परिच्छेद–८ जाँचपास पछिको परीक्षण, खानतलासी तथा पक्राउ सम्बन्धी व्यवस्था

परिच्छेद–८ जाँचपास पछिको परीक्षण, खानतलासी तथा पक्राउ सम्बन्धी व्यवस्था

३४. जाँचपासपछि परीक्षण गर्न सकिने : (१) भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तु पैठारीकर्ताले घोषणा गरे बमोजिमको मालवस्तु हो वा होइन वा पैठारीकर्ताले गरेको घोषणा अनुरुप भए वा नभएको यकिन गर्न महानिर्देशक वा भन्सार अधिकृतले कुनै पैठारीकर्ताको मालवस्तु खरिद, पैठारी वा बिक्री सम्बन्धी खाता, स्रेस्ता अभिलेख वा अन्य यस्तै कागजात, बैङ्क अभिलेख, कम्प्यूटर प्रणाली लगायत निजको व्यवसायसँग सम्बन्धित सम्पूर्ण अभिलेख परीक्षण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा पैठारीकर्ताले पैठारी गरेका मालवस्तु निजले घोषणा गरेकोभन्दा भिन्न मालवस्तु पाइएमा वा निजले गरेको घोषणा अनुरुप नभएको देखिएमा वा कारोबार मूल्य वा मालवस्तुको परिमाण घटी घोषणा गरेको देखिएमा र सो कारणले घटी महसुल असूल भएको देखिएमा भन्सार अधिकृतले त्यसरी घटी भएको मूल्य वा परिमाणमा पैठारी हुँदाका बखत लाग्ने महसुल निजबाट तत्काल असूल गरी घटी कारोबार मूल्य वा परिमाण घोषणा गरेबापत निजलाई यस ऐन बमोजिम कारबाही गर्नेछ ।

(३) उपदफा (१) बमोजिम परीक्षण गर्दा मालवस्तुको वर्गीकरणको उपशीर्षक फरक परेको कारणले कम महसुल असूल भएको देखिएमा त्यस्तो कम महसुल रकम सम्बन्धित भन्सार कार्यालयले पैठारीकर्ताबाट तत्काल असूल गर्नेछ ।

(४) यस दफा बमोजिमको परीक्षण मालवस्तु जाँचपास भएको मितिले चार वर्षसम्म गर्न सकिनेछ ।

 

३५. मालवस्तु तथा व्यक्ति भन्सार अधिकृत समक्ष पेश गर्नु पर्ने : कुनै व्यक्तिले दफा ३ बमोजिम तोकिएको बाटोबाट नलगी वा चोरी, छली मालवस्तु निकासी वा पैठारी गरेको वा गर्न लागेको भन्सार कार्यालयको कर्मचारीले वा महानिर्देशकले खटाएको कुनै अधिकारीले फेला पारेमा निजले त्यस्तो मालवस्तु र सो मालवस्तु लिई जाने व्यक्ति तथा सवारी साधन पक्राउ गरी भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ । त्यसरी पेश हुन आएको मालवस्तु, व्यक्ति र सवारी साधनउपर भन्सार अधिकृतले चोरी निकासी वा चोरी पैठारीको कसूरमा कारबाही चलाउनेछ ।

 

३६. शङ्का लागेमा वा आधार भएमा तलासी गर्ने : कसैले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी वा चोरी पैठारी गरी ल्याएको छ वा चोरी निकासी गरी लिई जान लागेको छ वा प्रतिबन्धित मालवस्तु निकासी वा पैठारी गरेको छ वा गर्न लागेको छ भनी विश्वास गर्नु पर्ने मनासिब आधार वा कारण भएमा वा शङ्का लागेमा भन्सार कार्यालयको जुनसुकै कर्मचारीले त्यस्तो व्यक्ति वा जुनसुकै साधनलाई रोक्का गर्न र त्यस्तो व्यक्ति वा त्यस्तो सवारी साधनको तलासी लिन सक्नेछ ।

 

३७. तलासी लिइने व्यक्तिले तलासी हुनुभन्दा अगाडि आफूलाई भन्सार अधिकृत छेउ पेश गराउन माग गर्न सक्ने : (१) भन्सार अधिकृत वा सो प्रयोजनको लागि तोकिएको कर्मचारी बाहेक अरु कुनै कर्मचारीले दफा ३६ बमोजिमको तलासी लिन चाहेकोमा सम्बन्धित व्यक्तिलेत्यस्तो तलासी लिनुभन्दा अगाडि आफूलाई भन्सार अधिकृत समक्ष पेश गराउन माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम भन्सार अधिकृत समक्ष पेश गराउन माग भएकोमा सम्बन्धित भन्सार कार्यालयका कर्मचारीले कुनै ढिला सुस्ती नगरी निजलाई भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम पेश गरिएको व्यक्तिको तलासी लिनु पर्ने मनासिब आधार  देखेमा भन्सार अधिकृतले निजको तलासी आफै लिन वा आफू मातहतका कर्मचारीलाई लिन लगाउनेछ र त्यस्तो आधार नदेखेमा निजलाई तुरुन्त छोडिदिनेछ ।

 

३८. चोरी पैठारी वा चोरी निकासी गरेको मानिने : दफा ३६ वा ३९ बमोजिम तलासी लिंदा भन्सार महसुल लाग्ने वा यस ऐन बमोजिम घोषणा गरी पैठारी वा निकासी गर्नु पर्ने मालवस्तु बरामद भएकोमा भन्सार अधिकृतले तलासी लिएको व्यक्तिलाई सो मालवस्तुको प्रज्ञापनपत्र र भन्सार महसुल लाग्ने मालवस्तु भए महसुल तिरेको निस्सा पेश गर्न आदेश दिनेछ । निजले त्यस्तो प्रज्ञापनपत्र वा निस्सा पेश गर्न नसकेमा चोरी पैठारी वा चोरी निकासी गरेको मानिनेछ ।

 

३९. घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिने : (१) कसैले भन्सार महसुल छली वा चोरी पैठारी गरी ल्याएको मालवस्तु कुनै घर, भवन, गोदाम वा अन्य कुनै पनि ठाउँमा लुकाएको वा राखेको छ भन्ने विश्वास वा शङ्का गर्नु पर्ने मनासिब कारण भएमा महानिर्देशकले वा सम्बन्धित भन्सार अधिकृतले कारण सहितको निर्णय गरी त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिन वा लिन लगाउन आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम आदेश पाउने कर्मचारीले त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिनुअघि सो घर, भवन, गोदाम वा ठाउँको धनी वा सो घर, भवन, गोदाम वा ठाउँमा तत्काल वसोवास गरिरहेका व्यक्तिलाई त्यसरी खानतलासी लिनु परेको कारण समेत खोली सूचना दिनु पर्नेछ । त्यस्तो धनी वा व्यक्तिले त्यस्तो सूचना बुझ्न नमानेमा सो सूचनाको एक प्रति त्यस्तो घर, भवन, गोदाम वा ठाउँको सबैले देख्ने स्थानमा टाँसी दिनु पर्नेछ र त्यसरी सूचना टाँस भएपछि सम्बन्धित धनी वा व्यक्तिले खानतलासीको सूचना रीतपूर्वक पाएको मानिनेछ ।

(३) उपदफा (२) बमोजिम सम्बन्धित धनी वा व्यक्तिलाई सूचना दिएपछि निजले खानतलासी लिन खटिएका कर्मचारीलाई त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिन दिनु पर्नेछ ।

(४) उपदफा (२) र (३) बमोजिम खानतलासी लिन कुनै व्यक्तिले बाधा विरोध गरेमा खानतलासी लिन खटिएका कर्मचारीले खानतलासी लिनु पर्ने घर, भवन, गोदाम वा अन्य कुनै ठाउँमा बसिरहेका व्यक्तिलाई हट्ने सूचना र मौका दिनु पर्नेछ । यसरी हट्ने सूचना र मौका दिंदा दिंदै पनि निजहरु नहटेमा त्यस्तो कर्मचारीले सुरक्षा निकायको सहयोगमा आवश्यक बल समेत प्रयोग गरी खानतलासी लिनु पर्ने घर, भवन, गोदाम वा ठाउँको बाहिरी वा भित्री ढोका झ्याल वा छेस्कीनी खोली वा फोरी सूर्योदयदेखि सूर्यास्तभित्र कुनै पनि समयमा खानतलासी लिन सक्नेछ ।

(५) यस दफा बमोजिम खान तलासी लिंदा खान तलासी लिने कर्मचारीले उपलब्ध भएसम्म सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष वा वडा सदस्य वा कुनै कार्यालयको कर्मचारी वा घर धनी वा निजको प्रतिनिधि वा सोह्र वर्ष उमेर पुगेको कुनैव्यक्तिलाई साक्षी राखी तलासी लिनु पर्नेछ । त्यस्तो साक्षी बस्ने मानिस फेला नपरेमा वा निजले साक्षी बस्न इन्कार गरेमा सोही व्यहोराको कैफियत जनाई तलासी लिने कर्मचारीले सहीछाप गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिम खानतलासी लिंदा भन्सार छली वा चोरी पैठारी गरी ल्याएका मालवस्तु बरामद भएमा त्यसरी खानतलासी लिने कर्मचारीले त्यस्ता मालवस्तु आफ्नो कव्जामा लिई त्यस्ता मालवस्तुको विवरण खोलिएको फेहरिस्त तयार गरी सोको एक प्रति खानतलासी लिएको घर, भवन, गोदाम वा सो ठाउँको सम्बन्धित व्यक्तिलाई तत्काल बुझाइदिनु पर्नेछ । सम्बन्धित व्यक्तिले बुझ्न नमानेमा वा बुझाउन नसकिएमा दुईजना साक्षीको रोहवरमा मुचुल्का गरी टाँस गर्नु पर्नेछ । यसरी टाँस गरिएकोमा सम्बन्धित व्यक्तिलाई बुझाए सरह मानिनेछ ।

(७) उपदफा (६) बमोजिमका मालवस्तु तथा फेहरिस्त त्यस्तो कर्मचारीले सम्बन्धित भन्सार अधिकृत समक्ष दाखिला गर्नु पर्ने छ र त्यसरी दाखिला भएपछि भन्सार अधिकृतले यस ऐन बमोजिम कारबाही गर्नेछ ।

 

४०. पक्राउ गर्न सक्ने : (१) दफा ३६ वा ३९ बमोजिम तलासी लिँदा कुनै व्यक्तिले यस ऐन अन्तर्गतको कसूर गरेको देखिन आएमा त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर गर्ने व्यक्ति तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा सबूत नष्ट गर्ने मनासिब कारण भएमा वा कसूरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा वा कसूर गरिरहेको अवस्थामा फेला परेमा भन्सार अधिकृत वा निजबाट अधिकार प्राप्त भन्सार कार्यालयका अन्य कर्मचारीले त्यस्तो व्यक्तिलाई जुनसुकै ठाउ“मा पक्राउ गर्न वा गर्न लगाउन सक्नेछ ।

 

४१. नगद धरौटीमा छाड्न वा हिरासतमा राख्न सकिनेः (१) दफा ४० को उपदफा (३) बमोजिम पेश भएको व्यक्ति तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिएमा भन्सार अधिकृतले निजलाई यस ऐन बमोजिम हुनसक्ने कैद र जरिबाना बापतको रकम र बिगो समेत असूल गर्नु पर्नेमा कायम हुन सक्ने बिगोबराबरको रकम समेतको नगद धरौटी लिई तोकिदिएको समय र स्थानमा हाजिर हुने गरी छाड्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम माग भएको नगद धरौटी पेश गर्न नसक्ने व्यक्तिलाई त्यस्तो नगद धरौटी भन्सार कार्यालयमा दाखिला नगरेसम्म निजलाई हिरासतमा राखिनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई नगद धरौटीमा छाड्दा निजले प्रमाण लोप गर्न सक्ने आधार देखिएमा भन्सार अधिकृतले कारण खोली त्यस्तो व्यक्तिलाई थुनामा राखी कारबाही अगाडि बढाउन सक्नेछ ।

(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई हिरासतमा राख्दा निजलाई यस ऐन बमोजिम हुने कैदको अधिकतम अवधिभन्दा बढी हिरासतमा राखिने छैन ।

(५) उपदफा (१) बमोजिम दण्ड बापतको धरौटी लिंदा एक दिन कैद बरावर पचास रुपैयाँका दरले लिनु पर्नेछ ।

 

४२. फरार व्यक्तिलाई पछि पक्रन हुने : यस ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य गर्ने व्यक्तिलाई कसूर गर्दाकै बखत पक्रन नसकिएमा वा पक्राउ गरिएको भएपनि निज फरार भएमा भन्सार अधिकृतले वा निजले अधिकार दिएको कर्मचारीले वा सो कार्यका लागि खटिएको कर्मचारीले निजलाई जुनसुकै बखत पक्राउ गर्न सक्नेछ । त्यसरी पक्रिएको व्यक्तिउपर कसूर गरेका बखत पक्रिए सरह कारबाही हुनेछ ।

 

४३. अधिकतम बल प्रयोग गर्न सक्नेः (१) कसैले दफा ३ बमोजिम तोकिएको बाटोबाहेक अन्यत्रबाट मालवस्तु निकासी वा पैठारी गर्न लागेमा भन्सार अधिकृत वा निजबाट अधिकारप्राप्त भन्सार कार्यालयका कर्मचारी वा अधिकारप्राप्त सरकारी कर्मचारीले निजलाई रोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम रोक्न खोज्दा निजले त्यस्तो अधिकृत वा कर्मचारीलाई हुलहुज्जत वा जोरजुलुम गरेमा भन्सार अधिकृत वा त्यस्तो कर्मचारीले निजलाई त्यसो नगर्न सम्झाउनु बुझाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम सम्झाउँदा बुझाउँदा पनि निजले हुलहुज्जत वा जोरजुलुम गरेमा भन्सार अधिकृत वा त्यस्तो कर्मचारीले निजलाई पक्राउ गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम पक्राउ गर्न खोज्दा निजले जोरजुलुम गरेमा वा भाग्न उम्कन खोजेमा र तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्यको पालनाको निम्ति त्यस्तो भन्सार अधिकृत वा अधिकारप्राप्त अधिकारीको आदेशले घटनास्थलमा सुरक्षाको लागि खटिएका कर्मचारीले त्यस्तो घटना रोक्न पहिले हवाई फायर गर्ने र त्यसो गर्दा पनि स्थिति नियन्त्रण नभए वा हुलहुज्जत गर्ने व्यक्तिसँग समेत हतियार भएमा कम क्षति हुने गरी गोली समेत चलाउन सक्नेछ ।

(५) दफा ३ अन्तर्गत तोकिएको बाटो गरी सवारी साधनबाट आवत जावत गर्ने कुनै व्यक्तिलाई भन्सार कार्यालयको कर्मचारीले त्यस्तो सवारी साधन समेत रोक्न वा रोक्न लगाउन आदेश दिन सक्नेछ । त्यस्तो आदेश नमानी हुलहुज्जत वा जोरजुलुम गरी त्यस्तो सवारी साधन नजँचाई भगाउने प्रयत्न गरेमा वा भगाएमा त्यस्तो सवारी साधनको पाङ्ग्रामा भन्सार अधिकृतको आदेशले भन्सारमा सुरक्षाको निमित्त खटिएका कर्मचारीले कम क्षति हुने गरी गोली चलाउन सक्नेछ ।

(६) उपदफा (४) र (५) बमोजिम गोली चलाउन परेको अवस्थामा सो कुराको जानकारी भन्सार अधिकृत वा अधिकारप्राप्त अधिकारीले छिटो साधनद्वारा महानिर्देशक तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ ।