परिच्छेद–३, नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकाय सम्बन्धी व्यवस्था

परिच्छेद–३, नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकाय सम्बन्धी व्यवस्था

९. नियन्त्रकको योग्यताः

(१) देहायको योग्यता भएको व्यक्तिलाई नेपाल सरकारले नियन्त्रकको पदमा नियुक्ति गर्न सक्नेछः–

(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सूचना प्रविधिको क्षेत्रमा कम्तीमा
दश वर्षको अनुभव भएको, वा
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधि वा सो सरहको कुनै विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सूचना
प्रविधिको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको ।
(२) उपनियम (१) बमोजिमको योग्यता भएको व्यक्तिमध्येबाट नियन्त्रकको पदमा नियुक्ति गर्नको लागि नेपाल सरकारले सार्वजनिक रूपमा दरखास्त आह्वान गर्नेछ ।
(३) उपनियम (२) बमोजिम दरखास्त आह्वान गर्दा प्राप्त भएका दरखास्तवालामध्येबाट उपयुक्तताको आधारमा नेपाल सरकारले नियन्त्रकको पदमा नियुक्ति गर्नेछ ।

१०. नियन्त्रकको पदावधि, सेवाको शर्त र सुविधाः

(१) नियम ९ बमोजिम नियुक्त नियन्त्रकको पदावधि पाँच वर्षको हुनेछ र निज पुनः नियुक्ति हुन सक्नेछ ।
(२) नियन्त्रकको सेवाको अन्य शर्त तथा सुविधाहरू नियुक्ति गर्दा कै अवस्थामा नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।

११. नियन्त्रकको काम, कर्तव्य तथा अधिकारः ऐनको दफा १४ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त नियन्त्रकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) प्रमाणीकरण गर्ने निकायले गरेका कामको अनुगमन गर्ने, गराउने,

(ख) प्रमाणीकरण गर्ने निकायले इजाजतपत्रमा उल्लेख भए बमोजिम काम गरे नगरेको सम्बन्धमा आवश्यक सुपरीवेक्षण गरी नगरेको भए सो बमोजिम गर्न लगाउने,
(ग) प्रमाणीकरण गर्ने निकायले प्रदान गर्ने सेवाको गुणस्तरको मापदण्ड निर्धारण गर्ने,
(घ) प्रमाणीकरण गर्ने निकायलाई इजाजतपत्र जारी गर्दा तोक्नु पर्ने शर्त निर्धारण गर्ने,
(ङ) आवश्यकता अनुसार परीक्षकको नियुक्ति गर्ने,
(च) परीक्षकले गर्ने काम कारबाहीको अनुगमन गर्ने,
(छ) नेपाल सरकारले समय समयमा तोकिदिएका काम गर्ने, र
(ज) ऐन वा यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न आवश्यक पर्ने अन्य काम गर्ने ।

१२. प्रमाणीकरण गर्ने इजाजतपत्रको लागि निवेदन दिनेः

(१) प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहने देहायको योग्यता भएको कुनै व्यक्ति, फर्म वा कम्पनीले पाँच सय रूपैयाँ निवेदन दस्तुर सहित इजाजत पत्रको लागि अनुसूची–२ बमोजिमको ढाँचामा नियन्त्रक समक्ष निवेदन दिनु पर्नेछ :–

(क) कम्तीमा एक करोड रूपैयाँ चुक्ता पूँजी वा सो बराबरको जाय जेथा भएको,
(ख) विदेशी फर्म वा कम्पनी भए कम्तीमा बीस प्रतिशत शेयरमा नेपाली नागरिक वा नेपाली फर्म वा कम्पनीको स्वामित्व रहेको, तर कार्य सञ्चालन भएको मितिले एक वर्ष भित्र आवश्यक प्राविधिक जनशक्ति समेत नेपालमा नै उत्पादन गरी सम्पूर्ण कामदार वा कर्मचारी नेपाली नागरिकबाटै पूर्ति गर्ने शर्त  स्वीकारी सो बमोजिम कबुलियत गरी प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहने फर्म वा कम्पनीलाई यस खण्डको व्यवस्था पूरै वा आंशिक रूपमा लागू नहुने गरी छट दिन उपयुक्त देखेमा नियन्त्रकले त्यस्तो छुट दिन सक्नेछ ।
(ग) प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्नको लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति भएको,
(घ) कम्प्युटर सम्बन्धी कामको कम्तीमा दश वर्षको अनुभव भएको,
(ङ) कुनै फौज्दारी कसूरमा अदालतबाट कसूरदार ठहर भएको व्यक्ति सञ्चालक नरहेको ।

(२) उपनियम (१) बमोजिम दिइने निवेदन साथ देहाय बमोजिमका कागजातहरू संलग्न गर्नु पर्नेछ :-
(क) फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र,
(ख) फर्म वा कम्पनीको चुक्ता पूँजी र जेथा प्रमाणित गर्न आवश्यक अन्य लिखत प्रमाणहरू,
(ग) प्रमाणीकरण गर्ने निकायको रूपमा इजाजतपत्र पाएको अवस्थामा त्यस्तो इजाजतपत्र पाएको मितिले छ महिनाभित्र
प्रमाणीकरणको कार्य शुरु गर्ने कुराको प्रत्याभूतिको रूपमा नेपालको कुनै वाणिज्य बैंकले जारी गरेको पच्चीस लाख रूपैयाँ बराबरको कम्तीमा छ महिनाको अवधि भएको बैंक ग्यारेण्टीको सक्कल प्रति,

(घ) कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थासँग संयुक्त रूपमा कम्प्युटर सम्बन्धी काममा संलग्न रहेको भए सोको विवरण,
(ङ) कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थासँग संयुक्त लगानीमा कम्प्युटर सम्बन्धी काम गर्ने सम्बन्धमा कुनै सम्झौता
भएको भए सोको प्रमाण, र

(च) नियन्त्रकले माग गरेको अन्य विवरणहरू ।

१३. निवेदन उपर जाँचबुझः

(१) नियम १२ बमोजिम परेका निवेदन जाँचबुझ गर्दा सो नियम बमोजिम पेश गर्नु पर्ने कागजात वा विवरण समावेश भएको नपाईएमा वा पर्याप्त नभएमा त्यस्ता कागजात वा विवरण पेश गर्न नियन्त्रकले आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियन्त्रकले माग गरे बमोजिम थप कागजात वा विवरण निवेदकले पेश गर्नु पर्नेछ ।

१४. इजाजतपत्र प्रदान गर्र्नेः

(१) नियम १३ बमोजिम नियन्त्रकले निवेदन उपर जाँचबुझ गर्दा निवेदकलाई इजाजतपत्र दिन उपयुक्त देखेमा इजाजतपत्र वापत पच्चीस हजार रूपैयाँ दस्तुर लिई निवेदन दर्ता भएको साठी दिनभित्र निवेदकलाई अनुसूची–३ बमोजिमको ढाँचामा इजाजतपत्र प्रदान गर्नेछ ।

(२) नियम १२ को उपनियम (१) बमोजिम पर्न आएको निवेदन साथ संलग्न कागजातको अतिरिक्त नियन्त्रकले नियम १३ को उपनियम (२) बमोजिम निवेदकसँग थप कागजात वा विवरण माग गरेको अवस्थामा त्यस्तो थप कागजात वा विवरण प्राप्त भएको मितिलाई नै निवेदन दर्ता भएको मिति मानिनेछ ।
(३) नियन्त्रकले नियम १३ बमोजिम जाँचुबझ गर्दा निवेदकलाई इजाजतपत्र दिन उपयुक्त नदेखेमा निवेदकलाई सोको कारण सहितको लिखित जानकारी निवेदन परेको मितिले साठी दिनभित्र दिनु पर्नेछ ।

१५. इजाजतपत्रको अवधिःनियम १४ बमोजिम प्रदान गरेको प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र दुई आर्थिक वर्षसम्म वहाल रहनेछ ।

१६. इजाजतपत्रको नवीकरणः

(१) प्रमाणीकरण गर्ने निकायले आफूले प्राप्त गरेका इजाजत पत्र नवीकरण गर्न चाहेमा इजाजत पत्रको अवधि समाप्त हुनु भन्दा ३० दिन अगावै नियम १२ को उपनियम (२) को खण्ड (ग) बमोजिमको बैंक ग्यारेण्टी सहित नवीकरण दस्तुर वापत बीस हजार रूपैयाँ संलग्न गरी अनुसूची–४ बमोजिमको ढाँचामा नियन्त्रक समक्ष निवेदन दिनु पर्नेछ ।

(२) नियन्त्रकले उपनियम (१) बमोजिम इजाजतपत्र नवीकरणको लागि निवेदन दर्ता भएको मितिले पन्ध्र दिनभित्र इजाजतपत्र नवीकरण गर्ने वा नगर्ने सम्बन्धमा निर्णय दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र नवीकरण गर्ने निर्णय भएमा नवीकरण गरेको व्यहोरा सम्बन्धित इजाजतपत्रमा जनाई निवेदकलाई इजाजतपत्र फिर्ता दिनु पर्नेछ ।

१७. इजाजतपत्र नवीकरण गर्न इन्कार गर्न सकिनेः

(१) देहायको अवस्थामा नियन्त्रकले प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र नवीकरण गर्न इन्कार गर्न सक्नेछः–
(क) प्रमाणीकरण गर्ने निकायले नवीकरणको लागि दिने निवेदनसाथ पेश गर्नु पर्ने कुनै कागजात वा विवरण पेश नगरेमा,
(ख) नियन्त्रकले माग गरेको प्रमाणीकरण गर्ने निकायको स्वामित्व वा पहँुचमा भएको कुनै कागजात वा विवरण पेश नगरेमा,
(ग) प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न इजाजतपत्र पाएको फर्म वा कम्पनी खारेजीको प्रक्रियामा रहेको छ भन्ने कुराको विश्वासयोग्य आधार नियन्त्रकलाई प्राप्त भएमा,
(घ) प्रमाणीकरण गर्ने निकाय साहुको दामासाहीमा परी सो सम्बन्धी  मुद्दा नेपालको कुनै अदालतमा विचाराधीन रहेकोमा,
(ङ) प्रमाणीकरण गर्ने निकायले पेश गरेको बैंक ग्यारेण्टी नियन्त्रकद्वारा रोक्का राखिएको वा जफत गरिएको भएमा,
(च) प्रमाणीकरण गर्ने निकायको रूपमा इजाजतपत्र पाएको फर्म वा कम्पनी तथा सोको सञ्चालक वा प्रोप्राइटर वा साझेदारले आफ्नोे कारोबारसँग सम्बन्धित कुनै काममा ठगी, जालसाजी किर्ते गरेको वा ऐन अन्तर्गतको कसूरमा कसूरदार ठहरेमा,

(छ) विद्युतीय अभिलेखको सुरक्षा सम्बन्धी मार्गदर्शन वा आपूmले पेश गरेको प्रमाणीकरण गर्ने प्रक्रियाकोे पालना गर्न वा गराउन
प्रमाणीकरण गर्ने निकाय असफल भएमा वा त्यस्तो मार्गदर्शन वा प्रमाणीकरण गर्ने प्रक्रियाको उल्लङ्घन गरेमा,
(ज) कार्य सम्पादन परीक्षण प्रतिवेदन पेश नगरेमा,
(झ) कार्य सम्पादन परीक्षण प्रतिवेदनबाट प्रमाणीकरण गर्ने निकायलाई प्रमाणीकरणको काम गर्न दिन उचित नदेखिएमा ।
(२) उपनियम (१) बमोजिम इजाजतपत्र नवीकरण नगर्ने सम्बन्धमा कुनै निर्णय गर्नु अघि सम्बन्धित प्रमाणीकरण गर्ने निकायलाई निजको इजाजतपत्र नवीकरण गर्न इन्कार गर्नु पर्नाको कारण खुलाई सो सम्बन्धमा आफ्नोे सफाइ पेश गर्न मनासिव मौका
दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सफाई पेश नगरेमा वा पेश गरेको सफाई सन्तोषजनक नभएमा नियन्त्रकले इजाजतपत्र नवीकरण नगर्ने निर्णय गरी सोको जानकारी सम्बन्धित प्रमाणीकरण गर्ने निकायलाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम इजाजतपत्र नवीकरण नगर्ने निर्णय भएकोमा सोको सूचना राष्ट्रियस्तरको कुनै दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।

१८. काम शुरु गर्नु पर्नेः(१) प्रमाणीकरण गर्ने निकायले देहाय बमोजिमको कार्य पूरा गरेपछि मात्र इजाजतपत्र बमोजिम प्रमाणीकरण गर्ने काम शुरु गर्नु पर्नेछ :–
(क) प्रमाणीकरण गर्ने निकायले नियन्त्रक समक्ष पेश गरेको प्रमाणीकरण प्रक्रिया सम्बन्धी विवरणलाई नियन्त्रकले मान्यता
दिएको हुनु पर्ने,
(ख) प्रमाणीकरण गर्ने निकायले आफ्नोे जोडी साँचो सिर्जना गरी सो मध्ये सार्वजनिक साँचो नियन्त्रकलाई हस्तान्तरण गरिसकेको
हुनु पर्ने,
(ग) प्रमाणीकरण गर्ने निकायले तयार गरेको डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने र व्यवस्थित गर्ने सम्बन्धमा आवश्यक पर्ने
भौतिक तथा प्राविधिक संरचनामा नियन्त्रक वा निजले तोकेको अधिकृतले सहमति जनाएको हुनु पर्ने,
(घ) प्रमाणीकरण गर्ने निकायले नियन्त्रक समक्ष अन्य प्रमाणीकरण गर्ने निकायसँग पारस्परिक प्रमाणीकरणको व्यवस्था
मिलाइसकेको कुराको प्रमाण पेश गरेको हुनु पर्ने ।
(२) प्रमाणीकरण गर्ने निकायले उपनियम (१) बमोजिम काम शुरु गर्ने अवधि सो निकायले प्रमाणीकरण गर्ने इजाजतपत्र प्राप्त गरेको मितिले छ महिनाभन्दा बढी हुने छैन ।

१९. इजाजतपत्र निलम्बन गर्दा अपनाउनु पर्ने कार्यविधिः

(१) ऐनको दफा २० बमोजिम नियन्त्रकले कुनै प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्नु परेमा देहाय बमोजिमको कार्यविधि पूरा गर्नु पर्नेछ :-

(क) इजाजतपत्र प्रदान गर्दाका बखत पेश गरेको कागजात, विवरण, वित्तीय तथा भौतिक स्रोतमा देखिएको फरकको सम्बन्धमा
प्रमाणीकरण गर्ने निकायसँग लिखित स्पष्टीकरण माग गर्ने,

(ख) प्रमाणीकरण गर्ने निकायसँग इजाजतपत्र प्राप्त गर्दाका बखत पेश गरेको पूँजीगत संरचनामा फरक देखिएको सम्बन्धमा
जाँचबुझ गर्ने प्रयोजनका लागि प्रमाणीकरण गर्ने निकायको नाममा रहेको नगद तथा अन्य वित्तीय स्रोतको पुष्ट्याइँ माग गर्ने,

(ग) खण्ड (ख) बमोजिम वित्तीय स्रोतको पुष्ट्याइँ प्राप्त नभएसम्म त्यस्तो प्रमाणीकरण गर्ने निकाय वा निजको नातेदारको नाममा रहेको बैंक खाता रोक्का गर्न लगाउने ।

(२) उपनियम (१) को खण्ड (क) बमोजिम लिखित स्पष्टीकरण माग गरिएकोमा प्रमाणीकरण गर्ने निकायले त्यसरी स्पष्टीकरण माग गरिएको मितिले तीन दिनभित्र नियन्त्रक समक्ष लिखित स्पष्टीकरण पेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको कारबाहीबाट प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्नु पर्ने मनासिव कारण देखिएमा नियन्त्रकले त्यस्तो प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिम कुनै प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्नु परेमा त्यस्तो निलम्बनको अवधि तीस दिनभन्दा बढी हुने छैन ।
(५) उपनियम (४) बमोजिमको अवधि भित्र निलम्बन गरिएको इजाजतपत्रको कारबाहीको अन्तिम टुङ्गो लगाई सक्नु पर्नेछ ।
(६) उपनियम (३) बमोजिम प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गरिएको कुराको सूचना राष्ट्रियस्तरको कुनै दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम सूचना प्रकाशन गर्दा लागेको खर्च सम्बन्धित प्रमाणीकरण गर्ने निकायले व्यहोर्नु पर्नेछ ।

२०. इजाजतपत्र रद्द गर्ने कार्यविधि तथा अन्य व्यवस्थाः

(१) नियन्त्रकले ऐनको दफा २१ को उपदफा (१) बमोजिम प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र रद्द गर्दा देहायको कार्यविधि पूरा गर्नु पर्नेछ :–

(क) नियन्त्रकले प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र रद्द गर्ने सम्बन्धमा त्यसरी इजाजतपत्र रद्द गर्नु पर्नाको कारण खोली सो
सम्बन्धमा प्रमाणीकरण गर्ने निकायलाई सात दिनको म्याद दिई आफु विरुद्ध लागेको आरोपको सम्बन्धमा सफाइ पेश गर्ने मौका
दिनुपर्ने ।
(ख) नियन्त्रकले खण्ड (क) बमोजिमको म्याद भित्र प्रमाणीकरण गर्ने निकायले पेश गरेको सफाइ उपर कुनै थप कागजात वा
विवरण माग गर्नु पर्ने भए सो सम्बन्धमा तीन दिनभित्र त्यस्ता कागजात वा विवरण पेश गर्न प्रमाणीकरण गर्ने निकायलाई आदेश दिन सक्ने ।
(२) उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम प्रमाणीकरण गर्ने निकायले प्रस्तुत गरेको सफाई मनासिव नदेखिएमा नियन्त्रकले प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र रद्द गर्ने आदेश दिनेछ ।
(३) प्रमाणीकरण गर्ने निकाय वा निजका कर्मचारीको जानाजान वा लापरवाहीपूर्ण काम कारबाहीको कारणले वा ऐन, यस नियमावली वा नियन्त्रकले दिएको कुनै आदेशको परिपालन नगरेको कारणबाट कसैलाई पुग्न गएको हानी नोक्सानीको मनासिव क्षतिपूर्ति प्रमाणीकरण गर्ने निकायले व्यहोर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको क्षतिपूर्ति प्रमाणीकरण गर्ने निकायको नियम १२ को उपनियम (२) को खण्ड (घ) बमोजिमको बैंक ग्यारेण्टीबाट कट्टा गरिनेछ ।
(५) उपनियम (४) बमोजिम क्षतिपूर्ति कट्टा गरी बाँकी रहन गएको रकम बराबरको बैंक ग्यारेण्टी इजाजतपत्र रद्द भएको मितिले पन्ध्र दिनभित्र फुकुवा गरिदिनु पर्नेछ ।

२१. प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्नेःकुनै प्रमाणीकरण गर्ने निकायले देहायको कार्यविधि पूरा गरेर प्रमाणीकरण सम्बन्धी काम बन्द गर्न सक्नेछ :–

(क) प्रमाणीकरण सम्बन्धी काम बन्द गर्न चाहेको मितिले वा प्रमाणीकरण गर्ने निकायको इजाजतपत्रको म्याद समाप्त हुने मितिले कम्तीमा नब्बे दिन अगावै नियन्त्रकलाई सो कुराको लिखित जानकारी दिएर,

(ख) खण्ड (क) बमोजिम सूचना दिए पश्चात् काम बन्द गर्न चाहेको मितिले कम्तीमा साठी दिन अगावै सो कुराको सार्वजनिक सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गरेर,
(ग) आफ्नोे सञ्चालनमा रहेका सबै ग्राहकहरूलाई र पारस्परिक रूपमा डिजिटल हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाइएका अन्य प्रमाणीकरण गर्ने निकायहरूलाई काम बन्द गर्नु भन्दा कम्तीमा साठी दिन अगावै आपूmले काम बन्द गर्न लागेको कुराको सूचना दिएर,
(घ) खण्ड (क), (ख) र (ग) बमोजिमका सूचनाहरू डिजिटल हस्ताक्षर सहितको इमेल
वा हुलाकबाट रजिष्ट्री गरी पठाएर,

(ङ) आफुले काम बन्द गर्ने भनी तोकेको मिति भित्रमा कुनै ग्राहकको अनुरोध भए वा नभए पनि आपूmले जारी गरेको सम्पूर्ण डिजिटल हस्ताक्षर प्रमाणपत्र रद्द गरेर,
(च) ग्राहकहरूलाई यथासम्भव असुविधा नहुने गरी काम बन्द गर्ने व्यवस्था मिलाएर,
(छ) आपूmले गरेको काम कारोबार, जारी गरेको डिजिटल हस्ताक्षर प्रमाणपत्र आदि सम्बन्धी कागजात, अभिलेखहरू काम बन्द गरेको मितिले सात वर्षसम्म सुरक्षित राख्ने व्यवस्था मिलाएर,
(ज) आपूmले काम बन्द गर्ने मिति भन्दा पछिसम्म वहाल रहने अवधि तोकी जारी गरेका डिजिटल हस्ताक्षर प्रमाणपत्रका ग्राहकहरूलाई नयाँ प्रमाणपत्र लिन लाग्ने दस्तुर बराबरको रकम क्षतिपूर्ति दिने व्यवस्था मिलाएर,
(झ) ग्राहकको प्रमाणपत्रको वहाल रहने अवधि समाप्त भई सकेपछि प्रमाणीकरण गर्ने निकायले निजी साँचोलाई नष्ट गरी यसरी नष्ट गरेको समय र मितिको जानकारी नियन्त्रकलाई दिएर ।

२२. रोयल्टी दाखिल गर्नेःप्रमाणीकरण गर्ने निकायले डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गरे वापत प्राप्त गरेको कुल आयको कम्तीमा दुई प्रतिशत रकम हरेक महिनाको पहिलो हप्ताभित्र रोयल्टीको रूपमा नियन्त्रकको कार्यालय वा निजले तोकिदिएको कुनै बैंक वा वित्तीय संस्थामा दाखिल गर्नु पर्नेछ ।

२३. प्रमाणीकरण गर्ने निकायको अन्य काम, कर्तव्य र अधिकारः ऐनको दफा १७ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रमाणीकरण गर्ने निकायको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) प्रमाणपत्र जारी गर्ने कार्यविधि निर्धारण गर्ने,
(ख) प्रमाणपत्र निलम्बन वा रद्द गर्दा अपनाउनु पर्ने कार्यविधि निर्धारण गर्ने,
(ग) प्रमाणपत्र निलम्बन भएकोमा सो को फुकुवा गर्ने कार्यविधि निर्धारण गर्ने,
(घ) जारी गरेका प्रमाणपत्र बमोजिम काम गरे नगरेको सम्बन्धमा आवश्यक अनुगमन गर्ने ।

२४. नियन्त्रकले जाँचुबझ गर्नेः(१) प्रमाणीकरण गर्ने निकाय वा अन्य सम्बन्धित व्यक्तिबाट ऐन वा नियमावलीको पालना नभएको सम्बन्धमा नियन्त्रक विश्वस्त भएमा नियन्त्रक आफैले वा अन्य कुनै अधिकृत कर्मचारीबाट तत् सम्बन्धमा आवश्यक जाँचबुझ गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा गराउँदा नियन्त्रक वा निजले तोकेको अधिकृत कर्मचारीले देहायको कार्यविधि अपनाउनु पर्नेछ :-–
(क) सम्बन्धित प्रमाणीकरण गर्ने निकाय वा अन्य सम्बन्धित व्यक्तिलाई आफु समक्ष उपस्थित गराई सोधपुछ गर्ने,
(ख) कुनै खास विषयमा छानविन गर्नु पर्ने देखिएमा नियन्त्रक वा निजले तोकेको अधिकृत कर्मचारीको संयोजकत्वमा सम्बन्धित
विषयका विज्ञ समेत समावेश गरी छानविन समिति गठन गरी छानविनको कारबाही अघि बढाउने,
(ग) खण्ड (ख) बमोजिमको छानविनबाट प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन वा रद्द गर्नु पर्ने भए सो गर्ने,
(घ) प्रमाणीकरण गर्ने निकाय वा अन्य सम्बन्धित व्यक्तिबाट ऐन वा यस नियमावलीको पालना नभएको कारणबाट कसैलाई हुन
गएको हानी नोक्सानीको मनासिव क्षतिपूर्ति भराई दिने ।

२५. प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिने कार्यविधिः

(१) नेपालभित्र प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहने विदेशी मुलुकको कानून बमोजिम प्रमाणीकरण गर्ने इजाजतपत्र पाएको कुनै प्रमाणीकरण गर्ने निकायले नेपालभित्र प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहेको व्यहोरा जनाई देहायका कागजात तथा विवरण संलग्न गरी नियन्त्रक समक्ष निवेदन दिन सक्नेछः–

(क) विदेशमा प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न प्राप्त गरेको इजाजतपत्रको प्रमाणित प्रतिलिपि,
(ख) चुक्ता पूँजी वा जेथाको विवरण,
(ग) ऐन र यस नियमावली बमोजिम प्रमाणीकरण गर्ने निकायले पूरा गर्नुपर्ने शर्त तथा योग्यता पूरा भएको देखाउने प्रमाण र विवरणहरू,
(घ) नियन्त्रकले माग गरेका अन्य विवरणहरू ।
(२) उपनियम (१) बमोजिमको निवेदनसाथ प्राप्त कागजात तथा विवरणबाट नियन्त्रकले त्यस्तो विदेशी निकायलाई प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न मान्यता दिन उचित देखेमा निजले पालना गर्नु पर्ने शर्तहरू समेत प्रस्ताव गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश भएकोमा नेपाल सरकारले नियन्त्रकले प्रस्ताव गरेका शर्तहरूमा कुनै थपघट वा हेरफेर गर्नु पर्ने भएमा सो समेत गरी प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्ने स्वीकृति दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम नेपाल सरकारबाट स्वीकृति प्राप्त भएमा त्यस्तो विदेशी निकायलाई यस नियमावली बमोजिम प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न इजाजतपत्र प्रदान गर्दा लाग्ने दस्तुर तथा बैंक ग्यारेण्टी लिई त्यस्तो विदेशी निकायले पालना गर्नु पर्ने शर्तहरू भए सो समेत खुलाई प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न मान्यता प्रदान गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको सूचनामा तोकिएका शर्तहरूको पालना नगरेमा वा ऐन वा यस नियमावली विपरीत कार्य गरेमा नेपाल सरकारको स्वीकृति लिई नियन्त्रकले त्यस्तो प्रमाणीकरण गर्ने निकायले पाएको मान्यता खारेज गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।