परिच्छेद-६ विधेयकको संरचना

परिच्छेद-६ विधेयकको संरचना

६.१ पृष्ठभूमि
विधेयकको मूल भागमा विधेयकका मुख्यमुख्य प्रावधानहरू रहन्छन् । मूल भागमा रहने प्रावधान विधेयकको प्रकृति र विषयवस्तुमा निर्भर रहन्छ । विधेयक तर्जुमाको पृष्ठभूमिमा पहिचान भएका वास्ताविक समस्या समाधानकालागि अख्तियार गरिने नीतिलाई प्राथमिकताका आधारमा विधेयकको मूल भागमा उल्लेख गरिन्छ । यसकोलागि विधेयक प्रस्तावमा उल्लिखित नीतिगत विषयलाई प्राथमिकताको आधारमा बुँदागत रूपमा टिपोट गरी त्यसको विषयसूची तयार गर्नुपर्छ । विधेयकको मुख्यमुख्य प्रावधानलाई ऐनको स्वरूप र संरचनात्मक रूपमा प्रस्तुत गरिन्छ । संविधानमा भागको आधारमा र ऐनमा विषयगत प्रस्तुतिको आधारमा आवश्यकता अनुसार भाग र परिच्छेदमा विभाजन गरी यसको स्वरूप र संरचनाको निर्माण गर्ने अभ्यास रहेको पाईन्छ । ऐनमा पनि भाग र परिच्छेद दुवैको आधारमा विषयगत विभाजन गरेको
उदाहरण पाउन सकिन्छ । मुलुकी ऐन भागको आधारमा र सो भाग अन्तरगत पर्ने विषयलाई पुनः महलको आधारमा विभाजन गरी प्रस्तुत गरिएको छ । यस्तै गरी स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा पनि मूल विषयवस्तुलाई भाग र त्यस भाग भित्रका सहायक विषयवस्तुलाई परिच्छेदमा विभाजन गरी प्रस्तुत गरिएको पाईन्छ । यस्तै एक दुईवटा उदाहरणलाई छाड्ने हो भने अधिकांश ऐनमा विषयगत आधारमा परिच्छेदमा विभाजन गरी प्रस्तुत गर्ने अभ्यासले व्यापकता पाएको देखिन्छ ।

उदाहरण १.
मुलुकी ऐनलाई ५ भाग र ती भाग अन्तरगत विभिन्न महलमा विभाजन गरिएको छ ।

भाग एकः प्रारम्भिक कथनको भागमा ऐनको नाम, प्रारम्भ, विस्तार र परिभाषा सम्बन्धी व्यवस्था गरिएको छ ।

भाग दुई अदालती वन्दोवस्त र दण्ड सजायको महलहरूमा देवानी र फौजदारी मुद्दाको
अदालती कार्यविधि र फैसला कार्यान्वयन सम्बन्धी व्यवस्था गरिएका छन् ।

भाग तीन यस भागमा मूलतः देवानी सम्बन्धी विभिन्न विषयलाई विभिन्न महलहरूमा समावेश गरिएको छ ।

भाग चार फौजदारी दायित्व, कसूर र सजाय सम्बन्धी प्रावधानलाई यस भागका विभिन्न
महलहरूमा समावेश गरिएको छ ।

भाग पाँच खारेजीको भागमा साविकमा कायम रहेको मुलुकी ऐनलाई खारेज गर्दै तत्काल
कायम रहेका सवालहरूमा जुनसुकै कुरा लेखिएको भएतापनि मुलुकी ऐन बमोजिम नै हुने व्यवस्था गरिएको छ ।

उदाहरण २
स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा मूल शीर्षकलाई भाग र मूल शीर्षक अन्तरगतका उप शीर्षकलाई परिच्छेदमा राखिएको छ ।
भाग १ प्रारम्भिक (सबैको हकमा लागू हुने सामान्य व्यवस्था)
भाग २ गाउँ विकास सम्बन्धी व्यवस्था
भाग ३ नगरपालिका सम्बन्धी व्यवस्था
भाग ४ जिल्ला विकास समिति सम्बन्धी व्यवस्था
भाग ५ स्थानीय निकाय सम्बन्धी सामान्य व्यवस्था
(सबैको हकमा लागू हुने सामान्य व्यवस्था)

६.१.१ भाग वा परिच्छेदको शीर्षक
धेरै विषयवस्तु समावेश भएका ऐनलाई भाग वा परिच्छेदमा विभाजन गरिन्छ । त्यस्ता ऐनमा भएका विभिन्न प्रावधानलाई विषयवस्तुको आधारमा आपूmले खोजेको विषयसँग सम्बद्ध प्रावधानलाई क्रमशः एकै ठाउँमा राखी सरल र स्पष्ट बनाउने अभिप्रायले परिच्छेदको विभाजन गरिन्छ । विषयगत आधारमा भाग र परिच्छेदको विभाजन गर्दा उक्त भाग र परिच्छेदमा उल्लेख गरिएको मूल विषयवस्तुको मर्मलाई समेटी थोरै शब्दको प्रयोग गरी त्यस्ता भाग र परिच्छेदको शीर्षकको नामकरण गर्नुपर्छ ।
                                                                             

                                                                                          उदाहरण
                                                                                          परिच्छेद–१
                                                                    (अक्षर बोल्ड गर्ने, पृष्ठको मध्य भागमा)
                                                                                         प्रारम्भिक
                                                         (अक्षर बोल्ड र अण्डरलाइन गर्ने, पृष्ठको मध्य भागमाडट
                                                                                       परिच्छेद–२
                                                                          अनुमतिपत्र सम्बन्धी व्यवस्था
६.१.२ दफा
६.१.२.१ दफागत प्रस्तुति र दफा क्रमः
विधेयकको विभिन्न भाग वा परिच्छेद्मा रहने विषयवस्तुलाई सहज र सरल बनाउन विभिन्न दफा शीर्षक कायम गरी सो शीर्षकसँग सुहाउँदो विषयलाई दफागत रूपमा राखिन्छ । दफाको क्रम नम्बरको आधारमा १, २, ३ र ४ को क्रममा उल्लेख गर्नुपर्छ ।
६.१.२.२ दफा शीर्षक
प्रत्येक दफालाई अलग अलग शीर्षक दिनुपर्छ । दफाको बिषय वस्तुको भावनालाई संक्षिप्त रूपमा समेटनु दफा शीर्षकको उद्देश्य हो । दफा शीर्षक सकेसम्म छोटो हुनुपर्छ । दफामा उल्लिखित प्रावधानको सारांश व्यक्त गर्ने दृष्टिले क्रियापद समेत प्रयोग गरी पूरा वाक्य बनाउनु आवश्यक छैन । दफा शीर्षक बोल्ड अक्षरमा राखी निम्न रेखाङ्कन (अण्डरलाइन) गरी राख्नुपर्छ ।
उदाहरण
नेपाल कानून आयोग ऐन, २०६३ को दफा ३ मा देहाय बमोजिमको दफा शीर्षक राखिएको छ ।

३. नेपाल कानून आयोगको स्थापनाः

६.१.२.३ दफा शीर्षकमा सीमित रहने
दफा शीर्षक दफाको बिषय बस्तु र सीमा अनुकूल हुनु पर्दछ । दफा शीर्षक र दफाको मूल भावनामा अन्तर आउन दिनु हुँदैन ।
दफा शीर्षकले एउटा विषयलाई सङ्केत दिन खोजेको छ भने दफामा त्यो भन्दा बाहेकको विषयमा उल्लेख गर्नु हुँदैन ।
६.१.२.४ दफा उद्धरण
दफा क्रम उल्लेख गर्दै जाँदा अघि प्रयोग भएको कुनै दफाको व्यहोरालाई उद्धरण गर्नु प¥यो भने सम्बद्ध दफा उल्लेख गर्न
सकिन्छ ।

उदाहरण
नेपाल कानून आयोग ऐन, २०६३ को दफा ६ मा अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको योग्यता उल्लेख गरिएको छ भने दफा ८ मा पद रिक्त हुने अवस्था भन्ने दफा शीर्षक राखी सो दफाको खण्ड (घ) मा “दफा ६ बमोजिमको योग्यता नरहेमा” भन्ने  व्यवस्था गरिएको छ ।

६.१.३ मार्जिनल नोट
६.१.३.१ कमन ल प्रणालीबाट प्रभावित बाहेकका मुलुकहरूमा दफा शीर्षकको सट्टा “मार्जिनल नोट” वा “साइडनोट” प्रयोग गर्ने प्रचलन रहेको छ । तत्काल प्रचलित निजामती सेवा ऐन, २०१३ मा मार्जिनल नोटको प्रयोग भएको देखिन्छ । यसरी मार्जिनल नोटको प्रयोग भएकोमा छुट्टै दफा शीर्षक राखिरहनु पर्दैन । हाल यो अभ्यास नेपालमा चलनमा रहेको छैन ।

६.१.४ उपदफा
६.१.४.१ कुनै दफा शीर्षकमा उल्लेख गर्न खोजिएका सबै विषयवस्तुलाई एकै ठाउँमा उल्लेख गर्दा स्पष्ट र संक्षिप्त रूपमा प्रस्तुत गर्न
सकिदैन । तसर्थ एउटै दफामा प्रस्तुत गर्नुपर्ने विषयवस्तुलाई सहज, स्पष्ट र संक्षिप्त रूपमा प्रस्तुत गर्नका लागि उपदफाहरू राखिन्छ । यसरी उपदफा तर्जुमा गर्दा एउटा उपदफामा एउटामात्र विषयवस्तु राख्नुपर्छ ।

६.१.४.२ उपदफाको क्रम
उपदफा विभाजन गर्दा उपदफाको क्रम नम्बरलाई कोष्ठभित्र
राखी (१), (२), (३), (४) गरी उल्लेख गर्नुपर्छ ।

६.१.५ खण्ड
६.१.५.१ कुनै दफा वा उपदफामा उल्लिखित प्रावधानलाई अझबढी सरल र स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने अवस्था भएमा त्यस्ता प्रावधानलाई
विभाजन गरी खण्डहरूमा वर्णानुक्रममा राख्न सकिन्छ । त्यस्ता खण्डको वर्णानुक्रमलाई (क), (ख), (ग), (घ) … आदिलाई कोष्ठभित्र राखी मूल व्यवस्था प्रस्तुत गर्नुपर्छ ।

६.१.६ उपखण्ड
६.१.६.१ कुनै खण्डमा उल्लिखित प्रावधानलाई पनि अझबढी सरल र स्पष्ट रूपमा प्रस्तुत गर्नु परेमा त्यस्ता प्रावधानलाई पनि पुनः विभाजन
गरी उपखण्डको क्रमलाई नम्बरको आधारमा कोष्ठभित्र राखी (१), (२), (३), (४) … गरी प्रस्तुत गर्न सकिन्छ ।

६.१.७ स्पष्टीकरण

६.१.७.१ विधेयकमा स्पष्टीकरणको प्रयोगद्वारा कुनै शब्दको परिभाषा दिनका लागि गरिन्छ । विधेयकको एक ठाउँमा मात्र प्रयोग भएको शब्दलाई परिभाषा खण्डमा परिभाषा नगरी विधेयकको जुन परिच्छेद, दफा, उपदफा, खण्ड वा उपखण्डमा त्यस्तो शब्दको प्रयोग भएको छ सोही परिच्छेद, दफा, उपदफा, खण्ड वा उपखण्डको अन्त्यमा स्पष्टीकरणको नामबाट त्यस्तो शब्दको परिभाषा गरिन्छ ।

उदाहरण
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६१ को खण्ड (च) मा स्पष्टीकरणको देहाय बमोजिमको व्यवस्था छः
“स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि नजिकका नातेदार भन्नाले एकासगोलको पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, सासु, ससुरा, दाजु,भाइ, दिदी, बहिनी, ज्वाईं, साला, साली वा भिनाजु सम्झनु पर्छ ।”

६.१.७.२ एकै शब्दलाई भिन्न भिन्न अर्थमा प्रयोग गर्नु परेमा

विधेयकको कुनै परिच्छेद, दफा, उपदफा, खण्ड वा उपखण्डमा प्रयोग भएको कुनै शब्दको परिभाषा सोही विधेयकको अर्कै परिच्छेद, दफा, उपदफा, खण्ड वा उपखण्डमा फरक रूपमा प्रस्तुत गर्नु पर्ने स्थिति आएमा स्पष्टीकरण दिनुपर्छ । जुन परिच्छेद, दफा, उपदफा, खण्ड वा उपखण्डमा फरक रूपमा प्रस्तुत गर्नु पर्ने हो सोही परिच्छेद, दफा, उपदफा, खण्ड वा उपखण्ड पश्चात निम्न बमोजिम राख्नुपर्छः “स्पष्टीकरणः यस परिच्छेद, दफा, उपदफा, खण्ड वा उपखण्डको प्रयोजनकोलागि ………. भन्नाले ………. सम्झनु पर्छ ।”
उदाहरण
प्रमाण ऐन, २०३१ को दफा ३ मा दिइएको स्पष्टीकरण त्यस दफामा प्रयुुक्त “सम्बद्ध कुरा” लाई स्पष्ट गर्न गरिएको परिभाषा
हो । यस्तै गाली र बेइज्जती ऐन, २०१६ को दफा ३ मा दिइएको स्पष्टीकरण सो दफालाई व्याख्या गर्न प्रयोग भएको स्पष्टीकरण हो ।
६.१.७.३ स्पष्टीकरणको प्रयोग सारवान प्रावधानमा थपिएको व्यवस्था होइन । तर सारवान प्रावधानलाई स्पष्ट पार्न, वोधगम्य बनाउन, अर्थ विस्तार वा अर्थ सङ्कुचन गर्न गरिएको व्यवस्था मात्र हो ।

६.१.८ अपवादको व्यवस्था र यसको प्रयोग विधि
६.१.८.१ कानूनको सामान्य प्रावधान सबै अवस्थामा सबैकालागि समान रूपमा लागू नहुन सक्छ । निश्चित अवस्था, समय र परिस्थितिमा
निश्चित वर्ग वा समुदायका व्यक्तिलाई कानूनको सामान्य प्रयोगमा पूर्ण वा आंशिक रूपमा लागू नहुने, छुट दिने जस्ता अपवादको व्यवस्था उल्लेख गर्नु पर्ने अवस्था आउन सक्छ । यसैले अपवादको व्यवस्था अपवादको रूपमा मात्र प्रयोग गर्नु पर्छ । यिनै
अभिप्रायले विधेयक तर्जुमाको क्रममा विशेष व्यवस्थाहरूका सम्बन्धमा छुट र अपवादको प्रावधान राखिएको हुन्छ ।

६.१.८.२ सीमित प्रयोग
प्रतिबन्धात्मक व्यवस्थालाई सँधै सीमित रूपमा प्रयोग गर्नु पर्छ । यस्तो व्यवस्था कहिले पनि पूर्ण र खुला हुन सक्दैन । यसको
प्रयोग सँधैनै निश्चित अवस्था र शर्तको सीमाभित्र रहेर मात्र गर्नुपर्छ ।

६.१.८.३ अपवादात्मक व्यवस्थाको प्रयोग विधि
जुन परिच्छेद, दफा उपदफा वा खण्ड वा उपखण्डमा उल्लिखित व्यवस्थाको सन्दर्भमा प्रतिबन्धात्मक व्यवस्था उल्लेख गर्नु पर्ने हो
त्यस्तो प्रावधानको लगत्तै उल्लेख गर्नुपर्छ ।

६.१.८.४ ऐनको सम्पूर्ण प्रावधानको अपवाद
ऐनको सम्पूर्ण प्रावधानको हकमा अपवादात्मक व्यवस्थाको उल्लेख गर्नुपर्ने भएमा विविध परिच्छेदमा छुट्टै दफा राखी यस ऐनमा
अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि … भनी निश्चित सीमा र शर्त उल्लेख गरी ऐनका प्रावधान लागू नहुने गरी छुट, अपवाद वा उन्मुक्तिको व्यवस्था गर्नुपर्छ ।

उदाहरण
३४. नेपाल सरकारले विद्युत उत्पादन तथा विकास गर्न सक्नेः नेपाल सरकार आफैले विद्युतको उत्पादन वा विकास गर्न यस ऐनको कुनै कुराले वाधा पुयाएको मानिनेछैन ।
३५. नेपाल सरकारले करार गरी विद्युत उत्पादन, प्रसारण तथा वितरण गर्न सक्नेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनै व्यक्ति वा संस्थासित करार गरी सोही करारमा उल्लिखित शर्तहरूको आधारमा विद्युत उत्पादन, प्रसारण वा वितरण गर्न
गराउन सक्नेछ । (विद्युत ऐन, २०४९ को दफा ३४ र ३५)

६.१.८.५ कुनै परिच्छेदको प्रावधानको अपवाद
ऐनको कुनै खास परिच्छेदको प्रावधानको हकमा मात्र अपवादात्मक व्यवस्थाको उल्लेख गर्नु पर्ने भएमा सोही परिच्छेदको अन्त्यमा छुट्टै
दफा राखी यस परिच्छेद्मा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि … भनी निश्चित सीमा र शर्त उल्लेख गरी परिच्छेद्का प्रावधान लागू नहुने गरी छुट, अपवाद वा उन्मुक्तिको व्यवस्था गर्नुपर्छ ।

६.१.८.६ दफा वा उपदफा वा खण्ड वा उपखण्डको अपवाद
कुनै खास दफा वा उपदफा वा खण्ड वा उपखण्डका प्रावधानको हकमा मात्र अपवादात्मक व्यवस्थाको उल्लेख गर्नुपर्ने भएमा सोही
दफा वा उपदफा वा खण्ड वा उपखण्डको अन्त्यमा ुयस दफा वा उपदफा वा खण्ड वा उपखण्डमा जुनसुकै कुरा लेखिएको
भएतापनि … भनी निश्चित सीमा र शर्त उल्लेख गरी उक्त दफा वा उपदफा वा खण्ड वा उपखण्डको प्रावधान लागू नहुने गरी छुट, अपवाद वा उन्मुक्तिको व्यवस्था गर्नुपर्छ ।

६.१.८.७ तरतर
ऐनको सम्पूर्ण व्यवस्था, वा कुनै खास परिच्छेद वा दफा वा उपदफा वा खण्ड वा उपखण्डका प्रावधानलाई पूर्ण रूपमा छुट
नदिई आंशिक रूपमामात्र छुट दिने भए सम्बन्धित परिच्छेद वा दफा वा उपदफा वा खण्ड वा उपखण्डको प्रावधानको लगत्तै तर … भन्ने शब्द उल्लेख गरी अपवादात्मक व्यवस्था उल्लेख गर्नुपर्छ ।

उदाहरण
तर शोधभर्ना हुने प्रकृतिका खर्च सम्बन्धमा वार्ता गर्न सकिनेछ । (सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३७ को उपदफा (२))

६.१.९ उदाहरण
कानूनको तर्जुमाका सन्दर्भमा सामान्यतया उदाहरणले पनि त्यही उद्देश्य पूरा गर्दछ, जुन उद्देश्य स्पष्टीकरणले गर्ने गर्दछ । उदाहरण विधेयकको त्यस्तो व्यवस्था हो जसले कुनै प्रावधानको वास्तविक क्षेत्र र दायरालाई दृष्टान्तको रूपमा प्रस्तुत गर्दछ । नेपालमा यसको प्रयोग यदाकदा हुने गरेको देखिन्छ ।

उदाहरणको उदाहरण
तत्काल प्रचलित निजामती सेवा नियमावली, २०२१ मा यसको व्यापक प्रयोग भएको देखिन्छ । पछिल्ला समयमा यसको प्रयोग बिरलै हुने गरेको छ ।

६.१.१० अनुसूची
ऐनको मूल पाठमा प्रस्तुत गर्दा अमिल्दो र भद्दा देखिने विषयवस्तुलाई ऐनको अनुसूचीमा समावेश गरिन्छ । संविधानमा पनि अनुसूचीको प्रयोग गर्ने अभ्यास छ । संविधानमा समावेश भएको अनुसूची संविधानकै अभिन्न अङ्ग मानिने हुनाले संविधानको अनुसूची संशोधन गर्न पनि संविधान बनाउने प्रक्रिया पूरा गर्नुपर्छ र यो अधिकार व्यवस्थापिकालाई मात्र हुन्छ । ऐनको हकमा व्यवस्थापिकाले नै ऐनको अनुसूची हेरफेर गर्न सक्ने अधिकार नेपाल सरकार, मन्त्रिपरिषद्लाई दिएको रहेछ भने मन्त्रिपरिषद्ले हेरफेर गर्न सक्दछ । विदेशी लगानी तथा प्राविधिक हस्तान्तरण ऐन, २०४९ को अनुसूची नेपाल सरकार, मन्त्रिपरिषद्ले हेरफेर गर्ने गरेको पाइन्छ ।

अनुसूचीको अभ्यासका केही उदाहरण
नेपालमा देहायका विषयवस्तुहरू ऐनको अनुसूचीमा समावेश गर्ने अभ्यास रहेको छः –
क. राज्य संरचनाको विषयवस्तु, पाँच विकास क्षेत्र, चौध अञ्चल र पचहत्तर जिल्लाको विवरण स्थानीय प्रशासन ऐन, २०२८ को अनुसूचीमा समावेश भएको छ ।
ख. ऐनको मूल पाठले विभाजन वा वर्गीकृत गरेको विषयवस्तु जसको विभाजन वा वर्गीकरणको आधारलाई अनुसूचीमा समावेश गर्ने प्रचलन र अभ्यास रहेको छ ।

उदाहरण
औद्योगिक व्यवसाय ऐन, २०४९ का अनुसूचीहरू ।
ग. सार्वजनिक पदाधिकारीले लिने शपथ ग्रहण फाराम र निजहरूको पारिश्रमिक तथा अन्य आर्थिक सुविधा सम्बन्धी नगद अङ्क र अन्य विवरण तथा प्राविधिक विषयलाई अनुसूचीमा समावेश गर्ने अभ्यास रहेको देखिन्छ ।

६.१.११ द्रष्टव्य

६.१.११.१ द्रष्टव्यको प्रयोग
सामान्य रूपमा हेर्दा ऐनमा द्रष्टव्यको प्रयोग स्पष्टीकरण वा उदाहरणको रूपमा प्रस्तुत भएको देखिन्छ । यद्यपि द्रष्टव्यको
प्रयोग स्पष्टीकरण र उदाहरणको अवधारणामा भने केही फरक र मौलिक ढङ्गबाट गर्ने अभ्यास रहेको छ । ऐनको मूल पाठमा
उल्लिखित प्रावधानमा प्रयोग भएको शब्दको व्याख्यालाई सीमित गर्ने अभिप्रायले स्पष्टीकरणको प्रयोग गरिन्छ । त्यस्तै ऐनको मूल
पाठमा उल्लिखित प्रावधानलाई सीमित गर्ने अभिप्रायले नमूनाको रूपमा उदाहरण प्रस्तुत गरिन्छ । तर द्रष्टव्यको प्रयोग ऐनको मूल
पाठमा उल्लिखित प्रावधानलाई थप स्पष्ट गर्न सहयोग पुर्याउनको लागि गरिन्छ ।

६.१.११.२ द्रष्टव्यको अभ्यास
मूल पाठमा उल्लिखित प्रावधान सामान्य व्याख्याको क्रममा ऐनले साचेकोभन्दा बढी अर्थ लाग्न जान नदिन र अर्थको सीमा निर्धारण
गर्न द्रष्टव्यको प्रयोग गरिन्छ । सालवसाली रूपमा जारी हुने अर्थ विधेयकमा द्रष्टव्यको प्रयोग भएको पाइन्छ । खास गरी
अन्तःशुल्क, भन्सार जस्ता विभिन्न प्रकारका कर तथा राजस्व लगाउने, छुट दिने र असुल गर्ने प्रयोजनकालागि त्यसका सीमा निर्धारण गर्ने प्रयोजनका लागि द्रष्टव्यको प्रयोग गर्ने गरेको पाइन्छ |