परिच्छेद–८ धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था

परिच्छेद–८ धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था

१६९. धर्मपुत्र वा धर्मपुत्री मानिनेः कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिनेछ ।

१७०. बालबालिकाको सर्वोत्तम हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्नेः यस संहिता बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्दा बालबालिकाको सर्वोत्तम हक र हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्नेछ ।

१७१. छोरा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउनेः (१) यस परिच्छेद बमोजिम छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न पाउने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायिक पृथकीकरण गरी भिन्न बसेको महिला वा पुरुषसँग छोरा छोरी सँगै नबसेमा यस्ता पुरुष वा महिलाले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउनेछन् ।

स्पष्टीकरणः यस परिच्छेद र यस भागको परिच्छेद–९ को प्रयोजनका लागि “न्यायिक पृथकीकरण” भन्नाले अदालतको आदेश बमोजिम अंश लिएको, कानून बमोजिम भिन्न बसेको वा मानो छुट्टिएको अवस्था सम्झनु पर्छ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्ना छोरा वा छोरी हुने कुनै व्यक्तिले अन्य बालबालिकालाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत खुलाई धर्मपुत्र वा धर्मपुत्री राख्नको लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदकमा त्यस्तो हैसियत रहेको देखिएमा अदालतले निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिन सक्नेछ ।

१७२. धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेः (१) देहायका कुनै व्यक्तिले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछः–
(क) विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पति,
(ख) पैँतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला,
(ग) पैँतालीस वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छैनः–
(क) होस ठेगानमा नभएको,
(ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएकोे,
(ग) नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको ।

(३) यस दफा बमोजिम सगोलका पति वा पत्नीले धर्मपुत्र वा धर्मपुत्री राख्दा एक अर्काको मञ्जुरी लिनु पर्नेछ ।

१७३. धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन नहुनेः (१) कसैले पनि देहायका कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन वा दिन हुँदैनः–
(क) चौध वर्ष उमेर पूरा गरेको,
(ख) एउटा मात्र छोरा वा छोरीको रूपमा रहेको,
तर दफा १७५ को उपदफा (३) बमोजिमको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
(ग) एकपटक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिइएको,
तर कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा यो व्यवस्था लागू हुने छैन ।
(घ) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्ति भन्दा माथिल्लो नाताको,
(ङ) गैरनेपाली नागरिक ।
तर विदेशी नागरिकता प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकको हकमा यस खण्डको व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन पुस्ताभित्रको नाताको व्यक्ति वा पत्नीको पूर्व पति तर्फ छोरा वा छोरी भएमा चौध वर्ष नाघेको व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ ।

१७४. धर्मपुत्र वा धर्मपुत्री हुने र राख्नेको उमेरको फरकः (१) धर्मपुत्र वा धर्मपुत्री हुने र धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको उमेर कम्तीमा पच्चीस वर्ष फरक हुनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन पुस्ताभित्रको नाताको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरको बन्देज लाग्ने छैन ।

१७५. धर्मपुत्र वा धर्मपुत्री राख्दा सहमति लिनु पर्नेः (१) कसैले कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा त्यस्तो बालबालिकाका बाबु र आमा दुवै जीवित भए दुवै जनाको र बावु र आमामध्ये कुनै एक मात्र जीवित भए जीवित बाबु वा आमाको लिखित सहमति लिनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति र पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भई वा न्यायिक पृथकीकरण भएको कारणबाट बावु र आमा अलग भएकोमा त्यसरी सम्बन्ध अन्त्य हुँदा वा न्यायिक पृथकीकरण हुँदा भएको सहमति बमोजिम त्यस्तो बाबु वा आमासँग बसेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा त्यस्तो बालबालिका बाबु वा आमामध्ये जोसँग निज बसेको छ सोही बाबु वा आमाको सहमति लिनु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा पत्ता नलागेको, जीवित नभएको वा बाबु आमा जीवित भए पनि बाबु वा आमाले अर्को विवाह गरी त्यस्तो बालबालिकालाई अन्य कुनै व्यक्ति वा संस्थाले पालनपोषण वा हेरविचार गरेको रहेछ भने यसरी पालनपोषण वा हेरविचार गर्ने व्यक्ति वा संस्थाको लिखित सहमति लिई त्यस्ता बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ ।

(४) उपदफा (१), (२) वा (३) बमोजिम दश वर्ष नाघेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा निजको समेत लिखित सहमति लिनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको लिखित सहमति सम्बन्धित बालबालिकाले आफ्नो बाबु आमा वा मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने संरक्षक वा माथवरको रोहवरमा गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिम सहमति लिनु अघि धर्मपुत्र वा धर्मपुत्री दिने व्यक्ति, संरक्षक वा माथवर तथा बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको अर्थ, कानूनी हैसियत र त्यसको परिणाम समेतको विषयमा जानकारी गराउनु पर्नेछ ।

(७) यस दफा बमोजिम सहमति लिँदा कुनै किसिमको आर्थिक प्रलोभनमा पार्नु हुँदैन र त्यस्तो सहमति स्वेच्छाले दिएको हुनु पर्नेछ ।

१७६. दम्पतिबाटै धर्मपुत्र वा धर्मपुत्री राखेको मानिनेः कुनै पति वा पत्नीले न्यायिक पृथकीकरण गरी बसेको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री राखेकोमा पछि पति पत्नी दुवै सगोलमा बसेमा त्यसरी बस्नुभन्दा अघि राखेको धर्मपुत्र वा धर्मपुत्री दुवै दम्पतिले राखेको मानिनेछ ।

१७७. धर्मपुत्र वा धर्मपुत्री राख्दाको कार्यविधिः (१) कसैले कुनेै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेमा कानूनको रीत पुर्याई धर्मपुत्र वा धर्मपुत्रीको लिखत सहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त भएको धर्मपुत्र वा धर्मपुत्रीको लिखत जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन हुने देखेमा सम्बन्धित अदालतले धर्मपुत्र वा धर्मपुत्री राख्ने आदेश दिई त्यस्तो लिखत प्रमाणीकरण गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन नहुने देखेमा अदालतले सोही बमोजिमको आदेश गरी निवेदकलाई त्यसको जानकारी दिनु पर्नेछ ।

१७८. धर्मपुत्र वा धर्मपुत्रीको हक तथा अधिकारः (१) धर्मपुत्र वा धर्मपुत्रीको हक, अधिकार, दायित्व र जिम्मेवारी धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको छोरा वा छोरी सरह हुनेछ ।

(२) कसैले कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि निजको छोरा वा छोरी जन्मिए पनि त्यस्ता धर्मपुत्र वा धर्मपुत्रीको छोरा वा छोरी सरहको हैसियतमा कुनै असर पर्ने छैन ।

१७९. धर्मपुत्र वा धर्मपुत्रीको थरः धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ ।

तर,
(१) धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिले चाहेमा निजलाई जन्माउने बाबु आमाको थर समेत प्रयोग गर्न सक्नेछ ।
(२) धर्मपुत्र वा धर्मपुत्री बदर भएमा निजको थर निजलाई जन्माउने बाबु वा आमाको हुनेछ ।

१८०. बाबु आमाको अंशमा दाबी गर्न नपाउनेः धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबु आमाको अंशमा दाबी गर्न पाउने छैन ।
तर,
(१) धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा निजले बाबु आमाको अंशमा दाबी गर्न पाउनेछ ।
(२) धर्मपुत्र वा धर्मपुत्री हुँदाका बखत निजले अंश लिइसकेको भए निजले त्यस्तो सम्पत्ति समेत लिन पाउनेछ ।

१८१. धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्वः (१) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछः–
(क) धर्मपुत्र वा धर्मपुत्रीलाई छोरा वा छोरी सरह आफ्नो इज्जत र क्षमता अनुसार पालनपोषण, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा उचित शिक्षाको व्यवस्था गर्ने,
(ख) धर्मपुत्र वा धर्मपुत्रीको हक र हितको संरक्षण गर्ने ।
(ग) यस भागको परिच्छेद–५ बमोजिमको अख्तियारी प्रयोग गर्ने ।

(२) उपदफा (१) बमोजिमको दायित्व धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले पूरा नगरेमा धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो अंश छुट्याई भिन्न हुन सक्नेछ ।

१८२. धर्मपुत्र वा धर्मपुत्रीको दायित्वः धर्मपुत्र वा धर्मपुत्रीको दायित्व देहाय बमोजिम हुनेछः–
(क) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिलाई आफ्नो बाबु आमा सरह इज्जत तथा क्षमता अनुसार पालनपोषण, स्वास्थ्य तथा हेरचाहको व्यवस्था गर्ने,
(ख) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको सम्पत्तिको संरक्षण, हेरविचार तथा उचित व्यवस्थापन गर्ने,
(ग) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको हक र हितको संरक्षण गर्ने ।

१८३. भेटघाट तथा पत्राचारको सुविधा दिनु पर्नेः धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्रीलाई समय समयमा निजको जन्म दिने बाबु आमालाई भेटघाट तथा पत्राचार गर्ने सुविधा दिनु पर्नेछ ।

१८४. धर्मपुत्र वा धर्मपुत्री बदर हुनेः कसैले दफा १७१, दफा १७२ को उपदफा (१) र उपदफा (२) को खण्ड (क) र (ख), दफा १७३, १७४ र १७५ विपरीत कसैलाई धर्मपुत्र वा धर्मपुत्री राखेमा त्यस्तो धर्मपुत्र वा धर्मपुत्री स्वतः बदर हुनेछ ।

१८५. धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेः (१) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले दफा १८१ बमोजिमको दायित्व पूरा नगरेमा कुनै धर्मपुत्र वा धर्मपुत्रीले धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछ ।
तर त्यस्तो धर्मपुत्र वा धर्मपुत्रीले अंश लिइसकेको भए बदर गराउन सक्ने छैन ।

(२) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले देहायका कुनै अवस्थामा धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछः–
(क) धर्मपुत्र वा धर्मपुत्रीले दफा १८२ बमोजिमको दायित्व पूरा नगरेमा,
(ख) धर्मपुत्र वा धर्मपुत्रीले आफूलाई घरबाट निकाला गरेमा वा पटक पटक शारीरिक वा मानसिक यातना दिएमा,
(ग) धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो सम्पत्तिको दुरूपयोग गरेमा,
(घ) आफ्नो मञ्जुरी नलिई तीन वर्ष वा सोभन्दा बढी समयसम्म आफूलाई छाडी धर्मपुत्र वा धर्मपुत्री अलग बसेमा ।

(३) उपदफा (२) को खण्ड (क) र (घ) को व्यवस्था विवाहिता धर्मपुत्रीको हकमा लागू हुने छैन ।

१८६. धर्मपुत्र वा धर्मपुत्रीको अन्त्यः (१) दफा १८४ वा १८५ बमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएमा धर्मपुत्र वा धर्मपुत्री राख्ने र धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको सम्बन्ध अन्त्य भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्ने र धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको सम्बन्ध अन्त्य भएमा धर्मपुत्र वा धर्मपुत्रीको हैसियतले निजमा रहेको हक, अधिकार तथा दायित्व समेत अन्त्य हुनेछ ।
तर धर्मपुत्र वा धर्मपुत्री कायम रहेको अवधिसम्म भोगिसकेको सुविधा, हासिल वा उपयोग गरिसकेको अधिकार र निर्वाह गरिसकेको दायित्वमा कुनै असर पर्ने छैन ।

१८७. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।