भाग-२ परिच्छेद -१ भाषा सम्बन्धी

भाग-२ परिच्छेद -१ भाषा सम्बन्धी

१.१ भाषा

भाषा विचार प्रकट गर्ने उपयुक्त माध्यम हो । भाषाका माध्यमबाट नै मानिसले आफ्नो विचार अरू मानिस समक्ष व्यक्त गर्न र अरूले प्रकट गरेको विचार आफूले ग्रहण गर्न सक्दछ । भाषाको प्रयोग गर्दा अरूले स्पष्ट रूपमा बुझ्न सक्ने गरी गर्नुपर्छ । कानून लिखित रूपमा मात्र व्यक्त गरिन्छ । कानूनको तर्जुमा गर्दा भाषाको प्रयोगमा विचार पु¥याउन आवश्यक छ । कानूनमा प्रयोग भएको भाषा कानूनका व्याख्याकर्ता, पालनकर्ता र प्रयोगकर्ता सबैले स्पष्ट रूपमा बुझ्ने किसिमको हुनुपर्छ । अस्पष्ट, क्लिष्ट वा दोहोरो अर्थ जनाउने भाषा प्रयोग गर्नु हुँदैन ।

१.२ कानूनी मसौदाको भाषा

नेपालमा हाल देवनागरी लिपि प्रयोग हुने नेपाली भाषालाई सरकारी कामकाजको भाषा मानिएको छ । तसर्थ कानून तर्जुमा गर्दा नेपाली भाषामा गर्नुपर्छ ।

१.३ स्वर, व्यञ्जन र अङ्कः

कानून तर्जुमा गर्दा देवनागरी लिपिका स्वर, व्यञ्जन र अङ्कको प्रयोग गर्नुपर्ने हुन्छ । देवनागरी लिपिका स्वर, व्यञ्जन र अङ्क परिशिष्ट – १ मा दिइएको छ ।

१.४ लक्षित वर्ग र भाषा

कानून जनताले जनप्रतिनिधिमार्फत जनताको लागि बनाउने हो । तसर्थ कानूनको लक्षित वर्गप्रति तर्जुमाकार सदैव संवेदनशील हुनुपर्छ । लक्षित वर्गले बुझ्ने भाषा नै कानून तर्जुमाको सर्वोत्तम भाषा हो । कुनै कानून प्राविधिक क्षेत्रसँग सम्बन्धित हुन्छ । त्यस्तोमा प्राविधिक शब्द प्रयोग गर्नुपर्ने हुन्छ तथापि कानून क्लिष्टता र प्राविधिकताबाट जेलिन जकडिन हुँदैन । भाषाकै कारणले कानून आम मानिससम्म पुग्न सकेन भने कानूनको मर्म र उद्देश्य नै पराजित हुन्छ । तसर्थ सामान्य विषयमा अति प्राविधिकता र प्राविधिक विषयमा अति सामान्यीकरण गर्नु हुँदैन ।

१.५ शब्दहरूको खोजी
कानून तर्जुमाकार शब्दको खोजीकर्ता पनि हो । तर्जुमाकारले कानून तर्जुमाका लागि नेपाली भाषाका शब्दकोषहरूको संग्रह गर्नुपर्छ । नेपाली भाषामा खोजेको शब्द नपाइए अरू राष्ट्रिय भाषाका शब्दहरूलाई आधार बनाउन सकिन्छ । बोलिचालीको नेपाली भाषामा ठूलो शब्द भण्डार छ । आञ्चलिक रूपमा पनि भिन्नाभिन्नै शब्दहरू प्रयोग गरिन्छन् । तसर्थ तर्जुमाकारले नेपाल भित्र विभिन्न नेपालीले बोल्ने भाषाका शब्दलाई खेलाउन सक्नुपर्छ ।

१.६ विदेशी भाषाको सहयोग
कानून तर्जुमाकारले विदेशी भाषाका शब्द प्रयोग नगर्ने प्रतिज्ञा गर्न सक्दैन । कतिपय शब्दहरूले नेपाली भाषामा तत्सम शब्दको रूपमा ठाउँ बनाइ सकेका छन् । यस्तै कैयौं शब्दहरूले तद्भव रूपमा स्थान बनाएका छन् । ती शब्दका वैकल्पिक नेपाली शब्द नहुन पनि सक्छन् । आम
मानिसको बोली व्यवहारमा आएका त्यस्ता आगन्तुक शब्दको प्रयोगलाई पूर्णतः नकार्न सम्भव हुँदैन । तर प्राथमिकता भने नेपाली भाषा र नेपाली जातिले बोल्ने भाषालाई नै दिनुपर्छ ।

१.७ शब्द चयन

१.७.१ विगतमा संस्कृत, अरबी, फारसी, उर्दु एवं हिन्दी शब्दहरूको प्रयोग अत्यधिक गरिन्थ्यो । अहिले पनि कतिपय ती शब्दहरूले निरन्तरता पाइरहेका छन् । अझ आजकल त अंग्रेजी शब्दहरूको प्रयोग बढी मात्रामा हुने गरेको छ । सम्भव भएसम्म नेपाली भाषाकै प्रयोग गर्नुपर्छ ।

१.७.२ कानून तर्जुमा गर्दा एउटै शब्दलाई विभिन्न रूपमा प्रयोग गर्ने गरिएको छ । जस्तैः वातिल – वातेल, तारिख – तारीख – तारेख, वारिस – वारेस, बेहोरा – व्यहोरा, मनासिव – मुनासिव आदि । यस्ता बहुरूपको प्रयोग गर्न हुँदैन । कानूनमा एउटै शब्द प्रयोग गर्दै जानुपर्छ ।

१.७.३ कानून तर्जुमा गर्दा एउटै अर्थ जनाउन एकभन्दा बढी शब्दको प्रयोग हुने गरेकोछ । कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले कसूर शब्दको परिभाषा गरेको छ । व्यवहारमा ‘कसूर’ जनाउन खत, वात, अपराध र तक्सिर जस्ता शब्दको प्रयोग कायमै देखिन्छ । एउटै र आधिकारिक शब्द प्रयोग गर्नुपर्छ ।

१.७.४ अझ पनि नेपाली कानूनमा मध्यकालीन भाषाको उच्चारण र रूपहरूको प्रयोग हुने गरेको छ । जस्तैः चढायाको आदि । प्रचलनमा नरहेका शब्दलाई समय सापेक्ष शब्दले विस्थापित गर्दै जानुपर्छ ।

१.७.५ कानून तर्जुमा गर्दा शब्दहरूको मानक रूपप्रति वेवास्ता गरिएको देखिन्छ । जस्तोः अन्तर्राष्ट्रिय, सुपरीवेक्षण, पुनरावलोकन, राजनैतिकआदि । कानूनमा मानक र शुद्ध शब्दको प्रयोग गर्दै जानुपर्छ ।

१.७.६ कानून तर्जुमा गर्दा लैङ्गिक तटस्थता प्रति ध्यान दिनुपर्छ ।ज्ञघघ

१.७.७ कानून तर्जुमा गर्दा अनावश्यक रूपमा शब्दहरू मिसमास गरी बनाउने प्रवृत्ति छ । जस्तोः करारीय, शहरोन्मुख आदि । यसरी मिसमास गरी आफूखुसी शब्द बनाउनु हुँदैन ।

१.७.८ कानून तर्जुमा गर्दा अनावश्यक रूपमा शब्दहरूको घुँइचो लगाउने प्रवृत्ति रहेको छ । लामो आयतनको सट्टा स–साना शब्दहरूको प्रयोग गर्ने गरेको देखिन्छ ।

१.७.९ विज्ञान प्रविधि लगायत नव विकसित क्षेत्रहरूमा प्रयोग हुने अन्य भाषाका शब्दहरूलाई विस्थापित गरी अनुवाद गर्न नेपाली भाषामा पर्याप्त शब्द नपाइन सक्छन् । यस्तो अवस्थामा आगन्तुक शब्दको प्रयोग गर्नुपर्ने वाध्यता रहन सक्छ ।

१.७.१० कानून तर्जुमा गर्दा मूल भाषाको एउटै शब्दलाई भिन्न भिन्न रूपमा अनुवाद गर्नु हुँदैन ।

१.७.११ मूल भाषामा शब्दले जुन अर्थ दिन्छ त्यो भन्दा भिन्न अर्थ दिने गरी अनुवाद गर्न हुँदैन । उदाहरणार्थ अंग्रेजी भाषाको ‘सेक्स वर्कर’ शब्दको अर्थ यौन व्यवसाय गर्ने भन्ने हो । तर नेपालीमा त्यसलाई यौनकर्मी भनी अनुवाद गरियो । यौनकर्मीको सामान्य अर्थ यौन कर्म गर्ने सबै व्यक्ति भन्ने हुन्छ ।

१.८ आगन्तुक शब्दको प्रयोग
१.८.१ अरू भाषामा रूढ भैसकेका शब्दले जुन अर्थ वा भाव वा विचार बोकेका हुन्छन् त्यसको विकल्प नेपाली भाषामा नहुने समस्या पनि हुनसक्छ । त्यस्तोमा अरू भाषाको कानूनमा रूढ भएका शब्दको प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । साथै अन्य भाषाका कतिपय शब्दले नेपाली जनमानसमा पहिलेदेखि नै ठाउँ बनाइसकेका हुन सक्छन् । ती शब्दको विकल्प प्रयोग नगरी अरू शब्दको प्रयोग गर्दा अनौठो वा नौलो लाग्न सक्छ । तसर्थ विगतदेखि नेपाली जनमानसमा रूढ भैसकेका शब्दलाई कानून तर्जुमा गर्दा पूर्णतः इन्कार गर्न नसकिने हुन सक्छ ।

१.८.२ अब राष्ट्रिय कानूनले पनि अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गर्दैछन् । यस्तै कतिपय कानून विदेशी लक्षित पनि हुन हुन्छन् । यस्तै कतिपय अवस्थामा अन्तर्राष्ट्रिय कानूनको आधारमा वा तिनको अध्ययन गरी नेपालमा कानून तर्जुमा गर्नुपर्ने हुन्छ ।

१.८.३ नेपाली शब्द मात्रले अर्थ स्पष्ट नहुने देखिएमा प्रयोग भएको नेपाली शब्द पछि अंग्रेजी वा अन्य भाषाको शब्दलाई देवनागरी लिपिमै लेख्ने अभ्यास रहेको छ । सैनिक ऐन, २०६३ मा यसको प्रशस्त प्रयोग गरिएको छ । जस्तैः बल (फोर्स), प्रधान सेनापति (चिफ अफ द आर्मी स्टाफ), जगेडा बल (रिजर्भ फोर्स), पदिकज्ञघद्ध (जुनियर कमाण्डिङ अफिसर), विल्लादार (नन् कमाण्डिङ अफिसर), म्युटिनी (सैनिक विद्रोह) आदि ।

१.८.४ कानूनको अनभिज्ञता क्षम्य हुँदैन । आम मानिसले त्यही भाषामा लेखिएको कानून राम्ररी बुझ्दछन् जुन भाषा उनीहरूले बोल्दछन्, लेख्दछन् । कानूनसम्म सहज पहुँचका लागि पनि आगन्तुक भन्दा नेपाली भाषाका शब्दहरू कै चयनका लागि पर्याप्त प्रयास हुनुपर्छ । यसका लागि तर्जुमाकारले नेपाली भाषाका शब्दको खोजी र अनुसन्धान गर्नुपर्छ ।

१.८.५ नेपाली कानूनमा प्रशस्त अंग्रेजी शब्दहरू प्रयोग भएका छन्, तिनलाई नेपालीमा रूपान्तरण गर्न सकिन्छ ।

१.९ वाक्य संरचना र शैली
१.९.१ नेपालमा कानून तर्जुमा गर्दा वाक्य संरचनामा पनि समस्या छ । हालसम्मको अभ्यास हेर्दा कानूनी नेपाली भाषाका वाक्यहरू संयुक्त, जटिल (मिश्र), मिश्रित धेरै छन् । साना र सरल वाक्य गठन गर्नुपर्छ । एउटा वाक्यमा एउटा विचार व्यक्त गर्नुपर्छ ।

१.९.२ कानूनी नेपाली भाषाका वाक्यहरूमा ‘भएबाट’, ‘भएमा’, ‘हुनाले’, ‘गर्नाले’ र ‘भएकाले’ जस्ता कारणबोधक शब्दहरू अत्यधिक प्रयोग गरी वाक्यलाई जटिल बनाउनु हुँदैन ।

१.९.३ कानून तर्जुमा गर्दा ‘र’, ‘तथा’, ‘वा’, ‘तर’, ‘तथापि’, ‘तापनि’, ‘इत्यादि’ संयोजक एवं अल्पविराम र अर्धविरामचिह्न प्रयोग गरी लामालामा वाक्य गठन गर्नु हुँदैन ।

१.९.४ कानून तर्जुमा गर्दा वाक्यहरूको वाक्य बनाउने, एउटा मुख्य वाक्य र अनेक आश्रित उपवाक्यहरू समावेस भएको वाक्य गठन गर्ने प्रवृत्तिमा सुधार ल्याउनुपर्छ ।

१.९.५ वाक्य गठन गर्दा ‘कर्ता’ को प्रयोग बीचबीचमा गर्ने वा कर्ताको प्रयोग नगर्ने समस्या पनि देखिन्छ । कर्तालाई अगाडि राखेमा दायित्व पनि प्रस्ट हुन्छ र वाक्य पनि बुझ्न सरल हुन्छ ।

१.९.६ अरूले नबुझ्ने गरी लेख्नु नै स्तरीयता, क्षमता र दक्षता हो भन्ने भ्रमबाट मुक्त रहन जरूरी छ ।

१.९.७ कानून तर्जुमा गर्दा धेरै अर्थ लाग्ने शब्द र वाक्यको प्रयोग गर्नु हुँदैन ।

१.९.८ कानून तर्जुमामा अतिव्यप्तिको समस्या छ । मुलुकी ऐन कुटपीटको महलको ९ नं. मा हतियारहरूको लामो सूची पछि यस्तै किसिमको गैह्र जोखिमी हतियार भनीज्ञघछ उल्लेख छ । यस्तै हतियारको प्रयोग प्रक्रियामा पनि काटी हानी घोची जस्ता शब्दको प्रयोग छ । यो अति व्यप्तिको सट्टा “कुनै जोखिमी हतियारले घाउ पारेमा” भनी लेखेमा पनि कानूनको उद्देश्य पूरा हुन्छ ।

१.९.९ कानून तर्जुमामा अव्याप्ति वा शब्द प्रयोगमा कन्जुस्याईको पनि समस्या छ । आवश्यक पर्ने शब्द प्रयोग नगरेमा विचारलाई अस्पष्ट रअनिश्चित बनाउछ । उदाहरणका लागि – “सहिद गंगालाल राष्ट्यि हृदय केन्द्र ऐन, २०५७’ को सट्टा “सहिद गंगालाल राष्ट्यि हृदय उपचार केन्द्र ऐन, २०५७” लेखेको भए अस्पतालको स्थापनाको उद्देश्य अझ स्पष्ट हुन्थ्यो ।

१.९.१० अमूर्त र अस्पष्ट शब्द वा वाक्यको प्रयोग गर्नु हुँदैन । अमूर्तता र अस्पष्टताले कानूनको लक्ष्यलाई परास्त गर्दछ । तर्जुमाको त्रुटिले मुद्दाको संख्या बढाउने खतरा रहन्छ । खासगरी कानूनमा अश्लील र अनैतिक शब्दको प्रयोग गर्नु हुँदैन । साथै आत्मगत शब्द र विशेषणको प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ ।

१.१० व्याकरण सम्बन्धी समस्या

१.१०.१ कानूनको अध्ययन गर्दा पढेको भाषाको आधारमा नै शुद्ध कानून तर्जुमा गर्नुपर्ने वाध्यता छ ।

१.१०.२ कानून तर्जुमाकारलाई भाषा सम्बन्धी खास तालीम दिई अध्यावधिक गर्ने मौका दिनुपर्छ ।

१.१०.३ कानूनी नेपाली भाषाबारे त विश्वविद्यालयमा पनि पढाइ हुँदैन । तालीममा पनि कानूनी नेपाली भाषाले महत्व पाउन सकेको छैन । तसर्थ कानूनी नेपाली भाषाबारे अध्ययन र तालीमको व्यवस्था गर्नुपर्छ ।

१.१०.४ तर्जुमा भएको मसौदालाई भाषिक शुद्धताका लागि व्याकरण जान्नेबाट जाँच गराउने. वा उनीहरूलाई मसौदा तर्जुमामा संलग्न गराउने चलन छैन । कानून तर्जुमामा भाषाविद्को सहयोग लिनुपर्छ ।

१.१०.५ कानूनी नेपाली भाषाको कुनै आधिकारिक प्रकाशन नहुँदा आधिकारिक प्रकाशन उपलब्ध गर्नुपर्छ ।

१.१०.६ आधिकारिक कानूनी शब्दकोष छैन । त्यस्तो शब्दकोषको निर्माण गर्नुपर्छ ।

१.१०.७ कानूनी नेपाली भाषाको सफ्टवेयर बनाई कम्प्युटरबाटै भाषा शुद्ध गर्ने प्रविधि विकास गर्नुपर्छ ।