परिच्छेद–२ स्वामित्व र भोगाधिकार सम्बन्धी व्यवस्था

परिच्छेद–२ स्वामित्व र भोगाधिकार सम्बन्धी व्यवस्था

२६६. स्वामित्व रहेको मानिनेः कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा कानून बमोजिम हक प्राप्त भएमा त्यस्तो सम्पत्तिमा निजको स्वामित्व रहेको मानिनेछ ।

२६७. स्वामित्ववालाको अधिकार हुनेः कानूनको अधीनमा रही कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा स्वामित्ववालाको हैसियतले देहायको अधिकार हुनेछः–
(क) सम्पत्ति उपभोग गर्न,
(ख) सम्पत्ति बिक्री वा अन्य तवरले कसैलाई हक हस्तान्तरण गर्न,
(ग) सम्पत्तिको कुनै किसिमले धितो वा बन्धकी राख्न,
(घ) सम्पत्तिको कुनै कारोबार गर्न,
(ङ) सम्पत्तिबाट जुनसुकै किसिमबाट फाइदा लिन,
(च) आफ्नो जग्गा जमिनमा कुनै किसिमको भौतिक संरचना निर्माण गर्न, पर्खाल वा बार लगाई घेर्न वा साँध सिमाना छुट्याउन वा कुनै सम्पत्तिको स्वरूप परिवर्तन गर्न वा कुनै पनि किसिमले सम्पत्तिको संरक्षण गर्न,
(छ) आफ्नो जमिन वा जमिनमुनिको भाग वा त्यसमा रहेको वस्तु वा जमिन माथिको आकाश प्रयोग गर्न,
(ज) सम्पत्ति कुनै तवरले नष्ट वा समाप्त गर्न,
(झ) सम्पत्ति प्राप्त वा सुरक्षा गर्ने सम्बन्धमा कुनै पनि किसिमले कानूनी कारबाही चलाउन ।

२६८. भोगाधिकार रहेको मानिनेः कसैले कुनै सम्पत्ति भोग गर्ने मनसायले कानून बमोजिम आफूसँग राखेमा त्यस्तो सम्पत्तिमा निजको भोगाधिकार रहेको मानिनेछ ।

२६९. भोगाधिकार प्राप्त गर्न सकिने अवस्थाः (१) देहायको अवस्थामा कुनै सम्पत्ति उपर भोगाधिकार प्राप्त गर्न सकिनेछः–
(क) स्वामित्ववालाको हैसियतले,
(ख) अन्य व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति कानून बमोजिम प्राप्त गरेर,
(ग) भोगाधिकारको सहमति लिई ।

(२) असल मनसाय, शान्तिपूर्ण वा खुला रूपमा प्राप्त गरेको भोगाधिकारलाई मात्र कानूनी रूपले भोगाधिकार प्राप्त गरेको मानिनेछ ।

२७०. भोगाधिकार प्राप्त गर्न सक्ने व्यक्तिः (१) भोगाधिकार आफैँले वा प्रतिनिधि मार्फत प्राप्त गर्न सकिनेछ ।

(२) असक्षम वा अर्धसक्षम व्यक्तिले संरक्षक वा माथवर मार्फत भोगाधिकार प्राप्त गर्न सक्नेछ ।

२७१. भोगाधिकारवालाको अधिकारः (१) कानूनको अधीनमा रही कुनै पनि व्यक्तिलाई भोगाधिकारको हैसियतले देहायको अधिकार प्राप्त हुनेछः–
(क) आफ्नो भोगमा रहेको सम्पत्ति प्रचलित कानून वा त्यस्तो सम्पत्तिका सम्बन्धमा कुनै करार भएको भए त्यस्तो करारको अधीनमा रही निर्वाध रूपमा भोग गर्न,
(ख) आफ्नो भोगमा रहेको सम्पत्तिबाट प्राप्त हुने जुनसुकै लाभ उपभोग गर्न ।

(२) कसैले आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोग गरेमा त्यस्तो सम्पत्तिमा पछि निजको भोगाधिकार नरहने भए तापनि निजले त्यस्तो सम्पत्तिमा भोगाधिकार रहेको अवधिमा सम्बन्धित स्वामित्ववालाको सहमति लिई त्यस्तो सम्पत्तिको व्यवस्थापन, मर्मत सम्भार वा रेखदेख गर्दा लागेको अत्यावश्यक खर्च त्यस्तो सम्पत्तिको स्वामित्ववालासँग सोधभर्ना गरी लिन पाउनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफा बमोजिमको खर्च सोधभर्ना नभएसम्म साविकको भोगाधिकारवालाले त्यस्तो सम्पत्ति आफैँसँग राख्न पाउनेछ ।

(४) आफ्नाे स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोगाधिकार गर्दा कुनै व्यक्तिले त्यस्तो सम्पत्तिमा कुनै वस्तु जडान गरेको भए त्यस्तो सम्पत्ति नबिग्रने गरी आफूले जडान गरेको वस्तु उप्काउन वा झिक्न सक्नेछ ।

२७२. भोगाधिकार समाप्त हुने अवस्थाः देहायका कुनै अवस्थामा कुनै व्यक्तिको सम्पत्ति माथि रहेको भोगाधिकार अन्त्य भएको मानिनेछः–
(क) निजले सम्पत्ति परित्याग गरेमा,
(ख) निजले सम्पत्ति हस्तान्तरण गरेमा,
(ग) कुनै सम्पत्ति पूर्णरूपमा नष्ट वा बेकम्मा भएमा ।

२७३. प्रतिकूल भोगाधिकार रहेको मानिनेः (१) यस परिच्छेदमा अन्यत्र जुनुसकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमिनको हकमा तीस वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमिन आप्mनै सम्पत्ति वा जमिन सरह भोग गरेमा त्यस्ता सम्पत्ति वा जमिनमा निजको प्रतिकूल भोगाधिकार रहेको मानिनेछ ।
तर,
(१) सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा जतिसुकै समयसम्म भोग गरेको भए तापनि प्रतिकूल भोगाधिकार प्राप्त हुने छैन ।
(२) कुनै सम्पत्ति वा जमिनको सम्बन्धमा करार वा अन्य कानूनद्वारा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई कुनै सम्पत्तिमा प्रतिकूल भोगाधिकार प्राप्त भएमा त्यस्तो व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा स्वामित्व कायम गराउन सक्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वामित्ववालाको जानकारी विना, गोप्य रूपमा वा जबरजस्ती कुनै चल सम्पत्ति वा जमिन भोग गरेकोमा यो दफाको व्यवस्था लागू हुने छैन ।

(४) यस दफा बमोजिमको अवधि गणना गर्दा यो ऐन प्रारम्भ भएको मितिबाट गणना गरिनेछ ।

२७४. क्षतिपूर्ति तिर्नु पर्नेः (१) कसैले कुनै सम्पत्ति जवरजस्ती, वदनियतपूर्वक वा गोप्य रूपमा भोग गरेमा त्यस्तो सम्पत्ति भोग गर्दा प्राप्त गरेको लाभ र त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति भोग गर्दा आफ्नो हेलचक्र्याइँबाट हुन पुगेको नोक्सानी वापत मनासिब क्षतिपूर्ति समेत तिर्नु पर्नेछ ।

(२) अरुको सम्पत्ति आफ्नो भोगाधिकारमा रहेको अवधिमा हराएमा वा क्षति भएमा भोगाधिकारवालाले त्यस्तो सम्पत्ति वापत सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।

२७५. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।