परिच्छेद–७ फलोपभोग सम्बन्धी व्यवस्था

परिच्छेद–७ फलोपभोग सम्बन्धी व्यवस्था

३५२. फलोपभोग (युजुफ्रुक्ट) को व्यवस्था भएको मानिनेः (१) कसैले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति, त्यसबाट प्राप्त हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा अर्को व्यक्तिले प्रयोग गर्न सक्ने गरी निःशुल्क रूपमा दिएकोमा फलोपभोगको व्यवस्था भएको मानिनेछ ।

(२) फलोपभोगको व्यवस्था सम्बन्धित व्यक्तिहरू बीच भएको करार बमोजिम हुनेछ ।

३५३. फलोपभोग प्रभावकारी हुनेः करार बमोजिम कायम भएको फलोपभोगको व्यवस्था करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार प्रारम्भ भएको मितिदेखि प्रभावकारी हुनेछ ।

३५४. लिखत गर्नु पर्नेः (१) कसैले आफ्नो अचल सम्पत्ति फलोपभोग गरी दिँदा कानून बमोजिम लिखत गर्नु पर्नेछ ।

(२) कसैले सगोलको सम्पत्ति फलोपभोगको रूपमा दिँदा एकासगोलको अंशियारको सहमति लिनु पर्नेछ ।

३५५. फलोपभोगीले आफ्नै सम्पत्ति सरह प्रयोग गर्न पाउनेः (१) कसैले आफ्नो सम्पत्ति कसैलाई फलोपभोग गर्न दिएकोमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने फलोपभोगीले त्यस्तो सम्पत्ति, त्यसबाट प्राप्त वा आर्जन हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा र त्यसबाट बढे बढाएको प्रतिफल, लाभ, आम्दानी वा सुविधा आफ्नो सम्पत्ति सरह प्रयोग गर्न पाउनेछ ।

(२) उपदफा (१) बमोजिम सम्पत्ति प्राप्त गर्ने एकभन्दा बढी फलोपभोगी भएकोमा प्रत्येक फलोपभोगीले सामूहिक रूपमा वा एक्ला एक्लै त्यस्तो सम्पत्ति प्रयोग गर्न पाउनेछन् ।

(३) फलोपभोगको व्यवस्था अन्तर्गत प्राप्त भएको सम्पत्ति अंशबण्डा भएकोमा अंशबण्डा बमोजिम फलोपभोग गर्न पाउने प्रत्येक अंशियारले उपदफा (१) बमोजिम सम्पत्ति प्रयोग गर्न पाउनेछन् ।

(४) फलोपभोगीले फलोपभोगको व्यवस्था अन्तर्गत प्राप्त भएको सम्पत्तिको संरक्षण वा भोगचलनको लागि आवश्यकतानुसार अदालतमा नालिस दिन सक्नेछ ।

३५६. फलोपभोगीले प्रयोग गर्न नसक्ने सम्पत्तिः दफा ३५५ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिसँग सम्बन्धित देहायका सम्पत्ति फलोपभोगीले प्रयोग गर्न सक्ने छैनः–
(क) सम्पत्तिसँग सम्बन्धित खानी तथा खनिज पदार्थ,
तर खानी नै फलोपभोग अन्तर्गत प्रयोग गर्न दिएकोमा त्यस्तो खानी प्रयोग गर्न सकिनेछ ।
(ख) हुर्किसकेका रुख,
तर रुखबाट प्राप्त हुने फल, फूल वा अन्य पैदावार प्रयोग गर्न सकिनेछ ।

३५७. स्वीकृति बिना सम्पत्तिको संरचना हेरफेर गर्न नपाउनेः फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त भएको सम्पत्ति स्वामित्ववालाको पूर्व स्वीकृति बिना त्यस्तो सम्पत्तिको मौलिक अवस्था (सब्स्टयान्स) वा त्यसको स्वरूप (फर्म) मा उल्लेख्य रूपमा हेरफेर गर्न वा त्यस्तो सम्पत्ति बिनाश गर्न पाउने छैन ।

तर फलोपभोग अन्तर्गत दिइएको सम्पत्तिको स्वरुप हेरफेर वा त्यसको बिनाश बिना प्रयोग गर्न नसकिने भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सम्पत्ति फिर्ता गर्दा कायम हुन सक्ने मूल्य तिरी त्यस्तो सम्पत्तिको स्वरुप हेरफेर वा बिनाश गरी प्रयोग गर्न सकिनेछ ।

३५८. फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन सक्नेः (१) फलोपभोगीले चाहेमा फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति दफा ३५२ को उपदफा

(२) बमोजिमको करारको अधीनमा रही लिखत गरी बहाल, लिज वा बन्धकीमा दिन सक्नेछ ।
तर,
(१) मासिक बीस हजार रुपैयाँसम्ममा सम्पत्ति बहालमा दिँदा लिखत गर्नु पर्ने छैन ।
(२) त्यसरी बहाल, लिज वा बन्धकीमा सम्पत्ति दिएकोमा फलोपभोगीले स्वामित्ववालालाई जानकारी गराउनु पर्नेछ ।
(३) फलोपभोग अन्तर्गत प्राप्त सम्पत्ति फलोपभोग कायम रहनेभन्दा बढी अवधिको लागि बहाल, लिज वा बन्धकीमा दिन सकिने छैन ।
(२) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिँदा त्यस सम्बन्धी लिखतमा फलोपभोग अन्तर्गतको सम्पत्ति भएको कुरा उल्लेख गर्नु पर्नेछ ।

(३) उपदफा (१) र (२) विपरीत कसैले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिएको भए त्यस्तो व्यवहार स्वतः बदर हुनेछ ।

(४) उपदफा (१) बमोजिम बहाल, लिज वा बन्धकीमा लिएको सम्पत्ति बहाल, लिज वा बन्धकी लिने व्यक्तिले फलोपभोगीले सरह प्रयोग गर्न सक्नेछ ।

३५९. फलोपभोग अन्तर्गतको सम्पत्ति मर्मत सम्भार तथा हेरविचार गर्नु पर्नेः (१) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति आफ्नै सम्पत्ति सरह मानी उचित र मनासिब तवरले मर्मत सम्भार तथा हेरविचार गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिले फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा लिएकोमा निजले त्यस्तो सम्पत्तिको उचित र मनासिब तवरले हेरविचार गर्नु पर्नेछ ।

(३) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको मर्मत सम्भार आफ्नै खर्चमा गर्नु पर्नेछ ।
तर विपद्को कारण सारभूत रकम (सब्स्ट्यान्सियल एमाउण्ट) खर्च गरी त्यस्तो सम्पत्ति मर्मत र सम्भार गर्नु परेमा स्वामित्ववालाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी भएको मर्मत सम्भारको खर्च स्वामित्ववालाले व्यहोर्नु पर्नेछ ।

३६०. फलोपभोग अन्तर्गत प्राप्त सम्पत्तिको हानि, नोक्सानी गर्न नहुनेः (१) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको हानि, नोक्सानी गर्न वा गराउनु हुँदैन ।

(२) फलोपभोगी वा दफा ३५८ बमोजिम बहाल, लिज वा बन्धकीमा लिने व्यक्तिले त्यस्तो सम्पत्ति प्रयोग गर्दा कुनै किसिमबाट हानि, नोक्सानी भएमा फलोपभोगी जिम्मेवार हुनेछ ।
तर विपद् परी त्यस्तो सम्पत्ति हानि, नोक्सानी भएकोमा फलोपभोगी जिम्मेवार हुने छैन ।

(३) उपदफा (२) बमोजिम सम्पत्ति प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानीका विरुद्ध फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको संरक्षणको लागि बीमा वा अन्य आवश्यकं सुरक्षात्मक उपाय अपनाउन सक्नेछ ।
३६१. कर वा शुल्क फलोपभोगीले व्यहोर्नु पर्ने ः फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको कानून बमोजिम लाग्ने कर, मालपोत वा दस्तुर फलोपभोगीले व्यहोर्नु पर्नेछ ।
तर फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति वापत भुक्तान गर्नु पर्ने सम्पत्ति कर स्वामित्ववालाले व्यहोर्नु पर्नेछ ।

३६२. कसैले दाबी वा खिचोला गरेमा स्वामित्ववालालाई जानकारी दिनु पर्नेः (१) फलोपभोग अन्तर्गतको सम्पत्ति उपर कसैले अतिक्रमण, दाबी वा खिचोला गरेमा फलोपभोगीले त्यसको पन्ध्र दिनभित्र सो कुराको जानकारी स्वामित्ववालालाई गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम जानकारी नगराउने फलोपभोगी त्यसबाट उत्पन्न हुन सक्ने परिणामप्रति जवाफदेही हुनेछ ।

३६३. फलोपभोगको व्यवस्था बहाल रहने अवधिः (१) फलोपभोगको व्यवस्था करारमा उल्लेख भएको अवधिसम्मको लागि बहाल रहनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा उल्लेख भएकोमा बाहेक देहायको अवधिभन्दा बढी फलोपभोगको व्यवस्था बहाल रहने छैनः–
(क) कुनै प्राकृतिक व्यक्ति फलोपभोगी भएमा निजको मृत्यु भएको वा फलोपभोगको व्यवस्था भएको उनन्पचास वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि,
(ख) कुनै कानूनी व्यक्ति फलोपभोगी भएमा त्यस्तो व्यक्ति विघटन भएको वा फलोपभोगको व्यवस्था भएको उनन्तीस वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “विघटन” भन्नाले कानूनी व्यक्तिको खारेजी, लिक्विडेशन, दर्ता खारेजी वा दामासाहीमा परेको अवस्था समेत सम्झनु पर्छ ।

(३) एकभन्दा बढी व्यक्ति फलोपभोगी भएकोमा करारमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै फलोपभोगीको मृत्यु वा विघटन भएको अनुपातमा फलोपभोगको सम्पत्ति स्वामित्ववालामा हस्तान्तरण हुनेछ ।

३६४. फलोपभोगको व्यवस्था रद्द गर्न सक्नेः (१) दफा ३६३ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति हानि, नोक्सानी गरेमा, दुरूपयोग गरेमा, जुन प्रयोजनको लागि फलोपभोग अन्तर्गत सम्पत्ति लिएको हो त्यस अनुरूप सम्पत्ति प्रयोग नगरेमा वा अन्य कुनै किसिमले त्यस्तो सम्पत्तिमा स्वामित्ववालाको हक अधिकार उपर प्रतिकूल असर पार्ने कुनै काम गरेमा सम्बन्धित स्वामित्ववालाले जुनसुकै बखत फलोपभोगको व्यवस्था रद्द गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम फलोपभोगको व्यवस्था रद्द भएमा फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नु पर्नेछ ।

३६५. फलोपभोगीले सम्पत्ति फिर्ता गर्न सक्नेः दफा ३६३ र ३६४ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीले प्रयोग गर्न नचाहेमा निजले जुनसुकै बखत त्यस्तो सम्पत्ति कम्तीमा पैँतालीस दिनको सूचना दिई स्वामित्ववालालाई फिर्ता गर्न सक्नेछ ।

३६६. फलोपभोगको व्यवस्था अन्त्य भएको मानिनेः (१) देहायका कुनै अवस्थामा फलोपभोगको व्यवस्था अन्त्य भएको मानिनेछः–
(क) दफा ३६३ बमोजिम फलोपभोग बहाल रहने अवधि समाप्त भएमा,
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “अवधि समाप्त” भन्नाले,–
(१) एकभन्दा बढी प्राकृतिक व्यक्ति फलोपभोगी भएकोमा सबभन्दा पछि जुन फलोपभोगीको मृत्यु हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ ।
(२) एकभन्दा बढी कानूनी व्यक्ति फलोपभोगी भएकोमा सबभन्दा पछि जुन फलोपभोगी कानूनी व्यक्तिको विघटन हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ ।
(ख) दफा ३६४ बमोजिम फलोपभोग रद्द भई सम्पत्ति फिर्ता भएमा,
(ग) दफा ३६५ बमोजिम फलोपभोगीले फलोपभोगको सम्पत्ति फिर्ता गरेमा,
(घ) फलोपभोगीले मनासिब कारण बिना फलोपभोगको व्यवस्था प्रभावकारी भएको मितिले छ महिनासम्म सो व्यवस्था अन्तर्गत प्राप्त सम्पत्ति प्रयोग नगरेमा,
(ङ) कुनै खास उद्देश्य पूरा गर्नको लागि फलोपभोगको व्यवस्था कायम गरिएको भए त्यस्तो उद्देश्य पूरा भएमा,
(च) फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीको नाममा कानून बमोजिम हस्तान्तरण हुन गएमा,
(छ) फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको पूर्ण रूपमा बिनाश भएमा ।

(२) उपदफा (१) बमोजिम फलोपभोगको व्यवस्था अन्त्य भएमा सो उपदफाको खण्ड (च) वा (छ) को अवस्थामा बाहेक फलोपभोग अन्तर्गत कसैलाई दिएको सम्पत्ति स्वतः स्वामित्ववालामा सर्नेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको निश्चित उमेर पूरा नभएसम्म बहाल रहने शर्तमा कुनै सम्पत्ति फलोपभोगको व्यवस्था अन्तर्गत दिएकोमा त्यस्तो व्यक्तिको त्यस्तो उमेर पूरा हुनु अगावै मृत्यु भएमा पनि निज जीवित रहे सरह त्यस्तो उमेर पूरा हुने मितिसम्म फलोपभोगको व्यवस्था बहाल रहनेछ ।

३६७. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले सो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।