भाग–४ सम्पत्ति सम्बन्धी कानून परिच्छेद–१ सम्पत्ति सम्बन्धी सामान्य व्यवस्था

भाग–४ सम्पत्ति सम्बन्धी कानून परिच्छेद–१ सम्पत्ति सम्बन्धी सामान्य व्यवस्था

२५१. सम्पत्ति मानिनेः उपभोग गर्न, खरिद, बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानिनेछ ।
स्पष्टीकरणः यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक “वस्तु” भन्नाले खरिद बिक्री गर्न सकिने भौतिक सम्पत्ति सम्झनु पर्छ ।

२५२. सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिनेः भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भए पनि सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिनेछ ।

२५३. अचल सम्पत्ति मानिनेः (१) देहायका सम्पत्ति अचल मानिनेछः–
(क) घर वा जमिन वा सोसँग जोडिएको संरचना,
(ख) घर वा जमिनसँग स्थायी रूपमा आबद्ध भएको कुनै वस्तु,
(ग) जमिनसँग आबद्ध रहेको खानी, ढुङ्गा वा खनिजजन्य वस्तु,
(घ) प्राकृतिक स्वरूपमा रहेको पानी, भूसतह तथा भूमिगत रूपमा रहेको पानी,
(ङ) नदी, ताल, तलैयामा तैरने गरी स्थायी रूपमा बनाइएका घर वा अन्य संरचना,
(च) जमिनमा खडा भएको रुख, बिरुवा वा फलफूलका बोट वा त्यस्ता रुख, बिरुवा वा फलफूलका बोटमा फलेका फल वा फूलेका फूल, जमिनमा फलेको बाली,
(छ) अचल सम्पत्तिसँग आबद्ध रहेको कुनै चल सम्पत्ति ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अचल सम्पत्तिसँग जोडिएको वा आबद्ध भएको कुनै संरचना, वस्तु वा त्यसको कुनै भाग कुनै किसिमले अचल सम्पत्तिबाट अलग भएमा वा गरिएमा त्यसरी अलग भएको वा गरिएको संरचना, वस्तु वा भाग चल सम्पत्ति मानिनेछ ।

२५४. चल सम्पत्ति मानिनेः देहायको सम्पत्ति चल मानिनेछः–
(क) नगद वा नगद सरह कारोबार हुने वस्तु वा विदेशी मुद्रा,
(ख) सुन, चाँदी, जवाहरत, रत्न, सुनचाँदीबाट बनेका गरगहना वा बहुमूल्य पत्थर,
(ग) खण्ड (क) वा (ख) बाहेकका एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्न सकिने अन्य वस्तु,
(घ) ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमेय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ,
(ङ) बौद्धिक सम्पत्ति,
(च) धितोमा रहेको हक,
(छ) व्यापारिक ख्याति वा फ्रेन्चाईज,
(ज) अचल सम्पत्ति बाहेकका अन्य सम्पत्ति ।

२५५. स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरणः सम्पत्तिको स्वामित्व तथा त्यसको प्रयोगको स्वरुपको आधारमा सम्पत्तिको वर्गीकरण देहाय बमोजिम हुनेछः–
(क) निजी सम्पत्ति,
(ख) सगोलको सम्पत्ति,
(ग) संयुक्त सम्पत्ति,
(घ) सामुदायिक सम्पत्ति,
(ङ) सार्वजनिक सम्पत्ति,
(च) सरकारी सम्पत्ति,
(छ) गुठीको सम्पत्ति ।

२५६. निजी सम्पत्ति मानिनेः (१) कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिनेछः–
(क) आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको,
(ख) दान, बकस वा अपुताली स्वरूप प्राप्त गरेको,
(ग) चिठ्ठा वा उपहार स्वरूप प्राप्त गरेको,
(घ) पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षण वापत प्राप्त गरेको,
(ङ) बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको,
(च) कानून बमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको,
(छ) महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको,
(ज) महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति,
(झ) कानून बमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको ।

(२) कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस ऐनको अधीनमा रही आफूखुसी गर्न पाउनेछ ।

२५७. सगोलको सम्पत्ति मानिनेः (१) दफा २५६ को अधीनमा रही सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको भए पनि देहायको कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति सगोलको सम्पत्ति मानिनेछः–
(क) पुख्र्याैलीबाट प्राप्त सम्पत्ति,
(ख) निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति,
(ग) अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति ।

(२) कानून बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ ।

(३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको सम्पत्ति मानिनेछ ।

(४) सगोलको सम्पत्तिको उपभोग, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस ऐनको अन्य परिच्छेद बमोजिम हुनेछ ।

२५८. संयुक्त सम्पत्ति मानिनेः (१) एकासगोलका अंशियारहरू बाहेक दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रहेको वा त्यसबाट बढे बढाएको सम्पत्ति संयुक्त सम्पत्ति मानिनेछ ।

(२) संयुक्त सम्पत्तिमा कुनै व्यक्तिको हक वा हिस्सा खुलाई लिखत भएकोमा सोही बमोजिम र लिखतमा कुनै उल्लेख नभएकोमा त्यस्तो सम्पत्ति रहने व्यक्तिहरूको समान हक र हिस्सा रहेको मानिनेछ ।

(३) संयुक्त सम्पत्तिको उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस परिच्छेद तथा यस ऐनको अन्य परिच्छेद बमोजिम हुनेछ ।

२५९. सीमानामा रहेको रुख, विरुवा वा वस्तु संयुक्त सम्पत्ति मानिनेः अन्यथा प्रमाणित भएमा बाहेक दुई वा दुईभन्दा बढी संधियारको सीमानामा रहेको रुख, विरुवा वा वस्तु सबै संधियारको संयुक्त सम्पत्ति मानिनेछ ।

२६०. संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भारः (१) संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार त्यस्तो सम्पत्तिको स्वामित्ववालाहरूको सहमति बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्न स्वामित्ववालाहरू बीच सहमति हुन नसकेमा बहुमत सदस्यको निर्णयको आधारमा संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गर्ने सम्बन्धमा बहुमत कायम हुन नसकेमा त्यस्तो सम्पत्तिमा सबभन्दा बढी हक वा हिस्सा हुने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्नेछ ।
तर स्वामित्ववालाहरूको बराबर हक भएकोमा त्यस्तो सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार सबै स्वामित्ववालाहरूले बराबर रूपमा गर्नु पर्नेछ ।

(४) उपदफा (२) वा (३) बमोजिम कुनै स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गरेमा सो गर्दा लागेको खर्च सबै स्वामित्ववालाहरूले आफ्नो हक वा हिस्साको आधारमा व्यहोर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार नगर्ने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च एक वर्षभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालालाई बुुझाउनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिमको अवधिभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च कुनै स्वामित्ववालाले नबुझाएमा निजको हक वा हिस्साको सम्पत्ति, संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालाले प्रचलित मूल्यमा खरिद गरी लिन पाउनेछ । त्यसरी संयुक्त सम्पत्ति खरिद गर्नेले निजको भागको व्यवस्थापन तथा मर्मत खर्च गर्दा व्यहोरेको रकम लिन पाउनेछ ।

२६१. सहमति बिना संयुक्त सम्पत्ति फेरबदल गर्न नसकिनेः संयुक्त सम्पत्तिका सबै स्वामित्ववालाहरूको सहमति बिना कुनै संयुक्त सम्पत्ति फेरबदल गर्न वा त्यस्तो सम्पत्तिको स्वरूपमा परिवर्तन गर्न सकिने छैन ।

२६२. संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले कानूनी कारबाही वा प्रतिरक्षा गर्न सक्नेः (१) संयुक्त सम्पत्तिको संरक्षण गर्ने सम्बन्धमा कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्नु पर्ने भएमा सबै स्वामित्ववालाले गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सबै स्वामित्ववाला उपलब्ध नभएमा कुनै स्वामित्ववालाले आफ्नो वा अन्य स्वामित्ववालाको तर्फबाट कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्न सक्नेछ ।

२६३. संयुक्त सम्पत्तिबाट आफ्नो भाग छुट्याई लिन सक्नेः (१) संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालासँग जहिलेसुकै छुट्टाई लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम संयुक्त सम्पत्ति छुट्याउँदा सबै स्वामित्ववालाको सहमति बमोजिम गर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संयुक्त सम्पत्ति छुट्याउँदा अन्य स्वामित्ववालालाई सारभूत रूपमा नोक्सान पर्ने भएमा वा संयुक्त सम्पत्तिको स्वरूप बिग्रने देखिएमा त्यस्तो सम्पत्ति छुट्याउन सकिने छैन ।

(४) उपदफा (३) बमोजिमको अवस्था परी कुनै संयुक्त सम्पत्ति छुट्याउन नसकिने भएमा त्यस्तो सम्पत्तिका स्वामित्ववालाहरूले त्यस्तो सम्पत्ति बिक्री गरी प्राप्त रकम आफ्नो हक वा हिस्साको आधारमा आपसमा बाँडफाँट गरी लिनु दिनु गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम संयुक्त सम्पत्ति बिक्री नभएमा वा बिक्री गर्न सबै स्वामित्ववालाहरू मञ्जुर नभएमा र त्यस्तो सम्पत्ति कुनै स्वामित्ववालाले लिन चाहेमा त्यस्तो स्वामित्ववालाले सोही अनुपातमा अन्य स्वामित्ववालालाई त्यस्तो सम्पत्तिको मूल्य भुक्तानी गरी त्यस्तो सम्पत्ति एकलौटी लिन सक्नेछ ।

(६) उपदफा (५) बमोजिम एकभन्दा बढी स्वामित्ववालाले संयुक्त सम्पत्ति लिन चाहेमा सबभन्दा बढी मूल्य तिर्न मञ्जुर गर्ने स्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन पाउनेछ ।

२६४. सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति सम्बन्धी व्यवस्थाः सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति, त्यस्तो सम्पत्तिको स्वामित्व, उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस ऐनको अन्य परिच्छेदमा उल्लेख भए बमोजिम हुनेछ ।

२६५. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।