परिच्छेद–४, म्याद तामेली, प्रमाण बुझ्ने तथा निर्णय सम्बन्धी व्यवस्था

परिच्छेद–४, म्याद तामेली, प्रमाण बुझ्ने तथा निर्णय सम्बन्धी व्यवस्था

९. म्याद जारी गर्नेः (१) नियम ८ बमोजिम अभियोगपत्रसाथ प्रतिवादी उपस्थित भएकोमा
बाहेक न्यायाधिकरणमा दायर भएको मुद्दामा प्रतिवादीका नाममा म्याद जारी गर्दा बाटाको
म्याद बाहेक पन्ध्र दिनको अवधि तोकि अनुसूची–१ बमोजिमको ढाँचामा जारी गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्दा प्रतिवादी वा निजका
एकाघर परिवारका उमेर पुगेका कुनै सदस्यलाई बुझाइ तामेल गर्नुपर्नेछ । प्रतिवादी वा
निजको एकाघर परिवारको उमेर पुगेको कुनै सदस्य फेला नपरेमा वा फेला परे पनि
म्याद बुझिलिन इन्कार गरेमा सोही व्यहोरा जनाइ स्थानीय दुईजना व्यक्तिलाई रोहवरमा
राखी प्रतिवादीको घर वा डेराको ढोकामा म्याद टाँस गरिदिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्न जाने कर्मचारीले
प्रतिवादीको घर डेरा पत्ता नलागेमा सोही व्यहोरा जनाई सम्बन्धित स्थानीय निकायको
कुनै सदस्य वा प्रतिनिधि वा कुनै दुईजना स्थानीय व्यक्तिलाई रोहवरमा राखी त्यस्तो
म्याद गाउँ विकास समितिको हकमा सम्बन्धित गाउँ विकास समितिको कार्यालयमा र
नगरपालिकाको हकमा प्रतिवादीको घर भएको वडाको वडा कार्यालयमा र त्यस्तो वडा
कार्यालय नभएको अवस्थामा सार्वजनिक स्थानमा टाँस गर्नु पर्नेछ र सो बमोजिम म्याद
टाँस भएपछि त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।
तर अभियोगपत्रमा गलत ठेगाना लेखिदिएको वा न्यायाधिकरणबाट गलत ठेगाना
उल्लेख गरेको कारणले प्रतिवादी वा निजको घर डेरा भएको स्थानभन्दा बेग्लै स्थानमा
म्याद टाँस भएको अवस्थामा रीतपूर्वक म्याद तामेल भएको मानिने छैन ।
(४) कुनै सङ्गठित संस्थाको नाममा जारी भएको म्याद तामेल गर्दा त्यस्तो
संगठित संस्थाको सञ्चालक वा व्यवस्थापक वा त्यस्तो संस्थाको प्रमुख व्यक्ति वा त्यस्तो
सङ्गठित संस्थाको अधिकारप्राप्त अधिकारीलाई म्याद बुझाइदिनु पर्नेछ । त्यस्तो व्यक्ति
फेला नपरेमा वा फेला परेपनि म्याद बुझि लिन इन्कार गरेमा सोही व्यहोरा जनाइ
दुईजना स्थानीय व्यक्तिलाई रोहवरमा राखी त्यस्तो सङ्गठित संस्थाको कार्यालयको ढोकामा
म्याद टाँस गर्नुपर्नेछ र यसरी टाँस भएकोमा रीतपूर्वक म्याद तामेल भएको मानिनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सङ्गठित संस्थाको
नाममा जारी भएको म्याद तामेल गर्दा त्यस्तो सङ्गठित संस्थाको रजिष्टर्ड कार्यालयको
ठेगानामा हुलाक मार्फत रजिष्ट्री गरी पठाएमा वा त्यस्तो कार्यालयको टेलिफ्याक्सबाट वा
विद्युतीय ठेगानामा डिजिटल हस्ताक्षर सहित पठाएमा त्यस्तो म्याद रीतपूर्वक तामेल
भएको मानिनेछ ।
(६) उपनियम (२), (३) वा (४) बमोजिम म्याद तामेल गर्न जाने कर्मचारीले
बाटोको म्याद बाहेक तीन दिनभित्र म्याद तामेल गरिसक्नु पर्नेछ ।
(७) उपनियम (२), (३), (४) वा (५) बमोजिम म्याद तामेल हुन नसकेको
प्रतिवेदन पर्न आएमा वा न्यायाधिकरणबाट जारी भएको म्याद रेडियो, टेलिभिजन,
न्यायाधिकरणको वेभसाइट जस्ता विद्युतीय सञ्चार माध्यममा प्रसारण वा प्रकाशन वा
राष्ट्रियस्तरको कुनै दैनिक पत्रपत्रिकामा प्रकाशन गरेर म्याद तामेल गर्न उपयुक्त हुने
कुरामा स्रेस्तेदार विश्वस्त भएमा त्यस्तो म्याद सम्बन्धी सूचना सो बमोजिम प्रसारण वा
प्रकाशन गर्न सकिने छ । यसरी सूचना प्रसारण वा प्रकाशन भएको अवस्थामा त्यस्तोध
सूचना प्रसारण वा प्रकाशन भएको मितिले पाँचौ दिन पछि प्रतिवादीको नाउँमा यस
नियमावली बमोजिम रीतपूर्वक म्याद तामेल भएको मानिनेछ ।
(८) उपनियम (७) बमोजिम म्याद तामेल गर्दा लागेको खर्च न्यायाधिकरणले
सम्बन्धित पक्षबाट सरकारी बाँकी सरह असुल उपर गरी लिनेछ ।

१०. नक्कल दिनु पर्नेः (१) प्रतिवादी प्रहरी हिरासतमा भए न्यायाधिकरणमा दर्ता भएको
अभियोगपत्र र तत्सम्बन्धी लिखत प्रमाणहरूको एकप्रति अभियोग दर्ता हुनासाथ
न्यायाधिकरणले प्रतिवादीलाई दिनु पर्नेछ ।
(२) नियम ९ बमोजिम प्रतिवादीको नाममा म्याद जारी भएको अवस्थामा प्रत्येक
प्रतिवादीका निमित्त एक एक प्रतिको हिसाबले अभियोगपत्र वा तत्सम्बन्धी प्रमाणको
नक्कल प्रतिहरू म्यादका साथ पठाइदिनु पर्नेछ ।
तर एकाघरका प्रतिवादीहरू जतिजना भएपनि अभियोग र तत्सम्बन्धी लिखत
प्रमाणको एक प्रति नक्कल मात्र पठाईदिए पुग्नेछ ।
(३) नियम ९ बमोजिम टाँस गरी वा सूचना प्रसारण वा प्रकाशन गरी म्याद
तामेल भएको अवस्थामा प्रतिवादीले यस नियम बमोजिम पाउने नक्कल न्यायाधिकरणमा
प्रतिवादी उपस्थित भएपछि न्यायाधिकरणबाट प्राप्त गर्न सक्नेछ ।
(४) यस नियम बमोजिम प्रतिवादीलाई दिनको लागि आवश्यक पर्ने अभियोगपत्र
र तत्सम्बन्धी प्रमाणहरूको नक्कल वादी पक्षले अभियोगपत्र दर्ता गर्दाको अवस्थामा
अभियोगपत्रसाथ पेश गर्नु पर्नेछ ।

११. म्याद तामेली पछिको कारबाहीः (१) नियम ९ बमोजिम म्याद तामेल भई आएपछि
म्याद तामेल गर्न जाने कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन समेत लिई
स्रेस्तेदारले रीतपूर्वक म्याद तामेल भए नभएको सम्बन्धमा जाँच गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा रीतपूर्वक म्याद तामेल भएको भए
तामेली म्यादको प्रति सम्बन्धित फाइल संलग्न गर्न र रीतपूर्वक तामेल भएको नदेखिएमा
पुनः तामेल गर्न लगाउनु पर्नेछ ।

१२. म्याद तारेखः न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा कारबाही चलेको कुनै मुद्दामा
गुज्रिएको म्याद तारेख थमाउन पाइने छैन ।
तर देहायको अवस्थामा देहाय बमोजिम हुनेछ :–
(क) पक्षको काबुभन्दा बाहिरको परिस्थितिले गर्दा म्याद वा तारेख गुजे्रको
भन्ने न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणलाई लागेमा एक

पटकको लागि बढीमा सात दिनसम्मको म्याद तारेख थामी दिन सक्नेछ ।
(ख) मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको ६२ नं. मा लेखिएको जति
कुरामा सोही बमोजिम हुनेछ ।

१३. प्रमाण बुझ्नेः (१) वादी वा प्रतिवादीले अभियोगपत्र, बयान वा प्रतिउत्तरपत्रसाथ आ–
आफ्नो लिखत प्रमाण भए त्यस्ता प्रमाणहरू पेश गरेको वा उल्लेख गरेको हुनु पर्नेछ ।
(२) वादी वा प्रतिवादीले उपनियम (१) बमोजिम पेश नगरेका वा उल्लेख
नगरेका लिखत प्रमाण पछि बुझिने वा प्रमाण लाग्ने छैन ।
तर देहायको अवस्थामा न्यायाधिकरणले लिखत प्रमाण दाखिला गर्ने वा बुझ्ने
आदेश दिन सक्नेछ :–
(क) प्रचलित कानूनले प्रमाण लाग्न सक्ने कागजपत्र, सूचना विवरण
आदि कुनै कारणले न्यायाधिकरण समक्ष तत्काल पेश हुन
सकेको रहेनछ भने मुद्दा पेशी सूचीमा चढाउनुभन्दा अगावै
न्यायाधिकरणले त्यस्तो प्रमाण पेश गर्न सम्बन्धित पक्षलाई
आदेश दिन सक्नेछ ।
(ख) मुद्दासँग सरोकार राख्ने कुनै प्रमाण वादी, प्रतिवादी वा अन्य
कुनै व्यक्ति, कार्यालय वा संस्थासँग छ भन्ने कुरा
न्यायाधिकरणलाई लागेमा वादी, प्रतिवादी, त्यस्तो व्यक्ति,
कार्यालय वा संस्थालाई त्यस्तो प्रमाण न्यायाधिकरण समक्ष पेश
गर्ने आदेश दिन सक्नेछ ।
(ग) खण्ड (ख) बमोजिम आदेश भएकोमा सो आदेश बमोजिम वादी,
प्रतिवादी, त्यस्तो व्यक्ति, कार्यालय वा संस्थाले त्यस्तो प्रमाण
न्यायाधिकरणले तोकेको अवधि भित्र न्यायाधिकरण समक्ष
दाखिला गर्नु पर्नेछ ।
(३) सबूद प्रमाण बुझ्न तोकिएको तारेखमा वादीको प्रमाणकागज प्रतिवादीलाई र
प्रतिवादीको प्रमाणकागज वादीलाई सक्कलै देखाइ सुनाइ सो सम्बन्धमा सम्बन्धित पक्षको
भनाइ समेत लेखबद्ध गरी मिसिल सामेल गर्नु पर्नेछ ।

१४. अनुपस्थित प्रतिवादीको तर्फबाट अरूले प्रमाण पेश गर्न सक्नेः ऐन बमोजिमको कुनै
मुद्दामा यस नियमावली बमोजिम म्याद जारी भएको प्रतिवादी नेपालबाहिर रही प्रतिउत्तर
पेश गर्न नसक्ने कुनै मनासिव कारण देखाइ निजको एकाघर परिवारको कुनै हकवाला वा
उक्त मुद्दामा प्रतिवादी सरह सरोकार राख्ने अन्य कुनै व्यक्ति वा निजको एजेण्टले सो
म्याद भुक्तान भएको मितिले पाँच दिनभित्र अभियोग खण्डन हुने कुनै प्रमाण पेश गरेमा
न्यायाधिकरणले सो प्रमाण बुझी मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ ।

१५. साक्षी बुझ्नेः (१) वादी वा प्रतिवादीले अभियोगपत्र वा प्रतिउत्तरपत्र वा बयानमा साक्षीको
उल्लेख गरेको अवस्थामा प्रतिवादीले बयान वा लिखित प्रतिउत्तर दिइसकेपछि वा सोको
म्याद नाघेपछि त्यस्ता साक्षी प्रचलित कानूनले प्रमाणमा लिन सकिने भएमा
न्यायाधिकरणले अवधि तोकी साक्षी उपस्थित गराउन आदेश दिन सक्नेछ ।
(२) न्यायाधिकरणले उपनियम (१) बमोजिम साक्षी उपस्थिति गराउने आदेश
दिएमा आ–आफ्नो पक्षका साक्षी न्यायाधिकरण समक्ष उपस्थित गराउने दायित्व सम्बन्धित
पक्षको हुनेछ ।

१६. कुनै खास व्यक्तिलाई बुझ्न सक्नेः (१) कुनै खास व्यक्तिलाई न्यायाधिकरण समक्ष दायर
भएको कुनै मुद्दाको कारबाहीको क्रममा बुझ्नु आवश्यक छ भन्ने कुरा न्यायाधिकरणलाई
लागेमा न्यायाधिकरणले मनासिब अवधि तोकी त्यस्तो व्यक्तिलाई न्यायाधिकरण समक्ष
उपस्थित हुने आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आदेश भएकोमा सम्बन्धित व्यक्ति न्यायाधिकरणमा
उपस्थित हुनु पर्नेछ ।

१७. साक्षी बकाउनेः (१) साक्षी बुझ्न तारेख तोकिएको दिन न्यायाधिकरणको कारबाही शुरु
हुनासाथ वादी र प्रतिवादीबाट निजहरूका उपस्थित साक्षीको नामावली लिई मिसिल साथ
राखी बकपत्र गराउनको लागि स्रेस्तेदारले न्यायाधिकरण समक्ष पेश गर्नु पर्नेछ ।
(२) साक्षी बुझ्न तोकिएको दिन अपरान्ह एक बजेसम्म पनि अर्को पक्ष उपस्थित
नभएमा उपस्थित पक्षको साक्षी बकपत्र गराउने काम रोकिने छैन ।

१८. तारेखमा नबसे पनि हुनेः न्यायाधिकरणले वादी र प्रतिवादी दुवै पक्षको प्रमाण
बुझिसकेपछि कुनै पक्षले चाहेमा न्यायाधिकरणको अनुमति लिई तारेखमा नबस्न पनि
सक्नेछ ।

१९. बहसनोट पेश गर्न सक्नेः न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष पेश भएको
मुद्दामा मुद्दाको कुनै पक्ष वा कानून व्यवसायीले बहसनोट पेश गर्न चाहेमा मुद्दा
इजलासमा पेश हुनु भन्दा दुई दिन अगावै त्यस्तो बहसनोट पेश गर्न सक्नेछ र
आवश्यकता अनुसार इजलासले पनि त्यस्तो बहसनोट माग गर्न सक्नेछ ।

२०. मुद्दा डिसमिस नहुनेः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस
नियमावली बमोजिम म्याद तामेल भइसकेको कुनै पक्षले त्यस्तो म्याद गुजारी बसेकोमा

वा तारेखमा बसिरहेको कुनै पक्षले तारेख गुजारेमा पनि मुद्दा डिसमिस हुने छैन र
बुझेसम्मका प्रमाणका आधारमा मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ ।

२१. निर्णय गर्नुपर्ने अवधिः (१) प्रतिवादीको बयान भएको वा प्रतिउत्तरपत्र दाखिला भएकोमा
सो भएको मितिले र प्रतिवादीको बयान नभएको वा प्रतिउत्तरपत्र पनि दाखिला
नभएकोमा सो हुने म्याद भुक्तान भएको मितिले साठी दिनभित्र न्यायाधीकरणले आपूm
समक्ष पेश भएका मुद्दाको निर्णय गरिसक्नु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सो अवधि अगाडि नै
मुद्दाको अङ्ग पुगिसकेको भए त्यसरी अङ्ग पुगेको मितिले तीन दिनभित्र निर्णय गरिसक्नु
पर्नेछ ।