परिच्छेद–१३ अचल सम्पत्तिको हकसफा सम्बन्धी व्यवस्था

परिच्छेद–१३ अचल सम्पत्तिको हकसफा सम्बन्धी व्यवस्था

४५४. हकसफा गरेको मानिनेः कसैले आफ्नो हक, भोग र स्वामित्वको कुनै अचल सम्पत्ति अन्य व्यक्तिलाई कुनै किसिमले हक हस्तान्तरण गरी दिएकोमा त्यस्तो सम्पत्तिको सन्धिसर्पन पर्ने व्यक्तिले यस परिच्छेद बमोजिम निखनी लिएमा हकसफा गरेको मानिनेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “सन्धिसर्पन” भन्नाले कुनै व्यक्तिको घर वा जग्गासंँग हक हस्तान्तरण गरी दिएको अर्को व्यक्तिको साँध जोडिएको घर वा जग्गा नभएको कारणबाट कुलो पानी, बाटो निकास आदि बन्द हुने अवस्था समेत सम्झनु पर्छ ।

४५५. हकवालाले हकसफा गरी लिन सक्नेः (१) कसैले आफ्नोे अचल सम्पत्ति बिक्री गरेकोमा त्यस्तो सम्पत्तिमा सन्धिसर्पन पर्ने हकवालाले त्यस्तो सम्पत्ति खरिद गर्ने व्यक्तिले तिरेको रकम र लिखत पारित गर्दा लागेको दस्तुर निजलाई बुझाई त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम हकसफा गरी लिन चाहने हकवाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकवालाले, त्यस्तो हकवाला एकभन्दा बढी भएमा सबभन्दा बढी सन्धिसर्पन पर्ने हकवालाले र त्यस्तो हकवाला पनि एकभन्दा बढी भएमा समान अनुपातमा सबै हकवालाहरूले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछन् ।

(३) उपदफा (२) बमोजिम नजिकको हकवालाले त्यस्तो सम्पत्ति हकसफा गरी नलिएमा प्राथमिकताक्रमको आधारमा सबैभन्दा नजिकको हकवालाले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछ ।

४५६. मोहीले हकसफा गरी लिन सक्नेः दफा ४५५ बमोजिम सन्धिसर्पन पर्ने हकवाला नभएमा वा भए पनि निजले हक सफा गरी नलिएमा र त्यस्तो सम्पत्तिमा कानून बमोजिम मोही रहेछ भने निजले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछ ।

४५७. बिक्री गरेको घर हकसफा गरी लिन सक्नेः (१) एउटै घरको भिन्नभिन्न हिस्साको भिन्न भिन्न धनी भएको अवस्थामा त्यस्तो घरको कुनै हिस्साको धनीले आफ्नो हिस्सा जति कसैलाई बिक्री गरी दिएकोमा अर्को हिस्साको धनीले त्यस्तो हिस्सा हकसफा गरी लिन चाहेमा त्यस्तो धनीले खरिदकर्ताले तिरेको रकम र लिखत पारित गर्दाका बखत भुक्तानी गरेको दस्तुर निजलाई बुझाई त्यस्तो घर हकसफा गरी लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम हकसफा गरी लिँदा देहायको व्यक्तिले देहाय बमोजिम प्राथमिकता पाउनेछः–
(क) अर्को हिस्साको धनी हकवाला भएमा त्यस्तो हकवालाले र एकभन्दा बढी हकवाला भएमा सबभन्दा नजिकको हकवालाले,
(ख) अर्को हिस्साको धनी हकवाला बाहेकको अन्य व्यक्ति भएमा सन्धिसर्पन पर्ने वा त्यस्तो हिस्सासँग जोडिएको हिस्साको धनीले ।

४५८. दान वा बकसमा दिएको घर हक सफा गर्न पाउनेः (१) दफा ४५५, ४५६ वा ४५७ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै व्यहोराले आफ्नो हक छाडी एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा, लगापात दान, बकस गरी दिएकोमा त्यसरी दान, बकस पाउनेले त्यस्तो घर वा जग्गा अर्को व्यक्तिलाई कुनै व्यहोराले हक हस्तान्तरण गरी दिएछ भने त्यस्तो दान, बकस गरिदिने व्यक्ति वा निजको सोही ठाउँमा बस्ने हकवालाले त्यस्तो हक सफा गरी लिन चाहेमा त्यस्तो घर वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा, लगापात हक सफा गरी लिन पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै व्यक्तिबाट एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापात दान, बकस पाएकोमा जसबाट आपूmले दान बकस पाएको हो त्यस्तो व्यक्तिले त्यस्तो घर वा जग्गाको बाँकी अर्को व्यक्तिलाई पुनः दान बकस गरिदिएछ भने त्यसरी पहिले दान बकस पाउनेले वा निजको हकवालाले त्यस्तो बाँकी हक सफा गरी लिन पाउनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम हकसफा गरी लिँदा दान, बकस गर्दा मूल्य अङ्क खुलेकोमा त्यस्तो मूल्य बराबरको रकम र मूल्य अङ्क खुलेको रहेनछ भने प्रचलित बजार मूल्य बराबरको रकम र लिखत पारित गर्दा लागेको दस्तुर साहूलाई चुक्ता गर्नु पर्नेछ ।

(४) उपदफा (१) वा (२) बमोजिम हकसफा गरी लिन चाहने हकवाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकवाला र नजिकका हकवाला पनि एकभन्दा बढी भएमा सबैभन्दा बढी मर्का पर्ने हकवालाले हक सफा गरी लिन सक्नेछ ।

४५९. हकसफा गर्न नपाउनेः दफा ४५७ र ४५८ मा जुनसुकै कुरा लेखिएको भए तापनि संयुक्त आवास सम्बन्धी प्रावधान अन्तर्गत बनेको घर वा घरको भाग हकसफा गर्न पाइने छैन ।

४६०. हकसफा गर्दाको कार्यविधिः (१) कुनै अचल सम्पत्ति यस परिच्छेद बमोजिम हकसफा गर्न चाहने व्यक्तिले त्यस्तो सम्पत्ति हस्तान्तरण गर्दा पारित भएको लिखतमा सम्पत्तिको मूल्य उल्लेख भएकोमा त्यस्तो मूल्य, मूल्य उल्लेख नभएकोमा प्रचलित बजार मूल्य बरावरको रकम र लिखत पारित गर्दा लागेको दस्तुर समेत धरौटी राखी त्यस्तो लिखत पारित गर्ने कार्यालयमा उजुरी दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम उजुरी प्राप्त भएमा लिखत पारित गर्ने कार्यालयले उजुरीकर्तालाई तारेखमा राखी हकसफा गरिदिनु पर्ने व्यक्तिलाई बाटाका म्याद बाहेक सात दिनभित्र त्यस्तो कार्यालयमा हाजिर हुन म्याद पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भई हकसफा गरी दिन मञ्जुर गरेमा लिखत पारित गर्ने कार्यालयले उपदफा (१) बमोजिम धरौटी राखेको रकम निजलाई बुझाई हकसफा गरी दिनु पर्नेछ ।

(४) उपदफा (२) बमोजिमको म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भई हकसफा गरिदिन मञ्जुर नगरे पनि प्राप्त उजुरी, पारित भएको लिखत र कार्यालयको स्रेस्ताबाट हकसफा गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले हकसफा गरिदिने निर्णय गर्नु पर्नेछ र हकसफा गरिदिनु पर्ने नदेखिएमा हकसफा गरिदिनु नपर्ने निर्णय गरी उजुरीकर्तालाई सोही बमोजिमको जानकारी दिनु पर्नेछ ।

(५) उपदफा (२) बमोजिमको म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित हुन नआएमा म्याद नाघेपछि प्राप्त उजुरी, पारित भएको लिखत र कार्यालयको स्रेस्ताबाट हकसफा गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले हकसफा गरी दिने निर्णय गरी हकसफा गरी पाउने सम्पत्ति चलन गर्नु भनी हकसफा गरी पाउनेलाई चलन पूर्जी दिई हकसफा गरिदिनु पर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम धरौटी रहेको रकम लिन आउन सूचना पठाउनु पर्नेछ ।

(६) उपदफा (२) बमोजिमको म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भएपनि निजले त्यस्तो सम्पत्तिको बजार मूल्य प्रति असहमति जनाएमा लिखत पारित गर्ने कार्यालयले त्यस्तो सम्पत्तिको बजार मूल्य कायम गरी त्यस्तो बजार मूल्य बराबरको रकम हकसफा गरी दिने व्यक्तिलाई दिलाई हकसफा गरिदिनु पर्नेछ ।

(७) उपदफा (६) बमोजिम हकसफा गर्ने सम्पत्तिको कायम गरिएको बजार मूल्यमा कुनै पक्षको सहमति नभएमा वा हकसफा गरिदिनु पर्ने व्यक्ति म्यादभित्रै उपस्थित भई हकसफा गरिदिनु नपर्ने कारण देखाएमा र त्यस्तो विषयमा प्रमाण बुझि इन्साफ गर्नु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले पैँतीस दिनभित्र सम्बन्धित अदालतमा नालेस गर्न जानु भनी सुनाई दिनु पर्नेछ र त्यस्तोमा म्यादभित्रै अदालतमा नालेस परेकोमा अदालतको निर्णय बमोजिम र नालेस नपरेकोमा कार्यालयको निर्णय बमोजिम गर्नु पर्नेछ ।

(८) उपदफा (४) बमोजिम हकसफा नहुने निर्णय भई उजुरवालालाई रकम फिर्ता दिँदा उपदफा (१) बमोजिम धरौटी राखेको रकमको अढाई प्रतिशत रकम कट्टा गर्नु पर्नेछ ।

(९) हकसफा गरी पाउँ भनी निवेदन दिने व्यक्तिले पछि कुनै कारणले निखन्न नचाहेमा वा तारेख छाडेमा निजले राखेको धरौटी रकमको तीन प्रतिशत जरिबाना गरी त्यस्तो रकम धरौटी रकमबाट कटाई बाँकी रकम निजलाई फिर्ता दिनु पर्नेछ ।

४६१. हकसफा भएकोमा अभिलेख अद्यावधिक गर्नु पर्नेः यस परिच्छेद बमोजिम हकसफा हुने गरी सम्बन्धित कार्यालय वा अदालतबाट ठहर भएकोमा सोही बमोजिम त्यस्तो कार्यालयमा रहेको हकसफा भएको सम्पत्ति सम्बन्धी अभिलेखमा अद्यावधिक गर्नु पर्नेछ ।

४६२. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले लिखत पारित भएको मितिले छ महिनासम्ममा थाहा पाएको मितिले पैँतीस दिनभित्र नालिस दिन सक्नेछ ।
तर मोहीको हकमा जग्गाधनीले निखन्न पाउने मिति समाप्त भएको मितिले पैँतीस दिनभित्र नालेस दिन सक्नेछ ।