परिच्छेद–११ अपुताली सम्बन्धी व्यवस्था

परिच्छेद–११ अपुताली सम्बन्धी व्यवस्था

२३७. अपुताली परेको मानिनेः कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिनेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “अपुताली” भन्नाले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम हकवालामा सर्ने कार्र्य सम्झनु पर्छ ।

२३८. हकवालाले अपुताली पाउनेः कुनै व्यक्तिको अपुताली खुला भएमा निजको नजिकको हकवालाले त्यस्तो अपुताली पाउनेछ ।

२३९. अपुताली पाउने हकवालाको प्राथमिकताक्रमः (१) अपुताली पाउने नजिकको हकवालाको प्राथमिकताक्रम यस परिच्छेदको अन्य दफाको अधीनमा रही देहाय बमोजिम हुनेछः–
(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा, छोरी, विधवा बुहारी,
(ग) सगोलका बाबु, आमा, सौतेनी आमा, छोरा छोरी तर्फका नाति, नातिनी, नातिनी बुहारी,
(घ) भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा,
(ङ) भिन्न भएका छोरातर्फका नाति, नातिनी,
(च) भिन्न भएका बाजे, बज्यै,
(छ) सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी
(ज) सगोलका काका, काकी, भतिजा, भतिजी,
(झ) भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी ।

(२) कुनै व्यक्तिको अपुताली खुला हुँदाका बखत उपदफा (१) को प्राथमिकताक्रममा पहिलो प्राथमिकताक्रममा रहेको व्यक्ति भएसम्म त्यसपछिको प्राथमिकताक्रममा रहेको व्यक्तिले अपुताली पाउने छैन ।

(३) उपदफा (१) बमोजिम एउटै प्राथमिकताक्रमका एकभन्दा बढी हकवाला भएमा निजहरू सबैले समानरूपमा अपुताली पाउनेछन् ।

(४) उपदफा (३) बमोजिमको अपुताली पाउने प्राथमिकताक्रमको कुनै हकवालाले अपुताली लिन नचाहेमा सोही क्रमका अन्य हकवालाले र त्यस्ता क्रमका कुनै हकवालाले पनि अपुताली लिन नचाहेमा त्यसपछिको क्रमको हकवालाले अपुताली पाउनेछ ।

२४०. टाढाको हकवालाले अपुताली पाउनेः कुनै व्यक्ति नजिकको हकवाला हुँदाहुँदै आफ्नो अंश लिई टाढाको कुनै हकवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सँगै बस्ने हकवालाले पाउनेछ ।

२४१. स्याहारसम्भार गर्ने हकवालाले अपुताली पाउनेः कुनै व्यक्तिलाई नजिकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवालाले स्याहार सम्भार गरेको रहेछ भने निजको अपुताली त्यसरी स्याहारसम्भार गर्ने हकवालाले पाउनेछ ।

२४२. भिन्न भएको हकवालाले अपुताली पाउनेः (१) सगोलको हकवालाले स्याहार सम्भार नगरी कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हकवालासँग बस्न गएको अवस्थामा मृत्यु भएमा निजको अपुताली त्यस्ता भिन्न भएका हकवालाले पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति आफ्नो अंश केही नलिई केही दिनको लागि मात्र कुनै हकवालासँग बस्न गएको अवस्थामा निजको मृत्यु भएमा त्यसरी पछि बस्न गएका हकवालाले अपुताली पाउने छैन ।

२४३. स्याहार सम्भार गर्ने व्यक्तिले अपुताली पाउनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मृतकको स्याहार सम्भार हकवालाले नगरी अन्य व्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यसरी स्याहार सम्भार गर्ने व्यक्तिले पाउनेछ ।

२४४. अपुताली स्वीकार गर्न कर नलाग्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि व्यक्तिलाई अपुताली स्वीकार गर्न कर लाग्ने छैन ।

(२) कुनै व्यक्तिले अपुताली स्वीकार नगरेमा अपुताली परेको तीन वर्षभित्र त्यस्तो कुराको जानकारी सम्बन्धित जिल्ला अदालतलाई लिखित रूपमा दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको अवधिभित्र अपुताली स्वीकार नगरेमा त्यस्तो अपुताली त्यस पछिका प्राथमिकताक्रमको अन्य हकवालामा सरेको मानिनेछ ।

(४) उपदफा (१) बमोजिम कुनै हकवालाले अपुताली स्वीकार नगरेमा पनि निजले मृतकको रीत, परम्परा अनुसार सद्गत गर्नु पर्नेछ ।

२४५. अपुताली नपाउनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै रिस इबि वा अपुताली पाउने वद्नियतले कसैको ज्यान लिएमा वा लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउने व्यक्ती र निजका  हकवालाले मृतक वा निजको हकवालाको अपुताली पाउने छैन ।

२४६. अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकारः (१) अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकार देहाय बमोजिम हुनेछः–
(क) मृतकको रीत परम्परा अनुसार सद्गत तथा किरिया गर्नु वा गराउनु पर्ने,
(ख) मृतकले लिएको ऋण साहूलाई भुक्तानी गर्नु पर्ने, र
(ग) मृतकले दिएको ऋण तथा लगानी गरेको सम्पत्ति माथि निजको अधिकार हुने ।

(२) कुनै व्यक्तिको मृत्यु भई निजको सदगत तथा किरिया अपुताली पाउने व्यक्ति बाहेक अन्य व्यक्तिले गरेको भए अपुताली पाउने व्यक्तिले मृतकको सद्गत तथा किरिया गर्दा लागेको खर्च र त्यस्तो खर्चको थप पच्चीस प्रतिशत रकम त्यसरी सदगत तथा किरिया गर्ने व्यक्तिलाई दिनु पर्नेछ ।

तर कुनै व्यक्तिले मृतकको सद्गत तथा किरिया आफूले नगरी अन्य व्यक्ति मार्फत गराउन लगाएको रहेछ भने त्यसरी सद्गत तथा किरिया गर्दा लागेको वास्तविक खर्च मात्र दिन सक्नेछ ।

२४७. साहूले ऋण भरार्ई लिन सक्नेः कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका साहू भएमा त्यस्ता साहूले अपुताली पाउनेबाट ऋण तथा दायित्व भरार्ई लिन सक्नेछ ।
तर मृतकको सम्पत्ति भन्दा बढीको ऋण तथा दायित्व अपुताली पाउने व्यक्तिले तिर्न बाध्य हुने छैन ।

२४८. अपुतालीको सम्पत्ति स्थानीय तहको हुनेः (१) कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सदगत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहू भए साहूको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुनेछ ।

(२) कुनै व्यक्तिको मृत्यु भएमा निजको कोही हकवाला रहेनछ र सम्पत्ति रहेछ भने निजको सदगत गर्ने वा हरहिसाब राख्ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त सम्बन्धित स्थानीय तहलाई दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएमा स्थानीय तहले कम्तीमा दुईजना स्थानीय व्यक्ति साक्षी राखी मृतकको सम्पत्तिको विवरण तयार गरी त्यसको एकप्रति मुचुल्का सहित सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयमा पठाउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम सम्पत्तिकोे विवरण सहितको मुचुल्का प्राप्त भएमा मृतकको ठेगाना पत्ता लागेमा त्यस्तो कार्यालयले मृतकको हकवालालाई तीन महिनाभित्र मृतकको सम्पत्ति बुझ्न आउन कानून बमोजिम सूचना पठाउनु पर्नेछ ।

(५) उपदफा (१) बमोजिम हकवालाले सम्पत्ति स्वीकार नगरेमा वा उपदफा (४) बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित नभएमा वा त्यस्तो हकवालाको ठेगाना पत्ता नलागेमा त्यस्तो कार्यालयले मृतकको कुनै हकवाला भए पैँतीस दिनभित्र मृतकको सम्पत्ति दाबी गर्न आउनु भनी राष्ट्रि«यस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।

(६) उपदफा (५) बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित भएमा मृतकको सदगत गर्दा लागेको खर्च कटाई वा त्यस्तो खर्च सदगत गर्ने व्यक्तिलाई दिई त्यस्तो सम्पत्तिको दश प्रतिशत लिई बाँकी सम्पत्ति सम्बन्धित हकवालालाई फिर्ता दिनु पर्नेछ ।

(७) उपदफा (५) बमोजिमको म्यादभित्र मृतकको कुनै हकवाला उपस्थित नभएमा वा निजको ठेगाना पत्ता नलागेमा मृतककोे सदगत गर्दा लागेको खर्च सदगत गर्ने व्यक्तिलाई दिई बाँकी रहेको सम्पत्ति सम्बन्धित स्थानीय तहको हुनेछ ।

(८) उपदफा (१) वा (७) बमोजिम स्थानीय तहलाई प्राप्त भएको सम्पत्ति सम्बन्धित हकवाला वा उपदफा (३) बमोजिमको कार्यालयले कानून बमोजिम स्थानीय तहलाई जिम्मा दिनु पर्नेछ ।

(९) स्थानीय तहले यस दफा बमोजिम प्राप्त गरेको सम्पत्ति सार्वजनिक हितको लागि प्रयोग गर्नु पर्नेछ ।

२४९. नेपालभित्र मृत्यु भएको विदेशीको सम्पत्तिको अपुतालीः (१) नेपालभित्र मृत्यु भएको कुनै विदेशीको नेपालभित्र कोही हकवाला रहेनछ तर सम्पत्ति रहेछ भने निजको सद्गत गर्ने वा हरहिसाब राख्ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त नजिकको स्थानीय तहलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचना प्राप्त भएमा स्थानीय तहले कम्तीमा दुईजना स्थानीय व्यक्ति साक्षी राखी मृतकको सम्पत्तिको विवरण तयार गरी त्यसको एकप्रति मुचुल्का सहित सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयमा पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम सम्पत्तिको विवरण सहितको मुचुल्का प्राप्त भएमा त्यस्तो कार्यालयले तुरुन्त सङ्घीय गृह मन्त्रालयलाई जानकारी दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको सूचना प्राप्त भएमा सङ्घीय गृह मन्त्रालयले सम्बन्धित देशको कुटनीतिक माध्यम मार्फत मृतकको हकवालालाई चार महिनाभित्र मृतकको सम्पत्ति बुझ्न आउन कानून बमोजिम सूचना पठाउनु पर्नेछ ।

(५) नेपालसँग कुटनीतिक सम्बन्ध नभएको मुलुकको नागरिकको मृत्यु भई उपदफा (३) बमोजिमको विवरण प्राप्त भएमा सङ्घीय गृह मन्त्रालयले छ महिनाभित्र त्यस्तो सम्पत्ति बुझिलिन राष्ट्रियस्तरको अंग्रेजी भाषाको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो सूचना सङ्घीय गृह मन्त्रालयले आफ्नो वेवसाइटमा समेत राख्नु पर्नेछ ।

(६) उपदफा (४) वा (५) बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित भएमा मृतकको सद्गत गर्दा लागेको खर्च कटाई वा त्यस्तो खर्च सद्गत गर्ने व्यक्तिलाई दिई त्यस्तो सम्पत्तिको मूल्यको दश प्रतिशत दस्तुर लिई बाँकी सम्पत्ति सम्बन्धित हकवालालाई फिर्ता दिनु पर्नेछ ।

(७) उपदफा (४) वा (५) बमोजिमको म्यादभित्र मृतकको कुनै हकवाला उपस्थित नभएमा वा निजको ठेगाना पत्ता नलागेमा मृतकको सद्गत गर्दा लागेको खर्च सद्गत गर्ने व्यक्तिलाई दिई बाँकी रहेको सम्पत्ति स्थानीय तहको हुनेछ ।

(८) यस दफा बमोजिम स्थानीय तहले प्राप्त गरेको सम्पत्ति सार्वजनिक हितको लागि मात्र प्रयोग गर्नु पर्नेछ ।

२५०. हदम्यादः यस परिच्छेदमा अन्यत्र हदम्याद लेखिएकोमा सोही हदम्यादभित्र अन्यमा अपुताली खुला भएको मितिले तीन वर्षभित्र नालिस गर्न सकिनेछ ।