परिच्छेद–९ अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था

परिच्छेद–९ अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था

१८८. अन्तरदेशीय रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गरेको मानिनेः कुनै विदेशीले नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा स्वीकार गरेमा अन्तरदेशीय रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गरेको मानिनेछ ।

१८९. अनुमति नलिई धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउनेः (१) कुनै विदेशीले नेपाल सरकारको अनुमति नलिई कुनै नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा राख्न पाउने छैन ।

(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालमा अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री स्वीकार गर्न सकिने गरी खुल्ला गरिएका मुलुकका नागरिक वा दम्पतीलाई मात्र यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिइनेछ ।

१९०. धर्मपुत्र वा धर्मपुत्री दिँदा बालबालिकाको सर्वाेत्तम हित सुनिश्चित गर्नु पर्नेः (१) यस परिच्छेद बमोजिम विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न दिनु अघि नेपाल सरकारले बालबालिकाको सर्वाेत्तम हित, निजको मानव अधिकारको संरक्षण र त्यस्तो बालबालिका अपहरण, बेचबिखन वा अन्य कुनै किसिमले दुरुपयोग हुने वा नहुने तर्फ विचार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम विचार गर्दा कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न दिन उचित देखिएमा मात्र यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिइनेछ ।

१९१. धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिने बालबालिकाः बाल गृहमा कम्तीमा छ महिना बसेका देहायका बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिनेछः–
(क) बाबु र आमा दुवैको मृत्यु भई कसैको संरक्षणमा नरहेको अनाथ बालबालिका,
(ख) स्वेच्छाले त्यागेका बालबालिका ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि,–
(१) “बाल गृह” भन्नाले बालबालिकाको हक र हित संरक्षण गर्ने उद्देश्यले कानून बमोजिम खडा भएका बाल कल्याण गृह र अनाथालय सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारद्वारा स्थापना गरिएका बाल गृह वा बालमन्दिर समेतलाई जनाउँछ ।

(२) “अनाथ नाबालक” भन्नाले जिल्ला प्रशासन कार्यालयबाट अनाथ प्रमाणित भएका देहायका कुनै बालबालिका सम्झनु पर्छः–
(क) बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको र निजको बाबु वा आमा फेला नपरेको,
(ख) अस्पताल वा स्वास्थ्य संस्थामा वेवारिसे अवस्थामा छोडिएको,
(ग) बाबु र आमा पत्ता नलागेको,
(घ) बाबु र आमा दुवैको मृत्यु भई पालनपोषणको लागि कुनै सम्पत्ति नभएको ।

(३) “स्वेच्छाले त्यागेका बालबालिका” भन्नाले देहायका व्यक्तिले आपूmले बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको व्यवस्था गर्न नसकी त्यस सम्बन्धी लिखत गरी जिल्ला प्रशासन कार्यालय मार्फत बाल गृहमा जिम्मा लगाएका देहायका बालबालिका सम्झनु पर्छ ः–
(क) बाबु मरेको वा वेपत्ता भएको र आमाले अर्को विवाह गरेको अवस्थाको बालबालिकाका हकमा त्यस्ती आमाले,
(ख) एकभन्दा बढी बालबालिकाको जन्म भई बाबु मरेको वा वेपत्ता भएको वा होस ठेगानमा नभएको अवस्थामा निजको आमाले त्यस्तो बालबालिकाको आर्थिक कारणबाट पालनपोषण गर्न नसक्ने वा शिक्षा दिक्षा दिन नसक्ने भएमा त्यस्ता बालबालिकाको आमाले,
(ग) एकभन्दा बढी बालबालिकाको जन्म भई आमा मरेकी वा होस ठेगानमा नभएको अवस्थामा आर्थिक कारणले त्यस्तो बालबालिकाको पालन पोषण गर्न नसक्ने बाबु भएमा त्यस्ता बालबालिकाको बाबुले,
(घ) कुनै सम्पत्ति नभएका अनाथ बालबालिकाको हकमा संरक्षक वा माथवरले ।

१९२. धर्मपुत्र वा धर्मपुत्री लिन सक्ने विदेशीः (१) देहायका कुनै विदेशीलाई नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिका धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमति दिन सकिनेछः–
(क) विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पति,
(ख) पैँतालीस वर्ष उमेर पूरा भई पचपन्न वर्ष उमेर ननाघेकी अविवाहित, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला,
(ग) पैँतालीस वर्ष उमेर पूरा भई पचपन्न वर्ष उमेर ननाघेको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिन सकिने छैनः–
(क) होस ठेगानमा नभएको,
(ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा नेपाल वा सम्बन्धित मुलुकको अदालतबाट कसूरदार ठहरिएको ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विदेशी मुलुकको कानूनमा त्यस्तो देशको नागरिकले एकभन्दा बढी बालबालिका धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने व्यवस्था भएकोमा निजले छोरा छोरी भए तापनि धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली नागरिकलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निषेध गरेको वा धर्मपुत्र वा धर्मपुत्रीको हक र प्राकृतिक रूपमा जन्मेका छोरा छोरीको अधिकारमा विभेद भएको मुलुकको व्यक्तिले नेपालबाट धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न सक्ने छैन ।

१९३. अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्बन्धी व्यवस्थाः (१) यस परिच्छेद बमोजिम कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमतिको लागि सिफारिस गर्ने प्रयोजनको लागि केन्द्रीय निकायको रूपमा कार्य गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एक अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड गठन गर्न वा कुनै सरकारी निकायलाई त्यस्तो काम गर्ने गरी तोक्न सक्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “बोर्ड” भन्नाले अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्झनु पर्छ र सो शब्दले त्यस्तो काम गर्न तोकिएको सरकारी निकायलाई समेत जनाउँछ ।

(२) उपदफा (१) बमोजिमको बोर्ड गठन गर्दा बाल अधिकारको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको एकजना बाल अधिकारकर्मी समेत रहने गरी गठन गर्नु पर्नेछ ।

(३) यस परिच्छेदमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी विषयमा नीति निर्माण गरी नेपाल सरकारलाई सिफारिस गर्ने,
(ख) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी विषयमा विभिन्न निकायहरू बीच समन्वय गर्ने,
(ग) धर्मपुत्र वा धर्मपुत्री लिँदा वा दिँदा हुन सक्ने अनुचित आर्थिक तथा अन्य लाभ रोक्ने,
(घ) अन्य देशका धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी केन्द्रीय निकाय वा सो सम्बन्धी अन्य सार्वजनिक निकायले धर्मपुत्र वा धर्मपुत्रीको स्थितिका बारेमा कुनै सूचना माग गरेमा उपलब्ध गराउने,
(ङ) धर्मपुत्र वा धर्मपुत्री लिँदा वा दिँदा हुन सक्ने बाल दुव्र्यवहार, शोषण, ओसारपसार वा अपहरण, बेचबिखन रोक्ने र बालबालिकालाई हानि हुन सक्ने अन्य कुनै अभ्यासबाट नेपाली बालबालिकाको संरक्षण गर्ने,
(च) धर्मपुत्र वा धर्मपुत्री लिनको लागि लाग्ने दस्तुर निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,
(छ) धर्मपुत्र वा धर्मपुत्री लिनको लागि दिइने निवेदनको ढाँचा तोक्ने,
(ज) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा बस्न चाहने नाबालक, निजलाई जन्म दिने बाबु र आमा वा धर्मपुत्र वा धर्मपुत्री लिने बाबु र आमाको अभिलेख गोप्य रूपमा राख्ने व्यवस्था गर्ने,
(झ) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।

(४) बोर्डको बैठक लगायत बोर्डले सम्पादन गर्ने कार्य सम्बन्धी अन्य कार्यविधि बोर्ड आपैmले निर्धारण गर्नेछ ।

१९४. धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निवेदन दिनु पर्नेः (१) नेपाली नाबालक वा नेपालमा बसोबास गरेका विदेशीका कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न चाहने दफा १९२ बमोजिम योग्यता पुगेको विदेशी वा दम्पतिले नेपालस्थित आफ्नाे देशको राजदूताबास र त्यस्तो राजदूताबास नभए नेपालको निमित्त तोकिएको राजदूताबास वा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमति दिने सम्बन्धित मुलुकको केन्द्रीय निकाय मार्पmत देहायका कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछः–
(क) निवेदकको जन्म दर्ता प्रमाणपत्र,
(ख) निवेदकको हालसालै खिचिएको फोटो,
(ग) निवेदकको राहदानीको प्रतिलिपि,
(घ) निवेदकको वैवाहिक अवस्था प्रमाणित गर्ने कागज,
(ङ) निवेदकको स्वास्थ्य सम्बन्धमा अनुमति प्राप्त चिकित्सकले दिएको प्रमाणपत्र,
(च) निवेदक असल चरित्र भएको र नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको भनी सम्बन्धित मुलुकको सरकारी निकायले दिएको प्रमाणपत्र,
(छ) निवेदकको सम्पत्ति र आयस्रोत प्रमाणित गर्ने कागजात,
(ज) निवेदकको सामाजिक, मनोवैज्ञानिक र गृह अध्ययन सम्बन्धी प्रतिवेदन (सोसल, साइकोलजिकल, होमस्टडी रिपोर्ट),
(झ) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन चाहेको बालबालिकाको उमेर, लिङ्ग र अन्य विवरण,
(ञ) निवेदकलाई निजको देशको सरकारले नेपालबाट धर्मपुत्र वा धर्मपुत्री लिन दिएको सहमतिपत्र,
(ट) धर्मपुत्र वा धर्मपुत्री लिन चाहने व्यक्तिको मुलुकको कानून अनुसार धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको हैसियत आप्mनै छोरा छोरी सरह हुने भन्ने सम्बन्धित देशको सरकार वा सो देशको नेपालस्थित वा नेपालका लागि तोकिएको राजदूताबासबाट लेखिएको प्रत्याभूतिपत्र,
(ठ) धर्मपुत्र वा धर्मपुत्री लिन चाहने व्यक्तिको मुलुकको कानून अनुसार निज धर्मपुत्र वा धर्मपुत्री लिन योग्य भएको र निजसँग धर्मपुत्र वा धर्मपुत्री हुने नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा संरक्षण लगायतको सम्पूर्ण जिम्मेवारी वहन गर्ने आर्थिक क्षमता भएको सम्बन्धमा त्यस्तो व्यक्तिको मुलुकको सरकार, त्यस्तो देशको नेपालस्थित वा नेपालको लागि तोकिएको राजदूताबासबाट लेखिएको प्रत्याभूति पत्र ।

(२) उपदफा (१) बमोजिमका कागजात अंंग्रेजी भाषामा लेखिएको वा अधिकार प्राप्त निकायले अंग्रेजी वा नेपाली भाषामा अनुवाद गरेको हुनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकको माग बमोजिम धर्मपुत्र वा धर्मपुत्री दिन उपयुक्त देखिएमा बोर्डले निवेदकको नाम र ठेगाना गोप्य राखी त्यस सम्बन्धी विवरण छनौट समितिमा पठाउनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम निवेदन दिँदा बोर्डको सिफारिसमा नेपाल सरकारले निर्धारण गरे वमोजिमको निवेदन दस्तुर बुझाउनु पर्नेछ ।

१९५. छनौट समिति सम्बन्धी व्यवस्थाः कुनै विदेशी व्यक्ति वा दम्पतिलाई कस्तो नाबालक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा नाबालक लिन चाहने व्यक्ति वा दम्पति र नाबालक छनौट गरी बोर्ड समक्ष सिफारिस गर्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एक छनौट समिति गठन गर्नेेछ ।

१९६. नाबालक लिने व्यक्ति तथा बालबालिका छनौट गरी सिफारिस गर्नु पर्नेः  छनौट समितिले दफा १९४ को उपदफा (१) बमोजिम प्राप्त निवेदन तथा सो साथ संलग्न विवरण बमोजिम प्राप्त नाबालकको विवरणको आधारमा निवेदकको मागलाई समेत दृष्टिगत गरी कुन निवेदकलाई कस्तो किसिमको नाबालक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन उपयुक्त हुन्छ सो यकिन गरी निवेदक र नाबालकको नाम बोर्ड समक्ष सिफारिस गर्नु पर्नेछ ।

१९७. धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिनेः (१) दफा १९६ बमोजिम छनौट समितिबाट प्राप्त भएको सिफारिस जाँचबुझ गर्दा सिफारिस अनुरुपको नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन उपयुक्त देखेमा बोर्डले सोही व्यहोराको सिफारिस नेपाल सरकार समक्ष गर्नेछ ।

(२) उपदफा (१) बमोजिम बोर्डबाट भएको सिफारिस जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा नेपाल सरकारले बोर्डको सिफारिस बमोजिम त्यस्तो नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिन अनुमति दिनेछ ।

(३) उपदफा (२) बमोजिम अनुमति दिएपछि नेपाल सरकारले त्यस प्रयोजनको लागि तत्सम्बन्धी प्रमाणपत्र जारी गर्नेछ ।

(४) उपदफा (३) बमोजिम प्रमाणपत्र जारी भएपछि नेपालबाट रीतपूर्वक अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री ग्रहण गरेको मानिनेछ ।

(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा अनुमति दिनु अगावै सम्बन्धित नाबालकको बाबु, आमा वा अन्य संरक्षकले आप्mनो नाबालक फिर्ता लैजान चाहेमा त्यस्तो नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिने छैन ।

(६) उपदफा (२) बमोजिम नेपाल सरकारबाट कुनै नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिने अनुमति भएमा निवेदक उपस्थित भई सम्बन्धित नाबालक आफैँले बुझिलिनु पर्नेछ ।
तर निवेदक दम्पति भई दुवैमध्ये कुनै एक जना उपस्थित हुन नसक्ने भएमा अनुपस्थित पति वा पत्नीले दिएको प्रमाणित मञ्जुरनामाको आधारमा एक जनाले मात्र त्यस्तो नाबालक बुझ्न सक्नेछ ।

(७) यस दफा बमोजिम कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री दिने अनुमति भएपछि नेपाल सरकारले त्यस्तो कुराको जानकारी धर्मपुत्र वा धर्मपुत्री लिने व्यक्तिको मुलुकमा रहेको अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी कार्य गर्ने केन्द्रीय निकाय र नेपालका लागि सम्बन्धित देशको राजदूताबास भए त्यस्तो राजदूताबासमा समेत दिनु पर्नेछ ।

(८) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न निवेदन दिने विदेशी नागरिक वा दम्पतिले नेपाल सरकारबाट गरिएको कुनै निर्णय उपर चित्त नबुझेमा सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।

१९८. विशेष हेरचाहको आवश्यकता भएका नाबालकको लागि परिवारको छनौट सम्बन्धी विशेष व्यवस्थाः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले विशेष हेरचाहको आवश्यकता भएका नाबालकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न निवेदन दिने निवेदकलाई प्राथमिकता दिई परिवारको छनौट गर्न सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “विशेष हेरचाहको आवश्यकता भएका नाबालक” भन्नाले अनाथ नाबालक वा स्वेच्छाले त्यागेका नाबालकमध्ये शारीरिक वा मानसिक वा अस्वभाविक वा असामान्य विकास वा बढी उमेरका कारण विशेष हेरचाहको आवश्यकता भएको नाबालक सम्झनु पर्छ ।

(२) कुनै नाबालक विशेष हेरचाहको आवश्यकता भएको नाबालक हो वा होइन भन्ने विषयको निर्धारण बोर्डले गर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम परिवार र विशेष हेरचाहको आवश्यकता भएका नाबालक छनौट गर्दा पहिलो प्राथमिकता क्रममा रहेको परिवारले माग गरे अनुसार बालबालिकाको उमेर, लिङ्ग र स्वास्थ्य सम्बन्धी कुनै विवरण मेल नखाएमा त्यस्तो परिवारले माग गरेको विवरणसँग मेल खाने विशेष हेरचाहको आवश्यकता भएका नाबालक क्रमशः छनौट गर्न सकिनेछ ।

(४) विशेष हेरचाहको आवश्यकता भएका नाबालकका लागि परिवारको छनौट सम्बन्धी अन्य प्रक्रिया र त्यस्तो नाबालकको वर्गीकरण नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

१९९. धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिने सम्बन्धी विशेष व्यवस्थाः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ख्याति प्राप्त कुनै विदेशी नागरिकले दफा १९१ बमोजिमको कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न चाहेमा सम्बन्धित देशको राष्ट्रप्रमुख, सरकार प्रमुख वा परराष्ट्र मन्त्रीको औपचारिक सिफारिस सहित बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “ख्याति प्राप्त विदेशी नागरिक” भन्नाले देहायका कुनै व्यक्ति सम्झनु पर्छः–
(क) विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुख,
(ख) अन्तरराष्ट्रिय अन्तर सरकारी संगठनका प्रमुख,
(ग) नोवेल पुरस्कार विजेता,
(घ) वार्षिक तीन लाख अमेरिकी डलरभन्दा बढी आम्दानी भएको व्यक्ति वा व्यवसायी,

(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा त्यस्तो विदेशी नागरिकलाई निजको माग बमोजिमको नाबालक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिन मनासिब देखेमा बोर्डले सोही व्यहोराको सिफारिस नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम सिफारिस भएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले त्यस्तो विदेशी नागरिकलाई निजको माग बमोजिमको नाबालक धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न स्वीकृति दिन सक्नेछ ।

(४) यस दफा बमोजिम धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने विदेशी नागरिकले त्यसरी धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिसकेपछि यस परिच्छेदमा लेखिएका अन्य व्यवस्था पालना गर्नु पर्नेछ ।

२००. विवरण पठाउनु पर्नेः यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्ने विदेशीले धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिएको नाबालकलाई बालिग नभएसम्म सम्बन्धित मुलुकको कानून बमोजिम निजको पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको सम्बन्धमा आफूद्वारा गरिएको विस्तृत विवरण पहिलो दुई वर्षसम्म प्रत्येक छ महिनामा र त्यसपछि प्रत्येक वर्ष आफ्नो देशमा रहेको नेपाली राजदूताबास वा वाणिज्य दूताबास वा नेपाली नियोग र त्यस्तो दूतावास वा नियोग नभएमा त्यस्तो मुलुकसँग सम्बन्धित नेपालको राजदूताबास मार्फत नेपाल सरकार समक्ष पठाउनु पर्नेछ ।

२०१. अनुगमन गर्नेः (१) विदेशीले धर्मपुत्र वा धर्मपुत्री बनाई लगेका नेपाली नाबालकलाई बालिग नभएसम्म पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था गरे वा नगरेको सम्बन्धमा बोर्ड आफैँले अनुगमन गर्न वा त्यस्तो कामको लागि आवश्यकतानुसार सम्बन्धित देशमा रहेको नेपाली राजदूताबास वा वाणिज्य दूताबासको प्रतिनिधि समेत रहने गरी उपसमिति गठन गर्न सक्नेछ ।

(२) बोर्ड वा उपदफा (१) बमोजिमको उपसमितिले सो प्रयोजनको लागि बालबालिका रहे बसेको ठाउँमा गई अनुगमन गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम बोर्ड वा उपसमितिले आफूले गरेको अनुगमनको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको प्रतिवेदनमा अन्य कुराका अतिरिक्त धर्मपुत्र वा धर्मपुत्री भएको नेपाली नाबालक धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने व्यक्तिसँग बस्दा त्यस्तो नाबालकको सर्वाेत्तम हित भए वा नभएको व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।

(५) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनमा धर्मपुत्र वा धर्मपुत्री भएको नेपाली नाबालक धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने व्यक्तिसँग बस्दा त्यस्तो नाबालकको सर्वाेत्तम हित नभएको व्यहोरा उल्लेख भई आएमा नेपाल सरकारले सम्बन्धित नाबालक राय दिन सक्ने अवस्थाको भएमा वा दश वर्षभन्दा बढी उमेरको भएमा निजको राय समेत लिई सम्बन्धित मुलुकको सरकार समक्ष कूटनैतिक माध्यम मार्पmत त्यस्तो विषयमा ध्यानाकर्षण गराउनेछ ।

(६) उपदफा (५) बमोजिम ध्यानाकर्षण गराइएकोमा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिएको नेपाली नाबालकको स्थितिमा सुधार नआएमा भविष्यमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो मुलुकका नागरिकलाई नेपालमा अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न सकिने मुलुकको रूपमा खुल्ला गरिएको सूचीबाट हटाउनेछ ।

२०२. मुद्दा दायर गर्न सक्नेः धर्मपुत्र वा धर्मपुत्री भएको नाबालकलाई उचित पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था नगरेको आधारमा धर्मपुत्र वा धर्मपुत्री हुने नाबालकले बालिग भएको मितिले र धर्मपुत्र वा धर्मपुत्री रहेको देशमा रहेको नेपाली राजदुतावास वा वाणिज्य दुतावास वा नेपाल सरकारको अनुरोधमा सम्बन्धित देशको धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी काम गर्ने निकायले धर्मपुत्र वा धर्मपुत्री राख्नेबाट त्यस्तो व्यवस्था नगरेको मितिले एक वर्षभित्र सम्बन्धित देशको अदालतमा धर्मपुत्र वा धर्मपुत्री बदर गराउन मुद्दा दायर गर्न सक्नेछ ।

२०३. संहिताको व्यवस्था लागू हुनेः (१) धर्मपुत्र वा धर्मपुत्रीको सम्बन्धमा दफा १७३, १७४, १७५, १७८, १७९, १८०, १८१ र १८३ मा गरिएका व्यवस्थाहरू यस परिच्छेद बमोजिम विदेशीद्वारा राखिएका धर्मपुत्र वा धर्मपुत्रीको हकमा समेत लागू हुनेछन् ।

(२) नेपालमा बसोबास गरेका विदेशीका नाबालकलाई धर्मपुत्र वा धर्मपुत्री राख्ने सम्बन्धमा दफा १९१ को व्यवस्था लागू हुने छैन ।

(३) यस परिच्छेद बमोजिमका व्यवस्थाको कार्यान्वयन गर्न बोर्डको सिफारिसमा नेपाल सरकारले आवश्यक निर्देशिका बनाउन सक्नेछ ।

२०४. हदम्यादः यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम र त्यसरी हदम्याद नतोकिएकोमा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।