परिच्छेद–५ मातृक तथा पैत्रिक अख्तियारी सम्बन्धी व्यवस्था

परिच्छेद–५ मातृक तथा पैत्रिक अख्तियारी सम्बन्धी व्यवस्था

१२४. आमा बाबुको सुपरीवेक्षण र नियन्त्रण रहनेः (१) नाबालक छोरा, छोरी आमा, बाबुको सुपरीवेक्षण, निगरानी, नियन्त्रण, संरक्षण वा अख्तियारी अन्तर्गत रहनेछ ।

(२) उपदफा (१) अन्तर्गत रहेको नाबालकले आमा बाबुले कानून सम्मत दिएको आज्ञा, आदेश वा निर्देशनको पालना गर्नु पर्नेछ ।

१२५. मातृक तथा पैत्रिक अख्तियारी संयुक्त रूपमा प्रयोग गर्नु पर्नेः (१) यस परिच्छेद अन्तर्गत आमा बाबुले आफ्ना छोरा छोरी उपर प्रयोग गर्न सक्ने अख्तियारी, पूरा गर्नु पर्ने जिम्मेवारी तथा पालना गर्नु पर्ने कर्तव्य निजहरू दुवैको सहमतिले संयुक्त रूपमा गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सो उपदफा बमोजिम प्रयोग गर्ने अख्तियारी, पूरा गर्नु पर्ने जिम्मेवारी तथा पालना गर्नु पर्ने कर्तव्य देहायका आमा वा बाबुले गर्नेछः–
(क) आमा वा बाबुमध्ये कसैको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले,
(ख) आमा वा बाबुमध्ये कुनै एकको होस ठेगानमा नरहेको अवस्थामा त्यस्तो अवस्था कायम रहेको अवधिभर होस ठेगानमा रहेको आमा वा बाबुले,
(ग) आमा बाबुको वैवाहिक सम्बन्ध अन्त्य भएको वा कानून बमोजिम भिन्न बसेकोमा नाबालक जिम्मा लिने आमा वा बाबुले,
(घ) बाबुको ठेगान नलागेको नाबालक भए आमाले ।

१२६. मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार, जिम्मेवारी र कर्तव्यः यस परिच्छेद बमोजिम मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न पाउने आमा वा बाबुको अधिकार, निजले पूरा गर्नु पर्ने जिम्मेवारी र पालना गर्नु पर्ने कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) नाबालकलाई आफूसाथ राख्ने, सामीप्यता दिने तथा निजको काम, कारबाही तथा आचरणलाई निगरानी राख्ने,
(ख) खान, लगाउन दिने तथा खान, लगाउन र परिश्रम गर्न सिकाउने,
(ग) स्नेह, अनुराग तथा माया दिने,
(घ) सामाजिक मर्यादा, शिष्टाचार, सदाचार, नैतिकता, संस्कार, संस्कृति र रहन सहन सिकाउने, बुझाउने र सो अनुसार आचरण गर्न सिकाउने,
(ङ) इमानदारी, आत्मविश्वास, स्वावलम्बन, सच्चरित्रता, परिश्रम, अनुशासन जस्ता सामाजिक मूल्यमा आधारित नैतिक शिक्षा दिने,
(च) शारीरिक तथा मानसिक स्वास्थ्यप्रति निगरानी राख्ने, स्वास्थ्योपचार गर्ने वा गराउने,
(छ) आवश्यकता अनुसार खेल्ने र मनोरञ्जन गर्ने अवसर दिने,
(ज) पठनीय तथा सन्देशमूलक शैक्षिक सामग्री उपलब्ध गराउने,
(झ) परिवार, समाज, समुदाय, राष्ट्र तथा मुलुकप्रति निष्ठावान रहन मार्गदर्शन दिने,
(ञ) कुलत, खराब सङ्गत तथा अश्लील विषयबाट अलग राख्ने,
(ट) आज्ञापालन, आदर तथा सम्मान गर्न सिकाउने,
(ठ) शारीरिक, मानसिक तथा बौद्धिक व्यक्तित्व विकासका लागि आवश्यक पर्ने अन्य जुनसुकै काम गर्ने वा गराउने ।

१२७. भेदभाव गर्न नहुनेः आमा बाबुले आफ्नो छोरा, छोरीको पालनपोषण, शिक्षा तथा दीक्षा, खेलकुद, स्वास्थ्योपचार, मनोरञ्जन, सुविधा वा घरेलु कामकाजमा छोरा वा छोरीको आधारमा वा छोरा छोरा वा छोरी छोरी बीच कुनै किसिमले भेदभाव गर्न हुँदैन ।

१२८. विशेष हेरचाह गर्नु पर्नेः (१) कुनै छोरा छोरी शारीरिक वा मानसिक रूपले अशक्त वा अपाङ्ग भएमा वा निजलाई मानव रोग प्रतिरोधात्मक क्षमता नष्ट गर्ने (एच.आई.भी.) वा हेपाटाइटिस बी जस्ता प्राणघातक रोग लागेमा आमा बाबुले त्यस्तो छोरा छोरी उपर विशेष निगरानी राखी निजलाई विशेष सहुलियत र संरक्षण प्रदान गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “शारीरिक वा मानसिक रूपले अशक्त” भन्नाले शारीरिक वा मानसिक रूपले आफैँले दिनचर्या गर्न असमर्थ वा असक्षम रहेको व्यक्ति सम्झनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको छोरा छोरीलाई विशेष प्रकारले स्वास्थ्योपचार गराई भविष्यमा आर्थिक रूपमा स्वावलम्बी बनाउन आमा बाबुले आफ्नो आर्थिक हैसियत र क्षमता अनुसार विशेष प्रकारको शिक्षा वा तालिमको व्यवस्था गर्नु पर्नेछ ।

१२९. आचरण तथा बानी व्यवहारमा सुधार गराउन सक्नेः यस परिच्छेद बमोजिम आफ्नो सुपरिवेक्षण, निगरानी, नियन्त्रण वा अख्तियारी अन्तर्गत रहेको नाबालकको आचरण, बानी व्यहोरा तथा चरित्रमा सुधार गर्न आवश्यक ठानेमा बाबु आमाले त्यस्ता नावालकलाई उपयुक्त सम्झे बमोजिमको कुनै कार्य गरी नाबालकको आचार वा बानी व्यहोरामा सुधार गर्न लगाउन सक्नेछन् ।
तर निजलाई शारीरिक वा मानसिक कष्ट हुने कुनै व्यवहार गर्न सकिने छैन ।

१३०. अधिकार प्रयोग गर्न अख्तियारी दिएको मानिनेः आमा बाबुले आफ्नो छोरा छोरीको शिक्षा दीक्षाको लागि कुनै शिक्षक नियुक्त गरेमा वा छोरा छोरीलाई कुनै किसिमको शिक्षा प्राप्तिका लागि कुनै शिक्षण संस्थामा भर्ना गरेमा त्यसरी नियुक्त भएको शिक्षाक वा त्यस्ता शिक्षण संस्थाको प्रधानाध्यापक वा शिक्षकलाई शिक्षा दीक्षाका सम्बन्धमा दफा १२९ बमोजिमको अधिकार प्रयोग गर्ने अख्तियारी दिएको मानिनेछ ।

१३१. संरक्षक वा माथवरले पनि मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न सक्नेः कुनै नाबालकको आमा बाबु दुवैको मृत्यु वा वेपत्ता भएको, बाबुको मृत्यु भई आमाले अर्को विवाह गरिसकेको वा निजका बाबु, आमा दुवैको होस ठेगानमा नभएको कारणले निज संरक्षक वा माथवरसँग बसेको रहेछ भने निजको संरक्षक वा माथवरले यस परिच्छेद अन्तर्गत आमा बाबुले प्रयोग गर्न पाउने मातृक तथा पैत्रिक अख्तियारी, पूरा गर्नु पर्ने जिम्मेवारी वा पालना गर्नु पर्ने कर्तव्य प्रयोग गर्न, पूरा गर्न वा पालना गर्न सक्नेछ ।

१३२. मातृक तथा पैत्रिक अख्तियारीमा रोक लगाउन सक्नेः (१) यस परिच्छेद बमोजिम मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न पाउने व्यक्तिले नाबालकका विरुद्ध देहायको कुनै काम गरेको कुरा कुनै व्यक्ति वा कानून बमोजिम संस्थापना भएको कुनै बाल कल्याण सम्बन्धी संस्थाको उजुरी परी छानबिन गर्दा प्रमाणित भएमा अदालतले त्यस्तो व्यक्तिलाई त्यस्तो अख्तियारी प्रयोग गर्नबाट रोक लगाउन सक्नेछः–
(क) क्रूर, अमानवीय वा यातनापूर्ण सजाय दिएको वा व्यवहार गरेको,
(ख) पटक–पटक उपेक्षा वा हेला गरेको वा दुरुपयोग गरेको,
(ग) अनैतिक वा यौनजन्य पेशामा लगाएको,
(घ) जीउ, ज्यान वा स्वास्थ्यमा खतरा हुन सक्ने काममा लगाएको,
(ङ) निजको हित विपरीत निजको सम्पत्ति खर्च गरी हानि, नोक्सानी गरेको वा पछि आफूले लिने मनसायले अरू कसैलाई बिक्री गरेको,
(च) सन्यासी, फकिर, भिक्षु, पाश्चर, नन बनाई वा यस्तै प्रकारले गृहस्थ जीवन त्याग्न बाध्य गरिएको,
(छ) धार्मिक वा साँस्कृतिक रीतिस्थितिको पालना गर्दाको अवस्थामा बाहेक निजलाई भिक्षा माग्ने काममा लगाएको,
(ज) कानून बमोजिम कसूर हुने अन्य कुनै काम गर्न लगाएको ।

(२) उपदफा (१) बमोजिम रोक लगाएकोमा अदालतले त्यस्तो नाबालकका सम्बन्धमा मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न पाउने गरी कानून बमोजिम संरक्षक नियुक्त गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न संरक्षक नियुक्ति भएकोमा त्यस्तो संरक्षकले नाबालकको हित अनुरूप यस परिच्छेद बमोजिमको मातृक तथा पैत्रिक अख्तियारीको प्रयोग गर्न सक्नेछ ।

(४) उपदफा (१) बमोजिम मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्नबाट वञ्चित भएको व्यक्तिले सो उपदफा बमोजिमको काम नदोहो¥याउने कबुल गरी अदालतमा निवेदन गरेमा अदालतले निजलाई लगाएको रोक फुकुवा गरी उपदफा (२) बमोजिमको नियुक्ति बदर गर्न सक्नेछ ।

१३३. मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुनेः देहायका अवस्थामा छोरा छोरी उपर यस परिच्छेद बमोजिम आमा बाबुले प्रयोग गर्न पाउने मातृक तथा पैत्रिक अख्तियारी अन्त्य भएको मानिनेछः–
(क) निजको उमेर अठार वर्ष पूरा भएमा,
(ख) निजले रोजगारी प्राप्त गरी भिन्न बसेमा ।
तर कुनै छोरा छोरी शारीरिक वा मानसिक रूपले अशक्त भएकोमा निजले विवाह गरी भिन्न बसेको अवस्थामा बाहेक निज उपरको मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुने छैन ।

१३४. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।