परिच्छेद–८ सुविधाभार सम्बन्धी व्यवस्था

परिच्छेद–८ सुविधाभार सम्बन्धी व्यवस्था

३६८. सुविधाभार (सर्भिच्यूडस्) को व्यवस्था भएको मानिनेः (१) कसैको हक, स्वामित्व वा भोगचलनमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश अर्को सम्पत्तिको धनीले यस परिच्छेद बमोजिम भोगचलन वा प्रयोग गर्न पाउने भएकोमा सुविधाभारको व्यवस्था भएको मानिनेछ ।

(२) करार, अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यास बमोजिम सुविधाभारको व्यवस्था कायम हुनेछ ।

३६९. सुविधाभारको व्यवस्था प्रयोग गर्न दिनु पर्ने ः (१) दफा ३६८ बमोजिम सुविधाभारको व्यवस्था भएकोमा सम्बन्धित अचल सम्पत्तिको धनीले सुविधाभारको व्यवस्था बमोजिम आफ्नो अचल सम्पत्ति अर्को व्यक्तिलाई भोगचलन वा प्रयोग गर्न दिनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक प्रयोजनको लागि सुविधाभारको व्यवस्था भएकोमा त्यस्तो सुविधाभार वैयक्तिक प्रयोजनको लागि समेत प्रयोग गर्न सकिनेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कायम भएको सुविधाभार कानून बमोजिम प्रयोग गर्न सकिनेछ ।

३७०. अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्नेः (१) सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको धनीले आफ्नो हक र स्वामित्वमा रहेको त्यस्तो सम्पत्ति पूरै वा केही अंश कसैलाई कुनै व्यहोराले हस्तान्तरण गरेमा पनि त्यस्तो सम्पत्ति उपर रहेको सुविधाभारको व्यवस्था कायमै रहनेछ ।

(२) सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको अंशबण्डा भएमा पनि प्रत्येक अंशियारले त्यस्तो सुविधाभार प्रदान गरेको मानिनेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको हस्तान्तरण वा अंशबण्डा गर्दा त्यस्तो सम्पत्तिमा अन्यत्र सुविधाभारको व्यवस्था भई त्यसरी भएको हस्तान्तरण वा अंशबण्डाबाट हक कायम भएको व्यक्तिको अचल सम्पत्तिबाट सुविधाभार दिनु नपर्ने भए सोही हदसम्म सुविधाभार समाप्त भएको मानिनेछ ।

३७१. भोगचलन वा प्रयोग गर्न दिनु पर्नेः (१) कुनै जग्गामा कसैको हक, स्वामित्व वा भोगचलन भए पनि परापूर्वदेखि सार्वजनिक वा सामुदायिक रूपमा हिँडी आएको बाटो, पशु निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पानीघाट, पोखरी, सार्वजनिक सडक, ढल, घोडेटो वा मूल बाटो, पाटी, पौवा, अन्त्यष्टीस्थल, मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, ईदगाह, कर्वला, कब्रिस्तान वा गिर्जाघर, सामुदायिक विद्यालय, अस्पताल वा त्यस्तै प्रकारका सार्वजनिकस्थल जुन प्रयोजनको लागि राखिएको हो सोही बमोजिम सम्बन्धित व्यक्तिलाई प्रयोग गर्न दिनु पर्नेछ ।

(२) उपदफा (१) मा लेखिएको व्यवस्थालाई प्रतिकूल हुने गरी सुविधाभार प्रदान गर्ने जग्गाको स्वामित्ववाला वा भोगाधिकारवालाले त्यस्तो जग्गा आवाद वा कमोद गर्न, त्यसमा कुनै संरचना निर्माण गर्न वा त्यसको अन्य कुनै किसिमले भोगचलन गर्न वा गराउन पाउने छैन ।

३७२. विपद् परेको बखत छिमेकीको घर वा जग्गा प्रयोग गर्न सकिने ः आगलागी, भूकम्प, ज्वालामुखी, बाढी जस्ता विपद् परेको बखत कसैको घर वा जग्गामा प्रवेश वा प्रयोग नगरी त्यस्तो विपद्बाट पीडित हुनेको उद्धार गर्न नसकिने भएमा सम्बन्धित घर वा जग्गाको स्वामित्ववाला भए त्यस्तो घर वा जग्गाको स्वामित्ववालाको अनुमति लिई र घर वा जग्गाको स्वामित्ववाला तत्काल उपलब्ध नभए वा निजले अनुमति नदिए निजको अनुमति बिना नै त्यस्तो घर वा जग्गामा प्रवेश गरी पीडितको उद्धार गर्न वा गराउन सकिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “घर वा जग्गाको स्वामित्ववाला” भन्नाले सम्बन्धित घर वा जग्गा तत्काल उपयोग, भोग वा नियन्त्रण गरिरहेको व्यक्ति सम्झनु पर्छ ।

३७३. बाटोको सुविधाभार प्राप्त गर्नेः (१) पहिले बाटोको निकास भएको घर जग्गामा पछि विपद् परी बाटो विनाश भएमा त्यस्तो घर जग्गामा आउन जानको लागि पहिलेदेखि बाटो प्रयोग गरिरहेको व्यक्तिले सार्वजनिक मार्गसम्म पुग्ने मनासिब बाटोको सुविधाभार पाउनेछ ।

(२) उपदफा (१) बमोजिमको बाटोको सुविधाभार वरिपरिको सबै घर वा जग्गाको स्वामित्ववालासँग माग गर्न पाउने छैन र जुन दिशाबाट सार्वजनिक बाटोमा पुग्न सबभन्दा नजिक हुन्छ सोही दिशाको घर वा जग्गाको स्वामित्ववालासँग त्यस्तो सुविधाभार माग गर्न सक्नेछ ।

३७४. बाटो वा निकासको व्यवस्था नगरी घर वा जग्गा हस्तान्तरण गर्न नहुनेः (१) कसैले पनि बाटो वा निकास भएको घर वा जग्गाको कुनै भाग छुट्याई कसैलाई हस्तान्तरण गर्दा लिनेदिने दुवै पक्षलाई बाटो वा निकासको व्यवस्था नगरी त्यस्तो घर वा जग्गा हस्तान्तरण गर्न हुँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो घर वा जग्गामा आउन जानको लागि अन्यत्र बाटो वा निकास भएमा बाटो वा निकासको व्यवस्था गर्नु पर्ने छैन ।

३७५. आधारभूत सेवा विस्तार गर्न पाउनेः कुनै व्यक्तिको घरमा ढल निकास, खानेपानी, विद्युत सेवा, ग्याँस, टेलिफोन जस्ता आधारभूत सेवा उपलब्ध गराउन निजको आफ्नै जग्गाबाट वा सार्वजनिक, सरकारी वा सामुदायिक जग्गाबाट सम्भव नहुने भएमा निजले सँधियारको जग्गाबाट त्यस्तो जग्गाको स्वामित्ववालालाई हानि, नोक्सानी नहुने गरी पाइप वा लाइन लैजान पाउनेछ ।

३७६. नदी वा खोला वा नदी वा खोलाको किनार प्रयोग गर्न सक्नेः कुनै व्यक्तिको निजी सम्पत्ति अन्तर्गत रहेको वा कुनै व्यक्तिको निजी सम्पत्तिबाट उत्पत्ति भएको नदी वा खोला वा त्यस्तो नदी वा खोलाको किनाराको दुवै तर्फको चार मिटरसम्मको चौडाइ क्षेत्रमा जुनसुकै व्यक्तिले हिँडडुल गर्न वा त्यस्तो नदी वा खोलामा जल परिवहन गर्न वा डुङ्गा चलाउन वा माछा मार्ने काम गर्न सक्नेछ ।
तर बाह्रै महिना पानीको बहाव नभएको स–साना खोल्सामा त्यस्तो कार्य गर्न पाइने छैन ।

३७७. निकास मार्ग प्रयोग गर्न पाउनेः (१) कुनै नदी वा खोलालाई डाइभर्सन गरेको, त्यसमा रिजर्भभ्वायरको निर्माण गरेको वा त्यसमा कुनै कारणले बाँध बाधेकोमा त्यस्तो डाइभर्सन, रिजर्भभ्यायर वा बाँधसम्म जान आउनको लागि सर्वसाधारण मानिस र पशु हिड्न सक्ने मनासिब निकास सम्बन्धित जग्गाको स्वामित्ववालाले दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निकास मार्ग कायम गर्नु पर्दा एकभन्दा बढी जग्गाको स्वामित्ववालाको जग्गाबाट त्यस्तो निकास मार्ग कायम गर्न सकिने अवस्था भएकोमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो मार्गबाट डाइभर्सन, रिजर्भभ्वायर वा बाँधसम्म पुग्न प्राविधिक दृष्टिकोणले सम्भाव्य भएको सबभन्दा नजिकको जग्गाबाट निकास मार्ग कायम गर्नु पर्नेछ ।

३७८. प्राकृतिक रूपमा रहेको पानीको बहाव रोक्न नहुनेः (१) प्रत्येक घर वा जग्गाको स्वामित्ववालाले आफ्नो घर वा जग्गाबाट निकास हुने वर्षाको पानीको व्यवस्थापन आफैँले गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको व्यवस्था नभएकोमा प्राकृतिक रूपमा वर्षाको पानी जता तर्फ बग्दछ सोही बमोजिम बग्न दिनु पर्नेछ ।
तर कुलो बनाई, भल नियन्त्रण वा बगेको पानी अन्य कुनै किसिमबाट डाइभर्सन गरी वा मानवीय हस्तक्षेपबाट तल्लो पट्टिको जग्गामा प्रतिकूल असर पर्ने गरी बगाउन पाइने छैन ।

३७९. खोला, नदी वा पोखरीको पानी प्रयोग गर्न सक्नेः कसैको जग्गामा उत्पत्ति भएको वा सोबाट बगेको खोला, नदी वा पोखरीको पानी सम्बन्धित धनीलाई पुगेपछि खानेपानी वा सिंचाईको प्रयोजनको लागि जोसुकैले पनि प्रयोग गर्न सक्नेछ ।
तर त्यसरी प्रयोग गर्दा सँधियारले प्राथमिकता पाउनेछ ।

३८०. खेती गर्नको लागि बाटो वा निकास दिनु पर्नेः (१) कुनै व्यक्तिको खेती गर्ने जग्गामा मानिस वा खेती गर्नको लागि प्रयोग हुने जनावर आउने जाने बाटो वा निकास रहेनछ र निजलाई त्यस्तो बाटो वा निकास चाहिने भएमा सम्बन्धित जग्गाको स्वामित्ववालाले त्यस्तो व्यक्तिलाई बाटो वा निकासको सुविधा दिनु पर्नेछ ।
तर घर कम्पाउन्डको जग्गाबाट त्यस्तो बाटो वा निकास दिन कुनै पनि व्यक्ति बाध्य हुने छैन ।

(२) उपदफा (१) बमोजिम बाटो वा निकास प्रयोग गर्ने व्यक्तिले बाटो वा निकास दिने व्यक्तिको जग्गाको बाली वा अन्य सम्पत्ति हानि, नोक्सानी नहुने गरी बाटो वा निकास प्रयोग गर्नु पर्नेछ ।

३८१. क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेः कसैले दफा ३७२, ३७३, ३७५, ३७७ र ३८० मा उल्लिखित प्रयोजनको लागि कुनै व्यक्तिको घर वा जग्गा प्रयोग गर्दा कसैलाई कुनै किसिमको हानि, नोक्सानी हुन गएमा त्यस्तो व्यक्तिले सम्बन्धित घर वा जग्गाधनीलाई मनासिब क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ ।

३८२. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्न जाने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र नालिस गर्न सक्नेछ ।