परिच्छेद–३ नागरिक अधिकार सम्बन्धी व्यवस्था

परिच्छेद–३ नागरिक अधिकार सम्बन्धी व्यवस्था

१७. कानूनको दृष्टिमा समान हुनेः (१) प्रत्येक नागरिक कानूनको दृष्टिमा समान हुने छन् ।

(२) कुनै पनि नागरिकलाई कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।

१८. भेदभाव गर्न नपाइनेः (१) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।

(२) कुनै पनि व्यक्तिलाई उत्पत्ति, धर्म, वर्ण, जात, जाति, समुदाय, पेशा, व्यवसाय, लिङ्ग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै पनि आधारमा निजी तथा सार्वजनिक स्थानमा भेदभाव गरिने छैन र त्यस्तो आधारमा कुनै पनि व्यक्तिलाई सार्वजनिक प्रयोगमा रहेका सेवा, सुविधा वा उपयोगका कुराहरू प्रयोग गर्नबाट वा सार्वजनिक स्थल वा सार्वजनिक धार्मिक स्थलमा प्रवेश गर्न वा आफ्नो इच्छा अनुसारको धार्मिक कार्य गर्नबाट वञ्चित गरिने छैन ।

(३) कसैलाई पनि समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन ।

(४) कुनै नागरिकलाई सरकारी वा सार्वजनिक पदमा नियुक्ति गर्दा कानूनले निर्धारण गरेको योग्यताका आधारमा मात्र गरिनेछ । त्यसरी नियुक्ति गर्दा कुनै पनि नागरिकमाथि उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।

१९. विशेष व्यवस्था भएकोमा भेदभाव गरेको नमानिनेः दफा १७ र १८ मा जुनसुकै कुरा लेखिएको भए तापनि सामाजिक वा साँस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गरेकोमा भेदभाव गरेको मानिने छैन ।

२०. स्वतन्त्रता र अधिकार हुनेः (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरिने छैन ।

(२) कानूनको अधीनमा रही प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता र अधिकार हुनेछः–
(क) आफ्नो विचार राख्ने तथा अभिव्यक्त गर्ने,
(ख) बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा सभा, सम्मेलन गर्ने,
(ग) सङ्घ वा संस्था खोल्ने,
(घ) नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने,
(ङ) कुनै पेशा, रोजगार, उद्योग, व्यवसाय गर्ने,
(च) आफूले चाहेको शिक्षा वा आफ्नो मातृभाषामा शिक्षा आर्जन गर्ने,
(छ) सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, हस्तान्तरण गर्ने र सम्पत्तिको अन्य कुनै कारोबार गर्ने,
(ज) सार्वजनिक नैतिकता र परम्पराको मर्यादा राखी सनातनदेखि चली आएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने,
(झ) आफ्नो समुदायको भाषा, लिपि वा संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्ने,
(ञ) आफ्नो धार्मिक समुदायको स्वतन्त्र अस्तित्व कायम राखी धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन गर्ने,
(ट) आफ्नो जीउ, आवास, सम्पत्ति, लिखत, पत्राचार वा सूचनाको रक्षा गर्ने वा गोप्य राख्ने ।

२१. गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेः (१) कानून बमोजिम बाहेक कसैले सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई देहायका कुनै काम कुरा गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेछः–
(क) कुनै व्यक्तिको बासस्थानमा प्रवेश गरेमा,
(ख) कसैको चिठ्ठीपत्र खोलेमा वा त्यसको प्रयोग गरेमा, टेलिफोन वा अन्य प्रविधिको माध्यमबाट भएको कुराकानी, बोली, ध्वनिको टेप वा रेकर्ड गरेमा वा सुनेमा,
(ग) कुनै व्यक्तिको निजी जीवनको व्यवहार, आचरणको चियो चर्चा, प्रकाशन, प्रशारण वा प्रचार गरेमा,
(घ) कसैको आकृति वा तस्वीर खिचेमा,
(ङ) अरूको नाम, आकृति, तस्वीर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा ।

(२) उपदफा (१) को खण्ड (घ) वा (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले साहित्यिक वा कलात्मक प्रयोजन वा सार्वजनिक हितको लागि तीे खण्डहरूमा लेखिएको कुनै काम गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने छैन ।

२२. करार गर्न पाउनेः प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही करार गर्ने अधिकार हुनेछ ।

२३. कानून बमोजिम बाहेक कर लगाउन नपाइनेः कानून बमोजिम बाहेक कुनै व्यक्तिको सम्पत्ति वा आयमा कर लगाउन सकिने छैन ।

२४. इच्छा विरुद्ध काममा लगाउन नपाइनेः कुनै पनि व्यक्तिलाई निजको इच्छा विरुद्ध कुनै काममा लगाउन पाइने छैन ।

२५. सम्पत्ति प्राप्ति, अधिग्रहण, लिलाम वा जफत नगरिनेः (१) कानून बमोजिम सार्वजनिक हितको लागि बाहेक राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले अधिकारको सिर्जना गर्ने छैन ।

तर गैर कानूनी रूपले आर्जन गरेको सम्पत्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।

(२) कानून बमोजिम बाहेक कसैको सम्पत्ति लिलाम वा जफत गरिने छैन ।

२६. उजुर गर्न सक्नेः (१) गिरफ्तार भएको वा थुनिएको व्यक्ति आफैँले वा निजको तर्फबाट जोसुकैले बन्दीप्रत्यक्षीकरणको आदेशको लागि सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालतमा उजुरी दिन सक्नेछ ।

(२) कसैले एकभन्दा बढी अदालतमा उजुरी दिएमा माथिल्लो अदालतमा दिएको उजुरी कायम रहनेछ ।

(३) कसैले यस परिच्छेद विपरीत कुनै काम कारबाही गरेमा वा गर्न लागेको पर्याप्त आशङ्का भएमा त्यस्तो काम कारबाहीबाट मर्का पर्न जाने व्यक्तिले आफ्नो अधिकारको प्रचलनको लागि प्रादेशिक क्षेत्राधिकार भएको उच्च अदालत वा जिल्ला अदालतमा उजुर गर्न सक्नेछ ।

(४) उपदफा (१) बमोजिम परेको उजुरी जाँचबुझ गर्दा कानून विपरीत गिरफ्तार गरिएको वा थुनिएको देखिएमा सम्बन्धित अदालतले त्यसरी गिरफ्तार वा थुनिएको व्यक्तिलाई तुरुन्त थुनाबाट छाड्न आदेश दिनेछ ।

(५) उपदफा (३) बमोजिम परेको उजुरी जाँचबुझ गर्दा प्रत्यर्थीले निजको अधिकारमा केही क्षति पु¥याएको वा क्षति पु¥याउन लागेको देखिएमा सम्बन्धित अदालतले त्यस्तो प्रत्यर्थीको नाममा उजुर गर्ने व्यक्तिको अधिकार उपर क्षति पुग्ने किसिमको काम नगर्न, नगराउन र केही काम गरिसकेको भए बाँकी काम नगर्न वा कुनै काम गर्न लगाउन आदेश जारी गर्न सक्नेछ ।

२७. क्षतिपूर्ति भराई दिनेः (१) दफा २६ बमोजिम परेको उजुरी जाँचबुझ गर्दा प्रत्यर्थीले उजुरकर्तालाई वदनियतपूर्वक क्षति पुग्ने कुनै काम गरेको ठहरिएमा सम्बन्धित अदालतले अवस्था हेरी प्रत्यर्थीबाट उजुरीकर्तालाई मनासिब क्षतिपूर्ति भरार्ई दिनेछ ।

(२) कुनै सरकारी वा सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीले यस परिच्छेदमा उल्लिखित नागरिक अधिकारको जानीजानी उल्लङ्घन गरेको ठहरिएमा उपदफा (१) बमोजिमको क्षतिपूर्तिको रकम त्यस्तो पदाधिकारी वा कर्मचारी आफैँले व्यहोर्नु पर्नेछ ।

२८. झुट्टा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराई दिनेः (१) कसैले कसैलाई दुःख दिने वा हानि, नोक्सानी पुर्याउने नियतले झुट्टा उजुरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यसरी झुट्टा उजुरी दिने उजुरीकर्ताबाट प्रत्यर्थीलाई मनासिब क्षतिपूर्ति भरार्ई दिनेछ ।

(२) उपदफा (१) बमोजिम भराइने क्षतिपूर्तिमा प्रत्यर्थीले अदालतमा आप्mनो प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर र कानून व्यवसायीको खर्च समेत समावेश हुनेछन् ।

२९. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले गिरफ्तार वा थुनिएको हकमा जहिलेसुकै र अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।