बनाइ सुरक्षित राख्नु पर्नेछ ।

२६. बन्द इजलास सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ७९ को उपदफा (२) बमोजिम राष्ट्रिय सुरक्षा, सार्वजनिक सुव्यवस्था र पीडितको अधिकारको संरक्षण गर्नु पर्ने अवस्थामा बन्द इजलासमा मुद्दाको सुनुवाई गर्दा अभियुक्तको प्रतिरक्षा गर्न उपस्थित भएको प्राड अधिकृत, अभियुक्त, पीडित व्यक्ति एवं निजको संरक्षक तथा सैनिक अदालतले अनुमति दिएका व्यक्तिहरू वाहेक अन्य व्यक्तिहरू उपस्थित हुन सक्ने छैनन् ।
(२) उपनियम (१) बमोजिम बन्द इजलासमा सुनुवाई भएको विषयलाई फैसला हुनु भन्दा अगाडि कुनै किसिमले सार्वजनिक गर्नु हुँदैन ।