परिच्छेद–७ माथवर सम्बन्धी व्यवस्था

परिच्छेद–७ माथवर सम्बन्धी व्यवस्था

१५३. नाबालकको माथवर हुनेः (१) कुनै नाबालकको यस भागको परिच्छेद–६ बमोजिमको कुनै संरक्षक नभएमा निज अठार वर्ष पूरा नभएसम्म निजको पालनपोषण, स्वास्थ्य, शिक्षा, हेरविचार तथा सम्पत्तिको संरक्षण गर्नको लागि कुनै व्यक्तिले त्यस्तो नाबालकको माथवरको हैसियतले काम गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आफ्नो नाबालकको पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरविचारको लागि कुनै व्यक्तिलाई माथवर नियुक्त गर्न सक्नेछ ।

१५४. होस ठेगानमा नरहेको व्यक्तिको माथवर हुनेः (१) होस ठेगानमा नरहेको व्यक्तिको यस भागको परिच्छेद–६ बमोजिमको संरक्षक नभएकोमा निजको पालन पोषण, हेरविचार तथा सम्पत्तिको हेरचाहको लागि अन्य कुनै व्यक्तिले माथवरको हैसियतले काम गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम माथवर नभएकोमा वा यकिन नभएकोमा होस ठेगानमा नरहेको व्यक्ति तत्काल जसको जिम्मा, सुपरीवेक्षण वा रेखदेखमा रहेको छ सोही व्यक्ति त्यस्तो व्यक्तिको माथवर हुनेछ ।

१५५. नाबालकको माथवर आमा हुन सक्नेः दफा १५३ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालकको बाबुको मृत्यु भएको वा निज बेपत्ता भएको, होस ठेगानमा नरहेको वा विदेश गएको अवस्थामा दश वर्षभन्दा कम उमेरको नाबालकको आमा भएमा निजले अर्को विवाह गरिसकेको भएपनि निज नै त्यस्तो नाबालकको माथवर हुनेछ ।

१५६. सङ्गठित संस्था माथवर हुनेः (१) यस भागको परिच्छेद–६ बमोजिम संरक्षक नभएको कुनै व्यक्ति कुनै सङ्गठित संस्थाको रेखदेख, संरक्षण वा जिम्मामा रहेको भए त्यस्तो सङ्गठित संस्था त्यस्ता व्यक्तिको माथवर हुनेछ ।

(२) उपदफा (१) बमोजिमको सङ्गठित संस्था माथवर भएकोमा त्यस्तो सङ्गठित संस्थाको प्रमुखले माथवरको अधिकार प्रयोग गर्नेछ ।

१५७. अदालतले माथवर नियुक्त गर्न सक्नेः (१) कुनै व्यक्तिको यस भागको परिच्छेद–६ बमोजिम संरक्षक नभएमा वा कुनै व्यक्तिले पनि निजको माथवरको रूपमा काम नगरेमा स्थानीय तहको सम्बन्धित वडा समितिले त्यसको विवरण खुलाई माथवर नियुक्त गर्न अदालत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन गर्दा स्थानीय तहको सम्बन्धित वडा समितिले माथवर हुन सक्ने सम्भावित व्यक्तिहरूको नाम, थर, ठेगाना र पेशा खुलाई माथवर नियुक्त हुन सक्ने सम्भावित व्यक्तिले माथवरको रूपमा काम गर्न दिएको मञ्जुरीको लिखत समेत पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम निवेदन परेमा अदालतले उपदफा (२) बमोजिम नाम पेश भएका व्यक्तिहरूमध्येबाट उपयुक्त कुनै एक व्यक्तिलाई माथवर नियुक्त गर्ने आदेश दिनेछ ।

१५८. माथवरको योग्यताः दफा १४१ बमोजिम संरक्षक हुन अयोग्य व्यक्ति बाहेक अन्य व्यक्ति माथवर हुन सक्नेछ ।

१५९. माथवरले सम्पत्ति जिम्मा लिनु पर्नेः (१) माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको सम्पत्ति जिम्मा लिई सोको व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ ।

(२) माथवरले आफूले जिम्मा लिएको सम्पत्तिबाट आफ्नो माथवरीमा रहेको व्यक्तिलाई सम्भव भएसम्म निजको हैसियत अनुसार पालनपोषण तथा शिक्षा दिक्षा र औषधि उपचारको व्यवस्था गर्नु पर्नेछ ।

१६०. सम्पत्ति प्रयोग गर्न सक्नेः माथवरले आफूले जिम्मा लिएको सम्पत्तिबाट प्राप्त भएको प्रतिफल माथवरीमा रहेको व्यक्तिको पालनपोषण, स्वास्थ्य तथा त्यस्तो व्यक्ति नाबालक भए शिक्षा दिक्षाको लागि पूरै खर्च गर्न सक्नेछ ।

१६१. अदालतको अनुमतिले अचल सम्पत्ति खर्च गर्न सक्नेः (१) माथवरले आफ्नो माथवरीमा रहेको कुनै व्यक्तिको पालनपोषण गर्दा, शिक्षा दिक्षा दिँदा वा औषधि उपचार गर्दा निजको चल सम्पत्तिबाट नभ्याउने रहेछ भने त्यस प्रयोजनको लागि अचल सम्पत्ति वा त्यसको कुनै अंश बिक्री गर्न त्यसको कारण खुलाई अनुमतिको लागि अदालतमा निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा त्यस्तो अचल सम्पत्ति बिक्री गर्नु पर्ने कारण मनासिब देखेमा अदालतले उचित ठाने बमोजिम अचल सम्पत्ति वा त्यसको कुनै अंश बिक्री गर्न अनुमति दिन सक्नेछ ।

१६२. विवेकपूर्ण र होसियारीपूर्वक सम्पत्तिको रेखदेख र संरक्षण गर्नु पर्नेः (१) माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको सम्पत्तिको रेखदेख र संरक्षण विवेकपूर्ण र होशियारीपूर्वक गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सम्पत्तिको रेखदेख र संरक्षण नगरेको कारणबाट माथवरीमा रहेको व्यक्तिको सम्पत्ति कुनै किसिमले हानि, नोक्सानी भएकोमा सम्बन्धित माथवर जवाफदेही हुनेछ ।
तर विपद् परी त्यस्तो सम्पत्ति हानि, नोक्सानी भएकोमा निज जवाफदेही हुने छैन ।

(३) उपदफा (१) बमोजिम माथवरले सम्पत्तिको रेखदेख र संरक्षण नगरेको उजुरी परेमा अदालतले सम्बन्धित व्यक्तिलाई माथवरबाट हटाउन सक्नेछ ।

१६३. हक हस्तान्तरण स्वतः बदर हुनेः माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको अचल सम्पत्ति त्यस्तो व्यक्तिको हक मेट्ने दुराशयले आफ्नो वा आफ्नो परिवारका कुनै सदस्यको नाममा बिक्री गरेमा वा त्यस्ता व्यक्तिका नाममा कुनै किसिमले हक हस्तान्तरण हुन आएमा त्यस्तो हक हस्तान्तरण स्वतः बदर हुनेछ ।

१६४. माथवरी स्वतः अन्त्य हुनेः (१) देहायको अवस्थामा माथवरी स्वतः अन्त्य भएको मानिनेछः–
(क) नाबालक भए निजको उमेर अठार वर्ष पूरा भएमा,
(ख) होस ठेगानमा नरहेको व्यक्ति भए निजको होस ठेगानमा रहेमा,
(ग) नाबालकको आमा वा बाबु वा दुवैले नाबालकलाई आफ्नो जिम्मा लिएकोमा,
(घ) नाबालक वा होस ठेगानमा नरहेको व्यक्तिको संरक्षक नियुक्ति भएमा,
(ङ) दफा १६२ को उपदफा (३) बमोजिम अदालतले माथवरीबाट हटाएमा,
(च) माथवरको दफा १५८ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
(छ) माथवर हुने वा माथवरीमा रहेको व्यक्तिको मृत्यु भएमा ।

(२) उपदफा (१) बमोजिम माथवरी अन्त्य भएकोमा माथवरको हैसियतमा जिम्मा लिएको सम्पत्ति माथवर भएको व्यक्तिले तुरुन्त सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

१६५. सम्पत्ति जिम्मा दिन सक्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति आफू रहे बसेको इलाका छोडी अन्यत्र जानु परेको कारणबाट आफ्नो हक, स्वामित्व वा भोगको सम्पत्तिको संरक्षण तथा व्यवस्थापन आफैँले गर्न नसक्ने अवस्था परेमा त्यसको लागि कुनै व्यक्तिलाई माथवर नियुक्त गरी आफ्नो सम्पत्ति निजको जिम्मा दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई सम्पत्ति जिम्मा दिइएकोमा त्यस्तो सम्पत्ति जिम्मा लिने व्यक्तिले त्यस्तो सम्पत्तिको संरक्षण तथा व्यवस्थापन गर्नु पर्नेछ र सम्पत्ति जिम्मा दिने व्यक्तिले मागेको बखत निजलाई त्यस्तो सम्पत्ति फिर्ता गर्नु पर्नेछ ।

१६६. अदालतबाट प्रमाणित गराउनु पर्नेः दफा १५३, १५४ र १६५ बमोजिम माथवर हुनेले आफू माथवर भएको व्यहोरा अदालतबाट प्रमाणित गराउनु पर्नेछ ।

१६७. अन्य व्यवस्था लागू हुनेः दफा १४४, १४५, १४६, १४७, १४९, १५० र १५१ का व्यवस्थाहरू आवश्यक हेरफेर सहित (मुटाटिस मुटाण्डीस) माथवर तथा माथवरीमा रहने व्यक्तिको हकमा समेत लागू हुनेछ ।

१६८. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको छ महिनाभित्र नालिस गर्न सक्नेछ ।