परिच्छेद–२ करार सम्पन्न गर्ने व्यवस्था

परिच्छेद–२ करार सम्पन्न गर्ने व्यवस्था

५०४. करार भएको मानिनेः (१) दुई वा दुई भन्दा बढी व्यक्तिहरूबीच कुनै काम गर्न वा नगर्नका लागि कानून बमोजिम कार्यान्वयन गर्न सकिने कुनै सम्झौता भएमा करार भएको मानिनेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि एक व्यक्तिले अर्को व्यक्ति समक्ष करार गर्न राखेको प्रस्तावमा त्यसरी प्रस्तावित व्यक्तिले स्वीकृति जनाएपछि करार भएको मानिनेछ ।

(३) करार भएपछि करारका पक्षहरूबीच वाध्यात्मक कानूनी सम्बन्ध कायम हुनेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि,–
(१) “प्रस्ताव” भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ ।
(२) “स्वीकृति” भन्नाले प्रस्तावका कुराहरू प्रस्तावकले जुन अर्थमा प्रस्ताव गरेको छ सो कुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ ।

५०५. कानून बमोजिम कार्यान्वयन हुने करारः (१) देहायका शर्तहरू पूरा गरी सम्पन्न भएको करार कानून बमोजिम कार्यान्वयन हुन सक्ने गरी करार भएको मानिनेछः–
(क) करार गर्ने व्यक्तिले आफूलाई बन्धनकारी बनाउन व्यक्त गरेको सहमति,
(ख) करार गर्ने व्यक्तिको करार गर्न सक्ने सक्षमता वा योग्यता,
(ग) दायित्व सृजना गर्ने निश्चित विषय,
(घ) कानूनसम्मत दायित्व ।

(२) करार लिखित वा मौखिक रूपमा वा करार गर्ने व्यक्तिहरूको आचरणबाट पनि हुन सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै करार कुनै खास कार्यविधि वा औपचारिकता पूरा गरेर मात्र गर्नुपर्ने व्यवस्था भएकोमा त्यस्तो कार्यविधि वा औपचारिकता पूरा नभएसम्म त्यस्तो करार कार्यान्वयन हुन सक्ने छैन ।

५०६. करार गर्न सक्षम व्यक्तिः (१) देहायका व्यक्ति बाहेक अरू जुनसुकै व्यक्ति करार गर्न सक्षम हुनेछन्ः–
(क) नाबालक,
(ख) होस ठेगानमा नभएको ।

स्पष्टीकरणः
(१) साधारणतया होस ठेगानमा नरहेको तर कहिलेकाँही होस ठेगानमा रहेको व्यक्तिले होस ठेगानमा रहेका बखत करार गर्न सक्नेछ ।
(२) साधारणतया होस ठेगानमा रहेको तर कहिलेकाहिँ होस ठेगानमा नरहेको व्यक्तिले होस ठेगानमा नरहेका बखत करार गर्न सक्ने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कुनै खास करार गर्न असक्षम मानिएको व्यक्ति त्यस्तो करार गर्न सक्षम भएको मानिने छैन ।
(३) असक्षम वा अर्धसक्षम व्यक्तिका तर्फबाट करार गर्नु पर्दा निजको संरक्षक वा माथवरले करार गर्न सक्नेछ ।
(४) कानूनी व्यक्तिको तर्पmबाट करार गर्नु पर्दा त्यस्तो व्यक्तिको व्यवस्थापन तथा सञ्चालन गर्न अधिकार प्राप्त सञ्चालक वा सञ्चालकहरूको निर्णय वा निजको अख्तियार प्राप्त व्यक्तिले गर्नु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास विषयमा यस परिच्छेद बमोजिम करार गर्न असक्षम मानिएको व्यक्ति त्यस्तो विषयमा निज अन्य कानून बमोजिम करार गर्न सक्ने व्यवस्था भएमा त्यस्तो विषयमा त्यस्तो व्यक्ति करार गर्न सक्षम भएको मानिनेछ ।

५०७. पक्षहरू स्वायत्त हुनेः यस ऐनको अधीनमा रही करारको स्वरूप वा विषयवस्तु छनौट गर्न, करारका शर्त तथा करार उल्लङ्घन भए वापत उपचारको प्रकृति निर्धारण गर्न र करार बमोजिमको विवाद समाधान गर्ने उपाय निश्चित गर्न करारका पक्षहरू स्वायत्त हुने छन् ।

५०८. प्रस्ताव र स्वीकृति पूरा भएको मानिनेः (१) प्रस्ताव पठाएको कुरा प्रस्तावित व्यक्तिले थाहा पाएपछि प्रस्ताव पठाउने कार्य पूरा भएको मानिनेछ ।

(२) प्रस्तावमा आफ्नो स्वीकृति जनाई प्रस्तावित व्यक्तिले प्रस्तावक समक्ष पठाएको स्वीकृति प्रस्तावकले पाएमा प्रस्तावकको हकमा र प्रस्तावित व्यक्तिले प्रस्तावमा स्वीकृति दिएको कुरा प्रस्तावकलाई थाहा भएमा प्रस्तावित व्यक्तिको हकमा स्वीकृति दिने कार्य पूरा भएको
मानिनेछ ।

(३) प्रस्तावमा प्रत्यक्ष रूपमा स्वीकृति नजनाएको भए तापनि प्रस्तावित व्यक्तिले आफ्नो आचरणबाट प्रस्तावमा उल्लिखित कुनै शर्त पालना गरेमा, प्रस्तावमा उल्लिखित लाभ वा सेवा स्वीकार गरेमा वा अन्य कुनै व्यहोराबाट स्वीकृति जनाएमा पनि प्रस्तावमा स्वीकृति प्रदान गरेको मानिनेछ ।

(४) प्रस्तावकले कुनै निश्चित समय तोकी त्यस्तो समयसम्म प्रस्ताव इन्कार गरिएको सूचना नपठाएमा प्रस्ताव स्वीकार गरेको मानिनेछ भन्ने व्यहोराको प्रस्ताव राखेको भए त्यस्तो समयसम्म प्रस्तावित व्यक्तिले प्रस्ताव स्वीकार गरेको सूचना नपठाएमा त्यस्तो प्रस्ताव स्वीकार गरेको मानिने छैन ।

५०९. प्रस्ताव वा स्वीकृति रद्द गर्न सकिनेः (१) प्रस्तावकले आफ्नो प्रस्ताव सूचनाद्वारा रद्द गर्न सक्नेछ ।
तर प्रस्ताव रद्द गरिएको सूचना पाउनुभन्दा अगावै प्रस्तावित व्यक्तिले प्रस्तावमा स्वीकृति दिइसकेको सूचना प्रस्तावकले पाइसकेको भए त्यस्तो प्रस्ताव रद्द हुने छैन ।

(२) प्रस्तावित व्यक्तिले आफूले पठाएको स्वीकृति सूचनाद्वारा रद्द गर्न सक्नेछ ।
तर स्वीकृति रद्द गरिएको सूचना पाउनुभन्दा अगावै प्रस्तावकले स्वीकृतिको सूचना पाइसकेको भए स्वीकृति रद्द हुने छैन ।

(३) प्रस्तावमा इन्कारी जनाई सूचना पठाउने व्यक्तिले प्रस्तावमा पुनः स्वीकृति दिई सूचना पठाउन सक्नेछ ।
तर यसरी इन्कारी जनाइएको वा स्वीकृति दिइएको सूचनाहरूमध्ये इन्कारी जनाइएको सूचना पहिले पुगेमा करार भएको मानिने छैन र स्वीकृति जनाइएको सूचना पहिले पुगेमा करार भएको मानिनेछ ।

(४) प्रस्ताव पठाई सकेपछि उपदफा (१) बमोजिमको सूचना पठाएकोमा, स्वीकृति पठाई सकेपछि उपदफा (२) बमोजिमको सूचना पठाएकोमा वा प्रस्तावमा इन्कारी जनाई सकेपछि उपदफा (३) बमोजिमको सूचना पठाएकोमा र त्यस्ता सूचनाहरू सम्बन्धित व्यक्तिले एकै समयमा पाएमा करार भएको मानिने छैन ।

(५) प्रस्तावकले पठाएको प्रस्तावमा प्रस्तावित व्यक्तिले शर्त सहित वा कुनै कुरा परिवर्तन गरी स्वीकृति पठाएमा प्रस्तावित व्यक्तिले प्रति प्रस्ताव गरेको मानिनेछ ।

५१०. प्रस्ताव रद्द भएको मानिनेः देहायको कुनै अवस्थामा प्रस्ताव रद्द भएको मानिनेछः–
(क) प्रस्तावकले प्रस्ताव स्वीकृत गरेको सूचना कुनै निश्चित समयसम्म पाउने शर्तमा प्रस्ताव राखेकोमा त्यस्तो समयसम्ममा प्रस्तावित व्यक्तिले स्वीकृति जनाएको सूचना प्रस्तावकले प्राप्त नगरेमा,
(ख) खण्ड (क) बमोजिम स्वीकृतिको सूचना पठाउनु पर्ने समय उल्लेख नभएकोमा प्रस्तावित व्यक्तिले मनासिब समयभित्र स्वीकृति जनाएको सूचना प्रस्तावकलाई नदिएमा,
(ग) प्रस्ताव राखेपछि स्वीकृति प्राप्त गर्नुभन्दा अगावै प्रस्तावकको मृत्यु भएमा वा निजको होस ठेगानमा नरहेमा,
(घ) दफा ५०९ बमोजिम प्रस्ताव रद्द गरिएमा,
(ङ) प्रस्तावित व्यक्तिले स्वीकृति दिए पनि प्रस्तावकले स्वीकृति प्राप्त गर्नु अगावै निजको मृत्यु भएमा वा निजको होस ठेगानमा नरहेमा,
(च) प्रस्तावित व्यक्तिले दफा ५०९ को उपदफा (५) बमोजिम प्रति प्रस्ताव पठाएमा,
(छ) प्रस्तावित व्यक्तिले प्रस्ताव स्वीकृत गर्नु अघि कुनै कार्य वा कुनै शर्त पूरा गर्नु पर्ने गरी प्रस्तावकले प्रस्ताव राखेकोमा त्यस्तो कार्य वा शर्त पूरा नगरी स्वीकृत गरेकोमा ।

५११. सर्वसाधारण समक्ष राखिएको प्रस्ताव बमोजिमको करारः (१) कुनै व्यक्तिले सार्वजनिक रूपमा विज्ञापन गरी त्यस्तो विज्ञापनमा उल्लिखित कुनै काम गरेमा यति पारिश्रमिक दिनेछु भनी सार्वजनिक रूपमा प्रस्ताव राखेकोमा त्यस्तो विज्ञापन बमोजिमको काम गर्ने व्यक्तिलाई त्यस्तो विज्ञापन प्रकाशित गर्ने व्यक्तिले विज्ञापनमा उल्लिखित पारिश्रमिक दिनु पर्नेछ ।
तर विज्ञापनमा उल्लिखित काम त्यस्तो विज्ञापनको जानकारी विना गरेको रहेछ भने त्यस्तो व्यक्तिले पारिश्रमिक पाउने छैन ।

(२) उपदफा (१) बमोजिमको प्रस्तावमा उल्लिखित काम  एकभन्दा बढी व्यक्तिले गरेमा जुन व्यक्तिले पहिले त्यस्तो काम गरेको छ सोही व्यक्तिले मात्र पारिश्रमिक पाउनेछ ।
तर दुई वा दुईभन्दा बढी व्यक्तिहरूले एकै समयमा प्रस्तावमा उल्लिखित काम गरेमा त्यसरी काम गर्ने प्रत्येकले पारिश्रमिक बराबर बाँडी लिन पाउने छन् र पारिश्रमिक बाँड्न नमिल्ने रहेछ भने त्यस्तो बिक्री गरी आएको रकम त्यस्ता व्यक्तिहरूलाई बराबर बाँडी दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम प्रकाशित विज्ञापन बमोजिम गर्नु पर्ने कामको लागि निश्चित समयावधि तोकिएको रहेछ भने त्यस्तो समय समाप्त हुनासाथ विज्ञापन बमोजिमको प्रस्ताव रद्द भएको मानिनेछ ।

(४) उपदफा (१) बमोजिम राखिएको प्रस्ताव जुन माध्यमद्वारा प्रकाशित भएको हो, सोही माध्यमद्वारा रद्द गर्न सकिनेछ ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्ताव रद्द गरेको सूचना प्रकाशित हुनु अगावै कसैले उपदफा (१) बमोजिमको विज्ञापन अनुसार काम गरिसकेको भएमा विज्ञापनमा उल्लिखित पारिश्रमिक दिनु पर्नेछ ।
तर विज्ञापन बमोजिम काम गर्ने व्यक्तिले विज्ञापनदातालाई यथासम्भव छिटो काम सम्पन्न भएको सूचना गरेको हुनु पर्नेछ ।

(६) कसैले विज्ञापनदातालाई उपदफा (१) बमोजिमको विज्ञापन अनुसार काम शुरु गरेको कुरा सूचना गरी काम शुरु गरेको रहेछ भने त्यसरी काम गर्ने व्यक्तिलाई विज्ञापन रद्द हुँदासम्म गरेको कामका लागि उचित पारिश्रमिक दिनु पर्नेछ ।

५१२. करार भएको ठाउँः (१) प्रस्तावकले जुन ठाउँमा स्वीकृति पाउनका लागि प्रस्ताव पठाएको हो सोही ठाउँलाई करार भएको ठाउँ मानिनेछ ।

(२) उपदफा (१) बमोजिम ठाउँ नखुलाइएको अवस्थामा प्रस्तावकले स्वीकृति पाएको ठाउँलाई करार भएको ठाउँ मानिनेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरूले करारमा करार भएको ठाउँ उल्लेख गरेकोमा सोही ठाउँलाई करार भएको ठाँउ मानिनेछ ।

५१३. सांयोगिक करारः (१) भविष्यमा कुनै घटना घटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना नघटेसम्म त्यस्तो करारबाट कुनै दायित्व सृजना हुने छैन ।

(२) भविष्यमा कुनै व्यक्तिले कुनै खास काम गरेमा करार भएको मानिने गरी करार भएकोमा त्यस्तो व्यक्तिले त्यस्तो काम नगर्ने वा गर्न नसक्ने गरी कुनै काम कारबाही गरेमा त्यस्तो करारबाट कुनै दायित्व सृजना हुने छैन ।

(३) भविष्यमा कुनै अनिश्चित घटना नघटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना घट्न असम्भव भएपछि मात्र त्यस्तो करार बमोजिमको दायित्व सृजना हुनेछ ।

(४) भविष्यमा कुनै निश्चित समयभित्र कुनै घटना घटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यसरी निर्धारित समयभित्रै वा निर्धारित समय समाप्त भए पछि त्यस्तो घटना घट्न असम्भव भए पछि त्यस्तो करार बदर भएको मानिनेछ ।

(५) भविष्यमा कुनै घटना कुनै खास समयभित्र नघटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो समयभित्र त्यस्तो घटना नघटेमा वा त्यस्तो समयभित्र त्यस्तो घटना नघट्ने निश्चित भएमा त्यस्तो करार बमोजिमको दायित्व सृजना हुनेछ ।

५१४. करारका सामान्य व्यवस्था लागू हुनेः यो परिच्छेद र यस भागका परिच्छेद– ३, ४ र ५ का व्यवस्था सामान्यतः यस ऐन वा कानून बमोजिम सम्पन्न हुने अन्य करारका सम्बन्धमा लागू हुनेछन् ।

५१५. करारको व्याख्याः (१) करारको व्याख्या यसका पक्षहरूको सामुहिक मनसाय बमोजिम गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम मनसाय स्थापित हुन नसकेमा सामान्य समझको व्यक्तिले पक्षको हैसियतले सामान्य अवस्थामा दिन सक्ने मनसायको अर्थ बमोजिम करारको व्याख्या गर्नु पर्नेछ ।

(३) करारका कुनै एक पक्षको कथन तथा आचरण अर्को पक्षले थाहा पाएको वा थाहा पाएको मान्न सकिने अवस्था भएमा त्यस्तो पक्षको मनसाय बमोजिम करारको व्याख्या गरिनेछ ।

(४) करारमा प्रयुक्त शब्दावली तथा अभिव्यक्तिको व्याख्या समग्र करार वा त्यस्ता शब्दावली तथा अभिव्यक्ति रहेको प्रसङ्गको आधारमा गरिनेछ ।

(५) करारमा प्रयुक्त शब्दावलीलाई अन्य शब्दावलीबाट बाहेक गरी केही शब्दावलीलाई मात्र प्रभाव नदिई त्यसमा प्रयुक्त सम्पूर्ण शब्दावलीहरूलाई प्रभावकारी बनाउने गरी व्याख्या गरिनेछ ।

५१६. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।