परिच्छेद–१० एजेन्सी करार सम्बन्धी व्यवस्था

परिच्छेद–१० एजेन्सी करार सम्बन्धी व्यवस्था

५९१. एजेन्सी सम्बन्धी करार भएको मानिनेः कुनै व्यक्तिले आफ्नो व्यक्तिगत दक्षतासँग सम्बन्धित विषयमा बाहेक आफ्नो तर्फबाट कुनै काम गर्न, प्रतिनिधि (एजेन्ट) भई व्यवसाय सञ्चालन गर्न, तेस्रो व्यक्तिसँग कुनै कारोबार गर्न, त्यस्तो व्यक्ति समक्ष आफ्नो प्रतिनिधित्व गर्न वा प्रतिनिधि नियुक्त गर्ने व्यक्ति (मुख्य व्यक्ति) र तेस्रो व्यक्ति बीच कुनै किसिमको कानूनी सम्बन्ध स्थापित गर्न कसैलाई प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी प्रतिनिधि नियुक्त गरेकोमा एजेन्सी सम्बन्धी करार भएको मानिनेछ ।

५९२. प्रतिनिधिबाट भए गरेको कारोबारको मान्यताः (१) कुनै व्यक्तिले आफूले गर्न सक्ने काम कानूनको अधीनमा रही प्रतिनिधि मार्फत गर्न वा गराउन सक्नेछ ।
तर कानून बमोजिम आफू नै उपस्थित भई गर्नु पर्ने काम प्रतिनिधि मार्फत गर्न सकिने छैन ।

(२) दफा ५९१ बमोजिम नियुक्त प्रतिनिधि मार्फत भए गरेको करार वा प्रतिनिधिबाट भए गरेको काम कारबाही सम्बन्धित व्यक्तिले गरेको मानिनेछ र त्यस्तो काम कारबाहीबाट उत्पन्न दायित्व मुख्य व्यक्तिले गरेको करार वा कार्य सरह मानी कार्यान्वयन हुनेछ ।

तर प्रतिनिधिले आफूलाई प्राप्त अधिकार नाघी कुनै काम गरेको रहेछ भने मुख्य व्यक्तिले स्वीकार गरे बाहेककोे काम प्रति मुख्य व्यक्ति जिम्मेवार हुने छैन ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकार उल्लङ्घन गरी भए गरेको काम कारबाहीमध्ये कुनै काम कारबाही अधिकार क्षेत्रभित्र र कुनै काम कारबाही अधिकार क्षेत्र बाहिरको भएमा अधिकार क्षेत्रभित्रको भाग छुट्याउन सकिने रहेछ भने त्यसरी अधिकार क्षेत्रभित्र पर्ने हदसम्मको काम कारबाही प्रति मुख्य व्यक्ति जिम्मेवार हुनेछ ।

५९३. उप–प्रतिनिधि नियुक्त गर्न सक्नेः (१) कुनै व्यापार, व्यवसाय वा कारोबारको प्रकृति अनुसार उपप्रतिनिधि नियुक्त गर्नु पर्ने वा एजेन्सी सम्बन्धी करारको व्यवस्था वा प्रचलन अनुसार उपप्रतिनिधि नियुक्त गर्न सकिने भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रतिनिधिले मुख्य व्यक्तिको स्वीकृति लिई उपप्रतिनिधि नियुक्त गर्न सक्नेछ ।

तर प्रतिनिधिले नै व्यक्तिगत रूपमा प्रतिनिधित्व गर्ने वा कार्य सम्पादन गर्ने गरी नियुक्त भएको प्रतिनिधिले उप–प्रतिनिधि नियुक्त गर्न सक्ने छैन ।

(२) उपदफा (१) बमोजिम उपप्रतिनिधि नियुक्त भएकोमा सो कुरा मुख्य व्यक्तिलाई जानकारी गराउनु पर्नेछ र यसरी नियुक्त उपप्रतिनिधिको हक तथा दायित्व मुख्य व्यक्तिले नियुक्त गरेको प्रतिनिधिलाई भए सरह हुनेछ ।

(३) मुख्य व्यक्तिको स्वीकृति बिना प्रतिनिधिले कुनै उपप्रतिनिधि नियुक्त गरेमा त्यस्तो उपप्रतिनिधिबाट भए गरेको काम कारबाहीका लागि मुख्य व्यक्ति जिम्मेवार हुने छैन ।

(४) उपदफा (३) बमोजिमको काम कारबाहीको लागि उपप्रतिनिधि नियुक्ति गर्ने प्रतिनिधि नै व्यक्तिगत रूपमा जवाफदेही हुनेछ ।

५९४. प्रतिनिधिले पालन गर्नु पर्ने कुराहरूः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रतिनिधिले देहायका कुराहरू पालना गर्नु पर्नेछः–
(क) एजेन्सी सम्बन्धी करारको शर्त तथा मुख्य व्यक्तिले दिएको निर्देशनको अधीनमा रही काम गर्नु पर्ने,
(ख) करारमा कुनै शर्त उल्लेख नभएकोमा वा मुख्य व्यक्तिले कुनै निर्देशन नदिएकोमा प्रतिनिधिले सुम्पिएको काम तथा व्यापार व्यवसायको प्रकृति र कारोबार गर्ने स्थानको कानून तथा प्रचलन अनुसार सो काम जसरी सम्पादन गर्नु पर्ने हो सोही बमोजिम असल नियतले पूर्ण लगनशीलताका साथ आवश्यक सीप तथा दक्षता बमोजिम सम्पादन गर्नु पर्ने,
तर कुनै विषयका प्रतिनिधिमा दक्षता वा क्षमता नरहेको कुरा मुख्य व्यक्तिलाई करार हुँदाका बखतमा नै जानकारी भएको रहेछ भने त्यस्तो प्रतिनिधिको अदक्षता वा असक्षमताबाट हुन गएको हानि, नोक्सानी वापत त्यस्तो प्रतिनिधि उत्तरदायी हुने छैन ।
(ग) प्रतिनिधिबाट हटाइएपछि निजले सोही विषयमा पूर्ववत् रूपमा प्रतिनिधिको हैसियतले कुनै काम गर्नु नहुने,
(घ) मुख्य व्यक्तिले मागेको बखत आफ्नो एजेन्सीको व्यवसाय सम्बन्धी हिसाब किताबको विवरण दिनु वा देखाउनु पर्ने,
(ङ) एजेन्सीको कामको सिलसिलामा कुनै बाधा अवरोध वा कठिनाइ परेमा यथासम्भव छिटो मुख्य व्यक्तिलाई खबर गरी आवश्यक निर्देशन लिनु पर्ने र यसरी दिएको निर्देशन बमोजिम भए गरेको कार्य वापत मुख्य व्यक्ति जिम्मेवार हुने ।

(२) उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिम गर्नु पर्ने कर्तव्य पूरा नगरेको कारणबाट मुख्य व्यक्तिलाई कुनै हानि, नोक्सानी भएमा त्यस्तो हानि, नोक्सानी प्रतिनिधिले व्यक्तिगत रूपमा व्यहोर्नु पर्नेछ ।

५९५. प्रतिनिधि उत्तरदायी हुनेः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कुनै अवस्थामा मुख्य व्यक्तिको तर्फबाट प्रतिनिधिले गरेको कारोबारको लागि निज व्यक्तिगत रूपमा जिम्मेवार हुनेछः–
(क) व्यक्तिगत रूपमा जिम्मेवार हुने गरी तेस्रो पक्षसँग कुनै कारोबारका सम्बन्धमा करार गरेमा,
(ख) बेनामी मुख्य व्यक्तिका लागि वा त्यस्ता व्यक्तिका तर्फबाट काम गरेकोमा त्यस्तो मुख्य व्यक्ति प्रकाश नगरिएमा,
(ग) कुनै कारणले मुख्य व्यक्ति विरुद्ध मुद्दा मामिला गर्न नसकिने भएमा,
(घ) आफ्नै नामबाट करार गरेको भएमा,
(ङ) प्रतिनिधि नियुक्त गरेको करार वा अख्तियारी बाहिर गई काम गरेको भएमा,
(च) कारोबार गर्ने सिलसिलामा झुक्यान वा जालसाजी गरेको भएमा,
(छ) व्यापारको प्रकृति बमोजिम प्रतिनिधि व्यक्तिगत रूपमा उत्तरदायी हुनु पर्ने भएमा,
(ज) कारोबारमा प्रतिनिधि समेतको हित संलग्न रहेको भएमा ।

(२) प्रतिनिधि र तेस्रो व्यक्ति बीच भएको करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिम प्रतिनिधि व्यक्तिगत रूपमा जिम्मेवार भएको कारणले मात्र तेस्रो व्यक्तिले मुख्य व्यक्ति विरुद्ध कुनै दाबी गर्न बाधा पुर्याएको मानिने छैन र प्रतिनिधिबाट असूल हुन नसकेको रकम वापत मुख्य व्यक्ति विरुद्ध पनि कानूनी कारबाही चलाउन सकिनेछ ।

(३) उपदफा (२) बमोजिम मुख्य व्यक्ति विरुद्ध कानूनी कारबाही चलाउनका लागि प्रतिनिधिबाट अन्तिम भरिभराउ भएको मितिबाट हदम्याद प्रारम्भ भएको मानिनेछ ।

५९६. अख्तियारी दिएको विश्वास दिलाएमा मुख्य व्यक्ति जिम्मेवार हुनेः (१) मुख्य व्यक्तिले आफ्नो तर्फबाट कुनै काम गर्न कुनै अर्को व्यक्तिलाई अख्तियारी दिएको कुरा तेस्रो पक्षलाई जानकारी गराएमा वा विश्वासमा पारेकोमा त्यसरी अख्तियारी नदिएको कुरामा तेस्रो पक्षले थाहा पाएकोमा वा थाहा पाउनु पर्ने मनासिब कारण भएकोमा बाहेक प्रतिनिधिले निजको तर्फबाट गरेको कामका लागि मुख्य व्यक्ति जिम्मेवार रहनेछ ।

(२) उपदफा (१) बमोजिमको अवस्थामा प्रतिनिधिले अख्तियारी नाघी कुनै कार्य गरेको भए तापनि प्रतिनिधिलाई अख्तियारी दिएको कुरामा तेस्रो पक्षले विश्वास गर्नु पर्ने मनासिब आधार भएकोमा प्रतिनिधिले गरेको कामका लागि मुख्य व्यक्ति जिम्मेवार हुन सक्नेछ ।

५९७. प्रतिनिधित्वको समाप्तिः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको अवस्थामा प्रतिनिधि स्वतः अन्त्य भएको मानिनेछः–
(क) प्रतिनिधिले स्वेच्छाले प्रतिनिधि नरहने सूचना मुख्य व्यक्तिलाई दिएमा,
(ख) मुख्य व्यक्तिले प्रतिनिधिलाई दिएको अख्तियारी वा करार रद्द गरेमा वा करार पालना गर्न असम्भव भएको सूचना प्रतिनिधिलाई दिएमा,
(ग) कुनै खास कामको लागि प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो काम पूरा भएमा,
(घ) खास अवधिको लागि प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो अवधि समाप्त भएमा,
(ङ) मुख्य व्यक्ति वा प्रतिनिधिको मृत्यु भएमा वा होस ठेगानमा नरहेमा,
(च) मुख्य व्यक्ति साहूको दामासाहीमा परेमा,
(छ) जुन विषयको बारेमा प्रतिनिधि नियुक्त गरेको हो त्यस्तो विषयको अस्तित्व नै समाप्त भएमा,
(ज) सङ्गठित संस्थाले प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो सङ्गठित संस्था विघटन वा खारेज भएमा ।

(२) मुख्य व्यक्तिले प्रतिनिधिलाई दिएको अधिकार निजले प्रयोग गर्नु अघि त्यस्तो अधिकार पूर्ण वा आंशिक रूपमा रद्द गर्न सक्नेछ र त्यसरी रद्द गरेकोमा प्रतिनिधिलाई त्यसको सूचना तुरुन्त दिनु पर्नेछ ।
तर प्रतिनिधिले केही अधिकार प्रयोग गरी सकेको रहेछ भने त्यस्तो अधिकार अनुसार भैसकेको कामका लागि अधिकार रद्द भएको मानिने छैन ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एजेन्सी खडा गर्ने मुख्य विषयसँग सम्बन्धित सम्पत्तिमा प्रतिनिधिको पनि हिस्सा भएमा त्यस्तो हिस्सामा प्रतिकूल असर पर्ने गरी प्रतिनिधिलाई हटाउन सकिने छैन ।

५९८. प्रतिनिधिलाई हटाउन नहुनेः (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै निश्चित समय वा कामको लागि प्रतिनिधि नियुक्त गरिएकोमा उचित र पर्याप्त कारण नभई मुख्य व्यक्तिले त्यस्तो समयभन्दा पहिले वा काम सम्पन्न नभई प्रतिनिधिलाई हटाउन हुँदैन ।

(२) निश्चित समय वा काम नतोकी नियुक्त गरिएको प्रतिनिधिलाई उचित कारण सहितको पूर्व सूचना नदिई हटाउनु हुँदैन ।

(३) उपदफा (१) वा (२) विपरीत हुने गरी मुख्य व्यक्तिले कुनै प्रतिनिधिलाई हटाएमा त्यस्तो प्रतिनिधिलाई निजले मनासिब क्षतिपूर्ति दिनु पर्नेछ ।

५९९. प्रतिनिधिले एजेन्सी छोड्न नहुनेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै निश्चित समय वा कामका लागि नियुक्त भएको प्रतिनिधिले निर्धारित समय वा काम समाप्त नभएसम्म उचित र पर्याप्त कारण नभई प्रतिनिधिको रूपमा काम गर्न छोड्न हुँदैन ।

(२) उपदफा (१) बमोजिम निश्चित समय वा काम नतोकिएकोमा प्रतिनिधि भई काम गर्न छाड्न लागेको कारण सहितको पूर्व सूचना मुख्य व्यक्तिलाई नदिई त्यस्तो काम गर्न छोड्न हुँदैन ।

(३) उपदफा (१) वा (२) विपरीत हुने गरी कुनै प्रतिनिधिले त्यस्तो हैसियतमा काम गर्न छोडेमा मुख्य व्यक्तिले मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।

६००. प्रतिनिधि हटेमा उपप्रतिनिधि पनि हट्नेः यस भाग बमोजिम प्रतिनिधि कायम नरहेकोमा निजबाट नियुक्त उपप्रतिनिधि पनि स्वतः हटेको मानिनेछ ।

६०१. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।