परिच्छेद–११ वस्तु ढुवानी करार सम्बन्धी व्यवस्था

परिच्छेद–११ वस्तु ढुवानी करार सम्बन्धी व्यवस्था

६०२. ढुवानी सम्बन्धी करार भएको मानिनेः (१) एक ठाउँबाट अर्को ठाउँमा कुनै वस्तु ढुवानी गर्ने सम्बन्धमा करार भएकोमा ढुवानी सम्बन्धी करार भएको मानिनेछ ।

(२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक वस्तु ढुवानी गर्दा वस्तुको धनीले ढुवानीकर्तालाई वस्तु बुझाएका बखत दिइने रसिद वा भरपाईलाई ढुवानीकर्ता र वस्तुको धनी बीच करार भएको प्रमाण मानिनेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लािग “ढुवानीकर्ता” भन्नाले हवाई यातायात वा सामुद्रिक यातायात बाहेकका यातायात सञ्चालन गर्ने वा त्यस्तो कार्यको व्यवसाय गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले आन्तरिक जल यातायात वा रज्जुमार्ग (रोपवे) वा जनावर मार्फत वा अन्य कुनै किसिमले ढुवानी व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई समेत जनाउँछ ।

तर वस्तुको धनीले ज्यालामा काम लगाएको व्यक्ति वा निजको प्रतिनिधि वा निजको मातहतमा काम गर्ने व्यक्तिले वस्तु ढुवानी गरेकोमा यस परिच्छेदको प्रयोजनको लागि ढुवानीकर्ता मानिने छैन ।

६०३. ढुवानीकर्ताको दायित्वः (१) ढुवानीको लागि वस्तुको धनीसँग बुझिलिएको वस्तु सही अवस्थामा ढुवानी गरी निर्धारित स्थानमा पुर्याउने दायित्व ढुवानीकर्ताको हुनेछ ।

(२) ढुवानीको लागि वस्तुको धनीसँग बुझिलिएको वस्तु हराएमा, नासिएमा, टुटे फुटेमा, बिग्रिएमा वा हानि, नोक्सानी भएमा वा अन्य कुनै किसिमबाट सही अवस्थामा निर्धारित स्थानमा नपुगेमा ढुवानीकर्ता जवाफदेही हुनेछ ।

(३) ढुवानीकर्ताले करारमा उल्लेख भएको समयभित्र र करारमा ढुवानी गरिसक्नु पर्ने समय उल्लेख नभएकोमा मनासिब समयभित्र वस्तु ढुवानी गरी वस्तुको धनी, निजको प्रतिनिधि वा निजले तोकेको व्यक्तिलाई बुझाउनु पर्नेछ ।

६०४. ढुवानीकर्ता जवाफदेही हुनेः (१) कुनै वस्तु एकभन्दा बढी ढुवानीकर्ताले वा एकभन्दा बढी ढुवानी साधनबाट ढुवानी गर्नु परेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ढुवानीकर्तालाई वस्तुको धनीले वस्तु बुझाएको हो सोही ढुवानीकर्ता जिम्मेवार हुनेछ ।

(२) कुनै वस्तु ढुवानी गर्ने व्यक्तिले त्यस्तो वस्तु ढुवानी गरी सम्बन्धित व्यक्तिलाई बुझाउनु अघि नै चोरिएमा, हराएमा, नासिएमा वा नष्ट भएमा ढुवानीकर्ता जिम्मेवार हुनेछ ।
तर विपद् वा दुर्घटनाको कारण त्यस्तो वस्तु हराएको, नासिएको वा नष्ट भएकोमा ढुवानीकर्ता जिम्मेवार हुने छैन ।

६०५. धनीको स्वीकृति बिना वस्तु बिक्री गर्न सक्नेः (१) कुनै वस्तु ढुवानी गर्ने क्रममा विपद् परी वा दुर्घटना भई त्यस्तो वस्तु निर्धारित समयभित्र गन्तव्यमा पुर्याउन नसकेमा त्यस्तो वस्तु नष्ट हुने वा त्यसको मूल्य वा गुणस्तर सारवान रूपमा घट्ने भएमा ढुवानी गर्ने व्यक्तिले त्यस्तो वस्तु धनीको स्वीकृति बिना पनि बिक्री गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बिक्री गरेकोमा ढुवानीकर्ताले त्यसरी प्राप्त भएको रकम त्यस्तो वस्तु धनीलाई भुक्तानी गर्नु पर्नेछ ।

६०६. ढुवानीकर्ताको दायित्व सीमित हुनेः (१) करार गर्दाकै बखत वस्तुको धनी वा निजको प्रतिनिधिले ढुवानी गर्नु पर्ने वस्तुको मूल्य बढी भएको स्पष्ट रूपमा घोषणा गरेकोमा वा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक ढुवानीकर्ताले ढुवानी गरेको वस्तुको हानि वा नोक्सानी वापतको क्षतिपूर्ति एक लाख रूपैयाँभन्दा बढी हुने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करार गर्दाकै बखत वा ढुवानीकर्तालाई ढुवानी वापत वस्तु बुझाएका बखत वस्तुको धनी वा निजको प्रतिनिधिले स्पष्ट रूपमा घोषणा गरेकोमा बाहेक सुन, चाँदी, हिरा, जवाहरात वा त्यस्ता धनमालबाट बनेका मालसामान, बहुमूल्य पत्थर, विनिमय अधिकारपत्र, धितोपत्र, अड्डाबाट पारित लिखत तथा शैक्षिक एवं अन्य निकायहरूबाट जारी भएका प्रमाणपत्र, मुद्रा, बैङ्क नोट, हुलाक टिकट, माछा, मासु, ताजा फलफूल तथा तरकारी, कीटनाशक तथा विषादी पदार्थ, प्रज्वलनशील पदार्थ, पेट्रोलियम पदार्थ, बहुमूल्य चित्रकला, मूर्ति, क्युरियोका मालसामान, सिसा वा सिसाबाट बनेका वा सजिलैसँग टुट्ने फुट्ने वा बिग्रने वस्तु, वन्यजन्तु वा घरपालुवा पशु पंक्षी, हस्तकलाका सामग्री, हातहतियार, खरखजाना, विद्युतीय उपकरण (रेडियो, टेलिभिजन, कम्प्यूटर, मोवाइल वा त्यस्तै अन्य वस्तु) तथा त्यस्ता वस्तुका पार्टपूर्जा, मेशिनरी वस्तु तथा ढुवानी हुनु अगावै वस्तुको धनीले घोषणा गर्नु पर्ने मालसामान भनी कानूनमा तोकिएका वस्तुहरूको हानि, नोक्सानी वापत ढुवानीकर्ता जवाफदेही हुने छैन ।

(३) उपदफा (२) बमोजिमका वस्तुको ढुवानी वापत व्यहोर्नु पर्ने जोखिमका लागि मालसामानको धनी वा निजको प्रतिनिधि मार्फत जोखिम विरुद्ध बीमा गराउन वा छुट्टै शुल्क लिई आफैँले बीमा गराउन वा ढुवानीकर्ताले जोखिम रोक्न अन्य आवश्यक व्यवस्था गर्न सक्नेछ ।

६०७. क्षतिपूर्ति व्यहोर्नु पर्नेः यस परिच्छेद बमोजिम करार गर्दाका बखत वा ढुवानी वापत ढुवानीकर्तालाई वस्तु बुझाएका बखत घोषणा गरिएका वा घोषणा गर्नु नपर्ने वस्तुको ढुवानी गर्दा भएको हानि, नोक्सानी वा क्षति वापत ढुवानीकर्ताले करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा वस्तुको धनीको मञ्जुरीले ढुवानी भएका मालसामानको शोधभर्ना वा त्यस्तो मञ्जुरी नभए वा हुन नसकेमा त्यस्ता वस्तुको प्रचलित मूल्य र मूल्य कायम गर्न नसकिएमा मनासिब मूल्य तथा वस्तुको धनीलाई हुन गएको हानि, नोक्सानी वापत मनासिब क्षतिपूर्ति समेत यस भागको परिच्छेद–५ को अधीनमा रही व्यहोर्नु पर्नेछ ।

६०८. ढुवानीकर्ताको दायित्व अन्त्य हुनेः करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक ढुवानीकर्ताको दायित्व देहायका कुनै अवस्थामा अन्त्य भएको मानिनेछः–
(क) ढुवानीकर्ता वा निजको प्रतिनिधिले वस्तु ढुवानी गरी वस्तुको धनी वा निजको प्रतिनिधि वा निजले तोकेको व्यक्तिलाई बुझाएमा,
(ख) ढुवानीकर्तालाई बुझाएको वस्तु ढुवानी हुनु अगाडि नै वस्तुको धनी वा निजको प्रतिनिधिले फिर्ता बुझिलिएमा,
(ग) दफा ५३१ को उपदफा (२) को खण्ड (ख) को परिस्थिति परी निर्धारित समयभित्र वस्तु ढुवानी हुन नसक्ने कारण देखाई ढुवानीकर्ता वा निजको प्रतिनिधिले वस्तुको धनी वा निजको प्रतिनिधिलाई वस्तु फिर्ता बुझाएमा ।

६०९. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।