परिच्छेद–९ धितो वा धरौट करार सम्बन्धी व्यवस्था

परिच्छेद–९ धितो वा धरौट करार सम्बन्धी व्यवस्था

५८५. धितो वा धरौट सम्बन्धी करार भएको मानिनेः (१) कुनै व्यक्तिले कसैलाई ऋण दिँदा त्यस्तो ऋणको सुरक्षण वापत धितो लिएकोमा धितो सम्बन्धी करार र कसैले कुनै व्यक्तिलाई कुनै काम गराउँदा त्यस्तो काम पूरा गर्ने जमानतका लागि कुनै वस्तु धरौट लिएकोमा धरौट सम्बन्धी करार भएको मानिनेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले कुनै सम्पत्ति तथा त्यस्तो सम्पत्तिमा रहेको हक वा हक कायम गर्ने कुनै लिखत समेत सम्झनु पर्छ ।

(२) कुनै ऋण दिँदा धितो लिइएको भए त्यस्तो ऋण र त्यसको ब्याज र कुनै काम पूरा गर्न धरौट लिएको भए त्यस्तो कामसँग सम्बन्धित अन्य खर्च तथा धितो वा धरौट दिइएको वस्तु हेरचाह गर्नमा लागेको खर्च समेतको लागि उपदफा (१) बमोजिम धितो वा धरौट सम्बन्धी करार गर्न सकिनेछ ।

५८६. धितो वा धरौट फिर्ता गर्नु पर्नेः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ऋणको लागि धितो राखिएको हो सो ऋण चुक्ता भएपछि वा जुन कामको लागि धरौट लिएको हो सो काम सम्पन्न भएपछि त्यस्तो धितो वा धरौट सो धितो वा धरौट राख्ने व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम राखिएको धितो वा धरौट खण्ड खण्डमा विभाजित भएको वा विभाजन गर्न सकिने रहेछ भने जुन खण्डको ऋण चुक्ता भएको वा काम सम्पन्न भएको हो सोही खण्डको हदसम्म त्यस्तो धितो वा धरौट फिर्ता हुन सक्नेछ ।

५८७. धितो वा धरौट लिने व्यक्तिको अधिकारः (१) कुनै वस्तु धितो राखी ऋण लिएकोमा त्यस्तो ऋण लिने व्यक्तिले निर्धारित समयभित्र ऋण वा त्यसको ब्याज भए त्यस्तो समेत चुक्ता नगरेमा धितो लिने व्यक्तिले कानून बमोजिम कारबाही चलाई ऋण वापत असूल उपर हुनु पर्ने रकम त्यसरी राखिएको धितो प्रचलित बजार मूल्य अनुसार बिक्री वा लिलाम गरी असूल उपर गर्ने वा त्यसरी बिक्री वा लिलाम हुन नसके कानूनको अधीनमा रही त्यस्तो धितो आफ्नो स्वामित्वमा सार्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम धितो रहेको वस्तु धितो लिने व्यक्तिले ऋणीबाट असूल उपर गर्नु पर्ने रकमभन्दा कम मूल्यमा बिक्री भएमा त्यसरी नपुग भएसम्मको रकम ऋणीको अरू सम्पत्तिबाट भराई लिन पाउनेछ र असूल उपर गर्नु पर्ने रकमभन्दा बढी मूल्यमा बिक्री भएमा बढी भए जति रकम ऋणीलाई फिर्ता गर्नु पर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितो रहेको वस्तु बिक्री भई नसकेको वा स्वामित्वमा सरी नसकेको अवस्थासम्म धितो दिने व्यक्तिले ऋण तथा त्यसको ब्याज र अन्य कुनै रकम तिर्नु पर्ने भए त्यस्तो रकम समेत चुक्ता गरी जहिलेसुकै पनि आफ्नो वस्तु फिर्ता लिन सक्नेछ ।
तर निर्धारित समयभित्र रकम नबुझाएको कारणबाट धितो रहेको वस्तुमा सृजना भएको थप दायित्व समेत धितो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

(४) कुनै वस्तु धरौट लिई कुनै काम गर्न जिम्मा दिएकोमा त्यस्तो काम निर्धारित समयमा पूरा नगरेमा वा नभएमा धरौटी रहेको वस्तुबाट त्यस्तो काम पूरा गराउन वा त्यस्तो काम पूरा गराउन लागेको खर्च असूल उपर गरी लिन सकिनेछ ।

(५) धरौट रहेको वस्तुबाट काम पूरा नहुने भएमा त्यस्तो नपुग भएसम्मको रकम धरौट दिने व्यक्तिको अरू सम्पत्तिबाट भरार्ई लिन सकिनेछ ।

५८८. आफ्नो हक नपुग्ने वस्तु धितो वा धरौट राखेमा हुने परिणामः (१) कसैले आफ्नो हक र स्वामित्वमा नभएको वा यस भाग बमोजिम बदर हुने करार अन्तर्गत प्राप्त गरेको वस्तु कसैलाई धितो वा धरौट दिई ऋण वा काम पाएको रहेछ र त्यस्तो कुरा धितो वा धरौट लिने व्यक्तिलाई थाहा रहेनछ भने त्यसरी धितो वा धरौट लिने व्यक्तिले धितो वा धरौट दिने व्यक्तिसँग त्यस बराबरको निजको हक लाग्ने वस्तु धितो वा धरौट माग गर्न सक्नेछ र त्यस बमोजिम माग गरेको धितो वा धरौट दिन नसकेमा धितो वा धरौट लिने व्यक्तिले त्यस्तो करार बदर गराउन सक्नेछ ।

(२) यस भाग बमोजिम बदर हुने करार अन्तर्गत प्राप्त भएको वस्तु धितो वा धरौट रहेकोमा त्यस्तो धितो वा धरौट दिनु अगावै त्यस्तो करार बदर भैसकेको रहेछ वा धितो वा धरौट दिइएको वस्तु धितो वा धरौट दिने व्यक्तिको होइन भन्ने कुरा धितो वा धरौट लिनेलाई थाहा भएको रहेछ भने त्यस्तो वस्तुमा धितो वा धरौट लिनेको कुनै अधिकार हुने छैन र निजले असूल गर्नु पर्ने रकम वा पूरा गराउनु पर्ने काम धितो वा धरौट दिने व्यक्तिको अन्य सम्पत्तिबाट भराई लिन वा असूल गराउन पाउनेछ ।

(३) धितो वा धरौट राखिएको वस्तुमा धितो वा धरौट दिने व्यक्तिको आंशिक वा सीमित हक वा स्वामित्व रहेछ भने त्यस्तो वस्तुमा धितो वा धरौट लिने व्यक्तिको पनि सोही हदसम्म मात्र हक अधिकार हुनेछ ।

५८९. साहूहरू समान स्थितिमा रहनेः (१) कसैले आप्mनो कुनै वस्तु धितो राखी एक पटक वा पटकपटक गरी एकभन्दा बढी साहूहरूबाट ऋृण लिएको रहेछ र त्यसरी धितो राखिएको वस्तुले सबै साहूहरूको ऋण चुक्ता गर्न नपुग्ने अवस्था रहेछ भने करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सुरक्षण वापत वस्तु धितो लिने सबै साहूहरू बाँकी रहेको ऋणमा समान (पारी पासु) स्थितिमा रहेको मानिनेछ र त्यस्तो वस्तु उपर सबै साहूहरूको समानुपातिक रूपमा दाबी लाग्नेछ ।

(२) उपदफा (१) बमोजिम धितो दिई सकिएको वस्तु उपर भविष्यमा अर्को साहूले प्राथमिकता पाउने गरी धितो राखी गरिएको करार बदर हुनेछ । साहूले त्यस्तो ऋणको सम्बन्धमा अरू साहूहरू छन् भन्ने कुरा थाहा हुँदाहुँदै त्यस्तो करार बदर हुनु अगाडि नै त्यस्तो धितोबाट ऋण असूल उपर गरी सकेको रहेछ भने त्यस्तो रकम अन्य साहूलाई फिर्ता गरी निजले धितो दिनेको अन्य जायजेथाबाट असूल उपर गर्नु पर्नेछ ।

५९०. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।