परिच्छेद–६ वस्तु बिक्री करार सम्बन्धी व्यवस्था

परिच्छेद–६ वस्तु बिक्री करार सम्बन्धी व्यवस्था

५४५. वस्तु बिक्री सम्बन्धी करार भएको मानिनेः (१) कुनै बिक्रेताले मूल्य लिई कुनै वस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मञ्जुर गरेकोमा वस्तु बिक्री सम्बन्धी करार भएको मानिनेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले तत्काल प्रचलनमा रहेका मुद्रा, धितोपत्र वा उजुरी कार्यान्वयन गर्न सकिने दाबी (एक्सनेवल क्लेम) बाहेकका खरिद बिक्री हुन सक्ने कुनै पनि चल सम्पत्ति सम्झनु पर्छ ।

(२) वस्तु बिक्री सम्बन्धी करार शर्त बिना वा शर्त सहितको हुन सक्नेछ ।

(३) बिक्रेताको स्वामित्व वा भोगचलनमा तत्काल कायम रहेका वस्तु वा निजले भविष्यमा उत्पादन गर्ने वा प्राप्त गर्ने वस्तु बिक्री गर्ने गरी करार गर्न सकिनेछ ।

५४६. वस्तु बिक्री सम्बन्धी करार बदर हुनेः कुनै खास किसिमको वस्तु बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो करार हुँदाका बखत वा सोभन्दा अगाडि नै त्यस्तो वस्तुको हानि, नोक्सानी भइसकेको रहेछ र सो कुरा विक्रेतालाई करार गर्दाका बखत थाहा रहेनछ भने त्यस्तो करार बदर हुनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “खास किसिमको वस्तु” भन्नाले करार गर्दाका बखत करारमा उल्लेख गरिएको खास किसिमको वस्तु सम्झनु पर्छ ।

५४७. वस्तुको मूल्य निर्धारण गर्नेः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक वस्तुको मूल्य करारका शर्तबाट करारमा मञ्जुर गरिएको तरिकाबाट वा पक्षहरू बीच हुने कारोबारको सिलसिलाबाट निर्धारण गरिनेछ ।

(२) वस्तुको मूल्य नाप, तौल अनुसार निर्धारण गरिएको भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो वस्तुको मूल्य खुद नाप तौलको आधारमा कायम हुनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम वस्तुको मूल्य निर्धारण हुन नसकेमा सम्बद्ध परिस्थितिलाई विचार गरी क्रेताले मनासिब मूल्य बिक्रेतालाई भुक्तानी गर्नु पर्नेछ ।

५४८. वस्तुको मूल्य चुक्ता गर्नु पर्नेः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको कुनै अवस्थामा देहाय बमोजिम वस्तुको मूल्य चुक्ता गर्नु पर्नेछः–
(क) क्रेताले आफूले खरिद गरेको वस्तुको मूल्य बिक्रेतालाई वस्तु खरिद गर्दाका बखत,
(ख) वस्तु हस्तान्तरण गर्दाका बखत ।

(२) उपदफा (१) बमोजिम वस्तुको मूल्य भुक्तानी गर्दा नगदमा गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “नगद” भन्नाले बैङ्क मार्फत् भुक्तानी हुने चेक, यात्रु चेक, प्रतिज्ञापत्र (प्रमिसरी नोट), विनिमयपत्र (बिल अफ एक्स्चेन्ज) प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैङ्क ड्राफ्ट, क्रेडिट कार्ड, टेलिग्राफिक ट्रान्सफर समेत सम्झनु पर्छ ।

५४९. वस्तुको विवरणः (१) बिक्री गरिने कुनै वस्तुको नाम, ब्राण्ड, टेड्रमार्क वा स्पेसिफिकेसनको विवरण करारमा उल्लेख भएकोमा सोही नाम, ब्राण्ड, टेड्रमार्क वा स्पेसिफिकेसन बमोजिमको वस्तु बिक्री गर्ने गरी करार भएको मानिनेछ ।

(२) बिक्री गरिने कुनै वस्तुको नाम, ब्राण्ड, टेड्रमार्क वा स्पेसिफिकेसनको विवरण र नमूना (स्याम्पल) समेत उल्लेख भएकोमा त्यस्तो वस्तुको थोक परिमाण नमूना बमोजिम मात्र नभई नाम, ब्राण्ड, टेड्रमार्क वा स्पेसिफिकेसनको विवरण बमोजिम नै हुनु पर्नेछ ।

५५०. बिक्री गरिने वस्तुमा हक भएको मानिनेः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री गरिएको वस्तु भए त्यस्तो वस्तुमा वा भविष्यमा बिक्री गर्न मञ्जुर गरिएको वस्तु भए बिक्री गरिने वस्तुमा बिक्रेताको हक रहेको वा हक रहने र त्यस्तो वस्तु कसैको कब्जा, नियन्त्रण वा भोगचलनबाट मुक्त रहेको वा रहने कुरा मानिनेछ ।

(२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री गरिएको वा बिक्री हुने वस्तुमा बिक्रेताको बिक्री गर्ने अधिकार रहेको मानिनेछ ।

५५१. वस्तु गुणस्तरयुक्त रहेको मानिनेः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु सन्तोषप्रद गुणस्तरयुक्त (सेटिस्फेक्टोरी क्वालिटी) भएको मानिनेछ ।

(२) कुनै खास प्रयोजनका लागि बिक्री भएको वा बिक्री हुने कुनै खास वस्तु सो प्रयोजनको लागि उपयुक्त भएमा त्यसरी बिक्री भएको वा हुने वस्तु सन्तोषप्रद गुणस्तरयुक्त रहेको मानिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा नै त्यस्तो वस्तुको खोट उल्लेख भएकोमा वा क्रेतालाई त्यस्तो करार हुनु अगावै वा वस्तु हेर्दा नै सो कुरा थाहा भई सकेकोमा त्यस्ता वस्तु सन्तोषप्रद गुणस्तरयुक्त नभएको वा नरहेको मानिने छैन ।

(४) कुनै खास वस्तुको गुणस्तर करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा त्यस्तो वस्तु प्रचलित स्तर (स्टान्डर्ड) अनुसारको गुणस्तरयुक्त हुनु पर्नेछ ।

(५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु खास गुणस्तरयुक्त छ भनी बिक्रेताले वारेण्टी दिएको मानिने छैन ।

५५२. फरक गुणस्तरयुक्त वस्तु स्वीकार वा इन्कार गर्न सक्नेः (१) करारमा उल्लेख गरिएको भन्दा फरक गुणस्तरयुक्त वस्तु क्रेताले बिक्रेतालाई बुझाउन ल्याएमा क्रेताले त्यस्ता सम्पूर्ण वस्तु स्वीकार गरी बुझिलिने, सम्पूर्ण वस्तु बुझिलिन इन्कार गर्ने वा त्यसको कुनै अंश स्वीकार गरी बाँकी वस्तु इन्कार गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै वस्तु सम्पूर्ण रूपमा वा त्यसको कुनै अंश इन्कार गरेकोमा क्रेताले त्यस्तो वस्तुको सट्टामा अर्को वस्तु बुझाउन वा त्यस्तो वस्तुको गुणस्तर सुधार गर्न सकिने रहेछ भने गुणस्तर सुधार गर्न बिक्रेतालाई सूचना दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम सूचना दिइएकोमा बिक्रेताले क्रेताले दिएको सूचना बमोजिम वा आपसमा निर्धारण गरिएको सहमति बमोजिम त्यस्ता वस्तुको सट्टामा अर्को वस्तु बुझाउनु वा त्यसको गुणस्तर सुधार गर्नु पर्नेछ ।

५५३. नमूना हेरी बिक्री हुने करार मानिनेः (१) करारमा प्रत्यक्ष वा परोक्ष रूपमा नमूना हेरी वस्तु बिक्री गर्ने व्यवस्था रहेकोमा त्यस्तो वस्तु नमूना हेरी बिक्री हुने गरी करार भएको मानिनेछ ।

(२) नमूना हेरी वस्तु बिक्री गर्ने गरी करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो करारमा देहायका शर्तहरू रहेको मानिनेछ ः–
(क) थोक वस्तुको गुणस्तर नमूनाको गुणस्तर अनुसार भएको,
(ख) क्रेतालाई वस्तुको थोक परिमाणको गुणस्तर नमूनासँग भिडाउने मनासिब अवसर प्राप्त भएको,
(ग) बिक्री भएको वा हुने वस्तु कुनै पनि खोटबाट मुक्त रहेको र नमूनासँग भिडाउँदाका बखत हेर्नासाथ त्यस्तो वस्तु सन्तोषप्रद गुणस्तरयुक्त भएको ।

५५४. वस्तुको स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्थाः (१) कुनै खास वा निश्चित वस्तु बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो वस्तुको हस्तान्तरण करारमा उल्लेख भएकोमा सोही बमोजिम र करारमा उल्लेख नभएकोमा करारका शर्त, पक्षहरूको आचरण तथा सम्बद्ध परिस्थितिबाट पक्षहरूको मनसाय अभिव्यक्त भए बमोजिम हस्तान्तरण हुनेछ ।

(२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै खास वस्तु तत्काल बुझाउन सकिने अवस्थामा करार भएकोमा करार भएपछि वा वस्तुको मूल्य तिरेपछि वस्तु हस्तान्तरण गर्ने पक्षहरूको मनसाय रहेको मानिनेछ ।

(३) कुनै खास वस्तु तत्काल बुझाउन सकिने अवस्थामा करार भएकोमा त्यस्तो वस्तुको मूल्य निर्धारण गर्न क्रेताले नाप, तौल, जाँच वा अन्य कुनै कार्य सम्पादन गर्नु पर्ने रहेछ भने त्यस्तो कार्य सम्पादन गरी मनासिब समयभित्र बिक्रेतालाई त्यसको जानकारी नदिएसम्म वस्तु हस्तान्तरण हुने छैन ।

(४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा हुने वस्तु जुन स्थानमा रहेको छ सोही स्थानमा वस्तु हस्तान्तरण हुने गरी करार भएको मानिनेछ ।

(५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक क्रेतालाई वस्तु हस्तान्तरण भएकै बखत त्यस्तो वस्तुमा क्रेताको हक वा स्वामित्व कायम भएको मानिनेछ ।

५५५. जोखिम व्यहोर्नु पर्नेः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक क्रेतालाई वस्तु हस्तान्तरण नभएसम्म त्यस्तो वस्तुको हानि, नोक्सानीको जोखिम बिक्रेताले व्यहोर्नु पर्नेछ ।

(२) बिक्रेता वा क्रेताको कारणले वस्तु हस्तान्तरण हुन ढिलाई भएकोमा जसको कारणले ढिलाई भएको हो सोही व्यक्तिले वस्तुमा उपदफा (१) बमोजिमको हानि, नोक्सानीको जोखिम व्यहोर्नु पर्नेछ ।

(३) खरिद भएको स्थानबाट क्रेताले तोकेको स्थानसम्म वस्तु पुर्याउन मञ्जुर गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो वस्तुको हानि, नोक्सानीको जोखिम बिक्रेताले व्यहोर्नु पर्नेछ ।

५५६. वस्तु यकीन गर्ने क्रेताको अधिकारः बिक्री भएको वस्तु क्रेता समक्ष पु¥याइएकोमा क्रेताले त्यस्तो वस्तु करार बमोजिम भए वा नभएको जाँची यकीन गर्न मनासिब अवसर पाउनेछ र क्रेताले त्यसरी यकिन नगरेसम्म क्रेताले वस्तु बुझिलिएको मानिने छैन ।

५५७. वस्तु बुझिलिएको मानिनेः देहायको कुनै अवस्थामा क्रेताले वस्तु बुझिलिएको मानिनेछः–
(क) क्रेता वा निजको प्रतिनिधिले वस्तु बुझिलिएमा,
(ख) वस्तु बुझिलिएको रसिद वा भरपाई गरिदिएमा,
(ग) दफा ५५६ बमोजिम वस्तु यकीन गरी करार बमोजिम भएको ठहर गरी क्रेताले भण्डारण गरेमा,
(घ) कुनै वस्तु क्रेताकहाँ पुगेकोमा मनासिब समयभित्र निजले त्यस्तो वस्तु बुझिलिन इन्कार गरेको जानकारी बिक्रेतालाई नपठाई निजकहाँ त्यस्तो वस्तु रहेमा,
(ङ) त्यस्तो वस्तुमा निजको स्वामित्व र नियन्त्रण रहेको पुष्टि गर्ने कुनै काम निजबाट भएमा ।

५५८. वस्तु हस्तान्तरण गर्नु पर्ने समयः (१) करारमा कुनै वस्तु कुनै खास समयमा वा कुनै खास अवधिभित्र हस्तान्तरण गरिसक्नु पर्नेछ भनी उल्लेख भएकोमा बिक्रेताले क्रेतालाई त्यस्तो वस्तु सोही समय वा अवधिभित्रमा हस्तान्तरण गरिसक्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिक्रेताले करारमा तोकिएको समय वा अवधिभन्दा अगावै वा त्यस्तो समय वा अवधि नाघिसकेपछि हस्तान्तरण गरेको वस्तु क्रेताले बुझिलिएमा बिक्रेताले वस्तु हस्तान्तरण गरेको मानिनेछ ।

५५९. बिक्री गरिएको वस्तु सम्बन्धी कागजात बुझाउनु पर्नेः करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै वस्तु बिक्री गर्दा त्यस वस्तुको स्वामित्वसँग सम्बन्धित वा त्यस्तो वस्तुको उपयोगमा आधारभूत रूपमा आवश्यक पर्ने कागजात समेत नबुझाई वस्तु बुझाएमा स्वामित्व हस्तान्तरण भएको मानिने छैन ।

५६०. करार गरिएको भन्दा फरक परिमाणमा वस्तु बुझाउन नहुनेः (१) बिक्रेताले करारमा उल्लेख गरिएकोभन्दा कम परिमाणमा वस्तु बुझाउन ल्याएमा क्रेताले त्यस्तो वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ ।
तर क्रेताले त्यस्तो परिमाणमा पनि वस्तु बुझिलिएमा करारमा उल्लिखित दरमा त्यस्तो परिमाणको मूल्य चुक्ता गर्नु पर्नेछ ।

(२) विक्रेताले करारमा उल्लेख गरिएकोभन्दा बढी परिमाणमा वस्तु बुझाउन ल्याएमा क्रेताले करारमा उल्लेख भएको परिमाणको वस्तु बुझिलिई बाँकी वस्तु वा पूरै परिमाणका वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ ।
तर क्रेताले यसरी बुझाउन ल्याएको पूरै वस्तु बुझिलिएमा करारमा उल्लिखित दरमा पूरै परिमाणको मूल्य चुक्ता गर्नु पर्नेछ ।

(३) बिक्रेताले करारमा उल्लिखित वस्तुको विवरणभन्दा फरक वस्तु मिसाई वस्तु बुझाउन ल्याएमा क्रेताले करारमा उल्लेख भएको वस्तु बुझिलिई बाँकी वस्तु वा पूरै वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ ।

(४) करारमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक पटकपटक गरी वस्तु बुझिलिन क्रेता बाध्य हुने छैन ।

(५) बिक्रेताले बुझाउन ल्याएको वस्तु क्रेताले बुझिलिन इन्कार गरेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक इन्कार गरिएको वस्तु फिर्ता गर्न क्रेता बाध्य हुने छैन ।
तर क्रेताले वस्तु बुझिलिन इन्कार गरेको कारण सहितको सूचना छिटो साधनद्वारा बिक्रेतालाई दिनु पर्नेछ ।

५६१. क्षतिपूर्ति सम्बन्धी विशेष व्यवस्थाः यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद अन्तर्गतका करारको क्षतिपूर्तिको सम्बन्धमा देहाय बमोजिम हुनेछः–
(क) वस्तु बिक्री सम्बन्धी करार भइसकेपछि क्रेताले वस्तु स्वीकार नगरेमा वा स्वीकार गर्न इन्कार गरेमा वा वस्तुको मूल्य तिर्न इन्कार गरेमा करारको अधीनमा रही विक्रेताले क्रेता विरुद्ध यसरी वस्तु स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरे वापतको क्षतिपूर्ति दाबी गर्न सक्ने,
(ख) खण्ड (क) बमोजिमको क्षतिपूर्तिको निर्धारण गर्दा क्रेताले स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरेको वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्य बीच भएको अन्तरको आधारमा निर्धारण हुने,
(ग) वस्तु बिक्री सम्बन्धी करार भइसकेपछि बिक्रेताले करार बमोजिम क्रेतालाई वस्तु नबुझाएमा वा बुझाउन इन्कार गरेमा वस्तु नबुझाए वापत क्रेताले विक्रेता विरुद्ध क्षतिपूर्ति दाबी गर्न सक्ने,
(घ) खण्ड (ग) बमोजिमको क्षतिपूर्तिको निर्धारण गर्दा बिक्रेताले क्रेतालाई नबुझाएको वा बुझाउन इन्कार गरेको वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्यबीच भएको अन्तरको आधारमा हुने ।

५६२. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।