परिच्छेद–१ दायित्व सम्बन्धी सामान्य व्यवस्था

परिच्छेद–१ दायित्व सम्बन्धी सामान्य व्यवस्था

४९३. दायित्व सृजना हुनेः (१) कुनै काम गर्न वा नगर्नका लागि कानूनी रूपमा बाध्यता भएकोमा त्यस्तो काम नगरे वा गरेमा दायित्व सृजना हुनेछ ।

(२) उपदफा (१) बमोजिम सृजना हुने दायित्व यस परिच्छेद बमोजिम कायम भई निर्धारण हुनेछ ।

४९४. दायित्व सृजना हुने अवस्थाः (१) दफा ४९३ बमोजिमको दायित्व देहाय बमोजिम सृजना भई कायम हुनेछः–
(क) कानून,
(ख) करार,
(ग) अप्रत्यक्ष वा अर्ध करार
(घ) अनुचित सम्वृद्धि (अनजष्ट इन्रिचमेन्ट)
(ङ) दायित्व लिने गरी भएको कुनै व्यक्तिको एकतर्फी प्रतिबद्धता,
(च) कानून बमोजिम दुष्कृति (टर्टस्) मानिने काम,
(छ) कानून बमोजिम अर्ध दुष्कृति मानिने काम ।

(२) उपदफा (१) को,–
(क) खण्ड (क) बमोजिमको दायित्व यस ऐन वा अन्य कानून बमोजिम कायम हुनेछ ।
(ख) खण्ड (ख) बमोजिमको दायित्व पक्षहरूबीच सम्पन्न भएको करार बमोजिम कायम हुनेछ ।
(ग) खण्ड (ग) बमोजिमको दायित्व यस भागको परिच्छेद–१५ बमोजिम परिभाषित अप्रत्यक्ष वा अर्ध करार बमोजिम कायम हुनेछ ।
(घ) खण्ड (घ) बमोजिमको दायित्व यस भागको परिच्छेद–१६ बमोजिम परिभाषित अनुचित सम्वृद्धि (अनजष्ट इन्रिचमेन्ट) बमोजिम कायम हुनेछ ।
(ङ) खण्ड (ङ) बमोजिमको दायित्व कुनै व्यक्तिको एकतर्फी प्रतिबद्धताबाट कानून बमोजिम दायित्व सृजना हुने व्यवस्था बमोजिम निर्धारण हुनेछ ।
(च) खण्ड (च) बमोजिमको दायित्व यस भागको परिच्छेद–१७ बमोजिम परिभाषित दुष्कृति (टर्टस्) बाट कायम हुनेछ ।
(छ) खण्ड (छ) बमोजिमको दायित्व यस भागको परिच्छेद–१८ बमोजिम परिभाषित त्रुटिपूर्ण उत्पादन वा कानून बमोजिम अर्धदुष्कृति मानिने अन्य कामबाट कायम हुनेछ ।

४९५. दायित्व पूरा गर्नु पर्नेः (१) कुनै विषयको दायित्व जसले पूरा गर्नु पर्ने गरी कायम वा सृजना भएको छ वा जुन व्यक्तिले दायित्व लिएको हो सोही व्यक्तिले त्यस्तो विषयको दायित्व पूरा गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दायित्व पूरा नहुँदै त्यस्तो व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानमा नरहेमा निजको सम्पत्ति प्राप्त गर्ने हकवाला वा निजको संरक्षक वा माथवरले वा जमानत सम्बन्धी करार भए त्यस्तो जमानत दिनेले त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।

४९६. निर्धारित समयमा दायित्व पूरा गर्नु पर्नेः (१) कुनै दायित्व पूरा गर्नको लागि कुनै निश्चित अवधि तोकिएको रहेछ भने सम्बन्धित व्यक्तिले सोही अवधिभित्र त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।

(२) कुनै दायित्व पूरा गर्न कुनै निश्चित दिन वा समय तोकिएको रहेछ भने सम्बन्धित व्यक्तिले सोही दिन वा समयमा त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।
तर निश्चित दिन वा समयभित्र दायित्व पूरा गर्ने व्यवस्था भएकोमा त्यस्तो दिन वा समय अघि पनि दायित्व पूरा गर्न सकिनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम कुनै दायित्व पूरा गर्ने अवधि, दिन वा समय निर्धारण नभएकोमा दायित्वको प्रकृतिबाट त्यस्तो दायित्व पूरा गर्नु पर्ने अवधि, दिन र समय निर्धारण गरी मनासिब अवधिभित्र दायित्व पूरा गर्नु पर्नेछ ।

(४) उपदफा (१), (२) वा (३) बमोजिम दायित्व पूरा नभएमा दायित्व पूरा गर्नु पर्ने व्यक्तिले दायित्व पूरा नगरेको वा पूरा गर्न नसकेको मानिनेछ ।

४९७. प्रत्येक व्यक्तिले दायित्व पूरा गर्नु पर्नेः (१) एकभन्दा बढी व्यक्तिले कुनै दायित्व लिएको वा निजको हकमा त्यस्तो दायित्व सृजना भएको भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रत्येक व्यक्तिले समान रूपमा त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिले एकभन्दा बढी व्यक्ति प्रति दायित्व पूरा गर्नु पर्ने भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक निजले प्रत्येक व्यक्ति प्रति समान रूपले दायित्व पूरा गर्नु पर्नेछ ।

४९८. दायित्व विभाजन हुन सक्नेः (१) एकभन्दा बढी व्यक्तिहरू प्रति दायित्व पूरा गर्नु पर्ने वा एकभन्दा बढी व्यक्तिले दायित्व पूरा गर्नु पर्ने अवस्थामा त्यस्ता व्यक्तिहरू प्रतिको वा त्यस्ता व्यक्तिहरूले पूरा गर्नु पर्ने दायित्व त्यसको प्रकृतिबाट विभाजन वा खण्ड खण्ड गर्न सकिने रहेछ भने त्यस्तो दायित्व विभाजन हुन सक्नेछ र सोही बमोजिम प्रत्येक व्यक्ति प्रति वा प्रत्येक व्यक्तिले दायित्व पूरा गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अवस्थामा प्रत्येक व्यक्ति वा सबै व्यक्तिले दायित्व पूरा गर्नु पर्ने प्रत्येक व्यक्ति वा सबै व्यक्तिबाट दायित्व पूरा गराई माग्न सक्नेछ ।

४९९. असल नियतले दायित्व पूरा गर्नु पर्नेः दफा ४९४ बमोजिम सृजना भएको दायित्व त्यस्तो दायित्व पूरा गर्नु पर्ने व्यक्तिले असल नियतले पूरा गर्नु पर्नेछ ।

५००. दायित्व पूरा नगरेमा क्षतिपूर्ति व्यहोर्नु पर्नेः (१) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले दायित्व पूरा नगरेको वा दायित्व पूरा गर्न विलम्ब गरेको कारणबाट अन्य कसैलाई कुनै किसिमले हानि, नोक्सानी भएमा त्यसरी भएको वास्तविक हानि, नोक्सानी वापतको क्षतिपूर्ति निजले व्यहोर्नु पर्नेछ ।

(२) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले जालसाज गरी दायित्व पूरा नगरेको वा नियतवस वा लापरवाहीको कारणबाट कुनै किसिमले हानि, नोक्सानी भएमा त्यसरी भएको हानि, नोक्सानी वापतको क्षतिपूर्ति निजले व्यहोर्नु पर्नेछ ।

५०१. कानून प्रतिकूलको दायित्व पूरा गर्न नपर्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दायित्व पूरा गर्दा कानून, सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) वा सार्वजनिक नैतिकता प्रतिकूल हुने रहेछ भने त्यस्तो दायित्व पूरा गर्न पर्ने छैन ।

५०२. असम्भव दायित्व पूरा गर्न नपर्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दायित्व सृजना हुँदाका बखत पूरा गर्न नसकिने असम्भव प्रकृतिको दायित्व सृजना भएको रहेछ भने त्यस्तो दायित्व पूरा गर्नु पर्ने छैन ।

(२) दायित्व सृजना हुँदाका बखत पूरा गर्न सम्भव भएको तर पछि दायित्व पूरा गर्न असम्भव भएकोमा त्यस्तो दायित्वको परिणाम कानून बमोजिम निर्धारण हुनेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दायित्वको कुनै अंश पूरा गर्न सकिने र बाँकी अंश पूरा गर्न नसकिने रहेछ भने पूरा गर्न सकिने हदसम्मको दायित्व पूरा गर्नु पर्नेछ ।

५०३. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।