परिच्छेद–१० दान बकस सम्बन्धी व्यवस्था

परिच्छेद–१० दान बकस सम्बन्धी व्यवस्था

४०६. दान वा बकस भएको मानिनेः (१) कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति कुनै व्यक्तिलाई वा धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यको लागि निःशुल्क रूपमा दिने कार्यलाई दान मानिनेछ ।

(२) कुनै व्यक्तिले आफूलाई पालनपोषण गरी वा अन्य तवरले रिझाए वापत वा पारिवारिक स्नेह वा अनुरागको कारण आफ्नो हक र स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रूपमा त्यस्तो व्यक्तिलाई निःशुल्क रूपमा दिने कार्यलाई बकस मानिनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम दान वा बकस दिँदा दान वा वकस दिनासाथ वा कुनै निश्चित अवधि पछि वा दान वा वकसपत्र दिने व्यक्तिको मृत्यु पछि प्रभावकारी हुने गरी दान वा बकस दिन सकिनेछ ।

(४) उपदफा (३) बमोजिम दान वा वकस दिने व्यक्तिको मृत्यु पछि मात्र दान वा बकस प्रभावकारी हुने भएमा निजले शेष पछिको दान वा शेषपछिको बकस दिएको मानिनेछ ।

४०७. उद्घोषण गरी सम्पत्ति दान दिन सक्नेः कुनै खास कामको लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कसैले त्यस्तो कामको निमित्त खास रकम वा सम्पत्ति दान दिन लिखित वा सार्वजनिक रूपमा उद्घोषण गरी त्यस्तो रकम वा सम्पत्ति दान दिन सक्नेछ ।
तर निजले त्यसरी दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा कुनै नालिस गर्न सकिने छैन ।

४०८. दान वा बकस बदर हुनेः यस परिच्छेद बमोजिम दिइएको दान वा बकस देहायका कुनै अवस्थामा स्वतः बदर हुनेछः–
(क) दान वा बकस पाउने व्यक्ति आफैँले वा आफ्नो प्रतिनिधि मार्फत दान वा बकसको सम्पत्ति स्वीकार नगरेमा,
(ख) कसैलाई शेषपछि हक हुने गरी सम्पत्ति दान वा बकस दिएकोमा दान वा बकस दिने व्यक्तिभन्दा दान वा बकस पाउने व्यक्ति अघि मरेमा वा दान वा बकस पाउने संस्था विघटन भएमा,
(ग) गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित रूपमा नजन्मिएमा,
(घ) दान वा बकस प्रभावकारी नहुँदै दान वा बकस बमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरी नासिएमा ।

४०९. दान वा बकस बदर गराउन सकिनेः (१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा त्यस्तो दान वा बकस बदर गराउन सकिनेछः–
(क) अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा,
(ख) कानून बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्नेमा त्यस्तो व्यक्तिको मञ्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा,
(ग) असक्षम वा अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा,
(घ) कानूनको रीत नपु¥याई सम्पत्ति दान वा बकस दिएमा ।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्ने अवस्थामा मञ्जुरी नलिई दान वा बकस गरी दिएकोमा यसरी मञ्जुरी नलिएको हदसम्मको सम्पत्ति बदर हुनेछ ।

४१०. शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन सक्नेः (१) शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफैँ उपस्थित भई निवेदन दिई आफूले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बन्धित अधिकारी समक्ष उपस्थित भई छुुट्टै लिखत खडा गरी त्यस्तो शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम शेषपछिको बकसपत्र रद्द वा संशोधन गर्ने लिखत गराउँदा शेषपछिको बकसपत्र गराउदाँको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ।

(४) कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति यस दफा बमोेजिम शेषपछिको बकसपत्र रद्द नगराई सोही सम्पत्ति अर्को व्यक्तिलाई शेषपछिको बकसपत्र गरी दिन सक्ने छैन ।

(५) उपदफा (४) को प्रतिकूल हुने गरी शेषपछिको बकसपत्र भएकोमा पहिले गरेको शेषपछिको बकसपत्र स्वतः मान्य हुनेछ ।

४११. शेषपछिको बकसपत्र बमोजिमको सम्पत्ति प्राप्त नगर्नेः शेषपछिको बकसपत्र प्रभावकारी नहुँदै त्यस्तो शेषपछिको बकसपत्र पाउनेले शेष पछिको बकसपत्र दिने व्यक्तिका विरुद्ध कुनै फौजदारी कसूर गरेको ठहरेमा निजले शेष पछिको बकसपत्र बमोजिम सम्पत्ति प्राप्त गर्न सक्ने छैन ।

४१२. हदम्यादः यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएमा सोही बमोजिम, आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई वर्षभित्र तथा अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम, कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।