परिच्छेद-८   विधेयक मसौदा स्वीकृति तथा व्यवस्थापन विधि

परिच्छेद-८   विधेयक मसौदा स्वीकृति तथा व्यवस्थापन विधि

८.१ विधेयक मसौदाको पुनरावलोकन

८.१.१ तर्जुमाकारको सन्तुष्टि

पर्याप्त अभ्यास पश्चात विधेयक तर्जुमाको कामसम्पन्न भएको छ भन्ने कुरामा तर्जुमाकार सन्तुष्ट भएपछि विधेयक मसौदालाई पुनरावलोकनको प्रक्रियामा लैजानु पर्छ ।

८.१.२ विज्ञ तथा नीति निर्माणकर्तासँग परामर्श

विधेयक मसौदाको काम समाप्त भएपछि त्यस्तो विधेयक मसौदाको नीति निर्माता तथा विषय विज्ञसमक्ष प्रस्तुत गर्नुपर्छ र त्यसरी प्रस्तुत गर्दा नीति निर्माता तथा विषय विज्ञले देहायको विषयमा पुनरावलोकन गर्ने कुरामा ध्यान दिनुपर्छः –

८.१.२.१ नीतिगत विषय सम्पूर्ण रूपमा अभिव्यक्त भएको छ छैन,

८.१.२.२ नीतिको समुच्चा मनसाय र भावना विधेयकमा स्पष्ट रूपमा अभिव्यक्त भएको छ छैन,
८.१.२.३ अपवादका प्रावधान बाहेक नीतिको प्रतिकूल अभिव्यक्त हुने प्रावधान विधेयकमा रहेका छन् छैनन्,
८.१.२.४ वृहत वा सीमित अर्थमा अभिव्यक्त हुनु पर्ने प्रावधान सोही मात्रामा अर्थ लाग्ने गरी अभिव्यक्त भएको छ छैन ।

८.१.३ अन्तिम परिमार्जन

तर्जुमाकारले विज्ञ तथा नीति निर्मातासँग परामर्श प्राप्त गर्दा विज्ञ तथा नीति निर्माता सन्तुष्ट भएमा विधेयक मसौदा पूर्ण रूपमा तयार भएको मानिन्छ । विज्ञ तथा नीति निर्माताले त्यसमा थप सुझाब तथा प्रतिक्रिया व्यक्त गरेमा तर्जुमाकारले त्यस्तो सुझाब तथा प्रतिक्रिया बमोजिम विधेयक मसौदाको अन्तिम परिमार्जन गर्नुपर्छ ।

८.१.४ प्राविधिक जाँच तथा भूल सुधार

विधेयक मसौदामा कानून तर्जुमा तथा प्राविधिक दृष्टिले देहायका बुँदाहरूमा जाँचबुझ गरी देखिएका भूल सुधार गर्नुपर्छः –

८.१.४.१ विधेयक संरचनाको प्रारम्भिक, मूल र सहायक भागमा वर्गीकृत सूचीबद्ध सबै विषयहरू विधेयकमा समावेश भएका छन् छैनन, कुनै विषय छुट हुन पुगेको छ छैन,
८.१.४.२ परिच्छेद्मा उल्लिखित प्रावधान अनुसार परिच्छेद्को शीर्षक मिलेको छ छैन,
८.१.४.३ विषयगत प्राथमिकताको क्रम अनुसार परिच्छेद्को क्रम मिलेको छ छैन,
८.१.४.४ दफामा उल्लिखित प्रावधान अनुसार दफा शीर्षक मिलेको छ छैन,
८.१.४.५ विषयगत प्राथमिकताको क्रम अनुसार दफा शीर्षकको क्रम मिलेको छ छैन,
८.१.४.६ कुनै परिच्छेदमा रहेको दफा सोही परिच्छेदसँग वा अन्य परिच्छेदसँग बढी सम्बन्धित छ कि,
८.१.४.७ एउटा दफा वा उपदफाले अर्को दफा वा उपदफालाई उधृत गरेकोमा त्यसरी उधृत गरेको दफा मिलेको छ छैन,
८.१.४.८ दफा १ देखि अन्तिम दफा, उपदफा, खण्ड र उपखण्डको क्रम मिलेको छ छैन,
८.१.४.९ संशोधन गर्ने ऐन भए मूल ऐनको उद्धरण गरिएको दफा, उपदफा, खण्ड वा उपखण्ड सही रूपमा उद्धरण भएको छ छैन ।

८.१.५ विधेयक मसौदामा कानून मन्त्रालयको सहमति

कानून मन्त्रालयले विधेयक तर्जुमा गरेपछि सो विधेयकको मसौदा व्यवस्थापिकामा पेश गर्न आवश्यक कारबाही चलाउने सहमति सहित सम्बन्धित मन्त्रालयमा पठाउनु पर्छ ।

८.१.६ मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत

कानून मन्त्रालयबाट सहमति सहितको विधेयक मसौदा प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले सो विधेयकको मसौदा व्यवस्थापिकामा प्रस्तुत गर्ने स्वीकृतिको लागि मन्त्रिपरिषद्मा प्रस्ताव सहित पठाउनु पर्छ ।

८.१.७ मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल

विधेयक मसौदा व्यवस्थापिकामा प्रस्तुत गर्ने सम्बन्धमा सम्बद्ध मन्त्रालयबाट प्राप्त प्रस्ताव बमोजिम मन्त्रिपरिषद्ले उक्त विधेयक मसौदा व्यवस्थापिका संसदमा पेश गर्ने स्वीकृति दिने निर्णय गर्नु पूर्व मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलकोलागि पठाउँन वा आफैले निर्णय गर्न सक्छ ।

८.१.८ विशेषज्ञसँग परामर्श तथा अन्तिम परिमार्जन

मन्त्रिपरिषद्बाट विधेयक मसौदा विधेयक समितिमा छलफल गर्न पठाएकोमा विधेयक समितिले विधेयक मसौदा सम्बन्धमा सम्बद्ध निकायको धारणा र मन्तव्य समेतलाई विचार गरी आवश्यक भए थप परिमार्जन सहित व्यवस्थापिकामा प्रस्तुत गर्ने सिफारिश साथ मन्त्रिपरिषद्को स्वीकृतिकोलागि पेश गर्छ । तर विषयको जटिलता र नतिगत विषयले पार्ने प्रभाव समेतलाई विचार गर्दा थप केही विषयमा विशेषज्ञ र
सम्बद्ध पक्षको मन्तव्य र धारणा बुभ्mन आवश्यक देखेमा विशेषज्ञ रहेको उपसमिति समेत गठन गर्न सक्छ । त्यस्तो उपसमितिको सिफारिस पछि आवश्यक देखेमा परिमार्जन सहित विधेयक समितिले विधेयक मसौदा मन्त्रिपरिषद्मा पेश गर्छ । मन्त्रिपरिषदले विधेयक समितिलाई आवश्यक निर्णय गर्न सक्ने गरी अधिकार दिएको रहेछ भने विधेयक समितिमा निर्णय भए बमोजिम हुन्छ, मन्त्रिपरिषदमा पुनः पठाउनु
पर्दैन ।

८.१.९ मन्त्रिपरिषद्बाट विधेयक मसौदाको स्वीकृति

मन्त्रिपरिषद्मा पेश हुन आएको विधेयक मसौदालाई व्यवस्थापिकामा पेश गर्ने गरी मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्ने सम्बन्धमा निर्णय गर्छ । तर विधेयक समितिले नै टुङ्गाउने गरी मन्त्रिपरिषद्ले अधिकार दिएकोमा सो समितिले दिएको स्वीकृतिलाई नै मन्त्रिपरिषद्ले दिएको स्वीकृति मान्ने अभ्यास छ ।

८.१.१० विधेयक मसौदा व्यवस्थापिकामा पठाउने

मन्त्रिपरिषद्बाट व्यवस्थापिकामा पेश गर्न स्वीकृति दिएको विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित मन्त्रालयमा पठाउँछ । सम्बन्धित मन्त्रालयले व्यवस्थापिकासँग सम्बन्धित मन्त्रालयको समन्वयमा व्यवस्थापिकाको सचिवालयमा पठाउनु पर्छ । व्यवस्थापिका सचिवालयमा पठाउने विधेयक मसौदाको प्रति (संख्या) व्यवस्थापिकाको नियमावलीले तोके बमोजिम हुन्छ ।
८.१.१० विधेयक मसौदासाथ संलग्न गर्नु पर्ने कागजात
८.१.१०.१ विधेयक प्रतिः सम्बद्ध मन्त्रालयले व्यवस्थापिका सचिवालयमा विधेयक मसौदा पठाउँदा विधेयक मसौदाको प्रति बराबरकै देहायका कागजातहरू संलग्न गर्नुपर्छ ।
८.१.१०.१.१ उद्देश्य र कारणःकानून बनाउनु पर्ने कारण, कानूनको उद्देश्य, के विषयलाई व्यवस्थित, नियमित वा नियन्त्रित गर्न परेको हो, सो बेहोरा स्पष्ट खुलेको विधेयकको उद्देश्य र कारण सहितको विवरण ।
८.१.१०.१.२ आर्थिक टिप्पणीःऐनको कार्यान्वयनकालागि सरकारले वहन गर्नु पर्ने आर्थिक व्ययभार सम्बन्धी विवरण खुल्ने आर्थिक टिप्पणी । पटके र सालवसाली खर्चको अनुमानित विवरण सहितको विवरण आर्थिक टिप्पणीमा खुलाउनु पर्छ ।ज्ञण्ठ
८.१.१०.१.३ प्रत्यायोजित व्यवस्थापन सम्बन्धी टिप्पणीःविधेयकमा प्रत्यायोजित व्यवस्थापन सम्बन्धी अधिकारको व्यवस्था रहेको भए त्यस्तो विवरण । प्रत्यायोजित व्यवस्थापन सम्बन्धी विवरणमा विधेयकको कुन कुन दफा अन्तरगत के के विषयमा कुन निकाय विनियम, निर्देशिका, कार्यविधि बनाउन वा अधिकारीले प्रत्यायोजित व्यवस्थापन अन्तरगत के कस्तो नियम बनाउन वा आदेश वा सूचना जारी गर्न सक्छ त्यसको विस्तृत विवरण खुलाउनु पर्छ । प्रत्यायोजित अधिकार प्रदान गर्दा र प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार प्रयोग गर्दा पालना गर्नु पर्ने शर्त र सीमा भए त्यस्तो शर्त र सीमा समेत विवरणमा खुलाउनु पर्छ ।
८.१.१०.१.४ तीन महलेः प्रचलित कानूनलाई संशोधन गर्न बनेको विधेयक भएमा तीनमहले तयार गर्नुपर्छ जसमा प्रचलित कानूनी व्यवस्था, त्यसको सट्टामा प्रस्ताव गरेको नयाँ कानूनी व्यवस्था र संशोधन गर्नुपर्नाको कारण समेत खुलाइएको तीन महले प्रस्तुत गर्नुपर्छ ।
८.१.१०.१.५ प्रतिस्थापन विधेयकः कुनै अध्यादेशका प्रावधानहरूलाई यथावत वा संशोधन सहित प्रतिस्थापन गर्ने उद्देश्यबाट प्रस्तुत गरिने विधेयकको साथमा उक्त कानून बनाई अध्यादेशको रूपमा तत्कालै लागू गर्नुपरेको परिस्थिति र कारण सहितको विवरण संलग्न गरिनु पर्छ ।

८.१.११ अन्य आवश्यक औपचारिक कागजात

८.१.११.१ दुई प्रति विधेयकमा सम्बन्धित मन्त्रीको हस्ताक्षर र अन्य विधेयक प्रतिमा सम्बन्धित मन्त्रालयको छाप लगाएको हुनु पर्ने,
८.१.११.२ सम्बन्धित मन्त्रीले व्यवस्थापिकाको महासचिवलाई व्यवस्थापन कार्यविधिमा विधेयक समावेश गर्न अनुरोध गरिएको पत्र,
८.१.११.३ व्यवस्थापिकासँग सम्बन्धित मन्त्रालयले व्यवस्थापिका सचिवालयमा विधेयक पठाएको बेहोराको पत्र ।

८.१.१२ गैर सरकारी विधेयकको दर्ताः गैर सरकारी विधेयकको मसौदा सोझै व्यवस्थापिका सचिवालयमा दर्ता गरिन्छ

८.१.१३ व्यवस्थापन कार्यविधि सम्बन्धी व्यवस्था

८.१.१३.१ सदनमा विधेयक प्रस्तुत

अर्थ विधेयक, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सुरक्षा निकायसँग सम्बन्धित विधेयक सरकारी विधेयक भएकाले यस्ता विधेयकज्ञण्ड सरकारको मन्त्रीले पेश गर्नुपर्छ । सो बाहेकका अन्य विषयका विधेयक सरकारका मन्त्री वा व्यवस्थापिकाको सदस्यले आफ्नै तर्फबाट पनि पेश गर्न सक्ने व्यवस्था छ ।

८.१.१४ विधेयक प्रस्तुत गर्ने अनुमति

व्यवस्थापिकामा विधेयक प्रस्तुत गर्न चाहने कुनै पनि सदस्यले उक्त विधेयक प्रस्तुत गर्नु पूर्व विधेयकको साथमा उद्देश्य र कारण सहितको विवरण संलग्न गरी कम्तीमा सात दिन अगावै सोको सूचना व्यवस्थापिका–संसदको महासचिव वा सचिवलाई दिनुपर्छ । तर सम्बन्धित मन्त्रीले पेश गर्ने सरकारी विधेयकको हकमा पाँच दिन अगावै सूचना दिए पुग्छ । सभामुखले आवश्यक देखेमा विधेयकको उद्देश्य र कारण सम्बन्धी
विवरणमा उपयुक्त सुधार गर्न सक्दछन् । सभामुखले अन्यथा आदेश दिएकोमा बाहेक व्यवस्थापिकामा प्रस्तुत हुने दुई दिन अगावै प्रत्येक सदस्यलाई विधेयकको प्रति उपलब्ध गराउनु पर्नेछ ।

८.१.१५ अनुमति प्रस्तावको विरोध

विधेयक पेश गर्ने अनुमति माग्ने प्रस्ताव प्रस्तुत हुने दिनभन्दा एक दिन अगाडि व्यवस्थापिकाको कुनै सदस्यले त्यस्तो प्रस्तावको विरोधको सूचना महासचिव वा सचिवलाई दिन सक्दछन् ।

८.१.१६ विधेयक प्रस्तुत गर्न अनुमति माग्ने

विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव उपर कुनै सदस्यको विरोध भएमा प्रस्तावक र विरोधकर्ता दुवै सदस्यले संक्षिप्त वक्तव्य दिन पाउँछन् । तत्पश्चात दुवै प्रस्ताव सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गरिन्छ । विरोध प्रस्ताव अस्वीकृत भएमा वा विरोधनै नभएमा सभामुखले सदनमा विधेयक प्रस्तुत गर्ने अनुमति दिन्छन् र सम्बन्धित सदस्यले व्यवस्थापिकामा विधेयक प्रस्तुत गर्छन् । तर विधेयक प्रस्तुतकर्ता सदस्य उपस्थित हुन नसकेमा सभामुखको अनुमतिमा प्रस्तुतकर्ता सदस्यले अधिकृत गरेको अन्य कुनै सदस्यले विधेयक पेश गर्न सक्छन् ।

८.१.१७ विधेयकको प्रथम वाचन

८.१.१७.१ विधेयक व्यवस्थापिकामा प्रस्तुत भएपछि त्यो विधेयकको स्वामित्व व्यवस्थापिकाले ग्रहण गर्दछ । विधेयक माथि विचार गरियोस् वा विधेयक जनताको प्रतिक्रियाको लागि प्रचार गरियोस् भनी विधेयक प्रस्तुतकर्ता सदस्यले राखेको प्रस्ताव व्यवस्थापिकाबाट पारित भएमा विधेयक माथि छलफलकालागि व्यवस्थापिकाले सैद्धान्तिक स्वीकृति दिएको मानिन्छ र त्यसउपर सैद्धान्तिक पक्षमा मात्र छलफल हुन्छ । सैद्धान्तिक छलफलको क्रममा दफावार छलफल र संशोधन प्रस्ताव पेश गर्न सकिंदैन । तर विधेयकको मनसायनै स्पष्ट गर्न आवश्यक भएकोमा दफामा प्रवेश गर्न सकिन्छ ।

८.१.१७.२ विधेयक जनताको प्रतिक्रियाको लागि प्रचार गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिकाबाट स्वीकृत भएमा महासचिव वा सचिवले देहायको कुनै तरिका अपनाई राय संकलन गर्दछन्ः –

(क) विधेयकलाई नेपाल राजपत्रमा प्रकाशन गरेर, वा
(ख) अन्य कुनै उपयुक्त माध्यमद्वारा प्रचार गरेर ।

८.१.१७.३ निश्चित अवधि भित्र प्राप्त भएको सुझाब संकलन गरी प्रस्तुतकर्ता सदस्यलाई दिइन्छ र निजले प्रतिक्रिया सहितको विधेयकमा विचार
गरियोस् भन्ने प्रस्ताव पेश गर्दछ ।

८.१.१८ विधेयकको द्वितीय वाचन

८.१.१८.१ व्यवस्थापिकामा प्रस्तुत विधेयकमाथि प्रथम वाचन पश्चात सामान्य छलफल समाप्त भएपछि विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयक माथि दफावार छलफलको लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्न सक्दछन् ।
८.१.१८.२ विधेयक माथिको दफावार छलफल सदनमै गरियोस् भन्ने प्रस्ताव पारित भएमा सदनमानै छलफल गरिन्छ ।
८.१.१८.३ दफावार छलफलकोलागि विधेयकलाई सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव पारित भएमा विधेयकलाई दफावार छलफलकोलागि सम्बन्धित समितिमा पठाइन्छ ।

८.१.१९ विधेयकमा संशोधन

८.१.१९.१ व्यवस्थापिकामा प्रस्तुत विधेयकमा संशोधन गर्न चाहने सदस्यले विधेयक माथिको सामान्य छलफल समाप्त भएको मितिले बहत्तर घण्टा भित्र आफूले पेश गर्न चाहेको सुझाबहरू तोकिएको शर्तहरूको अधीनमा रही महासचिव वा सचिवलाई दिनुपर्छ ।
८.१.१९.२ संशोधनको विवरण महासचिव वा सचिवले सम्बन्धित सदस्यलाई दिनुर्पछ र उक्त संशोधनमाथि पनि संशोधन राख्न सकिन्छ ।ज्ञज्ञण्
८.१.१९.३ प्राप्त दुवै संशोधनलाई स्वीकृत गर्ने, अस्वीकृत गर्ने वा त्यसमा सुधार गर्ने जस्ता अधिकार सभामुखलाई हुन्छ ।

८.१.२० समितिमा विधेयकमाथि छलफल

८.१.२०.१ विधेयक समितिमा पठाउने प्रस्ताव पारित भएपछि विधेयकलाई सम्बन्धित समितिमा पठाइन्छ । समितिमा विधेयक प्राप्त भएपछि त्यस्तो विधेयक माथि दफावार छलफल गरिन्छ । विधेयकमा प्राप्त संशोधनलाई दफाक्रम अनुसार छलफल गरी विधेयकको अनुसूचीलाई पनि दफावार छलफल पछि लगत्तै छलफल गरिन्छ ।
८.१.२०.२ छलफलको क्रममा संशोधनकर्ता सदस्यले बैठकको स्वीकृति लिई संशोधन फिर्ता लिन सक्दछन् । तर कुनै संशोधनमाथि संशोधन प्रस्तुत भएकोमा संशोधन माथिको संशोधनमा टुंगो नलागेसम्म मूल संशोधनलाई फिर्ता लिन सकिंदैन ।
८.१.२०.३ समितिमा छलफल गर्दा हित समूह, सम्बद्ध सरोकारवाला वा विशेषज्ञलाई आमन्त्रण गर्न सकिन्छ ।
८.१.२०.४ समितिमा ह्विप जारी गर्ने प्रचलन छैन ।
८.१.२०.५ समितिमा विधेयक दफावार छलफल भइसकेपछि समितिले गरेको निर्णय सहितको प्रतिवेदन तयार गरी समितिको सभापति वा निजको अनुपस्थितिमा सभामुखले तोकेको अन्य सदस्यले समितिको प्रतिवेदन सहितको विधेयक व्यवस्थापिकामा पेश गर्नुपर्छ ।

८.१.२१ विधेयक फिर्ता लिन सकिने

८.१.२१.१ विधेयक प्रस्तुतकर्ता सदस्यले आपूmले प्रस्तुत गरेको विधेयक सदनकोस्वीकृति लिई फिर्ता लिन सक्दछ । फिर्ता लिने अनुमतिकोलागि प्रस्ताव पेश गर्न चाहेमा प्रस्ताव व्यवस्थापिकामा पेश गर्ने मितिभन्दा एक दिन अगावै महासचिव वा सचिवलाई सूचना दिनु पर्छ ।
८.१.२१.२ समितिमा विचाराधीन विधेयक फिर्ता लिन अनुमतिको प्रस्ताव प्राप्त भएमा समितिले सोही व्यहोराको प्रतिवेदन तयार गरी विधेयक फिर्ता लिने प्रस्ताव व्यवस्थापिका समक्ष पेश गर्नु पर्छ । त्यस्तो प्रस्तावमा कुनै सदस्यको विरोध प्रस्ताव पेश भएमा प्रस्तावक र विरोधकर्ता दुवैलाई संक्षिप्त वक्तव्य दिन लगाई दुवै प्रस्ताव व्यवस्थापिकामा निर्णयार्थ पेश गरी फिर्ता लिने प्रस्ताव स्वीकृत भएमा मात्र फिर्ता लिन सकिन्छ ।

८.१.२२ विधेयकको तृतीय वाचन

८.१.२२.१ विधेयकमाथि सदनमा दफावार छलफल भएकोमा सो समाप्त भएपछि र समितिमा दफावार छलफल भएकोमा समितिको प्रतिवेदन प्रस्तुत भएपछि प्रतिवेदन सबै सदस्यहरूलाई वितरण गरिन्छ ।
८.१.२२.२ प्रतिवेदन वितरण भएको चौबीस घण्टापछि विधेयक प्रस्तुतकर्ता सदस्यले प्रतिवेदन सहितको विधेयक माथि छलफल गरियोस् भन्ने वा कुनै खास दफा वा दफाहरूको सम्बन्धमा पुनः विचारार्थ निर्देशन सहित समितिमाविधेयक फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेश गर्न सक्दछन् ।
८.१.२२.३ प्रतिवेदन सहितको विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएमा विधेयकमा छलफल गरिन्छ भने विधेयक समितिमा फिर्ता पठाउने निर्णय भएमा विधेयक माथि पुनः विचार गरी प्रतिवेदन पेश गर्न सम्बन्धित समितिमा फिर्ता पठाइन्छ ।
८.१.२२.४ तर प्रस्तुतकर्ता सदस्यले पहिलो प्रस्ताव राखेकोमा अन्य सदस्यबाट अर्को प्रस्ताव पेश गरिएकोमा उक्त दुवै प्रस्तावहरू निर्णयार्थ व्यवस्थापिकामा प्रस्तुत गरिन्छ र निर्णय बमोजिमको प्रक्रिया पूरा गरिन्छ । पुनः विचारार्थ फिर्ता आएको विधेयक माथि समितिले विचार गरी प्रतिवेदन सहितको विधेयक व्यवस्थापिकामा पुनः प्रस्तुत गर्दछ ।

८.१.२३ व्यवस्थापिकाबाट स्वीकृति

८.१.२३.१ व्यवस्थापिकामा विधेयक उपरको दफावार छलफल समाप्त भएपछि र समितिमा दफावार छलफल भएकोमा समितिको प्रतिवेदन माथिको छलफल समाप्त भएपछि विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयक व्यवस्थापिकाबाट पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दछन् र उक्त
प्रस्ताव कुल सदस्य संख्याको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिन्छ ।

८.१.२४ गैर सरकारी विधेयक निष्क्रिय हुने अवस्था

८.१.२४.१ कुनै गैर सरकारी विधेयक प्रस्तुतकर्ता व्यवस्थापिकाको सदस्य नरहेमा वा नभएमा वा उक्त विधेयक पारित नहुँदै निज मन्त्री भएमा
विधेयक स्वतः निष्क्रिय भएको मानिन्छ ।
८.१.२५ आनुषङ्गिक सुधार

८.१.२५.१ व्यवस्थापिकाबाट पारित भएका विधेयकमा अनायास हुन गएका भाषिक, शाब्दिक र प्राविधिक रूपमा देखिएका त्रुटिलाई आनुषङ्गिक सुधार मार्फत सच्याउन सकिन्छ । परिच्छेद, दफा, उपदफा, खण्ड तथा उपखण्डको क्रम र सँख्या र तिनीहरूको उद्धरण गलत हुन गई नसच्याई नहुने ठहर भएका विषयमा मात्र आनुषङ्गिक सुधार मार्फत सच्याउन सकिन्छ ।

८.१.२६ विधेयकको प्रमाणीकरण र स्वीकृति

८.१.२६.१ व्यवस्थापिकाबाट पारित विधेयक व्यवस्थापिकाको सभामुखबाट उक्त विधेयक व्यवस्थापिकाको कुन मितिमा बसेको बैठकबाट पारित भएको हो सो मिति समेत उल्लेख गरी आफ्नो हस्ताक्षरले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनु पर्छ । त्यसमा राष्ट्रपतिबाट प्रमाणीकरण (स्वीकृति) भएपछि विधेयकले ऐनको रूप धारण गर्छ ।
८.१.२६.२ राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक राजपत्रमा प्रकाशन गर्दा “विधेयक”को ठाउँमा “ऐन” भन्ने शब्द राखी ऐनको नम्बर राखिन्छ । यति सालको यति नम्बरको यो ऐन भनेर उल्लेख गर्ने आधार प्रमाणीकरण भएको क्रमलाई लिने गरिएको छ ।

८.१.२७ ऐनको प्रकाशन

८.१.२७.१ नेपाल राजपत्रमा प्रकाशन

विधेयक प्रमाणीकरण भएपछि त्यसलाई सर्वसाधारणको जानकारीको लागि कानून मन्त्रालयको सचिवको नामबाट नेपाल राजपत्र भाग २ मा
प्रकाशन गरिन्छ ।

८.१.२७.२ वेबसाइटमा प्रकाशन गर्ने परम्पराको शुरूआत हुनुपर्ने सूचना पाउने नागरिकको हकलाई सम्मान गर्दै विधेयक प्रमाणित भएको
दिननै त्यस्तो विधेयक सरकारको सम्बद्ध निकायको वेवसाइट मार्फत सार्वजनिक गर्ने अभ्यासको शुरूआत गरिनु आवश्यक छ ।ज्ञज्ञघ