परिच्छेद–१४ विविध

परिच्छेद–१४ विविध

६८. बौद्धिक सम्पत्तिउपरको अधिकार उल्लङ्घन गरी निकासी वा पैठारी हुन लागेको मालवस्तु रोक्का गर्न निवेदन दिन सक्ने : (१) प्रचलित कानून बमोजिम कुनै व्यक्तिले प्राप्त गरेको पेटेण्ट, डिजाइन, ट्रेडमार्क, प्रतिलिपि अधिकार जस्ता बौद्धिक सम्पत्तिउपरको अधिकार उल्लङ्घन गरी कसैले कुनै मालवस्तु पैठारी वा निकासी गर्न लागेमा सराकोरवाला व्यक्तिले त्यस्तो निकासी वा पैठारी रोक्का गर्न प्रमाण सहित सम्बन्धित भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो मालवस्तु भन्सार कार्यालयमा रोक्का राखी सो सम्बन्धमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम लेखिआएमा त्यस्तो निकाय वा अधिकारीले सो सम्बन्धमा प्रचलित कानून बमोजिम कारबाही टुङ्गोलगाई भन्सार कार्यालयलाई जानकारी दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको निकाय वा अधिकारीले प्रचलित कानून बमोजिम कारबाही गर्दा त्यस्ता मालवस्तु जफत हुने ठहर गरेमा भन्सार अधिकृतले सो मालवस्तु त्यस्तो निकाय वा अधिकारी समक्ष बुझाइदिनु पर्नेछ ।

 

६९. भन्सार कार्यालय वा गोदाममा रोक्का रहेका मालवस्तुको क्षतिपूर्ति : (१) भन्सार कार्यालय वा गोदाममा रहेका मालवस्तु भन्सार कार्यालय वा गोदामले क्षति नहुने गरी सुरक्षित रुपमा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमका मालवस्तु चोरिएमा, हराएमा वा प्राकृतिक प्रकोप वा दुर्घटनाको कारणले वा मालवस्तु राख्ने वा उठाउने क्रममा स्वाभाविक रुपमा हुन सक्ने टुटफुट बाहेक अन्य कुनै कारणबाट नष्ट भएमा, क्षति भएमा वा क्षति गरिएमा भन्सार कार्यालय वा सो गोदाम सञ्चालन गर्ने निकायबाट सो मालवस्तुको धनीले त्यस्तो मालवस्तुको क्षतिपूर्ति तोकिए बमोजिम भराई लिन पाउनेछ ।

तर, त्यस्तो मालवस्तुमा निजको हक स्थापित नभई निजले क्षतिपूर्तिको दाबी गर्नसक्ने छैन ।

 

७०. पुनरावलोकन गर्न सक्ने : (१) भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तुको प्रज्ञापनपत्र मालवस्तु जाँचपास भएको मितिले चार वर्षभित्र सम्बन्धित भन्सार अधिकृत वा निजले खटाएको कर्मचारीले पुनरावलोकन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावलोकन गर्दा असूल गर्नु पर्ने महसुल असूल गर्न छुट भएको देखिएमा त्यस्तो मालवस्तुको धनीबाट त्यसरी छुट भएको महसुल सरकारी बाँकी सरह असूलउपर गरिनेछ ।

 

७१. चोरी निकासी वा पैठारी पक्राउ गर्ने वा सुराक दिने व्यक्तिलाई पुरस्कार दिनेः (१) कसैले कुनै मालवस्तु चोरी निकासी वा पैठारी गर्न लागेको वा गरेको कुराको सुराक दिने वा त्यस्तो मालवस्तु पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गर्ने कर्मचारी वा व्यक्तिलाई त्यस्तो कार्य प्रमाणित हुन आएमा तोकिए बमोजिम पुरस्कार दिइनेछ ।

(२) उपदफा (१) बमोजिमको पुरस्कार सम्बन्धित भन्सार कार्यालयले त्यस्तो चोरी निकासी वा पैठारी भएको मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट दिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले त्यस्तो मालवस्तु कुनै सरकारी निकायलाई प्रयोग गर्न दिने निर्णय गरेमा सो निकायले तोकिएको समितिबाट सो मालवस्तुको मूल्य निर्धारण गराई सो मूल्यको आधारमा उपदफा (१) बमोजिमको पुरस्कारको रकम सम्बन्धित भन्सार कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ र भन्सार कार्यालयले सो रकम सुराकी र पक्राउ गर्ने सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनेछ ।

(४) भन्सार कार्यालयले उपदफा (१) बमोजिम चोरी निकासी वा पैठारीको सुराक दिने सुराकीको नाम, थर र विवरण गोप्य राख्नु पर्नेछ ।

(५) प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको सुराकीको नाम, थर र विवरण कानूनबमोजिम अनुसन्धान गर्ने निकायले अनुसन्धानको सिलसिलामा वा अदालतबाट माग भएकोमा बाहेक कुनै व्यक्ति वा निकायलाई उपलब्ध गराउन भन्सार अधिकृत बाध्य हुने छैन र सुराकी दिएको कारणलेमात्र निजलाई कुनै अदालत, निकाय वा कार्यालयमा उपस्थित हुन बाध्य गरिने छैन ।

(६) सुराकी प्रतिवेदन लिने तथा पुरस्कार वितरण गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

७२. विलम्ब शुल्क (डेमरेज) लाग्नेः (१) भन्सार कार्यालयले सञ्चालन गरेको भन्सार गोदाममा रहेका मालवस्तुहरु त्यस्तो मालवस्तुको धनीले तोकिएको म्यादभित्र जाँचपास गराई नलगेमा तोकिए बमोजिमकोविलम्ब शुल्क (डेमरेज) लाग्नेछ ।

तर, मालवस्तुको मूल्याङ्कन गर्न, वर्गीकरण गर्न वा अन्य कुनै कारणले भन्सार अधिकृतलाई द्विविधा भई जाँचपास हुन नसकेका मालवस्तुको विलम्ब शुल्क (डेमरेज) लाग्ने छैन ।

(२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि कुनै मालवस्तुमा लागेको विलम्ब शुल्क (डेमरेज) कुनै खास परिस्थिति वा अवस्था सिर्जना भएका कारणले मिनाहा दिनु पर्ने मनासिब कारण भएमा तोकिएको अधिकारीले तोकिए बमोजिम आंशिक वा पूर्णरुपले मिनाहा दिन सक्नेछ ।

 

७३. जरिबाना नतिरेसम्म मालवस्तु उठाउन नपाउने : कुनै मालवस्तुको सम्बन्धमा सो मालवस्तुको धनीलाई यस ऐन बमोजिम जरिबाना वा बढी महसुल लागेमा सो जरिबाना वा बढी महसुल नतिरेसम्म निजले त्यस्तो मालवस्तुभन्सार कार्यालयबाट उठाउन पाउने छैन ।

 

७४. छुट रकम वा जरिबाना तिर्नुपर्ने : (१) यस ऐन वा प्रचलित कानून बमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा बुझाउनु पर्ने महसुल, जरिबाना वा अन्य कुनै रकम कुनै मालवस्तुको मूल्याङ्कन वा वर्गीकरण गर्दा वा गणितीय भूल वा अन्य कुनै कारणले छुट भएको कुरा पछिबाट देखिन आएमा त्यसरी छुट भएको रकम त्यस्तो भन्सार कार्यालयलेनिजबाट तुरुन्त असूलउपर गर्नेछ ।

(२) सम्बन्धित व्यक्तिले उपदफा (१) बमोजिमको रकम नबुझाएमा सो कार्यालयले निजको कारोबार रोक्का राखी सोही कार्यालय वा अन्य भन्सार कार्यालयमा रहेको निजको जुनसुकै मालवस्तु तोकिए बमोजिम लिलाम गरी वा गर्न लगाई सो रकम असूलउपर गर्नेछ ।

(३) उपदफा (२) बमोजिम लिलाम गर्दा वा गर्न लगाउँदा प्राप्त भएको रकमबाट समेत उपदफा (१) बमोजिमको महसुल रकम वा जरिबाना असूलउपर हुन नसकेमा सो महसुल वा जरिबाना वा रकम निजबाट सरकारी बाँकी सरह असूलउपर गरिने छ ।

 

७५. भन्सार महसुल वा जरिबाना फिर्ता दिने : (१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्दा कानून बमोजिम लाग्नेभन्दा बढी भन्सार महसुल बुझाएको रहेछ भने सम्बन्धित भन्सार कार्यालयले निजलाई त्यस्तो बढी भन्सार महसुल तोकिए बमोजिम फिर्ता दिनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा भन्सार महसुल फिर्ता हुने छैन :–

(क) मालवस्तु छुटाएको साठी दिनभित्र त्यस्तो महसुल फिर्ता लिन सम्बन्धित भन्सार कार्यालयमा निवेदन नदिएमा, वा

(ख) फिर्ताको लागि दाबी गरिएको अङ्क पाँच सय रुपैयाँभन्दा कम भएमा ।

(३) भन्सार अधिकृतले असूल गरेको महसुल वा जरिबानाउपर यस ऐन बमोजिम परेको पुनरावेदनउपर निर्णय हुँदा त्यसरी असूल भएको सबै वा केही महसुल वा जरिबाना नलाग्ने गरी निर्णय भएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सो निर्णयउपर थप पुनरावेदन नलाग्ने अवस्थामा वा अनुमति प्राप्त नहुने भनी सम्बन्धित अदालतबाट निर्णय भएपछि मात्र भन्सार अधिकृतले सम्बन्धित व्यक्तिलाई त्यस्तो भन्सार महसुल वा जरिबाना फिर्ता दिनेछ ।

 

७६. मालवस्तुको धनी वा एजेन्टमा जिम्मेवारी रहने : (१) भन्सार कार्यालयबाट दफा २८ वा २९ बमोजिम जाँच गरी दफा २३ बमोजिम जाँचपास गरिएको मालवस्तु पछि अधिकारप्राप्त अधिकारीले भन्सार क्षेत्रभित्र वा बाहिर खोली जाँच गर्दा पैठारीकर्ताले पेश गरेको बील, बीजक अन्य कागजात वा विवरणसँग भारी वा पोकाभित्रको मालवस्तु वा अदत फरक देखिएमा सोको जिम्मेवारी मालवस्तुको धनी वा निजको एजेन्टमा रहनेछ ।

(२) कुनै मालवस्तु कानून बमोजिम पैठारी गरी ल्याएको हो वा सो मालवस्तुमा कानून बमोजिम लाग्ने महसुल तिरेको छ भन्ने कुराको भन्सार अधिकृतलाई चित्त बुझ्ने गरी प्रमाण दाखिल गर्ने उत्तरदायित्व सो मालवस्तु साथमा राख्ने व्यक्तिको हुनेछ ।

 

७७. मालधनीले खर्च व्यहोर्नु पर्ने : मालवस्तुहरु बोक्ने, जाँच्न र खोल्नको लागि उचित ठाउँमा पुर्याउने, यन्त्रमा राख्ने र झिक्ने, खोल्ने, छुट्याउने र मालवस्तुको वा सो मालवस्तु रहेको कन्टेनर, बाकस, झोला, प्याकेट, बोरा वा यस्तै अन्य प्याकिङ्ग सामग्रीमा चिन्ह लगाउने आदि काम मालवस्तुधनीले आफ्नै खर्चमा गर्नु पर्नेछ ।

 

७८. प्रतिलिपि दिन सकिने : (१) भन्सार कार्यालयमा रहेको कुनै प्रमाणपत्र, बील वा अन्य कागजातको प्रतिलिपि लिन चाहने सरोकारवाला व्यक्तिले तोकिए बमोजिमको दस्तुर संलग्न गरी निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गरी निवेदकलाई त्यस्तो बील वा कागजातकोप्रतिलिपि सम्बन्धित भन्सार अधिकृतले दिन सक्नेछ ।

 

७९. पैठारी भएको मालवस्तुको प्रमाणपत्र दिनेः विदेशमा बिक्री कर वा अन्य कुनै कर लाग्ने मालवस्तु पैठारी गर्ने व्यक्तिले त्यस सम्बन्धी प्रमाणपत्र लिनको लागि सम्बन्धित भन्सार कार्यालयमा दरखास्त दिएमा भन्सार अधिकृतले निवेदकबाट तोकिए बमोजिम दस्तुर लिई निवेदकलाई तोकिए बमोजिमको ढाँचामा प्रमाणपत्र दिन सक्नेछ ।

 

८०. जानकारी माग गर्न सक्ने : (१) पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तुको भन्सार मूल्य निर्धारण गर्न भन्सार कार्यालयले अवलम्बन गरेको आधारका सम्बन्धमा सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिई जानकारी माग गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम निवेदन परेकोमा  कार्यालयले निजलाई त्यस्तो जानकारी सात दिनभित्र दिनु पर्नेछ ।

 

८१. म्याद जारी तथा कारबाही किनारा : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएतापनि यस ऐन अन्तर्गतको कसूरको सिलसिलामा भन्सार अधिकृत वा निजले अधिकार प्रदान गरेको भन्सार कार्यालयको अन्य अधिकृत कर्मचारीले सम्बन्धित व्यक्तिका नाममा शुरु म्याद जारी गर्दा तोकिए बमोजिम जारी गर्नेछ ।

(२) उपदफा (१) बमोजिम जारी भएको म्याद थमाउन पाइनेछैन ।

(३) यस ऐन बमोजिम दर्ता भएको मुद्दा भन्सार अधिकृतले सामान्यतया तीन महिनाभित्र किनारा गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको म्यादभित्र किनारा गर्न नसकेमा सोको कारण खुलाई महानिर्देशकलाई जानकारी दिनु पर्नेछ ।

 

८२. सूचना जारी गर्ने तरीका : यस ऐन र यस अन्तर्गत बनेको नियममा छुट्टै व्यवस्था भएकोमाबाहेक भन्सार कार्यालयको काम कारबाहीसँग सरोकार भएको वा हुनसक्ने व्यक्तिको नाममा सो कार्यालयले व्यक्तिगत वा सार्वजनिक सूचना जारी गर्दा सात दिनको अवधि दिई तोकिए बमोजिम सूचना जारी गर्नु पर्नेछ ।

 

८३. अधिकार प्रत्यायोजन गर्न सक्ने : (१) नेपाल सरकारले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले पाएको सबै वा केही अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी महानिर्देशक वा सो सूचनामा तोकिएको अरु कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) यस ऐन बमोजिम महानिर्देशकले आफूलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकतानुसार केही अधिकार आफ्नो मातहतका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

 

८४. अर्थ मन्त्रालयले अधिकारी तोकी अधिकार सुम्पन सक्ने : यस ऐन अन्तर्गत भन्सार अधिकृतलाई भएको सबै वा केही अधिकार अर्थ मन्त्रालयले कुनै अधिकारीलाई सुम्पन सक्नेछ ।

 

८५. अर्थ मन्त्रालयले कुनै अधिकारीलाई तोक्न सक्ने : (१) भन्सार अधिकृत वा अन्य कर्मचारी समेत मिली यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कार्य गर्न लागेको वा गरिरहेको वा गरेको छ भन्ने उजूरी परेमा अर्थ मन्त्रालयले सो काम सम्बन्धी कारबाही गर्न अर्को भन्सार अधिकृत वा अन्य अधिकारीलाई तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको अधिकारीले त्यस्तो कारबाही यस ऐन बमोजिम गर्नु पर्नेछ ।

 

८६. अदालतलाई भए सरहको अधिकार हुने : यस ऐनको प्रयोजनका लागि भन्सार अधिकृतलाई सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरु पेश गर्न लगाउने र मुद्दाको पुर्पक्ष गर्ने सम्बन्धमा प्रचलित कानून बमोजिम शुरु अदालतलाई भए सरहको अधिकार हुनेछ ।

 

८७. सहयोग मद्दत दिने कर्तव्य : भन्सार अधिकृत वा अरु कर्मचारीले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफ्नो कर्तव्य पालन र अधिकार प्रयोग गर्दा प्रहरी तथा अन्य सरकारी कर्मचारीसँग कुनै प्रकारको सहयोग वा मद्दत माग गरेमा त्यस्तो सहयोग वा मद्दत दिनु त्यस्तो प्रहरी वा कर्मचारीको कर्तव्य हुनेछ ।

 

८८. अन्य निकायले हस्तक्षेप गर्न नहुने : निकासी वा पैठारीको लागि भन्सार कार्यालयभित्र रहेको मालवस्तु सो कार्यालयबाट जाँचपास भई भन्सार क्षेत्रबाट नहटाइएसम्म सो मालवस्तुका सम्बन्धमा कुनै अधिकारी वा निकायले कुनै प्रकारको हस्तक्षेप गर्न हुँदैन ।

 

८९. मालवस्तुको शीर्षक वा उपशीर्षक तोक्ने अधिकार : (१) भन्सार महसुल निर्धारण गर्दा कुनै मालवस्तु हार्मोनाइज्ड् पद्धतिको कुन शीर्षक वा उपशीर्षकमा पर्छ भन्ने कुरामा द्विविधा उत्पन्न भएमा भन्सार अधिकृतले सो मालवस्तुलाई महानिर्देशकले तोकिदिए बमोजिमको शीर्षक वा उपशीर्षकमा वर्गीकरण गर्नु पर्नेछ ।

(२) कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी हुनुपूर्व नै त्यस्तो मालवस्तुको वस्तु बर्गीकरणको शीर्षक वा उपशीर्षक तोकिदिनको लागि सम्बन्धित विषयको विशेषज्ञ समेत रहेको तोकिएको समिति समक्ष निवेदन दिएमा सो समितिले मालवस्तुको नमूना समेत जाँची त्यस्तो मालवस्तुको शीर्षक वा उपशीर्षक तोकिदिन सक्नेछ ।

(३) उपदफा (१) बमोजिम महानिर्देशकले र उपदफा (२) बमोजिम समितिले शीर्षक वा उपशीर्षक तोक्दा विश्व भन्सार सङ्घठनको हार्मोनाइज्ड् सिष्टमको आधिकारिक प्रतिलाई आधार लिई तोक्नेछ ।

(४) उपदफा (१) र (२) बमोजिम मालवस्तुको शीर्षक वा उपशीर्षक तोक्ने प्रयोजनको लागि सम्बन्धित विशेषज्ञ वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय निकायको राय लिन सकिनेछ । (५) उपदफा (२) बमोजिमको समितिको अन्य काम तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

 

९०. आदेश जारी गर्न सक्नेः यस ऐन कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ परेमा सो बाधा अड्काउ हटाउनको लागि अर्थ मन्त्रालयले यस ऐनको प्रतिकूल नहुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न सक्नेछ ।

 

९१. कारबाही गर्ने अधिकार : भन्सार क्षेत्र बाहेक अन्यत्रबाट भन्सार महसुल छली मालवस्तु ल्याउन लागेका बखत कसैले पक्राउ गरी यस ऐन अनुसार कारबाहीका लागि पेश गरेमा सोउपर कारबाही गर्ने अधिकार महानिर्देशक वा निजले खटाएको अधिकारीलाई हुनेछ ।

 

९२. नियम बनाउने अधिकार : (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।

(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले निकासी वा पैठारी हुने मालवस्तुका सम्बन्धमा उत्पत्तिको नियम बनाउन सक्नेछ ।

९३. निर्देशिका बनाउन सक्ने अधिकार:  विभागले यस ऐन वा यस अन्तर्गत बनेको नियमको अधीनमा रही भन्सार कार्यालयबाट मालवस्तुको मूल्याङ्कन गर्ने प्रक्रिया, मालवस्तुको जाँचपास गर्ने प्रक्रिया तथा मालवस्तु लिलाम गर्ने सम्बन्धमा निर्देशिका बनाउन सक्नेछ ।

 

९४. खारेजी तथा बचाउ : (१) भन्सार ऐन, २०१९ खारेज गरिएको छ ।

(२) भन्सार ऐन, २०१९ बमोजिम स्थापना भएको भन्सार विभाग तथा भन्सार कार्यालयहरु यसै ऐन बमोजिम स्थापना भएको मानिनेछन्।

(३) भन्सार ऐन, २०१९ अन्तर्गत भएका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेका मानिनेछन्।