परिच्छेद–६ संरक्षकत्व सम्बन्धी व्यवस्था

परिच्छेद–६ संरक्षकत्व सम्बन्धी व्यवस्था

१३५. संरक्षक मानिनेः असक्षम वा अर्धसक्षम व्यक्तिको संरक्षण, निजको हक वा हितको संरक्षण गर्न यस परिच्छेद बमोजिम नियुक्त वा दायित्व भएको व्यक्ति संरक्षक मानिनेछ ।

१३६. संरक्षकको प्राथमिकताक्रमः (१) यस परिच्छेदको अन्य दफाको अधीनमा रही देहायका प्राथमिकताक्रमको व्यक्ति असक्षम वा अर्धसक्षम व्यक्तिको स्वतः संरक्षक हुनेछः–
(क) एकासगोलका पति वा पत्नी,
(ख) बाबु वा आमा,
(ग) एकासगोलका छोरा, छोरी वा विधवा बुहारी,
(घ) भिन्न भएका पति वा पत्नी,
(ङ) भिन्न भएको छोरा, छोरी वा विधवा बुहारी,
(च) बाजे वा बजै,
(छ) नाति वा नातिनी,
(ज) दाजु, भाइ वा दिदी, बहिनी
(झ) मावलीपट्टिका बाजे, बजै, मामा, माइजू ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा देहायको व्यक्ति संरक्षक हुनेछः–
(क) एउटै क्रमका एकभन्दा बढी व्यक्ति संरक्षक हुने भएमा निजहरूले आपसी सहमति गरे बमोजिमको व्यक्ति र त्यसरी सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको व्यक्ति,
(ख) मानसिक रूपमा स्वस्थ भएको र दश वर्ष उमेर पूरा गरेको व्यक्तिको हकमा निजले रोजेको व्यक्ति,
तर त्यसरी संरक्षक रोज्दा सोको लिखत गरी अदालतबाट प्रमाणित गर्नु पर्नेछ ।
(ग) कानून बमोजिम वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिको नाबालक भए निजलाई पालनपोषण गर्ने बाबु वा आमा,
(घ) पहिलो प्राथमिकता क्रमको कुनै व्यक्ति संरक्षक हुन नचाहेमा, निज होस ठेगानामा नरहेमा, वेपत्ता भएमा वा निजले संरक्षकको हैसियतले काम नगरेमा सोभन्दा तल्लो प्राथमिकताक्रमको व्यक्ति ।
तर त्यसरी तल्लो क्रमको व्यक्ति संरक्षक हुने भएमा निजले आफू संरक्षक भएको अदालतबाट प्रमाणित गर्नु पर्नेछ ।

१३७. अन्य व्यक्ति संरक्षक मानिनेः दफा १३६ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै असक्षम वा अर्धसक्षम व्यक्तिलाई सो दफामा लेखिएका व्यक्तिले संरक्षकत्व प्रदान नगरी अन्य व्यक्तिले संरक्षकत्व प्रदान गरेको भए त्यसरी संरक्षकत्व प्रदान गर्ने व्यक्ति नै त्यस्तो व्यक्तिको संरक्षक मानिनेछ ।
तर त्यस्तो संरक्षक हुने व्यक्तिले आपूm संरक्षक भएको व्यहोरा अदालतबाट प्रमाणित गर्नु पर्नेछ ।

१३८. संस्था संरक्षक भएको मानिनेः (१) बालबालिकाको कल्याण गर्ने तथा हक हित संरक्षण गर्ने उद्देश्यले कानून बमोजिम दर्ता भएका बाल कल्याण गृह, अनाथालय, बाल गृह वा बालमन्दिर जस्ता संस्थामा रहेका बालबालिकाको अन्य संरक्षक नभएमा त्यस्तो संस्था नै संरक्षक भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिमका संस्थामा रहेका नाबालकको तर्फबाट कुनै काम कारबाही गर्नु पर्दा त्यस्तो संस्थाको प्रमुखबाट गरिनेछ ।
स्पष्टीकरणः यस परिच्छेद र भाग ३ को परिच्छेद–७ को प्रयोजनको लागि “प्रमुख” भन्नाले त्यस्तो संस्थाको प्रमुख कार्यकारी अधिकृत वा त्यस्तो हैसियतमा काम गर्ने अध्यक्ष, महाप्रबन्धक, प्रबन्ध निर्देशक वा अन्य कुनै अधिकृत सम्झनु पर्छ ।

१३९. अदालतले संरक्षक नियुक्त गर्न सक्नेः (१) दफा १३६ वा १३७ मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले देहायको अवस्थामा कुनै खास व्यक्तिलाई त्यसको कारण खुलाई संरक्षक नियुक्त गर्न सक्नेछः–
(क) दफा १३६ बमोजिम कुनै व्यक्ति संरक्षक हुन नचाहेको अवस्थामा संरक्षक नियुक्ति गर्न सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा समितिले अदालतमा निवेदन दिएमा,
(ख) सरोकारवालाले संरक्षक नियुक्त गर्न अदालतमा निवेदन दिएमा ।

(२) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गर्दा अदालतले त्यस्तो असक्षम वा अर्धसक्षम व्यक्तिको हक, हित वा संरक्षण हुन सक्ने वा नसक्ने कुरा तर्फ विचार गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गर्दा अदालतले संरक्षक हुने व्यक्तिको समेत सहमति लिनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गरी सकेपछि अदालतले त्यसको लिखित जानकारी संरक्षक हुने व्यक्ति र स्थानीय तहलाई दिनु पर्नेछ ।

१४०. सुपरीवेक्षक तोक्न सक्नेः (१) दफा १३९ बमोजिम अदालतबाट संरक्षक नियुक्त गरेकोमा त्यस्तो संरक्षकको काम कारबाहीको सम्बन्धमा जाँचबुझ गर्न आवश्यक देखेमा अदालतले कुनै व्यक्तिलाई सुपरीवेक्षक तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको सुपरीवेक्षकले संरक्षकको काम कारबाहीको सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यसको प्रतिवेदन अदालत समक्ष पेश गर्नु पर्नेछ ।

(३) दफा १४८ बमोजिम संरक्षकत्व समाप्त भएकोमा सुपरीवेक्षकत्व पनि स्वतः समाप्त भएको मानिनेछ ।

१४१. संरक्षक हुन नसक्ने ः देहायका व्यक्तिहरू संरक्षक हुन सक्ने छैनन्ः–
(क) असक्षम वा अर्धसक्षम व्यक्ति,
(ख) असक्षम वा अर्धसक्षम व्यक्तिको हक वा हित विपरीत काम गरेको प्रमाणित भएको व्यक्ति,
(ग) अदालतबाट तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको व्यतिm,
तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक हुन यो खण्डले कुनै बाधा पु¥याएको मानिने छैन ।
(घ) अदालतबाट संरक्षक हुन अयोग्य देखिएको व्यक्ति ।

१४२. असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचारः (१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण, स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा हेरविचारको व्यवस्था निजको सम्पत्ति भए त्यस्तो सम्पत्तिबाट र त्यस्तो सम्पत्ति नभए आफ्नो सम्पत्तिबाट गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण, स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा हेरविचारको व्यवस्था निजको चल सम्पत्ति भएसम्म त्यस्तो सम्पत्तिबाट र चल सम्पत्ति नभए वा त्यस्तो सम्पत्तिबाट पालनपोषण, स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा हेरविचारको व्यवस्था हुन नसक्ने भएमा त्यस्तो प्रयोजनको लागि अदालतको पूर्व सहमति लिई निजको अचल सम्पत्ति बिक्री गर्न सकिनेछ ।
तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक भएकोमा अचल सम्पत्ति बिक्री गर्दा अदालतको अनुमति लिनु पर्ने छैन ।

१४३. सम्पत्तिको रेखदेख, संरक्षण तथा उचित व्यवस्थापन गर्नु पर्नेः (१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्तिको रेखदेख तथा संरक्षण गर्नु पर्नेछ ।

(२) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्ति लगानी गरी कुनै व्यवसाय वा कारोबार गर्न सक्नेछ ।

१४४. हिसाब किताब दुरुस्त राख्नु पर्नेः (१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिलाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरविचार गर्दा लागेको खर्च तथा निजको सम्पत्ति व्यवस्थापन गर्दा भएको आय व्ययको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने विवरण दुरुस्त राख्नु पर्नेछ ।
तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक भएकोमा त्यस्तो हिसाब किताब राख्नु पर्ने छैन ।

(२) उपदफा (१) बमोजिम राखिएको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने विवरण संरक्षकले असक्षम वा अर्धसक्षम व्यक्ति कानून बमोजिम उमेर पूरा गरेको वा निजले आफू कामकाज गर्न सक्षम भएको कुरा लिखित रूपमा अदालतलाई जानकारी गराएको मितिले एक वर्षभित्र त्यस्तो व्यक्ति समक्ष पेश गर्नु पर्नेछ ।

(३) आफ्नो संरक्षकत्वमा रहेको अवस्थामा कुनै असक्षम वा अर्धसक्षम व्यक्तिको मृत्यु भएमा संरक्षकले उपदफा (१) बमोजिमको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने विवरण निजको मृत्यु भएको मितिले छ महिनाभित्र निजको नजिकको हकवाला समक्ष बुझाउनु पर्नेछ ।

१४५. कानूनी कारबाही चलाउन वा मुद्दाको प्रतिरक्षा गर्न सक्नेः संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको हक, हितको लागि कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा निज उपर परेको मुद्दाको प्रतिरक्षा गर्न सक्नेछ ।

तर असक्षम वा अर्धसक्षम व्यक्ति बादी वा प्रतिबादी भई चलेको  मुद्दाको सम्बन्धमा संरक्षकले निजलाई मर्का पर्ने गरी कुनै मुद्दाको दाबी वा जिकिर छोड्न वा कुनै मुद्दा मिलापत्र गर्न सक्ने छैन ।

१४६. असक्षम वा अर्धसक्षम व्यक्तिको तर्फबाट काम गर्न सक्नेः यस परिच्छेदमा अन्यत्र लेखिएको व्यवस्थाको अधीनमा रही असक्षम वा अर्धसक्षम व्यक्तिले कानून बमोजिम गर्ने काम निजको तर्फबाट संरक्षकले गर्न सक्नेछ ।

१४७. शर्त बमोजिम मात्र काम गर्न सक्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै असक्षम वा अर्धसक्षम व्यक्तिको सम्बन्धमा कुनै व्यक्तिलाई कुनै शर्त तोकी संरक्षक तोकिएकोमा त्यस्तो संरक्षकलाई शर्त बमोजिमको मात्र काम गर्ने अधिकार हुनेछ ।

१४८. संरक्षकत्वको समाप्तिः (१) देहायको अवस्थामा संरक्षकत्व समाप्त भएको मानिनेछः–
(क) संरक्षकले आफू संरक्षक हुन नसक्ने भनी दिएको निवेदन अदालतबाट स्वीकृत भएमा,
(ख) संरक्षक वा संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको मृत्यु भएमा,
(ग) असक्षम वा अर्धसक्षम व्यक्ति सक्षम भएमा,
(घ) संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको अनुरोधमा अदालतले संरक्षकलाई हटाएमा ।

(२) उपदफा (१) बमोजिम संरक्षकत्व समाप्ति भएमा र संरक्षक हुने तथा संरक्षकत्वमा रहने व्यक्ति जीवित भएमा निजले नै अर्को संरक्षक नतोकिएसम्म आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम संरक्षकत्व समाप्ति भएमा त्यसरी संरक्षकत्व समाप्ति भएको मितिदेखि अर्को संरक्षक नतोकिएसम्म यस परिच्छेद बमोजिम संरक्षकले गर्नु पर्ने कुनै कानूनी कारबाहीको हदम्याद, म्याद वा तारेख गुज्रेको मानिने छैन ।

१४९. हकवालामा संरक्षकत्व नसर्नेः कुनै संरक्षकको मृत्यु भई दफा १४८ बमोजिम संरक्षकत्व समाप्ति भएकोमा संरक्षकको हैसियतले निजमा रहेको हक, अधिकार र दायित्व निजको हकवालामा सर्ने छैन ।

तर कुनै असक्षम वा अर्धसक्षम व्यक्तिको सम्बन्धमा अर्को संरक्षक नियुक्ति गर्नु पर्ने अवस्था भएकोमा संरक्षक नियुक्त नभएसम्मको लागि संरक्षकको उत्तराधिकारीको हैसियतले त्यस्तो असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार निजले गर्नु पर्नेछ ।

१५०. खर्च भरार्ई लिन सक्नेः कुनै संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालन पोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरविचार आफ्नो सम्पत्तिबाट गरेको भए त्यस्तो हेरविचार गर्दा खर्च भएको रकम संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्तिबाट भरार्ई लिन सक्नेछ ।
तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक भएकोमा त्यस्तो खर्च भराई लिन सकिने छैन ।

१५१. हानि, नोक्सानीको रकम भरार्ई लिन सक्नेः कुनै संरक्षकले आफूलाई लाभ हुने वा नहुने गरी जानीजानी, छलकपट, जालसाजी वा बदनियतले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्तिमा हानि, नोक्सानी पुर्याएमा त्यसबाट मर्का पर्ने असक्षम वा अर्धसक्षम व्यक्तिले त्यस्तो संरक्षकबाट आफूलाई हानि, नोक्सानी भएको रकम भरार्ई लिन सक्नेछ ।

१५२. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको छ महिनाभित्र नालिस गर्न सक्नेछ ।