परिच्छेद–४ आमा, बाबु तथा छोरा, छोरीको सम्बन्ध सम्बन्धी व्यवस्था

परिच्छेद–४ आमा, बाबु तथा छोरा, छोरीको सम्बन्ध सम्बन्धी व्यवस्था

१०५. आमा, बाबुबाट मातृत्व वा पितृत्व निर्धारण हुनेः (१) कुनै व्यक्तिको मातृत्व वा पितृत्व निर्धारण गर्नु पर्दा निजको आमा वा बाबुको आधारमा गरिनेछ ।

(२) उपदफा (१) बमोजिम पितृत्व निर्धारण गर्दा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यस्तो व्यक्ति जन्मदाका बखत निजको आमाको पति रहेको व्यक्ति निजको बाबु भएको अनुमान गरिनेछ ।

१०६. विवाहित पतिबाट शिशु जन्मिएको अनुमान गरिनेः अन्यथा प्रमाणित भएकोमा बाहेक देहायको अवस्थामा जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको अनुमान गरिनेछः–
(क) विवाह भएको मितिबाट एक सय असी दिन पछि जन्मिएको,
(ख) पतिको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिबाट दुई सय बहत्तर दिनभित्र जन्मिएको ।

१०७. पितृत्व इन्कार गर्न सक्नेः (१) पति पत्नी बीच अन्यथा सहमति भएकोमा बाहेक विवाह भएको एक सय असी दिन अगाडि नै पत्नीबाट जन्मिएको शिशुको पितृत्वलाई पतिले र त्यस्तो शिशुको जन्म हुनु अगाडि नै पतिको मृत्यु भइसकेको रहेछ भने निजको हकवालाले इन्कार गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जनुसुकै कुरा लेखिएको भए तापनि विवाह गर्नु अगाडि कुनै महिला गर्भवती भएको थाहा पाएर वा थाहा पाउनु पर्ने मनासिब कारण भई कुनै पुरुषले त्यस्तो महिलासँग विवाह गरेको रहेछ भने त्यस्तो अवधि अगाडि जन्मिएको कारणले मात्र शिशुको पितृत्व इन्कार गर्न सकिने छैन ।

१०८. छोरा, छोरी वा पितृत्व दाबी गर्नु पर्नेः (१) पितृत्व वा मातृत्वको ठेगान नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको मितिले दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।

(२) पितृत्वको ठेगान नभई जन्मिएको शिशुको पितृत्व दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको मितिले दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।
तर त्यस्तो शिशुकै मृत्यु भई सकेपछि दाबी गर्न सकिने छैन ।

१०९. कृत्रिम गर्भाधानबाट जन्मिएको शिशुको पितृत्व बाबुको हुनेः पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ र सोही बमोजिम निजको पितृत्व निर्धारण हुनेछ ।

११०. अदालतबाट ठहरे बमोजिम हुनेः कुनै व्यक्तिको मातृत्व वा पितृत्वका सम्बन्धमा विवाद उत्पन्न भएमा त्यसको निरूपण अदालतबाट निर्णय भए बमोजिम हुनेछ ।

१११. नाम र थर पाउनेः (१) प्रत्येक व्यक्तिले जन्मेपछि आ–आफ्नो धर्म, संस्कृति, चलन र परम्परा अनुसार निजको आमा वा बाबुले राखेको नाम पाउनेछ ।

(२) कसैको आमा वा बाबु तत्काल उपलब्ध नभएमा वा उपलब्ध हुन सक्ने सम्भावना नरहेमा निजले आफूलाई हेरचाह गर्ने संरक्षक वा माथवरले राखे बमोजिमको नाम पाउनेछ ।

(३) प्रत्येक व्यक्तिले जन्मेपछि निजको आमा बाबुको सहमतिबाट राखिएको थर वा त्यस्तो सहमति हुन नसकेमा निजको बाबुको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ ।

तर पितृत्वको ठेगान नलागेको व्यक्तिले आफ्नो नाम पछाडि आमाको थर प्रयोग गर्न पाउनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले चाहेमा आप्mनो बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ ।

(५) कुनै व्यक्तिको थरको सम्बन्धमा प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो बाबुको थर प्रयोग गरेको मानिनेछ ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु वा आमा दुवैको ठेगान नलागेको व्यक्तिले निजलाई हेरचाह गर्ने संरक्षकद्वारा दिइएको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ ।

११२. आमा, बाबु, बाजे तथा बजैको नाम उल्लेख गर्न पाउनेः (१) कुनै औपचारिक कार्य, कानूनी काम कारबाही वा लिखतमा कानून बमोजिम आमा, बाबु तथा बाजे, बजैको नाम खुलाउनु पर्ने रहेछ भने त्यस्तो अवस्थामा कुनै पनि व्यक्तिले आफ्नो आमा, बाबु तथा बाजे, बजैको नाम उल्लेख गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम आमा, बाबु तथा बाजे, वजैको नाम उल्लेख गर्नु पर्ने कुनै व्यक्तिको बाबु पत्ता नलागेको अवस्थामा निजले आमा र आमा तर्फको बाजे, बजैको नाम उल्लेख गर्न सक्नेछ र आमाको पनि नाम पत्ता नलागेको भए सोही व्यहोरा उल्लेख गरी निज नाबालक भए संरक्षक वा माथवरको र बालिग भए आफ्नो नाम मात्र उल्लेख गर्नु पर्याप्त हुनेछ ।

११३. छोरा, छोरीको जन्म दर्ता गर्नु पर्नेः (१) कुनै दम्पतिको कुनै छोरा, छोरी जन्मिएमा कानून बमोजिम तोकिएको अधिकारी समक्ष त्यस्तो छोरा, छोरी जन्मिएको तीन महिनाभित्र जन्म दर्ताको लागि आमा वा बाबुले निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कसैले छोरा वा छोरीको जन्म दर्ताको लागि निवेदन दिन चाहेमा प्रचलित कानूनमा तोकिदिए बमोजिमको रकम जरिबाना वापत तिर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम निवेदन पर्न आएमा सम्बन्धित अधिकारीले आफ्नो कार्यालयमा खडा गरिएको जन्म दर्ता किताबमा त्यसको विवरण उल्लेख गरी निवेदकलाई कानून बमोजिम तोकिएको ढाँचामा जन्म दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको दर्ता किताबमा विवरण उल्लेख गर्दा सम्बन्धित व्यक्तिको नाम, थर, जन्मिएको मिति (साल, महिना, गते र बार समेत) र ठाउँ, निजको आमा, बाबु तथा बाजे बजैको नाम, थर, ठेगाना समेत उल्लेख गर्नु पर्नेछ ।

(५) उपदफा (३) बमोजिम सम्बन्धित अधिकारीले प्रत्येक महिनाको मसान्तसम्म आप्mनो कार्यालयमा खडा गरेको दर्ता किताबमा उल्लेख भएको विवरण त्यसपछिको पहिलो महिनाको पन्ध्र गतेभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ र त्यस्तो कार्यालयले पनि प्रत्येक महिनाको अन्त्यसम्म त्यस्तो विवरण सो प्रयोजनको लागि आफ्नाे कार्यालयमा खडा गरेको जन्म दर्ता किताबमा उल्लेख गरी प्रत्येक तीन महिनामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मन्त्रालयमा पठाउनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम प्राप्त भएको विवरणलाई सम्बन्धित मन्त्रालयले त्यस्तो प्रयोजनको लागि खडा गरेको जन्मदर्ता किताबमा उल्लेख गरी प्रत्येक वर्ष अद्याबीधक विवरण कायम गर्नु पर्नेछ ।

११४. हेरचाह र स्याहार सम्भार गर्नु पर्नेः (१) प्रत्येक नाबालकलाई आमा बाबुले संयुक्त रूपमा हेरचाह र स्याहार सम्भार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम हेरचाह र स्याहार सम्भार गर्दा आमा बाबुले आफ्नो आर्थिक हैसियत र क्षमता अनुसार पालनपोषण, स्वास्थ्योपचार, शिक्षा, दीक्षा, खेलकूद, मनोरञ्जन तथा अन्य आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

११५. आमा वा बाबुको जिम्मामा रहनेः (१) दफा ११४ मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम पति पत्नीको वैवाहिक सम्बन्ध अन्त्य भएकोमा निजहरूबाट जन्मिएको नाबालक देहाय बमोजिम आमा वा बाबुको जिम्मामा रहनेछः–
(क) पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभएपनि निजले चाहेमा आमाको जिम्मा,
(ख) पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेकोमा बाहेक निजले चाहेमा निजको जिम्मा,
(ग) खण्ड (क) वा (ख) बाहेकको अन्य अवस्थामा बाबुको जिम्मा ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा वा भिन्न हुँदाका बखत नाबालक जिम्मा लिने सम्बन्धमा छुट्टै सहमति भएकोमा सोही बमोजिम हुनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्ष उमेर पूरा गरिसकेको नाबालक बाबु वा आमा कसको जिम्मा रहने हो त्यस सम्बन्धमा निर्णय गर्नु पर्दा सम्बन्धित नाबालकको राय लिन सकिनेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालक यस दफा अन्तर्गत आमा वा बाबुमध्ये कुनैको जिम्मामा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनु पर्नेछ ।
तर आमाले अर्को विवाह गरिसकेकोमा पाँच वर्ष पूरा भएको नाबालक जिम्मा लिन निजलाई कर लाग्ने छैन ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम पति पत्नी भिन्न भएमा निजहरूको कुनै नाबालक भए त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारको व्यवस्थाको सम्बन्धमा पति पत्नी बीच कुनै सहमति भएकोमा सोही बमोजिम र त्यस्तो सहमति नभएकोमा देहाय बमोजिम हुनेछः–
(क) पाँच वर्ष पूरा नगरेको नाबालक भए आमाको जिम्मा,
(ख) पाँच वर्ष वा सोभन्दा माथि दश वर्ष पूरा नभएको नाबालक भए बाबुको जिम्मा,
(ग) दश वर्ष पूरा गरेको नाबालक भए निजले आमा, बाबुमध्ये जोसँग बस्न मञ्जुर गरेकोछ निजको जिम्मा ।

११६. आवश्यक हेरचाह र स्याहार सम्भार गर्नु पर्नेः (१) दफा ११५ बमोजिम नाबालक जिम्मा लिएको आमा वा बाबुले आफूले जिम्मा लिएको नाबालकको हेरचाह र स्याहार सम्भार गर्नु पर्नेछ र त्यसरी हेरचाह र स्याहार सम्भार गर्दा दफा ११४ को उपदफा (२) मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक जिम्मा लिने आमा वा बाबुकोभन्दा जिम्मा नलिने आमा वा बाबुको आम्दानी बढी रहेछ भने त्यस्तो आमा वा बाबुले त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारका लागि त्यस्तो आमा बाबुको सहमति बमोजिमको र त्यसरी सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको खर्च त्यस्तो नाबालकलाई उपलब्ध गराउनु पर्नेछ ।

११७. भेटघाटको सुविधा पाउनेः (१) कानून बमोजिम वैवाहिक सम्बन्ध अन्त्य भएको वा आमा र बाबु भिन्न बसेको अवस्थामा आमाको जिम्मा रहेको नाबालकलाई बाबुसँग र बाबुको जिम्मा रहेको नाबालकलाई आमासँग समय समयमा भेट गर्न वा आमा बाबुको सहमतिमा केही अवधिको लागि साथमा रहन दिनु पर्नेछ ।
तर त्यसरी भेट गर्न वा साथमा रहन दिँदा नाबालकको हित प्रतिकूल हुने कुनै सम्भावना देखिएमा त्यसरी भेट गर्न वा साथमा रहन दिन रोक लगाउने गरी  सम्बन्धित जिल्ला अदालतले आदेश जारी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बाबु वा आमासँग भेट गर्ने पटक वा साथमा रहने अवधि सम्बन्धित आमा बाबुबाट निर्धारण भए बमोजिम हुनेछ र त्यसरी निर्धारण हुन नसके मासम्बन्धित जिल्ला अदालतको आदेश बमोजिम हुनेछ ।

(३) यस दफा बमोजिम कुनै नाबालक बाबु वा आमाको साथमा रहेकोमा नाबालक राख्ने बाबु वा आमाले त्यस्तो नाबालकको हेरचाह र स्याहार सम्भार गर्दा दफा ११४ को उपदफा (२) मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ ।

११८. छोरा छोरीको अधिकार कायमै रहनेः (१) यस संहिता बमोजिम पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भए तापनि निजहरूबाट जन्मिएका छोरा, छोरीको बाबु, आमा माथिको कानूनी अधिकार र निज प्रतिको बाबु, आमाको दायित्व कायमै रहनेछ ।

(२) कुनै व्यक्तिको बाबु आमा यस संहिता बमोजिम पति पत्नी हुन नसक्ने भएपनि निजहरूबाट जन्मिएका छोरा, छोरीको बाबु, आमा माथिको कानूनी अधिकार र निज प्रतिको बाबु, आमाको दायित्व कायमै रहनेछ ।

११९. सहमति बिना भिन्न बस्न नहुनेः (१) आमा वा बाबुको सहमति बिना छोरा छोरीले आमा बाबुबाट भिन्न बस्न पाउने छैनन् ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा छोरा छोरी आमा बाबुबाट भिन्न बस्न सक्ने छन्ः–
(क) आमा बाबुबाट कानून बमोजिम अंश लिई वा नलिई छुट्टिएकोमा,
(ख) निजले विवाह गरेकोमा,
(ग) निजको उमेर कम्तीमा एक्काईस वर्ष पूरा भएकोमा, वा
(घ) निजले रोजगारी प्राप्त गरिसकेकोमा ।

१२०. नाबालकले श्रमिकको रूपमा काम गर्न नहुनेः कानून बमोजिम श्रमिकको रूपमा काम गर्न पाउने नाबालकले आमा, बाबु, अन्य संरक्षक वा माथवरको सहमति बिना श्रमिकको रूपमा काम गर्न सक्ने छैन ।

१२१. नाबालक राख्ने बाबु, आमाको निर्णय बमोजिम हुनेः यस संहिता बमोजिम वैवाहिक सम्बन्ध कायम हुन नसक्ने वा वैवाहिक सम्बन्ध अन्त्य भएका बाबु आमाबाट जन्मिएका नाबालकको हकहितका सम्बन्धमा कुनै निर्णय गर्नु पर्ने विषयमा बाबु, आमा बीच विवाद उत्पन्न भएमा त्यस्तो नाबालक बाबु, आमामध्ये जोसँग बसेको छ निजले निर्णय गरे बमोजिम हुनेछ ।

१२२. आमा बाबुलाई आदर, सम्मान र हेरचाह गर्नु पर्नेः (१) प्रत्येक छोरा छोरीले आफ्ना आमा बाबुलाई आदर तथा सम्मानका साथ व्यवहार गर्नु पर्नेछ ।

(२) प्रत्येक छोरा छोरीले आमा बाबुलाई एकासगोलमा बसेको वा कानून बमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नु पर्नेछ ।

१२३. हदम्यादः यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद लेखिएकोमा सोही बमोजिम र अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।