परिच्छेद–११ सम्पत्तिकोे हस्तान्तरण तथा प्राप्ति सम्बन्धी व्यवस्था

परिच्छेद–११ सम्पत्तिकोे हस्तान्तरण तथा प्राप्ति सम्बन्धी व्यवस्था

४१३. सम्पत्ति हस्तान्तरण भएको मानिनेः कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिलाई बिक्री, दान, बकस वा अन्य कुनै तवरले हस्तान्तरण गरी दिएमा त्यस्तो सम्पत्ति पाउने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति हस्तान्तरण भएको मानिनेछ ।

४१४. सम्पत्ति हस्तान्तरण गर्न सक्नेः (१) यस ऐन वा प्रचलित कानून बमोजिम करार गर्न असक्षम व्यक्ति बाहेक अन्य जुनसुकै व्यक्तिले यस ऐनको अधीनमा रही आफ्नो हक र स्वामित्वको सम्पत्ति एक वा एकभन्दा बढी व्यक्तिलाई अलग अलग वा संयुक्त रूपमा हस्तान्तरण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको सक्षमता वा असक्षमताको निर्धारण निजले सम्पत्ति हस्तान्तरण गर्दाको बखत निज सक्षम वा असक्षम रहेको आधारमा गरिनेछ ।

(३) उपदफा (१) बमोजिम कसैले आफ्नो हक र स्वामित्वको सम्पत्ति तत्काल वा शेष पछि हक हुने गरी हस्तान्तरण गर्न सक्नेछ ।

(४) यस दफा बमोजिम सम्पत्ति हस्तान्तरण गर्दा कानूनको रीत पु¥याई लिखत गर्नु पर्नेछ ।
तर,
(१) एक लाख रुपैयाँसम्मको नगद वा कुनै चल सम्पत्ति दान वा वकस गर्दा लिखत गर्नु पर्ने छैन ।
(२) चल सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा प्रचलित कानून बमोजिम हुनेछ ।

४१५. संरक्षक वा माथवरले सम्पत्ति बिक्री गर्न सक्नेः  (१) संरक्षक वा माथवरले आफ्नो संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको हक, हित वा संरक्षणको लागि यस ऐनको अधीनमा रही सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्न  सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐनमा अन्यथा उल्लेख भएकोमा बाहेक अदालतको अनुमति बिना अचल सम्पत्ति विक्री गर्न सकिने छैन ।

४१६. सम्पत्ति पाउने व्यक्तिको स्वामित्व हुनेः (१) दफा ४१४ बमोजिम कुनै व्यक्तिले आफ्नो सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गरिदिएमा त्यसरी सम्पत्ति हस्तान्तरण गरेको मितिदेखि त्यस्तो सम्पत्तिमा रहेको निजको स्वामित्व समाप्त भई त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिको नाममा स्वामित्व कायम हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले आफ्नो शेषपछि हक हुने गरी सम्पत्ति हस्तान्तरण गरेकोमा निजको शेषपछि मात्र सम्पत्ति पाउने व्यक्तिको नाममा स्वामित्व कायम हुनेछ ।

(३) दुई वा दुईभन्दा बढी व्यक्तिले एउटै सम्पत्ति प्राप्त गरेमा जसले जे जति सम्पत्ति पाएको छ सोही अनुपातमा त्यस्तो सम्पत्तिमा निजको हक कायम हुनेछ ।

(४) सम्पत्ति प्राप्त गर्दा कुनै व्यक्तिले यति हिस्सा पाउने भनी लिखतमा उल्लेख नभएकोमा सम्पत्ति प्राप्त गर्ने सबै व्यक्तिले समान रूपले सम्पत्ति पाएको मानिनेछ ।

४१७. निजी सम्पत्ति हस्तान्तरण गर्न सक्नेः कुनै व्यक्तिले आफ्नो निजी सम्पत्ति कसैको मञ्जुरी नलिई कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछ ।

४१८. संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्न सकिनेः (१) संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्नु पर्दा त्यस्तो सम्पत्तिका सबै स्वामित्ववालाहरूको मञ्जुरीले हस्तान्तरण गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम सबै स्वामित्ववालाहरू संयुक्त सम्पत्ति हस्तान्तरण गर्न मञ्जुर नभएमा पनि कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम कुनै स्वामित्ववालाको हक वा हिस्साको संयुक्त सम्पत्ति हस्तान्तरण गर्दा प्राविधिक दृष्टिले त्यस्तो भाग छुट्याउन नमिल्ने भएमा र त्यस्तो सम्पत्ति अन्य स्वामित्ववालाले लिन चाहेमा स्वामित्ववालाहरू बीच एक आपसमा मञ्जुर गरेको मूल्यमा लिन पाउनेछ ।

(४) एकभन्दा बढी स्वामित्ववालाहरूले संयुक्त सम्पत्ति लिन चाहेमा सबभन्दा बढी मूल्य तिर्न मञ्जुरी गर्ने स्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन
पाउनेछ ।

(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै स्वामित्ववालाको हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालाले लिन नचाहेमा र त्यस्तो सम्पत्ति छुट्याई हस्तान्तरण गर्न प्राविधिक दृष्टिले नमिल्ने भएमा संयुक्त सम्पत्तिको सम्पूर्ण हिस्सा बिक्री गरी प्राप्त रकम त्यस्तो सम्पत्तिमा रहेको हक वा हिस्साको आधारमा स्वामित्ववालाहरू बीच बाँडफाँड गर्नु पर्नेछ ।

(६) उपदफा (१) विपरीत कसैले संयुक्त सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा निजको जे जति हक वा हिस्सा कायम छ त्यति सम्पत्ति मात्र हस्तान्तरण गरेको मान्य हुनेछ र निजको हक वा हिस्साभन्दा बढी हस्तान्तरण भएको सम्पत्ति सम्बन्धित व्यक्तिले फिर्ता लिन पाउनेछ ।

४१९. मञ्जुरी नलिई सगोलको सम्पत्ति हस्तान्तरण गर्न नपाउनेः (१) कसैले पनि सगोलका अंशियारको लिखित मञ्जुरी नलिई सगोलको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न पाउने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सगोलको सम्पत्ति हस्तान्तरण गर्दा सगोलका अंशियार लिखतमा साक्षी बसेको भए निजको मञ्जुरी लिएको मानिनेछ ।

(३) उपदफा (१) विपरीत कसैले सगोलको सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा निजको जे जति हक वा हिस्सा छ त्यति सम्पत्ति मात्र हक हस्तान्तरण गरेको मान्य हुनेछ । निजको हक वा हिस्साभन्दा बढी हस्तान्तरण भएको सम्पत्ति सम्बन्धित अंशियारले फिर्ता लिन पाउनेछ ।

४२०. घर व्यवहारको लागि सगोलको सम्पत्ति बिक्री गर्न सक्नेः दफा ४१९ मा जुनसुकै कुरा लेखिएको भए तापनि घरको मुख्य व्यक्तिले घर व्यवहारको लागि चल सम्पत्तिमा सबै र अचल सम्पत्तिमा आधासम्म कसैको मञ्जुरी नलिइकन सगोलको सम्पत्ति बिक्री गर्न सक्नेछ ।

४२१. अर्काको सम्पत्ति हस्तान्तरण गर्न नहुनेः (१) कसैले पनि अर्काको हक र स्वामित्वको सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाउने छैन ।

(२) उपदफा (१) विपरीत कसैले सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो लिखत वा कारोबार बदर हुनेछ ।

(३) उपदफा (१) बमोजिम हक हस्तान्तरण गरेको सम्पत्ति वास्तविक स्वामित्ववालाले दाबी गरेमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति सम्बन्धित स्वामित्ववालालाई फिर्ता गर्नु पर्नेछ ।

(४) कसैको हराएको वा चोरी भएको सम्पत्ति कसैले फेला पारेको भए त्यस्तो सम्पत्तिको स्वामित्ववालाले त्यसरी सम्पत्ति हराएको वा चोरी भएको मितिले तीन वर्षभित्र त्यस्तो सम्पत्तिमा आफ्नो स्वामित्व रहेको सवुत सहित दाबी गर्न सक्नेछ ।

(५) उपदफा (४) बमोजिम कसैले त्यस्तो सम्पत्ति दाबी गर्न आएमा त्यस्तो सम्पत्ति फेला पार्ने व्यक्तिले त्यस्तो सम्पत्ति संरक्षण वा मर्मत सम्भार गर्दा कुनै रकम खर्च गरेको भए त्यस्तो रकम लिई त्यस्तो सम्पत्ति स्वामित्ववालालाई फिर्ता दिनु पर्नेछ ।

(६) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले चोरीको वा कसैको हराएको सम्पत्ति सार्वजनिक बजार वा कुनै व्यक्ति वा निकायले सार्वजनिक रूपमा गरेको लिलाम वा बढाबढद्वारा खरिद गरी प्राप्त गरेको रहेछ भने त्यस्तो सम्पत्तिको स्वामित्ववालाले त्यस्तो सम्पत्ति प्राप्त गर्दा निजले कुनै शुल्क वा रकम तिरेको भए त्यस वापतको रकम नबुझाएसम्म त्यस्तो सम्पत्ति वास्तविक स्वामित्ववालालाई फिर्ता गर्न वाध्य हुने छैन ।

४२२. दोहोरो पारी सम्पत्ति हस्तान्तरण गर्न नहुनेः (१) कसैले पनि एउटा व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति दोहोरो पारी अन्य व्यक्तिलाई हस्तान्तरण गर्न हुँदैन ।

(२) उपदफा (१) विपरीत कसैले सम्पत्ति हस्तान्तरण गरेमा अचल सम्पत्ति हस्तान्तरण गरेको भए पहिले रजिष्ट्रेशन पारित भएको लिखतले कानूनी मान्यता पाउने छ र चल सम्पत्ति हस्तान्तरण गरेको भए जुन व्यक्तिले पहिले सम्पत्ति प्राप्त गर्दछ सोही हस्तान्तरण मान्य हुनेछ ।

४२३. संरक्षक वा माथवरले दान वा बकस दिन नसक्नेः संरक्षक वा माथवरले आफ्नो संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको सम्पत्ति कुनै व्यक्तिलाई दान वा बकस दिन सक्ने छैन ।

४२४. सम्पत्ति भोग गर्न नपाए रकम वा क्षतिपूर्ति पाउनेः (१) यस परिच्छेद बमोजिम कसैले सम्पत्ति बिक्री गरी हस्तान्तरण गरेकोमा त्यसरी हुने हस्तान्तरण कुनै व्यहोराले कच्चा भई खरिदकर्ताले पूरै वा आंशिक रूपमा सम्पत्ति भोग गर्न नपाएमा त्यसरी भोग गर्न नपाए जति सम्पत्तिको खरिदकर्ताले तिरेको रकम, त्यस्तो रकमको वार्षिक दश प्रतिशतका दरले हुने ब्याज र सम्पत्ति हस्तान्तरण गर्दा रजिष्ट्रेशन दस्तुर वा अन्य रकम तिरेको भए त्यस्तो रकम समेत खरिदकर्ताले त्यसरी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट कपाली सरह भरार्ई लिन पाउनेछ ।

(२) कसैले यस परिच्छेद बमोजिम खरिद गरेको सम्पत्तिमा कुनै संरचना बनाएकोमा त्यसरी गरिएको खरिद कुनै कारणबाट कच्चा भई सो सम्पत्ति निजले भोग गर्न नपाउने भए छ महिनाभित्र आपूmले बनाएको संरचना भत्काई लैजान पाउनेछ ।

(३) कसैले दफा ४१९, ४२१ र ४२२ विपरीत सम्पत्ति हस्तान्तरण गरेको वा उपदफा (२) बमोजिम कुनै संरचना भत्काई नलगेको कारणबाट कुनै व्यक्तिलाई मर्का पर्न गएमा निजले उपदफा (१) बमोजिमको रकमको अतिरिक्त आफूलाई पर्न गएको वास्तविक हानि, नोक्सानी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट क्षतिपूर्ति समेत भरार्ई लिन सक्नेछ ।

(४) यस परिच्छेद बमोजिम भए गरेको कुनै कारणबाट दान पाउन सक्ने वा दान वा बकस पाउने व्यक्तिले त्यस्तो सम्पत्ति प्रयोग गर्न नपाई निजलाई मर्का पर्न गएमा यस परिच्छेदका अन्य दफाका अधीनमा रही दान वा बकस दिने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन पाउनेछ ।
तर शेष पछिको बकसपत्र बदर भएकोमा क्षतिपूर्ति भराई लिन पाउने छैन ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सम्पत्ति प्राप्त गर्नेले उपदफा (१), (३) र (४) बमोजिमको रकम भराई लिन पाउने छैनः–
(क) अन्य व्यक्तिको वा चोरीको सम्पत्ति हो भन्ने जानीजानी लिएमा,
(ख) अन्य व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति जानीजानी लिएमा ।

४२५. वारेसले सम्पत्ति हक हस्तान्तरण गर्न सक्नेः (१) कसैले आफ्नो अचल सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्नको लागि आफू सम्बन्धित कार्यालयमा उपस्थित हुन नसक्ने कारण जनाई कानून बमोजिम वारेस हुन सक्ने व्यक्तिलाई अधिकृत वारेस नियुक्त गरी पठाएमा त्यस्तो अधिकृत वारेसले निजको तर्फबाट निजको सम्पत्ति कुनै व्यक्तिलाई बिक्री गरी हस्तान्तरण गर्न सक्नेछ ।

(२) कसैले आफ्नो चल सम्पत्ति वारेस वा प्रतिनिधि मार्फत बिक्री गर्न सक्नेछ ।

४२६. सङ्गठित संस्थाले सम्पत्ति लिँदा वा दिँदा पूरा गर्नु पर्ने कार्यविधिः (१) कानून बमोजिम स्थापना भएका कुनै सङ्गठित संस्थाले आफ्नो नाममा रहेको अचल सम्पत्ति हस्तान्तरण गर्दा त्यस्तो सङ्गठित संस्थाको सञ्चालक समितिले निर्णय गरी सञ्चालक समितिको कुनै सदस्य वा सो संस्थाको कर्मचारीलाई सम्पत्ति हस्तान्तरण गर्न अधिकार दिएमा त्यस्तो व्यक्तिले सङ्गठित संस्थाको तर्फबाट सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ ।

(२) कुनै सङ्गठित संस्थाको नाममा अचल सम्पत्ति खरिद वा अन्य कुनै प्रकारले प्राप्त गर्दा उपदफा (१) बमोजिमको प्रकृया पूरा गरेमा त्यस्तो संस्थाको नाममा सम्पत्ति खरिद वा प्राप्त गर्न सकिनेछ ।

४२७. अन्य व्यक्तिले सम्पत्ति खरिद वा प्राप्त गरिदिन सक्नेः  दफा ४२६ मा लेखिएको अवस्थामा बाहेक यस परिच्छेद बमोजिम सम्पत्ति खरिद वा प्राप्त गर्ने व्यक्ति काम विशेषले सम्बन्धित कार्यालयमा उपस्थित हुन नसकी निजको तर्फबाट त्यस्तो सम्पत्ति खरिद वा प्राप्त गर्ने सम्बन्धमा कानूनले वारेस दिन हुने व्यक्तिलाई कानूनको रीत पुर्याई अख्तियारनामा र निजको नागरिकताको प्रमाणपत्र समेत दिई पठाएमा त्यस्तो वारेसले निजको नाममा त्यस्तो सम्पत्ति खरिद वा प्राप्त गरिदिन सक्नेछ ।

४२८. असक्षम वा अर्धसक्षम व्यक्तिको नाममा सम्पत्ति खरिद वा प्राप्त गर्न सक्नेः संरक्षक वा माथवरले आफ्नो संरक्षकत्व, माथवरीमा रहेको असक्षम वा अर्धसक्षम व्यक्ति वा संरक्षकले आफ्नो वा सगोल परिवारका सदस्यले गर्भमा रहेको शिशुको लागि कुनै सम्पत्ति दान, बकस, खरिद वा अन्य तवरले प्राप्त गर्न सक्नेछ ।

४२९. शेषपछि हक हुने गरी हस्तान्तरण गरेको सम्पत्तिको दाखिल खारेजः (१) कसैले आफ्नो शेषपछि हक हुने गरी कुनै व्यक्तिलाई आफ्नो सम्पत्ति हस्तान्तरण गरेकोमा र त्यसरी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिको मृत्यु भएमा निजको मृत्यु भएको मितिले छ महिनाभित्र सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा दाखिल खारेज गराउनको लागि मृत्यु दर्ताको प्रमाणपत्र लगायतका अन्य प्रमाण सहित सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै निवेदन परेमा सम्बन्धित कार्यालयले पनि आफूकहाँ रहेको लिखत हेरी त्यस्तो लिखत गरिदिने मानिसको मृत्यु भए वा नभएको र त्यस्तो लिखत बदर भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिको मृत्यु भएको र निजले लिखत बदर गराएको नदेखिएमा निवेदन परेको मितिले पन्ध्र दिनभित्र निवेदन दिने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति दाखिल खारेज गरिदिनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिमको म्याद नघाई कुनै व्यक्तिले दाखिल खारेज गर्न कार्यालयमा निवेदन दिएमा कार्यालयले निजलाई म्याद नाघेको प्रत्येक वर्षको लागि पाँच सय रूपैयाँका दरले दस्तुर लिई त्यस्तो लिखत बमोजिम त्यस्तो सम्पत्ति निजको नाममा दाखिल खारेज गरिदिनु पर्नेछ ।

४३०. बिग्रेको, नासेको वा कमसल भएको दाबी गर्न नपाउनेः कुनै व्यक्तिले कसैबाट कुनै सम्पत्ति खरिद गरी लिइसकेपछि त्यस्तो सम्पत्ति बिग्रेको, नासेको वा कमसल भएको दाबी गर्न पाउने छैन ।
तर झुक्यानमा पारी वा लिखतमा उल्लिखित व्यहोरा भन्दा फरक पारी कुनै सम्पत्ति दिएको रहेछ भने त्यसको क्षतिपूर्ति दाबी गर्न पाउनेछ ।

४३१. सम्पत्ति सट्टापट्टा गर्न सक्नेः (१) कुनै व्यक्तिले आफ्नो नाममा रहेको सम्पत्ति केही रकम थप गरी वा नगरी अर्को व्यक्तिको सम्पत्तिसँग सट्टापट्टा गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम सम्पत्ति सट्टापट्टा गर्दा कानून बमोजिम लिखत गर्नु पर्नेछ ।

४३२. विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न नपाइनेः (१) कसैले पनि नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न पाउने छैन ।

तर गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

(२) उपदफा (१) विपरीत कसैले विदेशीलाई कुनै अचल सम्पत्ति हस्तान्तरण गरेमा सो सम्बन्धी लिखत स्वतः बदर भई त्यस्तो सम्पत्ति नेपाल सरकारको हुनेछ ।

(३) उपदफा (१) बमोजिम अचल सम्पत्ति प्राप्त गर्दा परेको साहूको थैली कपाली सरह हुनेछ ।

४३३. विदेशीलाई अंश वा अपुताली प्राप्त भएमा हस्तान्तरण गर्नु पर्नेः (१) कुनै विदेशीलाई नेपालभित्रको कुनै अचल सम्पत्ति अंश वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएकोमा बाहेक सो सम्पत्ति निजको नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्न पाउने छैन ।

तर गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) बमोजिम विदेशीलाई कुनै अंश वा अपुताली प्राप्त भएमा त्यस्तो विदेशीले त्यस्तो सम्पत्ति कुनै प्रकारले नेपाली नागरिकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनका लागि सम्बन्धित कार्यालयले हक हस्तान्तरण गर्ने दिनको लागि मान्य हुने गरी अस्थायी जग्गा धनी प्रमाण पूर्जा जारी गर्नेछ ।

(३) उपदफा (१) बमोजिम विदेशीको नाममा प्राप्त भएको अंश वा अपुतालीको सम्पत्तिमध्ये अंशको हकमा जहिलेसुकै पनि र अपुतालीको हकमा त्यस्तो प्राप्त भएको तीन वर्षभित्र उपदफा (२) बमोजिम नेपाली नागरिकलाई हस्तान्तरण नगरेमा सो म्याद नाघेपछि त्यस्तो सम्पत्ति उपर नेपाल सरकारको हक हुनेछ ।

४३४. हदम्यादः यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम, दफा ४३२ को हकमा जहिलेसुकै र अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।