परिच्छेद–१२ अचल सम्पत्तिको बन्धकी सम्बन्धी व्यवस्था

परिच्छेद–१२ अचल सम्पत्तिको बन्धकी सम्बन्धी व्यवस्था

४३५. बन्धकीमा दिएको मानिनेः (१) साहूसँग ऋण लिए वापत कसैले आफ्नो हक, स्वामित्व वा भोगको अचल सम्पत्ति वा त्यसको कुनै अंश लिखत भएको मिति वा निश्चित समयावधि पश्चात् भोग गर्न पाउने गरी साहूलाई भोग गर्न दिएकोमा त्यस्तो सम्पत्ति बन्धकीमा दिएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम बन्धकीमा दिएको सम्पत्ति साहूले ऋण दिँदाकै बखत वा कुनै निश्चित समयावधि पछि भोग गर्न पाउने व्यवस्था भएकोमा भोगबन्धकी र ऋण चुक्ता गर्न साहू असामीले निर्धारण गरेको भाखाभित्र असामीले ऋण चुक्ता नगरेको अवस्थामा भोग गर्न पाउने व्यवस्था भएकोमा दृष्टिबन्धकी दिएको मानिनेछ ।

(३) बन्धकीमा दिने सम्पत्ति बन्धकी लिने व्यक्तिले भोगचलन गर्न सकिने प्रकृतिको हुनु पर्नेछ ।

(४) आफ्नाे हक, स्वामित्व वा भोगाधिकारमा नरहेको वा भविष्यमा प्राप्त हुने सम्पत्ति बन्धकीको रूपमा दिन सकिने छैन ।

४३६. लिखत गर्नु पर्नेः (१) यस परिच्छेद बमोजिम कुनै सम्पत्ति बन्धकीको रूपमा दिँदा कानून बमोजिम लिखत गर्नु पर्नेछ ।

(२) बन्धकीको लिखत गर्ने व्यक्ति कानून बमोजिम सक्षम हुनु पर्नेछ ।

४३७. बन्धकी लिएको सम्पत्ति भोगचलन गर्नु पर्नेः (१) साहूले भोग बन्धकीको रूपमा लिएको सम्पत्ति त्यस सम्बन्धी लिखत भएको मिति वा लिखतमा छुट्टै मिति तय भएकोमा त्यसरी तय भएको मितिबाट र दृष्टिबन्धकीमा लिएको सम्पत्ति असामीले ऋण तिर्नु पर्ने भाखा नाघेको मितिले दुई वर्षभित्र भोगचलन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र कुनै कारणवश साहूले त्यस्तो सम्पत्ति भोगचलन गर्न नसक्ने भएमा वा असामीले कुनै किसिमले भोगचलन गर्न नदिएमा त्यस्तो सम्पत्ति भोगचलनको लागि चलन चलाई पाउन कानून बमोजिम नालिस गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम साहूले भोगचलन नगरेकोमा वा उपदफा (२) बमोजिम भोगचलनको लागि चलन चलाई पाउन नालिस नगरेकोमा त्यस्तो बन्धकी स्वतः निष्क्रिय हुनेछ ।

(४) उपदफा (३) बमोजिम बन्धकीको लिखत निष्क्रिय भएमा त्यस सम्बन्धी लिखत कपाली सरह हुनेछ ।

४३८. बन्धकीमा दिएको सम्पत्तिको भोगाधिकार हस्तान्तरण भएको मानिनेः कसैले कुनै सम्पत्ति बन्धकीमा दिएकोमा त्यस्तो सम्पत्तिमा साहूले भोगचलन गरेको मितिबाट निजमा भोगाधिकार हस्तान्तरण भएको मानिनेछ ।

४३९. आफ्नो सम्पत्ति सरह भोग गर्न पाउनेः (१) साहूले बन्धकी लिएको सम्पत्ति र त्यस्तो सम्पत्तिबाट प्राप्त हुने प्रतिफल, लाभ तथा सुविधा आफ्नाे सम्पत्ति सरह भोगचलन गर्न पाउनेछ ।

(२) बन्धकीमा लिएको सम्पत्ति कच्चा भई वा असामीले बाधा बिरोध गरी साहूले भोगचलन गर्न नपाएमा असामीले त्यस वापत साहूलाई मनासिब क्षतिपूर्ति दिनु पर्नेछ ।

४४०. बन्धकीमा लिएको सम्पत्तिको मनासिब हेरविचार गर्नु पर्नेः (१) बन्धकीमा लिएको सम्पत्तिमा भोगाधिकार कायम भए पछि साहूले आफ्नो सम्पत्ति सरह त्यसको मनासिब हेरविचार र संरक्षण गर्नु पर्नेछ ।

(२) बन्धकीमा लिएको सम्पत्ति भोगचलन गरे वापत कानून बमोजिम कुनै कर वा दस्तुर बुझाउनु पर्ने रहेछ भने त्यस्तो कर वा दस्तुर साहूले नै बुझाउनु पर्नेछ ।
तर कानून बमोजिम लाग्ने मालपोत भने असामीले नै बुझाउनु पर्नेछ ।

(३) बन्धकी लिएको सम्पत्ति असामी बाहेक अन्य व्यक्तिबाट बाधा अवरोध भई भोगचलन गर्न नपाएमा साहूले भोगचलनको लागि कानून बमोजिम नालिस गर्न सक्नेछ ।

४४१. ब्याज, शुल्क वा दस्तुर लिन नपाउनेः (१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि साहूले कुनै सम्पत्ति भोग बन्धकी लिई ऋण दिएकोमा त्यस्तो ऋण वापत ऋणीसँग कुनै किसिमको ब्याज, दस्तुर वा शुल्क लिन पाउने छैन ।

(२) दृष्टिबन्धकी लिएको सम्पत्तिमा साहूको भोग कायम भएपछि साहूले त्यस्तो ऋण वापत कुनै किसिमको ब्याज, दस्तुर वा शुल्क लिन पाउने छैन ।

४४२. भोगबन्धकीको सम्पत्ति भोगचलन गर्ने अवधिः (१) भोगबन्धकी लिएको सम्पत्ति दश वर्षभन्दा बढी अवधि भोगचलन गर्न सकिने छैन ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र भोगबन्धकीमा दिएको सम्पत्ति फिर्ता नलिएमा त्यस सम्बन्धी लिखत कपाली सरह हुनेछ ।

४४३. दृष्टिबन्धकीको भाखाको अधिकतम अवधिः (१) कुनै सम्पत्ति दृष्टिबन्धकी दिँदा वा लिँदा पाँच वर्षभन्दा बढीको भाखा राख्न सकिने छैन ।

(२) उपदफा (१) बमोजिमको अवधि पूरा नभई साहूले असामीबाट दृष्टिबन्धकीमा राखेको सम्पत्ति चलन चलाई लिन वा त्यस्तो सम्बन्धी ऋण असुल गराउने कारबाही गर्न सक्ने छैन ।

(३) उपदफा (१) बमोजिमको अवधिपछि भोग गरेको सम्पत्ति दश वर्षसम्म भोग गर्न पाउनेछ ।

(४) उपदफा (३) बमोजिम भोग गरेको दश वर्षको अवधिभित्र दृष्टिबन्धकीमा दिएको सम्पत्ति फिर्ता नलिएमा त्यस सम्बन्धी लिखत कपाली सरह हुनेछ ।

४४४. बन्धकीमा दिएको सम्पत्ति जुनसुकै बखत फिर्ता लिन सक्नेः (१) भोग बन्धकीमा दिएको सम्पत्ति भए साहूबाट लिएको ऋण र दृष्टिबन्धक दिएको सम्पत्ति भए त्यसमा कुनै ब्याज लाग्ने भए सो समेत साहूलाई बुझाई असामीले जुनसुकै बखत आफ्नाे सम्पत्ति फिर्ता लिन सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बन्धकीमा लिएको सम्पत्ति खेती योग्य जमिन रहेछ र बन्धकीमा लिएको जमिन फिर्ता गर्दाका बखत त्यस्तो जमिनमा साहूले बाली लगाइसकेको रहेछ भने साहू र असामीले अन्यथा मञ्जुरी गरेकोमा बाहेक त्यस्तो बाली साहूले नै भोगचलन गर्न पाउनेछ ।

४४५. बन्धकीमा लिएको सम्पत्ति लखबन्धकी दिन सक्नेः (१) कसैले बन्धकीमा लिएको सम्पत्ति वा त्यसको कुनै अंश त्यस सम्बन्धी लिखतमा उल्लेख भएको रकम बराबर वा त्यसभन्दा कम रकम लिई अन्य कसैलाई पुनः बन्धकीमा दिन सक्नेछ र त्यसरी पुनः बन्धकीमा दिएकोमा लख बन्धकी दिएको मानिनेछ ।
तर बन्धकीमा लिएको सम्पत्तिमा भोगाधिकार कायम नभई लखबन्धकी दिन सकिने छैन ।

(२) उपदफा (१) बमोजिम दिएको लखबन्धकीको भोगचलन गर्ने अवधि बन्धकी अन्तर्गत भोगचलन गर्ने अवधिभन्दा बढी हुन सक्ने छैन ।

(३) सम्पत्तिमा हक र स्वामित्व हुने असामीले उपदफा (१) बमोजिम लखबन्धक दिएको सम्पत्ति फिर्ता लिन चाहेमा लखबन्धकी दिँदाको रकम शुरुको थैली बराबरको भएमा सिधै लखबन्धकी लिने व्यक्तिबाट र त्यस्तो रकमभन्दा कम रकम भए शुरुमा बन्धकी दिएको साहू मार्फत थैली भुक्तानी गरी सम्पत्ति फिर्ता लिन सक्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि शुरुमा बन्धकी दिँदाको शर्तको प्रतिकूल हुने गरी भएको लखबन्धकीको कारोबार त्यस हदसम्म स्वतः बदर हुनेछ ।

(५) यस परिच्छेद बमोजिम लखबन्धकी दिएको सम्पत्ति साहूले भोग गर्न नपाएमा त्यस्तो लखबन्धकीको लिखत कपाली सरह हुनेछ ।

४४६. सम्पत्तिको प्रतिफल वा लाभ बन्धकीमा दिन सक्नेः दफा ४४५ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले बन्धकीमा लिएको सम्पत्ति बन्धकी नदिई त्यस्तो सम्पत्तिबाट प्राप्त हुने प्रतिफल, लाभ वा सुविधा वा त्यस्तो सम्पत्ति खेतीयोग्य जग्गा भए त्यसबाट प्राप्त हुने उब्जनी, बाली, रुख, बाँस, पाकेको वा पाक्ने फलफूल, तरकारी, फूल वा अन्य कुनै किसिमको पैदाबार मात्र लखबन्धकीमा दिन सक्नेछ ।

४४७. असामीको तर्फबाट अर्को व्यक्तिले आफ्नो सम्पत्ति बन्धकी दिन सक्नेः (१) अन्य व्यक्तिले लिएको ऋण वापत कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति असामीको तर्फबाट साहूलाई बन्धकीमा दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बन्धकी दिएको सम्पत्ति असामीद्वारा साहूलाई बन्धकी दिइएको सम्पत्ति सरह साहूले यस परिच्छेद बमोजिम भोगचलन गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम अर्को व्यक्तिले सम्पत्ति बन्धकी दिएकोमा असामी र त्यस्तो व्यक्तिको सम्बन्ध बन्धकीको लिखत वा अन्य छुट्टै करारमा लेखिए बमोजिम हुनेछ र त्यसरी नलेखिएकोमा त्यस्तो व्यवहार कपाली सरह हुनेछ ।

४४८. बन्धकी दिएको सम्पत्ति अविभाज्य हुनेः (१) साहूका अंशियारबीच अंशबण्डा भई वा अपुताली परी वा साझेदारीबीच भाग विभाजन हुंँदा एकभन्दा बढी साहू कायम हुन आएमा पनि असामीले साहूलाई बन्धकी दिएको सम्पत्ति अविभाज्य रहनेछ र असामीले लिएको सम्पूर्ण ऋण बन्धकीको लिखत बमोजिम पूरा चुक्ता नगरेसम्म बन्धकीमा दिएको सम्पत्ति वा त्यसको कुनै अंश फिर्ता लिन सक्ने छैन ।

(२) असामीका अंशियारहरू बीच अंशबण्डा भई, अपुताली परी वा साझेदारीबीच भाग विभाजन हुंँदा एकभन्दा बढी असामी कायम हुन आएकोमा प्रत्येक असामीले आ–आफ्नो हिस्साको सम्पूर्ण ऋण चुक्ता नगरेसम्म बन्धकी दिएको सम्पत्ति फिर्ता लिन सकिने छैन ।

४४९. बन्धकीमा दिएको सम्पत्ति हानि, नोक्सानी भएमा साहू जवाफदेही हुनेः (१) बन्धकी लिएको सम्पत्तिमा साहूको भोगाधिकार कायम भएपछि त्यस्तो सम्पत्ति कुनै किसिमले हानि, नोक्सानी भएमा त्यस उपर साहू नै जवाफदेही हुनेछ ।

(२) उपदफा (१) बमोजिम बन्धकीमा लिएको सम्पत्ति हानि, नोक्सानी भएकोमा साहूले त्यस्तो सम्पत्ति आफ्नै खर्चमा मर्मत सम्भार गरी पहिलेकै अवस्थामा ल्याउनु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपद् परी बन्धकी लिएको सम्पत्ति हानि, नोक्सानी भएकोमा साहू जवाफदेही हुने छैन र त्यसरी भएको हानि, नोक्सानीको मर्मत सम्भार साहूले असामीको लिखित मञ्जुरी लिई गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम मर्मत सम्भार गर्दा लागेको खर्च असामीले बन्धकी दिएको सम्पत्ति फिर्ता लिँदा साहूको थैलीमा त्यस्तो खर्च समेत समावेश गरी भुक्तानी गर्नु पर्नेछ ।

४५०. बन्धकीको सम्पत्तिमा हैरानी गर्न नहुनेः  बन्धकीको सम्पत्तिमा भोगाधिकार कायम भए पछि साहूले त्यस्तो सम्पत्ति उपयुक्त नभएको वा घटी बढी भएको भनी लिखत विपरीत हुने गरी असामीलाई हैरानी गर्न हुँदैैन ।

तर भोग गर्नु पर्ने सम्पत्ति कुनै किसिमले भोग गर्न नपाएमा वा सो सम्पत्ति कुनै किसिमले कच्चा ठहरेमा बन्धकीको लिखत बमोजिम रकम भुक्तानीका लागि दाबी गर्न बाधा पर्ने छैन ।

४५१. विदेशीलाई बन्धकी दिन नसकिनेः नेपाल सरकारको पूर्व स्वीकृति विना कसैले पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्ति बाहेक अन्य विदेशी व्यक्तिलाई अचल सम्पत्ति बन्धकी दिन पाउने छैन ।

४५२. दोहोरो बन्धकी दिन वा हस्तान्तरण गर्न नसकिनेः (१) एक पटक बन्धकी दिएको सम्पत्ति दोहोरो पारी अर्को व्यक्तिलाई बन्धकी दिन वा हस्तान्तरण गर्न सकिने छैन ।

(२) उपदफा (१) विपरीत कसैले दोहोरो पारी बन्धकी दिएकोमा अघिल्लो मितिमा रजिष्ट्रेशन पारित भएको लिखतले मान्यता पाउनेछ र पछिल्लो लिखत स्वतः बदर हुनेछ ।

(३) उपदफा (२) बमोजिम लिखत बदर भएकोमा जानीजानी दोहोरो पारी लिखत गरी लिने साहूको रकम भूस हुनेछ र थाहा नपाई लिएको भए कपाली सरह हुनेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दोहोरो लिखत भएकोमा पहिलो लिखतबाट कुनै किसिमको बन्धकी र पछिल्लो लिखतबाट हक हस्तान्तरण भएकोमा हक हस्तान्तरण गरी पाउनेले पहिलो बन्धकी लिखत बमोजिमको रकम चुक्ता गरी लिखत बमोजिम हक कायम गर्न सक्नेछ ।

(५) यस दफा बमोजिम दोहोरो लिखत गरिदिनेलाई पछिल्लो लिखतको बिगो देखिए त्यस्तो विगो बमोजिम, त्यस्तो बिगो नदेखिए अघिल्लो लिखत बमोजिम र त्यस्तो विगो पनि नदेखिए पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
तर जतिसुकै विगो भएपनि एक लाख रुपैयाँभन्दा बढी जरिबाना हुने छैन ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बन्धकीको दोहोरो लिखत भई पहिलो लिखत भोगबन्धकी दिएकोमा त्यस्तो लिखत भएको मितिले दुई वर्ष र दृष्टिबन्धकी दिएकोमा भोग गर्न पाउने अवस्था भएको मितिले दुई वर्षभित्र भोगाधिकार कायम गर्नु पर्नेछ ।

(७) उपदफा (६) बमोजिम भोगाधिकार कायम गर्न नसकेमा साहूको रकम कपाली सरह हुनेछ ।

४५३. हदम्यादः यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम र अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।