परिच्छेद–२ देवानी कानूनका सामान्य सिद्धान्त

परिच्छेद–२ देवानी कानूनका सामान्य सिद्धान्त

४. सामान्य रूपमा लागू हुने सिद्धान्त तथा व्यवस्थाः यस परिच्छेदमा उल्लिखित सिद्धान्त तथा व्यवस्थाहरू सामान्यतः देवानी कानूनका विषयमा लागू हुनेछन् ।

५. कानूनको अज्ञानता क्षम्य नहुनेः कानूनको अज्ञानता क्षम्य हुने छैन । कानून सबैले जानेको अनुमान गरिनेछ ।

६. सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउनेः कसैले पनि सार्वजनिक हित विपरीत हुने गरी कुनै काम कारबाही गर्न पाउने छैन ।

७. कानून विपरीतको काम अमान्य हुनेः कानून विपरीतको काम अमान्य हुनेछ ।

८. गल्ती गर्नेले क्षति व्यहोर्नु पर्नेः (१) कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानि, नोक्सानी हुन गएमा त्यसरी हानि, नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

(२) प्रत्येक व्यक्तिले आपूmले गरेको गलत कार्यको परिणाम आफैँंले व्यहोर्नु पर्नेछ ।

(३) यस संहिता वा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिमको दायित्व निर्वाह गर्न सम्बन्धित व्यक्तिले क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।

(४) क्षतिपूर्तिको निर्धारण कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

९. अरूलाई दुःख दिने गरी काम गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा निजको इज्जत, प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरी कुनै काम गर्न वा गराउन हुँदैन ।

१०. गल्तीको फाइदा लिन नपाउनेः कसैले पनि आफूले गरेको गल्तीबाट भएको फाइदा लिन पाउने छैन ।

११. हित विपरीतको काम अमान्य हुनेः आफ्नो संरक्षकत्व, माथवरी, अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने व्यक्तिको हित विपरीत गरिएको काम अमान्य हुनेछ ।

१२. व्यक्तित्वलाई स्वीकार गर्नु पर्नेः प्रत्येक व्यक्तिले अन्य व्यक्तिको व्यक्तित्वलाई स्वीकार गर्नु पर्नेछ ।

१३. असल छिमेकीपन कायम गर्नु पर्नेः प्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानिनोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नु पर्नेछ ।

१४. देवानी दायित्वबाट छुटकारा नपाउनेः कुनै व्यक्ति उपर फौजदारी कसूरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानून बमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन ।

१५. कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइनेः कानून विपरीतका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्यता दिइने छैन ।

१६. विदेशीको हकमा पनि लागू हुनेः विषय, प्रसङ्ग वा प्रकृतिले कुनै कानूनी व्यवस्था नेपाली नागरिकलाई मात्र लागू हुने अवस्थामा बाहेक यो संहितावा देवानी कानून सम्बन्धी अन्य प्रावधान विदेशीको हकमा पनि समान रूपमा लागू हुनेछ ।