परिच्छेद–४ अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप

परिच्छेद–४ अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप

१३. अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्न नहुने :

अङ्ग खरिद बिक्री गर्ने वा त्यस्तै प्रकारका अन्य कामको प्रयोजनको लागि अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्नु हुँदैन ।

१४. अङ्ग झिक्न तथा अङ्ग प्रत्यारोपण गर्न सकिने :

यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मात्र मानव शरीरबाट अङ्ग झिक्न र एक मानव शरीरबाट अङ्ग झिकीnअर्को मानव शरीरमा प्रत्यारोपण गर्न सकिनेछ ।

१४क.अङ्ग दान दिन सक्नेः

(१) देहायको व्यक्तिले विरामीलाई आफ्नो अङ्ग दान दिन सक्नेछ :–

(क) विरामीको नजिकको नातेदार,

(ख) दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नु पर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिककको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्यले ।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको अवस्थामा अङ्ग दान दिने वा अङ्ग ग्रहण गर्न चाहने व्यक्तिले सो व्यहोरा खोली स्वीकृतिको लागि तोकिए बमोजिमको समिति
समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त भएको निवेदनको व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिएमा सो समितिले सम्बन्धित व्यक्तिहरुलाई अङ्ग दान वा अङ्ग ग्रहण गर्न स्वीकृति दिन सक्नेछ ।

(४) उपदफा (१) को खण्ड (ख) बमोजिम अङ्ग प्रत्यारोपण गर्ने कार्य समानान्तर रुपमा शल्यचिकित्सा गरी एकै पटक गर्नु पर्नेछ ।

१५. जीवित व्यक्तिको शरीरबाट अङ्ग झिक्न सक्ने :

(१) यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही देहायको अवस्थामा मात्र जीवित व्यक्ति (दाता) को शरीरबाटअङ्ग झिकी त्यस्तो अङ्गसम्बन्धि विरामीकोशरीरमा प्रत्यारोपण गर्न सकिनेछ ।

(क) कुनै विरामीको शरीरको कुनै अङ्ग काम नलाग्ने गरी नासिएको छ र त्यस्तो बिरामीको जीवन रक्षाको लागि निजको शरीरको नासिएको अङ्गको सट्टा अर्को अङ्ग प्रत्यारोपण गर्न आवश्यक छ भनी कम्तीमा दुई जना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको,

(ख) खण्ड (क) बमोजिमको विरामीलाई दाताले आफ्नो नजिकको नातेदारको सहमति सहित स्वेच्छाले अङ्ग दान गर्न लिखित मन्जुरी दिएको, तर कुनै दाताको नजिकको दुईजना नातेदार नभएको अवस्थामा नजिकको एकजना नातेदारको सहमति लिएर पनि स्वेच्छाले अङ्ग दान गर्न लिखित मन्जुरी दिन सकिनेछ ।

(ग) खण्ड (ख) बमोजिम स्वेच्छाले अङ्ग दान गर्न मन्जुरी दिने दाता अठार वर्ष उमेर पूरा भएको,

(घ) खण्ड (ख) बमोजिम मन्जुरी दिने दाताको शरीरको जोडी अङ्ग मध्ये कुनै एक अङ्ग झिक्दा दाता त्यसैको कारणले तत्कालै नमर्ने र स्थायी रुपबाट अशक्त वा अपाङ्ग नहुने भनी कम्तीमा दुईजना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको,

(ङ) दाताको शरीरबाट झिक्न खोजिएको तन्तु पुनर्विकास हुन सक्ने भनी कम्तीमा दुईजना सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएको ।

(२) यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही अठार वर्ष उमेर पूरा नभएको व्यक्तिको शरीरमा कुनै तन्तु पुनर्विकास हुन सक्ने भनी कम्तीमा दुईजना
सम्बन्धित चिकित्सकहरुले प्रमाणित गरिदिएमा त्यस्तो व्यक्तिको शरीरबाट उक्त तन्तु झिक्न यस दफाले कुनै बाधा पुयाएको मानिने छैन ।

(३) कुनै व्यक्तिको उपचारको सिलसिलामा निजको शरीरमा रहेको काम नलाग्ने अङ्ग झिकेर फयाक्न यस दफाले कुनै बाधा पुयाएको मानिने छैन ।

(४) उपदफा (१) को खण्ड (ख) बमोजिम सहमति तथा मन्जुरी दिने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

(५) उपदफा (१) को खण्ड (ख) बमोजिम दिएको मन्जुरी दाताले चाहेमा फिर्ता लिन सक्नेछ ।

(६) उपदफा (५) बमोजिम दाताले मन्जुरी फिर्ता लिएमा अङ्ग ग्रहण गर्ने व्यक्तिले दाता उपर कुनै प्रकारको क्षतिपूर्ति दावी गर्न पाउने छैन ।

१६. मृत व्यक्तिको शरीरबाट अङ्ग झिक्न सकिनेः

(१) यस ऐनमा लेखिएका अन्य व्वस्थाहरुको अधीनमा रही देहायको अवस्थामा मात्र कुनै मृत व्यक्तिको शरीरबाट अङ्गnझिक्न वा त्यसरी झिकिएको अङ्ग अन्य कुनै व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिनेछ :–

(क) जुन व्यक्तिको शरीरबाट अङ्ग झिक्ने हो सो व्यक्तिको मस्तिष्क मृत्यु भइसकेकोसम्बन्धित चिकित्सकले घोषणा गरेको,

(ख) मृत्यु पश्चात् दफा १४ को प्रयोजनको लागि आफनो अङ्ग दान गर्न चाहने व्यक्तिले जानीबुझी स्वेच्छाले लिखित मन्जुरी दिएको,

(ग) खण्ड (ख) बमोजिम मञ्जुरी नभएको अवस्थामा मृतकको परिवारको कुनै सदस्यले मृतकको शरीरको अङ्ग दान गर्न लिखित मञ्जुरी दिएको ।तर मृतकले जीवित छँदै आफ्नो शरीरको अङ्ग दान नगर्ने लिखित रुपमा इच्छा व्यक्त गरेको भए परिवारको सदस्यले त्यस्तो मृतकको शरीरको अङ्ग दान गर्न सक्ने छैन ।

(२) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम मन्जुरी दिने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

१६क.सव परीक्षण गर्नु अघि अङ्ग झिक्न सक्ने ः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मृतकको दूर्घटनाबाटै मृत्यु भएको कुरामा तोकिए बमोजिमको समिति विश्वस्त भएमा सो समितिको स्वीकृतिमा मृतकको सव परीक्षण गर्नु अघि निजको शरीरबाट अङ्ग झिक्न सकिनेछ ।

१७. मृत व्यक्तिको शरीरको अङ्ग प्रत्यारोपण गर्न नहुने :

दफा १६ वा १६क. मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्तव्य वा आत्महत्याद्वारा वा शड्ढास्पद अवस्थामा मृत्यु भएकोव्यक्तिको सव परीक्षणमा असर पर्न सक्ने गरी कुनै पनि मृत व्यक्तिको शरीरबाट अङ्ग झिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न हुँदैन । तर त्यस्तो मृत व्यक्तिको सव परीक्षण वा अन्य कुनै अनुसन्धानको प्रयोजनको
लागि अङ्ग झिक्न यस दफाले कुनै बाधा पु¥याएको मानिने छैन ।

१७क.प्राथमिकताको सूची बनाउनु पर्ने :

स्वास्थ्य संस्थाले मृतकको शरीरबाट झिकिएको अङ्ग प्रत्यारोपण गर्ने प्रयोजनको लागि अङ्ग ग्रहण गर्ने व्यक्तिको तोकिए बमोजिम प्राथमिकताक्रमको सूची बनाई अद्यावधिक गरी राख्नु पर्नेछ ।

१७ख.समन्वय इकाई तोक्ने :

(१) दफा १२घ. बमोजिम मस्तिष्क मृत्युको घोषणा भएका व्यक्तिको अङ्ग झिक्ने, झिकेका अङ्गलाई सुरक्षित रुपमा राख्ने, अङ्ग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अङ्गलाई तोकिए बमोजिमको प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने प्रयोजनका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समन्वय इकाई तोक्नेछ ।

(२) उपदफा (१) बमोजिम समन्वय इकाई नतोकिएसम्म मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले समन्वय इकाईको काम गर्नेछ ।

(३) कुनै अस्पताल वा स्वास्थ्य केन्द्रको दफा १२घ. बमोजिम कुनै व्यक्तिको मस्तिष्क मृत्युको घोषणा गरेमा समन्वय इकाईलाई तुरुन्त जानकारी गराउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको जानकारी प्राप्त हुन आएमा समन्वय इकाईले सम्बन्धित स्वास्थ्य संस्थासँग अङ्ग प्रत्यारोपण गर्नको लागि समन्वय गर्नु पर्नेछ ।

(५) मस्तिष्क मृत्युको घोषणा गर्ने सम्बन्धित अस्पताल वा स्वास्थ्य केन्द्रले समन्वय इकाईलाई अङ्ग झिक्ने व्यवस्थाको लागि आवश्यक पर्ने भौतिक सुविधा तथा जनशक्ति उपलब्ध गराउनु पर्नेछ ।

(६) समन्वय इकाईको अन्य कार्य तोकिए बमोजिम हुनेछ ।

१७ग.रकम उपलब्ध गराउन सक्नेः

दफा १२घ. बमोजिम मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप भए पश्चात्मस्तिष्क मृत्युको घोषणा गर्ने अस्पताल वा स्वास्थ्य केन्द्र, अङ्ग प्रत्यारोपण गर्ने स्वास्थ्य संस्था र मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको परिवारको सदस्यलाई नेपाल सरकारले तोकिए बमोजिमको रकम उपलब्ध गराउन सक्नेछ ।

१८. सम्भावित खतराप्रति सजग गराउनु पर्ने :

यस ऐन बमोजिम चिकित्सकले अङ्ग झिक्दा तथा अङ्ग प्रत्यारोपण गर्दा दाता र अङ्ग ग्रहण गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरी त्यसबाट निजहरुको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असर तथा खतराप्रति दुवै पक्षलाई जानकारी गराउनु पर्नेछ ।

१९. अङ्ग ग्रहण गर्ने व्यक्तिको मन्जुरी हुनुपर्ने :

(१) यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण गर्दा अङ्ग ग्रहण गर्ने व्यक्तिको पनि मन्जुरी हुनु पर्नेछ ।

(२) अङ्ग ग्रहण गर्ने व्यक्ति नाबालक तथा निर्णय गर्न नसक्ने अवस्थाको भएमा त्यस्तो व्यक्तिको तर्फबाट निजको नजिकको नातेदारले त्यस्तो मन्जुरी दिन सक्नेछ ।

२०. मन्जुरी बिना अङ्ग प्रत्यारोपण गर्न सकिने :

दफा १९ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायकोअवस्थामा अङ्ग ग्रहण गर्ने व्यक्तिको परिवारको सदस्यको मन्जुरी नभए तापनि अङ्ग प्रत्यारोपण गर्न सकिनेछ :–

(क) अङ्ग ग्रहण गर्ने व्यक्ति बेवारिस भएमा,

(ख) अङ्ग ग्रहण गर्ने व्यक्तिको नजिकको नातेदारलाई उचित समयमा सूचना दिई मन्जुरी लिन नसकिने भएमा,

(ग) खण्ड (क) र (ख) बमोजिमकोअवस्थामा तत्काल अङ्ग प्रत्यारोपण नगरेमा त्यस्तो व्यक्तिको मृत्यु हुन सक्ने सम्भावना भएमा ।

२१. लागत खर्च तथा सेवा शुल्क :

स्वास्थ्य संस्थाले यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण गर्दा अङ्ग ग्रहण गर्ने व्यक्तिबाट लागत खर्च तथा सेवा शुल्क लिन सक्नेछ ।तर,

(क) त्यस्तो सेवा शुल्कको दर समितिबाट स्वीकृत भएको हुनु पर्नेछ ।

(ख) त्यस्तो सेवा शुल्कको दर समितिले निर्देश गरे बमोजिम प्रकाशन गरेको हुनु पर्नेछ ।

(ग) त्यस्तो सेवा शुल्कको दर उचित र मनासिव हुनु पर्नेछ ।

२२. अङ्ग झिक्दा वा अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने प्राविधिक कुराहरु :

यस ऐन बमोजिम अङ्ग झिक्दा वा झिकिएको अङ्गको सुरक्षित रुपमा संचय गर्दा वा अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने आधुनिक चिकित्साशास्त्र सम्बन्धी प्राविधिक कुराहरु तोकिए बमोजिम हुनेछ ।