परिच्छेद–५ करारको उल्लङ्घन र उपचार सम्बन्धी व्यवस्था

परिच्छेद–५ करारको उल्लङ्घन र उपचार सम्बन्धी व्यवस्था

५३५. करार उल्लङ्घन गरेको मानिनेः (१) करारको कुनै पक्षले करार बमोजिमको दायित्व पूरा नगरेमा, करार बमोजिम आफूले गर्नु पर्ने काम निजले नगर्ने कुराको सूचना अर्को पक्षलाई दिएमा वा पक्षको काम कारबाही र आचरणबाट निज करार बमोजिमको काम गर्न असमर्थ देखिएमा निजले करार उल्लङ्घन गरेको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम एक पक्षले करार उल्लङ्घन गरेकोमा, निजको काम कारबाही वा आचरणबाट निजले सारभूत रूपमा करारको पालना नगरेको देखिएमा वा पक्षको आचरण वा काम कारबाहीबाट सारभूत रूपमा करार उल्लङ्घन भएको देखिएमा अर्को पक्षले त्यस्तो पक्षलाई सूचना दिई त्यस्तो करार रद्द गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम करार रद्द भएकोमा यसरी करार रद्द गर्ने पक्ष करारको परिपालना गर्न बाध्य हुने छैन ।

५३६. करार रद्द गर्ने अख्तियारीको अविभाज्य प्रकृतिः करारको कुनै पक्षमा दुई वा दुई भन्दा बढी व्यक्ति भएकोमा करार रद्द गर्ने कार्य त्यस्ता सम्पूर्ण व्यक्तिहरूले  गरेमा वा त्यस्ता सम्पूर्ण व्यक्तिहरूको हकमा लागू हुने गरी रद्द गरिएमा मात्र करार रद्द हुन सक्नेछ ।

५३७. करार उल्लङ्घन भएमा त्यसको क्षतिपूर्तिः (१) दफा ५३५ बमोजिम करार उल्लङ्घन भएकोमा त्यसबाट मर्का पर्ने पक्षले करार उल्लङ्घनबाट भएको वास्तविक हानि, नोक्सानी वा करार गर्दाको अवस्थामा त्यस्तो हानि, नोक्सानी हुन सक्छ भनी करारका पक्षहरूलाई जानकारी भई निर्धारण गरेको हानि, नोक्सानी त्यसरी करार उल्लङ्घन गर्ने पक्षबाट भरार्ई लिन पाउनेछ ।

(२) करार उल्लङ्घन भएमा क्षतिपूर्ति वापत कुनै निश्चित रकम पाउने भनी करार हुँदाका बखत पूर्वानुमान गरी करार भएकोमा सोही बमोजिमको रकममा ननाध्ने गरी मर्का पर्ने पक्षले अर्को पक्षबाट मनासिब रकम उपदफा (१) बमोजिम भरार्ई लिन पाउनेछ ।

(३) उपदफा (२) बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था करारमा नभएकोमा त्यस्तो क्षतिपूर्ति दाबी गर्ने पक्षले करारको उल्लङ्घनबाट प्रत्यक्ष र वास्तविक रूपमा भएको हानि, नोक्सानी वा करार उल्लङ्घन वा क्षतिपूर्ति वापत मनासिब रकम भरार्ई लिन पाउनेछ ।
तर अप्रत्यक्ष वा काल्पनिक हानि, नोक्सानी भराई लिन पाउने छैन ।

(४) कुनै निश्चित समयावधिभित्र कुनै काम पूरा गर्ने गरी करार भएकोमा त्यस्तो अवधिभित्र त्यस्तो काम पूरा हुन नसकेकोमा उपदफा (२) बमोजिमको क्षतिपूर्ति पाउने अवस्था रहेछ भने त्यस्तो क्षतिपूर्ति तिर्ने पक्षले जति रकम क्षतिपूर्ति तिरेको छ सोही अनुपातमा करार पूरा गर्ने समयावधि बढाउन माग गर्न सक्नेछ ।

(५) यस दफा बमोजिम क्षतिपूर्ति रकम चुक्ता भएको कारणले मात्र करार उल्लङ्घन भएको सम्बन्धमा अन्य कानूनी उपचार प्राप्त गर्ने पक्षकोे हकमा प्रतिकूल असर परेको मानिने छैन ।

५३८. करार रद्द वा बदर भएमा त्यसको परिणामः (१) करार गर्ने कुनै पक्षले अर्को पक्षबाट करार बमोजिम केही नगद, जिन्सी वा सेवाका अन्य कुनै लाभ लिई सकेपछि वा करार बमोजिमका दायित्व आंशिक रूपमा पूरा गरी सकेपछि पक्षहरूको सहमतिबाट करार रद्द भई यस भाग वा अन्य कानून बमोजिम करार परिपालना गर्नु नपर्ने भएमा, कानून बमोजिम करार बदर भएमा वा बदर घोषित भएमा वा यस भाग बमोजिम करार अमान्य वा रद्द भएमा त्यसरी दिएको नगद, जिन्सी वा सेवा करार बहाल रहेको दिनसम्मको हिसाब मिलान गरी नगद, जिन्सी वा सेवा फिर्ता गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम नगद वा जिन्सी बाहेक अन्य कुनै सेवा वा लाभ दिएको भए त्यस्तो सेवा वा लाभ दिए वापत मनासिब रकम त्यस्तो सेवा वा लाभ लिने पक्षले अर्को पक्षलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको नगद, जिन्सी फिर्ता नगरेको वा रकम नदिएको कारणबाट कानूनी कारबाही अवलम्बन गर्नु पर्ने भएमा सो वापत लागेको मनासिब खर्च समेत भरार्ई लिन सकिनेछ ।

५३९. करारको परिपालनाको अनुपातमा रकम भराउनेः कुनै पक्षले करार उल्लङ्घन गरेको वा अन्य कुनै कारणबाट करार अन्त्य भएकोमा मर्का पर्ने पक्षले आफूले गरेको काम वा करारको परिपालना गरेको अनुपातमा अर्को पक्षसँग करार बमोजिमको रकम दाबी गर्न सक्नेछ ।

५४०. करारको यथावत परिपालनाः (१) करार उल्लङ्घन भएको कारणबाट मर्का पर्ने पक्षलाई पुग्न गएको वास्तविक हानि, नोक्सानी वापत नगद क्षतिपूर्ति मनासिब र पर्याप्त नहुने भएमा त्यसरी मर्का पर्न गएको पक्षले क्षतिपूर्तिको सट्टा करारको यथावत परिपालनाको दाबी गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा करारको यथावत परिपालनाको दाबी गर्न सकिने छैनः–
(क) करार उल्लङ्घन वापतको क्षतिपूर्ति नगद नै पर्याप्त हुने भएमा,
(ख) करार बमोजिमको काम भए नभएको कुरा अदालतले सुपरीवेक्षण गर्न नसक्ने भएमा,
(ग) व्यक्तिगत दक्षता, सीप वा ज्ञानको सेवा उपलब्ध गराउने गरी करार गरिएको भएमा,
(घ) यथावत् रूपमा करार पूरा गर्न सक्ने अवस्था नभएमा,
(ङ) करार उल्लङ्घन गर्ने पक्षले नै यथावत रूपमा करारको परिपालना गराई पाउने दाबी लिएकोमा ।

५४१. अदालतले आदेश दिन सक्नेः (१) करारको कुनै पक्षले त्यस्तो करारको प्रकृति अनुसार गर्न नहुने कुनै काम कारबाही वा व्यवहार गर्न लागेको कारणबाट करारको परिपालना सम्भव नहुने भएमा त्यस्तो काम कारबाही वा व्यवहारबाट मर्का पर्ने पक्षले त्यस्तो काम कारबाही वा व्यवहार रोकी पाउन अदालतमा उजुरी दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम उजुरी परेमा त्यस्तो करारबाट उत्पन्न विवादको समाधान त्यस्तो करार वा कानून बमोजिम हुने गरी कुनै पक्षलाई निजको कुनै खास काम कारबाही वा व्यवहार तत्काल रोक्ने गरी अदालतले उपयुक्त आदेश जारी गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम आदेश जारी भएकोमा त्यस्तो पक्षले त्यसरी दिइएको आदेशको पालना नगरेको कारणबाट हुन गएको थप हानि, नोक्सानी समेत मर्का पर्ने पक्षले भरार्ई लिन पाउनेछ ।

५४२. क्षतिपूर्ति मौद्रिक मूल्यमा यकिन गर्नु पर्नेः करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस परिच्छेद बमोजिमको हानि, नोक्सानी वापतको क्षतिपूर्तिको मूल्याङ्कन गर्दा मौद्रिक मूल्यमा यकिन गरिनेछ ।
तर दफा ५४० बमोजिमको उपचारको हकमा सोही बमोजिम हुनेछ ।

५४३. अदालतले विचार गर्न सक्नेः कुनै करार उल्लङ्घन गरेको कारणबाट उत्पन्न क्षतिपूर्ति निर्धारण गर्दा अदालतले त्यस्तो करार पक्षबाट नियतवश उल्लङ्घन भएको हो वा लापरबाहीको कारणले पालन हुन नसकेको हो त्यस्तो कुरा र करार उल्लङ्घन नभएको भए करार उल्लङ्घन नगर्ने (निर्दोष) पक्षले कति रकम वा लाभ प्राप्त गर्न सक्ने थियो त्यस्तो कुरा समेत विचार गर्नु पर्नेछ ।

५४४. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।