परिच्छेद–१५ लेनदेन व्यवहार सम्बन्धी व्यवस्था

परिच्छेद–१५ लेनदेन व्यवहार सम्बन्धी व्यवस्था

४७४. लेनदेन भएको मानिनेः (१) दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच कुनै शर्त राखी कुनै रकम वा वस्तु लिनु दिनु गरेमा निजहरूबीच लेनदेन भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम लेनदेन भएकोमा रकम वा वस्तु लिनेले रकम वा वस्तु दिनेलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “रकम” भन्नाले वस्तुको मूल्य समेत सम्झनु पर्छ ।

४७५. ऋण लिए सरह मानिनेः कुनै व्यक्तिले कुनै किसिमले कसैलाई कुनै रकम वा वस्तु दिनु पर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिए सरह मानिनेछ र त्यस्तो व्यक्तिले यस परिच्छेदको व्यवस्थाको अधीनमा रही सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्नेछ ।

४७६. लिखत नगरी लेनदेन गर्न नहुनेः कसैले पनि कानून बमोजिम लिखत नगरी लेनदेन गर्न हुँदैन ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “लिखत” भन्नाले कुनै लेनदेन कारोबार प्रमाणित गर्ने चेक, बिल, भौचर, रसिद र भरपाई समेतका कागजात सम्झनु पर्छ ।

४७७. लिखतमा खुलाउनु पर्ने कुराहरूः लेनदेन गर्दा लेनदेन व्यवहारको प्रकृति बमोजिम देहायका कुराहरू खुलाउनु पर्नेछः–
(क) लेनदेन गर्ने व्यक्तिहरूको नाम, थर, उमेर, ठेगाना तथा बाबु, आमा, बाजे, बजैको नाम,
तर विवाहित व्यक्तिले भए पति, पत्नीको नाम समेत उल्लेख गर्नु पर्नेछ ।
(ख) लेनदेन गर्नु परेको कारण,
(ग) लेनदेनको परिमाण,
(घ) कुनै वस्तु लेनदेन गरेकोमा त्यस्तो वस्तुको मूल्य,
(ङ) कुनै वस्तु निश्चित समय पछि फिर्ता गर्ने गरी सापटी, पैँचो वा अन्य तवरले लिनु दिनु गरेको भए त्यस्तो व्यहोरा,
(च) कुनै वस्तु सट्टा पट्टा गरेको भए त्यस्तो व्यहोरा,
(छ) लेनदेन गरेको रकम बुझाउने मिति,
(ज) लेनदेन गर्दा ब्याज लिने, दिने भए ब्याजको दर,
(झ) लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखत बमोजिमको अन्य शर्त पूरा नगरेमा लेनदेन बमोजिमको रकम साहूले ऋणीको सम्पत्तिबाट असुल गरी लिन पाउने कुरा,
(ञ) लिखत गरिएको ठाउँ,
(ट) लिखत तयार गरिएको मिति,
(ठ) लेनदेनको प्रकृति बमोजिम खुलाउनु पर्ने अन्य आवश्यक कुराहरू ।

४७८. साहूले ऋणीसँग ब्याज लिन पाउनेः (१) लेनदेन सम्बन्धी लिखत हुँदा लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउनेछ ।

(२) उपदफा (१) बमोजिम साहूले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन ।

(३) उपदफा (१) बमोजिम लिखत हुँदा लिखतमा ब्याजको दर किटान नगरी ब्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा साहूले ऋणीबाट साँवा रकमको वार्षिक दश प्रतिशतका दरले ब्याज लिन पाउनेछ ।

(४) उपदफा (१) बमोजिम लिखत हुँदा लिखतमा ब्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमा र त्यस्तो मुनाफा के कति लिने कुरा लिखतबाट नदेखिए साहूले ऋणीबाट ब्याज सरह लिन पाउनेछ ।

४७९. साहूले ऋणीबाट ब्याज लिन नपाउनेः लेनदेन हुँदा लिखतमा ब्याज लिने दिने कुरा उल्लेख नभएमा साहूले ऋणीबाट ब्याज लिन पाउने छैन ।

४८०. ब्याजको ब्याज नपाउनेः (१) साहूले ऋणीबाट ब्याजको ब्याज लिन पाउने छैन ।

(२) उपदफा (१) विपरीत कुनै साहूले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने साँवामा कट्टी हुनेछ र साँवा चुक्ता भईसकेको रहेछ भने त्यस्तो ब्याज फिर्ता गर्नु पर्नेछ ।

४८१. साँवाभन्दा बढी ब्याज लिन नपाउनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि साहूले ऋणीबाट साँवाभन्दा बढी ब्याज लिन पाउने छैन ।

४८२. साँवा, ब्याज लिँदा दिँदा रीत पु¥याउनु पर्नेः साँवा, ब्याज लिँदा दिँदा देहाय बमोजिम रीत पु¥याउनु पर्नेछः–
(क) ऋणीले साहूलाई साँवा, ब्याजको सबै रकम चुक्ता गरेमा साहूसँग भएको लेनदेनको लिखत च्याती वा त्यस्तो लिखतमा रकम असूल भएको व्यहोरा लिखतको कुनै ठाउँ वा पिठमा खुलाई साहूले सहीछाप गरी ऋणीलाई लिखत फिर्ता गर्नु पर्ने,
(ख) खण्ड (क) बमोजिम साँवा, ब्याजको रकम दिँदाका बखत सो लिखत फेला नपरेमा साहूले सोही व्यहोरा जनाई यो मितिमा यति रकम बुझी लिएको भनी भरपाई गरी ऋणीलाई दिनु पर्ने,
(ग) साँवामध्ये केही रकम वा ब्याज बुझाउँदा साहूले ऋणीसँग कुन मितिमा के कति रकम बुझेको हो त्यस कुरा लिखतको पिठमा खुलाई ऋणीको सहीछाप गराई र तत्काल लिखत फेला नपरे वा साथमा नभए त्यस बमोजिम रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनु पर्ने ।

४८३. रकम भराएको मितिसम्मको ब्याज पाउनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४८४ को अवधिभित्र नालिस गरेको रहेछ भने अदालतबाट साहूले ब्याज समेत पाउने गरी फैसला भएकोमा साहूले ऋणीबाट फैसला बमोजिम भरिभराउँदाको मितिसम्मको ब्याज समेत पाउनेछ ।

४८४. घरसारमा भएको लिखतको अवधिः (१) यस परिच्छेद बमोजिम घरसारमा भएको लिखतको अवधि बढीमा दश वर्षको हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्षको अवधिभित्र ऋणीले साहूलाई साँवा वा ब्याजमध्ये केही रकम बुझाएमा वा साँवा ब्याज बुझाउनको लागि लिखतको अवधि थप गरेमा त्यसरी साँवा वा ब्याज बुझाएको वा अवधि थप गरेको मितिले अर्को दश वर्षको अवधि थप हुनेछ ।

४८५. असक्षम तथा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले मान्यता नपाउनेः कसैले असक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानूनी मान्यता पाउने छैन ।

४८६. सगोलको सम्पत्तिबाट रकम भरार्ई लिन नपाउनेः (१) कसैले कुनै व्यक्तिसँग लेनदेन गरेकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहीछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहूले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराई लिन पाउने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि घरको मुख्य भई काम गर्ने व्यक्तिले त्यस्तो रकम तिरिदिएमा साहूले लिन पाउनेछ ।

(३) उपदफा (१) बमोजिमको अवस्था परी कुनै व्यक्तिले ऋणीसँग रकम लिन नसक्ने भएमा दश वर्षभित्र साहूले ऋणी उपर नालिस गरी आफ्नो हक कायम गरी राख्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम ऋणीसँग हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगेपछि साहूले निजबाट कानून बमोजिम आफ्नो रकम भरार्ई लिन पाउनेछ ।

(५) उपदफा (४) बमोजिम रकम भरार्ई लिनको लागि असामीको हक पुगेको मितिले नालिस गर्नेे हदम्याद शुरु हुनेछ ।

४८७. मञ्जुरी नलिई चल सम्पत्ति सट्टा पट्टा गर्न नहुनेः (१) एकासगोलका उमेर पुगेका व्यक्तिले घरको मुख्य व्यक्तिको मञ्जुरी नलिई संगोलको कुनै सम्पत्ति सट्टा पट्टा गर्न हुँदैन ।
तर आफ्नो निजी सम्पत्ति सट्टापट्टा गर्न घरको मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी लिनु पर्ने छैन ।

(२) उपदफा (१) विपरीत कसैले सम्पत्ति सट्टापट्टा गरेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले मञ्जुर नगरे त्यस्तो सम्पत्ति सट्टापट्टा गरेको मान्य हुने छैन ।

(३) उपदफा (१) विपरीत सम्पत्ति सट्टापट्टा गरेकोमा घरको मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी नभए पैँतीस दिनभित्र आफ्नो सम्पत्ति फिर्ता लिन सकिने छ ।

४८८. लेनदेन गरेको देखिएमा रकम भराई दिनेः कसैले यस परिच्छेद बमोजिमको रीत पु¥याई लिखत नगरे पनि कुनै लिखत, बैङ्किङ्ग कारोबार, विनिमेय अधिकारपत्र, चेक, भौचरबाट वा बही खातामा लेखिएको व्यहोराबाट कुनै व्यक्तिसँग लेनदेन भएको कुरा देखिन आएमा अदालतले त्यस्तो लिखत, बैङ्किङ्ग कारोबार, विनिमेय अधिकारपत्र, चेक, भौचरबाट वा बही खातामा लेखिएको आधारमा नालिस गर्ने व्यक्तिलाई ऋणीबाट त्यस्तो रकम भरार्ई दिन सक्नेछ ।

४८९. घरसारको लिखत हराए वा काबू बाहिरको परिस्थिति परेमा गर्नेः (१) घरसारमा भएको लिखत हराएमा वा काबू बाहिरको परिस्थिति परी नासिएमा साहूले सोही व्यहोरा खुलाई लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित स्थानीय तहले त्यसको व्यहोरा खुलाई भरपाई लेखी कार्यालयको छाप लगाई त्यसको भरपाई निवेदन दिने व्यक्तिलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम कुनै निवेदन परेमा स्थानीय तहले लिखत गरिदिने व्यक्ति जीवित भए निजलाई र नभए निजको नजिकको हकवालालाई सात दिनभित्र झिकाई निजले मञ्जुर गरे साबिक बमोजिमको लिखत तयार गराई त्यस्तो लिखत प्रमाणित गरी निवेदन दिने व्यक्तिलाई दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम लिखत गरिदिने व्यक्तिले लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको जनाई अर्को लिखत गरी दिन मञ्जुर नगरेमा साहूले त्यस्तो म्याद नाघेको पैँतीस दिनभित्र लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको प्रमाण देखाई नालिस गरी आफ्नो हक कायम गर्नु पर्नेछ ।

४९०. लेनदेन गरेको वस्तु कच्चा भएमा फिर्ता गर्नु पर्नेः (१) लिखतमा अन्यथा व्यवस्था भएकोमा बाहेक मूल्य राखी लेनदेन भएको कुनै वस्तु लिखतमा लेखिए बमोजिम नभई वा कुनै किसिमले कच्चा भई त्यस्तो वस्तु निजले भोग गर्न नसक्ने भएमा लेनदेन भएको मितिले पैँतीस दिनभित्र वस्तु दिने व्यक्तिलाई त्यस्तो कुराको सूचना गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम वस्तु लिने व्यक्तिबाट त्यस्तो कुराको सूचना प्राप्त भएमा र निजको कुरा मनासिब देखिएमा वस्तु दिनेसँग त्यस्तै प्रकारको अन्य वस्तु भए त्यस्तो वस्तु सट्टापट्टा गरिदिनु पर्नेछ र नभएमा आप्mनो वस्तु फिर्ता लिई त्यस्तो लेनदेनको सम्बन्धमा भएको लिखत फट्टा (निष्कृय) गरी दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम वस्तु दिनेले त्यस्तो वस्तु सट्टापट्टा गरी नदिएमा वा आप्mनो वस्तु फिर्ता नलिएमा वस्तु लिनेले आपूmलाई भएको हानि, नोक्सानी वापत सम्बन्धित व्यक्तिबाट त्यस्तो वस्तुको मूल्य बराबरको रकम तथा मनासिब क्षतिपूर्ति भरार्ई लिन वा त्यस्तो लेनदेन बदर गराउन नालिस गर्न सक्नेछ ।

४९१. यथास्थितिमा वस्तु फिर्ता गर्नु पर्नेः (१) कसैले कुनै व्यक्तिको स्वामित्व वा भोगमा रहेको वस्तु कुनै खास कामको लागि भाडा तिर्ने वा नतिर्ने वा सापटी वा पैँचो जुनसुकै शर्तमा लिए पनि त्यस्तो कार्य सम्पन्न भएपछि आपूmले जुन प्रकार, परिमाण र गुणस्तरको वस्तु लिएको हो सोही प्रकार, परिमाण र गुणस्तरको वस्तु स्वामित्व वा भोगवालालाई फिर्ता गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम लिएको वस्तु हराएमा, नासिएमा, फुटेमा, बिग्रेमा वा अन्य कुनै किसिमले क्षति भएमा लिखतमा अन्यथा भएकोमा बाहेक वस्तु लिनेले त्यस्तै किसिमको अन्य वस्तुको व्यवस्था गरी स्वामित्व वा भोगवालालाई फिर्ता गर्नु पर्नेछ र त्यस्तै वस्तु पाउन सकिने अवस्था नभएमा त्यस्तो वस्तुको प्रचलित बजार मूल्य बराबरको रकम स्वामित्व वा भोगवालालाई बुझाउनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम वस्तु, त्यस्तो वस्तु वापतको भाडा वा रकम बुझाउने सम्बन्धमा लिखतमा अन्यथा भएकोमा बाहेक जुन कामको लागि वस्तु लिएको हो त्यस्तो काम सम्पन्न भएको पन्ध्र दिनभित्र स्वामित्व वा भोगवालालाई त्यस्तो वस्तु वा भाडाको कम बुझाउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको म्यादभित्र वस्तु लिनेले स्वामित्व वा भोगवालालाई वस्तु वा रकम नबुझाएमा त्यसबाट मर्का पर्ने व्यक्तिले त्यस्तो वस्तुको रकम र आपूmलाई भएको नोक्सानी वापत मनासिब क्षतिपूर्ति समेत भरार्ई लिन सक्नेछ ।

४९२. हदम्यादः (१) असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्ति आफ्नो गराउन, हिनामिना वा नोक्सान गर्न वा बिगार्न लेनदेन गरेको वा ब्याजको ब्याज लिएको वा ब्याजमा दश प्रतिशत भन्दा बढी लिएको विषयमा नालिस गर्न हदम्याद लाग्ने छैन ।

(२) उपदफा (१) मा लेखिएदेखि बाहेक यस परिच्छेद बमोजिम भए गरेको कुनै काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले देहाय बमोजिम नालिस गर्न सक्नेछः–
(क) यस परिच्छेदमा नालिस गर्न छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम,
(ख) कुनै लिखतमा अवधि उल्लेख भएकोमा सो अवधि नाघेको मिति र लिखत नभएको वा अन्य अवस्थामा मुद्दा गर्नु पर्ने कारण परेको मितिले एक वर्षभित्र ।