भाग–२ व्यक्ति सम्बन्धी कानून परिच्छेद–१ प्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्था

भाग–२ व्यक्ति सम्बन्धी कानून परिच्छेद–१ प्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्था

परिच्छेद–१
प्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्था
३०. व्यक्तिको मान्यता पाउनेः प्रत्येक व्यक्तिले जन्मनासाथ व्यक्तिको रूपमा मान्यता पाउनेछ र निज जीवित रहेसम्म कानून बमोजिमको अधिकार उपभोग गर्न पाउनेछ ।

३१. नामको अधिकार हुनेः (१) प्रत्येक व्यक्तिलाई जन्मनासाथ नामको अधिकार हुनेछ र आफ्नो नामको सम्मानजनक तवरले उपयोग गर्न पाउनेछ ।

(२) प्रत्येक व्यक्तिलाई आफ्नो नाम, इज्जत र प्रतिष्ठाको रक्षा गर्ने अधिकार हुनेछ र त्यस्तो अधिकार अन्य व्यक्तिमा हस्तान्तरण हुन सक्ने छैन ।

(३) कसैले पनि अन्य व्यक्तिको नाम दुरूपयोग गर्न पाउने छैन ।

३२. सक्षमता प्राप्त गर्नेः (१) अठार वर्ष उमेर पूरा भएको प्रत्येक व्यक्ति बालिग भएको मानिनेछ र सोही हैसियतमा निज कानूनी रूपमा सक्षम भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिमको सक्षम व्यक्तिले कानूनको अधीनमा रही जुनसुकै अधिकार उपयोग गर्न, दायित्व निर्वाह गर्न तथा कर्तव्य पालना गर्न सक्नेछ ।

३३. असक्षम मानिनेः (१) दफा ३२ मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्ष उमेर पूरा नभएको वा त्यस्तो उमेर पुगेको भए पनि होस ठेगानमा नरहेको कारण आफ्नो हक र हित संरक्षण गर्न नसक्ने व्यक्ति कानूनी रूपमा असक्षम मानिनेछ ।

स्पष्टीकरणः यस संहिताको प्रयोजनको लागि “होस ठेगानमा नरहेको” भन्नाले शारीरिक वा मानसिक अस्वस्थताका कारण सामान्य समझमा आपूmले गरेको काम र त्यसको परिणाम बुझ्न नसक्ने अवस्थामा रहेको सम्झनु पर्छ ।

(२) असक्षम व्यक्तिले कुनै किसिमको कानूनी दायित्व व्यहोर्नु पर्ने छैन र कुनै अधिकार उपयोग गर्दा संरक्षक वा माथवरको मञ्जुरी लिई वा संरक्षक वा माथवर मार्फत उपयोग गर्नु वा गराउनु पर्नेछ ।

(३) असक्षम व्यक्तिको तर्फबाट कुनै कागज गराउनु पर्दा निजको संरक्षक वा माथवर मार्फत गराउनु पर्नेछ ।

३४. अर्धसक्षम मानिनेः (१) दश वर्ष पूरा भई अठार वर्ष उमेर पूरा नगरेको व्यक्ति अर्धसक्षम मानिनेछ ।

(२) अर्धसक्षम व्यक्तिले कानूनको अधीनमा रही जुनसुकै अधिकार उपयोग गर्न, दायित्व निर्वाह गर्न तथा कर्तव्य पालना गर्न सक्नेछ ।

(३) अर्धसक्षम व्यक्तिले कुनै अधिकारको उपयोग गर्दा संरक्षक वा माथवरको मञ्जुरी लिई वा संरक्षक वा माथवर मार्फत गराउनु पर्नेछ ।

(४) अर्धसक्षम व्यक्तिको कुनै कागज गराउँदा संरक्षक वा माथवरको रोहवरमा गराउनु पर्नेछ ।

३५. अदालतको निर्णय बमोजिम हुनेः कुनै व्यक्तिको सक्षमता, असक्षमता वा अर्धसक्षमताको सम्बन्धमा विवाद उत्पन्न भएमा अदालतको निर्णय बमोजिम हुनेछ ।

३६. शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न, गराउन सक्नेः (१) कुनै पनि व्यक्तिले कानूनको अधीनमा रही आफ्नो शरीरको परीक्षण, उपचार, अङ्ग परिवर्तन वा शरीरको कुनै अङ्गको कुनै अंश वा त्यसको कुनै नमूना सङ्कलन गर्न वा गराउन सक्नेछ ।

(२) कुनै व्यक्ति आफैँले मञ्जुरी दिन नसक्ने गरी अशक्त भएको अवस्थामा संरक्षक वा माथवरले निजको हितको लागि उपदफा (१) बमोजिमको काम गर्न वा गराउन सक्नेछ ।

३७. आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्नेः (१) कुनै पनि व्यक्तिले जीवित छँदै आफ्नो मृत्यु पछि गरिने दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिले दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गरेकोमा हकवालाले पनि मर्ने व्यक्तिको इच्छा बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम कुनै व्यक्तिले आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण नगरेकोमा हकवालाले प्रचलित परम्परा तथा संस्कार बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्नेछ ।

३८. शव वा अङ्ग दान दिन सक्नेः (१) कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अङ्ग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन कसैलाई दान दिने गरी लिखित रूपमा इच्छा व्यक्त गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्यक्तिको शव, शरीरको अङ्ग वा त्यसको कुनै अंशको प्रयोग मर्ने व्यक्तिको इच्छा बमोजिम गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो शव, अङ्ग वा त्यसको कुनै अंश स्वीकार गर्ने व्यक्ति उपलब्ध हुन नसकेमा वा त्यस्तो शव, अङ्ग वा त्यसको कुनै अंश छुट्याउन सम्भव नहुने भएमा त्यस्तो शवको दफा ३७ बमोजिम दाह संस्कार, काज किरिया वा सदगत गर्नु पर्नेछ ।

३९. बसोबासको ठेगाना मानिनेः (१) कुनै व्यक्तिको बसोबासको ठेगाना निर्धारण गर्नु पर्दा निजले त्यस प्रयोजनको लागि कुनै ठेगाना दिएको रहेछ भने सोही ठेगाना र त्यसरी ठेगाना दिएको रहेनछ भने नेपालभित्र निजले स्थायी रूपमा बसोबास गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।

(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिको बसोबास नभएमा वा बसोबास पत्ता नलागेमा त्यस्तो व्यक्ति तत्काल बसोबास गर्दै आएको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम कुनै व्यक्तिको बसोबास नभएमा वा निजको बसोबास पत्ता नलागेमा निजले कुनै व्यापार, व्यवसाय, रोजगार वा कारोबार गरेको रहेछ भने त्यस्तो व्यापार, व्यवसाय, रोजगार वा कारोबार गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।

(४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको बसोबासको ठेगाना परिवर्तन भएको रहेछ भने त्यस्तो व्यक्ति तत्काल जुन ठाउँमा बसोबास गरेको छ सोही ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।

(५) असक्षम वा अर्धसक्षम व्यक्तिको बसोबास निर्धारण गर्नु पर्दा त्यस्तो व्यक्तिले स्थायी रूपमा बसोबास गरेको ठाउँ र त्यस्तो ठाउँ यकिन नभएमा त्यस्तो व्यक्तिको संरक्षक वा माथवर बसोबास गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै खास प्रयोजनको लागि कुनै ठेगानालाई आफ्नो बासस्थान मानेको भए त्यस्तो ठेगानालाई निजको बसोबासको ठेगाना मानिनेछ ।

४०. मृत्यु भएको मानिनेः (१) कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ ।
तर देहायको अवस्थामा देहायको अवधि समाप्त भएपछि त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछः–

(१) असी वर्ष उमेर पूरा भएको व्यक्ति भए पाँच वर्ष,

(२) युद्धस्थलमा खटिएको सैनिक भए युद्घ समाप्त भएको मितिले चार वर्ष,

(३) दुर्घटना भएको वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भए त्यसरी दुर्घटना भएको मितिले तीन वर्ष ।

(२) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएकोमा त्यस्तो दुर्घटनामा पर्ने अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा त्यस्तो व्यक्तिको पनि सोही बखत मृत्यु भएको मानिनेछ ।

(३) कुनै दुर्घटनामा परी एकैसाथ एकभन्दा बढी व्यक्तिको मृत्यु भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यसरी मृत्यु हुने प्रत्येक व्यक्तिको एकैसाथ मृत्यु भएको मानिनेछ ।

तर कुनै खास प्रयोजनको लागि त्यसरी भएको दुर्घटनामा कुन व्यक्तिको पहिले मृत्यु भएको हो भन्ने प्रश्न निरुपण गर्नु पर्ने भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक मृत्यु हुँदाका बखत जुन व्यक्तिको उमेर बढी रहेको छ सोही व्यक्तिको पहिले मृत्यु भएको मानिनेछ ।

(४) कुनै व्यक्ति बिना सूचना बेपत्ता भएको वा कुनै विपद् वा दुर्घटनामा परेकोले निजको मृत्युको सम्बन्धमा न्यायिक घोषणा गरी पाउँ भनी त्यस्तो व्यक्ति बेपत्ता भएको वा मृत्यु भएको मिति, ठेगाना, कारण र आधार सहित खुलाई सरोकारवाला व्यक्तिले निवेदन दिएमा अदालतले सबुत प्रमाण बुझी त्यस्तो व्यक्तिको सम्बन्धमा मृत्युको न्यायिक घोषणाको आदेश गर्न सक्नेछ ।

(५) उपदफा (४) बमोजिम मृत घोषित भइसकेको व्यक्ति जीवित रूपमा फर्की अघि भएको न्यायिक घोषणा बदर गरी पाउँ भनी निज आफैँले वा निजको मृत्यु भएको मिति न्यायिक घोषणा भएको मितिभन्दा फरक परी मृत्यु सम्बन्धी न्यायिक घोषणा संशोधन गरी पाउँ भनी निजको हकदारले निवेदन दिएमा अदालतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी उपदफा (४) बमोजिम गरेको न्यायिक घोषणाको आदेश संशोधन वा बदर गर्नेछ ।
तर,
(१) कुनै जीवित पत्नीले त्यस्तो घोषणा पछि अर्को विवाह गरेको रहेछ भने घोषित व्यक्तिसँगको वैवाहिक सम्बन्ध पुनः स्थापित हुन सक्ने छैन ।

(२) मृत घोषित व्यक्तिको कानून बमोजिमको अधिकारमा कुनै प्रतिकूल असर पर्ने छैन ।

(३) मृत्यु भएको नयाँ मिति कायम भएको कारणबाट पहिलेको न्यायिक घोषणाबाट भइसकेको काममा प्रतिकूल असर पर्ने छैन ।

(४) खण्ड (३) बमोजिम भएको काम कारबाहीबाट कुनै व्यक्तिको कानून बमोजिम प्राप्त हक, हित वा सरोकारमा कुनै असर पर्ने छैन ।

४१. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले देहाय बमोजिम नालिस गर्न सक्नेछः–
(क) दफा ३६ को अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र,
(ख) दफा ४० को उपदफा (५) को अवस्थामा त्यस्तो काम कारबाही भएको थाहा पाएको मितिले एक वर्षभित्र,
(ग) खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र ।