परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

(१) यस ऐनको नाम “मानव शरीरको अङ्ग प्रत्यारोपण ( नियमित तथा निषेध) ऐन, २०५५” रहेको छ ।

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “मानव शरीर” भन्नाले जीवित वा मृत मानवको शरीर सम्झनु पर्छ ।

(क१) “मस्तिष्क मृत्यु (ब्रेन डेथ)” भन्नाले मस्तिष्क स्टेम (ब्रेन स्टेम) को मृत्यु सम्झनु पर्छ र सो शब्दले मस्तिष्कको ग्रहण गर्ने (रिसेप्टिभ) र प्रतिक्रियादिन (रेस्पोन्सिभ) क्रियाकलापमा अप्रत्यावर्तनीय क्षति भएको अवस्थालाई समेत जनाउँछ ।

स्पष्टीकरण :

(क) “मस्तिष्क मृत्यु (ब्रेन डेथ)” भन्नाले सेरेब्रेम र स्पाइनल कर्डलाई जोड्ने बीचको मिड ब्रेन, पन्स र मेडुला अब्लङ्गेटा समझनु पर्छ ।

(क२) “अप्रत्यावर्तनीय क्षति (इरिभर्सेवल ड्यामेज” भन्नाले मस्तिक्ष्कको क्रियाकलाप पुनः काममा आउन नसक्ने गरी पूर्ण रुपमा क्षति भएको अवस्था सम्झनु पर्छ ।

(क३) “मन्त्रालय” भन्नाले स्वास्थ्य मन्त्रालय सम्झनु पर्छ ।

(ख) “अङ्ग” भन्नाले मानव शरीरको कुनै अङ्ग सम्झनु पर्छ र सो शब्दले मानव शरीरका तन्तु (टिस्यु) समेतलाई जनाउँछ ।

(ग) “अङ्ग प्रत्यारोपण” भन्नाले आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि एक मानव शरीरको अङ्ग अर्को मानव शरीरमा प्रत्यारोपण गरिने कार्य सम्झनु पर्छ ।

(घ) “अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप” भन्नाले आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मानव शरीरबाट अङ्ग झिक्ने, त्यसरी झिकिएको अङ्ग बैज्ञानिक प्रविधि तथा पद्धती अपनाई सुरक्षित किसिमले सन्चय गर्ने वा अर्को मानवको शरीरमा प्रत्यारोपण गर्ने सम्बन्धी कृयाकलाप सम्झनु पर्छ ।

(ङ) “स्वास्थ्य संस्था” भन्नाले यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप सन्चालन गर्न पाउने गरी अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्था सम्झनु पर्छ ।

(च) “अनुमतिपत्र” भन्नाले अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप सन्चालन गर्न दफा ५ बमोजिम दिइने अनुमतिपत्र सम्झनु पर्छ ।

(छ) “व्यक्तिगत इजाजतपत्र” भन्नाले अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्न दफा ८ को उपदफा (१) बमोजिम दिइने व्यक्तिगत इजाजतपत्र सम्झनु पर्छ ।

(ज) “चिकित्सक” भन्नाले दफा ८ को उपदफा (२) बमोजिमको योग्यता प्राप्त चिकित्सक सम्झनु पर्छ र सो शब्दले दफा १२छ. बमोजिमको चिकित्सकको टोलीलाई समेत जनाउँछ ।

(झ) “समिति” भन्नाले दफा १२ बमोजिम गठित अङ्ग प्रत्यारोपण समन्वय समिति सम्झनु पर्छ ।

(ञ) “दाता” भन्नाले अङ्ग दान गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले मृतकको हकमा त्यस्तो मृतकको अङ्ग दान गर्ने निजको परिवारको सदस्यलाई समेत जनाउँछ ।

स्पष्टीकरण :

“परिवारको सदस्य” भन्नाले प्राथमिकताक्रम अनुसार क्रमशः पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाई, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासु, ससुरा सम्झनु पर्छ ।

(ट) “अङ्ग ग्रहण गर्ने व्यक्ति” भन्नाले यस ऐन बमोजिम दाताले दान गरेको अङ्ग ग्रहण गर्ने व्यक्ति सम्झनु पर्छ ।

(ठ) “नजिकको नातेदार” भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाई, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससूरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फूपु, फूपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाँई, जेठान सम्झनु पर्छ ।

तर धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र धर्मपुत्री राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुट रुपमा नाता सम्बन्ध कायम रहि आएको हुनु पर्नेछ ।

(ड) “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमावलीमा तोकिए बमोजिम सम्झनु पर्छ ।