नेपाल गुणस्तर (प्रमाण–चिन्ह) नियमावली, २०४०

नेपाल गुणस्तर (प्रमाण–चिन्ह) नियमावली, २०४०

नेपाल राजपत्रमा प्रकाशित मिति
२०४०।६।३

संशोधन

१. नेपाल गुणस्तर (प्रमाण–चिन्ह) (पहिलो संशोधन) नियमावली, २०४६ २०४६।११।८
२. नेपाल गुणस्तर (प्रमाण–चिन्ह) (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३०
नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी
नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।१. संक्षिप्त नाम र प्रारम्भः

(१) यी नियमहरूको नाम “नेपाल गुणस्तर (प्रमाण–चिन्ह)”नियमावली, २०४० रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीमा,–
(क) “ऐन” भन्नाले नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७ सम्झनु पर्छ ।
(ख) “परिषद्” भन्नाले नेपाल गुणस्तर परिषद् सम्झनु पर्छ ।
(ग) “कार्यालय” भन्नाले नेपाल गुणस्तर कार्यालय सम्झनु पर्छ ।
(घ) “दरखास्तवाला” भन्नाले नियम ७ बमोजिम इजाजतपत्र वा प्रमाणपत्रको लागि कार्यालयमा दरखास्त दिने व्यक्ति सम्झनुपर्छ ।
(ङ) “इजाजतपत्रवाला” भन्नाले नियम ९ बमोजिम इजाजतपत्र वा प्रमाणपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(च) “प्रमाणपत्र” भन्नाले नियम ९ बमोजिमको गुणस्तरको प्रमाणपत्र सम्झनु पर्छ ।

३. परिषद्को बैठक र कार्यविधिः (१) परिषद्को बैठक अध्यक्षले तोकेको स्थान र समयमा आवश्यकता अनुसार बस्नेछ ।
(२) परिषद्को कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा परिषद्को
बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
(३) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले छानेको व्यक्तिले गर्नेछ ।

(४) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिनेछ ।
(५) परिषद्को निर्णय परिषद्को सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ । पहिलो संशोधनद्वारा थप ।
(६) परिषद्को बैठक बस्ने कम्तीमा तीन दिन अगाडि सदस्य–सचिवले छलफलको विषय सहितको सूचना सम्बन्धित सदस्यहरूलाई दिनु पर्नेछ ।
(७) परिषद्ले आवश्यक देखेमा विशेषज्ञ वा अन्य कुनै व्यक्तिलाई परिषद्को बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(८) परिषद्का सदस्यहरू, गुणस्तर सम्बन्धी समिति वा उप समितिका सदस्यहरू र आमन्त्रित व्यक्तिहरूले बैठकमा भाग लिए बापत पाउने बैठक भत्ता परिषद्ले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(९) परिषद्को बैठकमा अपनाइने अन्य कार्यविधि परिषद्ले निर्धारण गर्नेछ ।

४. गुणस्तर निर्धारणः (१) परिषदले दिएको नीति र तोकेको कार्यविधिभित्र रही कार्यालयले विभिन्न पदार्थ, प्रक्रिया वा सेवाको गुणस्तर तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्यालयले तयार गरेको गुणस्तर परिषद्द्वारा अनुमोदन भए पछि परिषद्ले निर्धारण गरेको मानिनेछ ।

५. नेपाल गुणस्तरको रूपमा मान्यता प्रदान गर्नेः परिषद्ले कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा कुनै स्वदेशी वा विदेशी संस्थाद्वारा तोकिएको गुणस्तरलाई केही परिवर्तन गरी वा नगरी नेपाल गुणस्तरको रूपमा मान्यता प्रदान गर्न सक्नेछ ।

६. गुणस्तरको प्रकाशन बिक्री वितरणः(१) कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा परिषद्द्वारा निर्धारण गरेको वा मान्यता प्राप्त गुणस्तर र तत्सम्बन्धी आवश्यक विवरण कार्यालयले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरी बिक्री वितरण समेत गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित गुणस्तरलाई परिषद्ले संशोधन वा रद्द गरेमा त्यसको सूचना पनि कार्यालयले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नेछ ।

७. इजाजतपत्र वा प्रमाणपत्र लिनु पर्नेः (१) कुनै पदार्थ वा प्रक्रियाको सम्बन्धमा गुणस्तर प्रमाण–चिन्ह प्रयोग गर्न चाहने उत्पादक वा निर्माताले अनुसूची–१ बमोजिमको ढाँचामा इजाजतपत्रको लागि कार्यालयमा दरखास्त दिनु पर्नेछ ।

(२) प्रमाण–चिन्ह प्रयोग गर्न व्यवहारिक नहुने कुनै पदार्थ वा प्रक्रिया वा सेवाको सम्बन्धमा प्रमाणपत्र लिन चाहने उत्पादक, निर्माता, वितरक वा सेवा प्रदान गर्ने व्यक्तिले
अनुसूची–२ बमोजिमको ढाँचामा कार्यालयमा दरखास्त दिनु पर्नेछ ।

८. …… जाँचबुझः (१) इजाजतपत्र वा प्रमाणपत्रको लागि दरखास्त परेपछि कार्यालयले देहायका कुराहरूको ………. जाँचबुझ गर्न लगाउन सक्नेछः–
(क) दरखास्तवालाले दरखास्तमा उल्लेख गरेको पदार्थ, प्रक्रिया वा सेवा नेपाल गुणस्तर अनुरूप छ, छैन,(ख) गुणस्तर प्रमाण–चिन्ह अंकित गरिने पदार्थको गुणस्तर नेपाल गुणस्तर अनुरूप कायम राख्न नियमित गुण–नियन्त्रण एवं गुण–परीक्षणको प्रबन्धदरखास्तवालाले गरेको छ, छैन र (ग) खण्ड (क) र (ख) मा लेखिएको कुराहरूको जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उत्पदान गरिने ठाउँ, कार्यशाला, परीक्षणशाला वा गोदाम इत्यादिको निरीक्षण गर्न सुलभ हुने किसिमको सुविधा वा साधनको व्यवस्था दरखास्तवालाले गरेको छ, छैन ।
(२) जाँचबुझको लागि आवश्यकता अनुसार दरखास्तवालाले सम्बन्धित पदार्थको नमूना तथा विवरण उपलब्ध गराउनु पर्नेछ र सो नमूनाहरूको परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च समेत व्यहोर्नु पर्नेछ ।
(३) …… जाँचबुझको आधारमा कार्यालयले सम्बन्धित पदार्थको सम्बन्धमा दरखास्तवालाले प्रबन्ध गरेको गुण–नियन्त्रण एवं गुण–परीक्षणको व्यवस्थामा वा उत्पादन
प्रक्रियामा आवश्यक संशोधन गर्न लगाउन सक्नेछ ।

९. इजाजतपत्र वा प्रमाणपत्र दिनः नियम ८ बमोजिम जाँचबुझ गरिसकेपछि कार्यालयले परिषद्ले तोकिदिए बमोजिमको दस्तूर लिई दरखास्तवालालाई सम्बन्धित पदार्थ वा प्रक्रियामा गुणस्तर प्रमाण–चिन्ह प्रयोग गर्न पाउने गरी अनुसूची–३ बमोजिमको ढाँचामा इजाजतपत्र दिन सक्नेछ र गुणस्तर प्रमाण–चिन्ह प्रयोग गर्न व्यवहारिक नहुने पदार्थ वा प्रक्रिया वा सेवाको हकमा परिषद्ले तोकिदिएको ढाँचामा गुणस्तरको प्रमाणपत्र दिन सक्नेछ ।

१०. कबुलियत वा मन्जुरनामा गराउन सकिनेः कार्यालयले इजाजतपत्र वा प्रमाणपत्र दिंदा दरखास्तवालालाई निजले सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर प्रमाण– चिन्ह वा प्रमाणपत्र प्रयोग गर्दा पालन गर्नुपर्ने शर्तहरू तोकी कबूलियत वा मञ्जुरनामा गराउन सक्नेछ ।
११. कार्यालयले आदेश दिन सकिनेः परिषद्ले कुनै गुणस्तरलाई संशोधन वा रद्द गरेमा कार्यालयले इजाजतपत्रवालालाई देहाय बमोजिम आदेश दिन सक्नेछः–

(क) संशोधित गुणस्तर अनुरूप सम्बन्धित पदार्थको गुण–नियन्त्रण र परीक्षणको व्यवस्थामा वा उत्पादन प्रक्रियामा आवश्यक संशोधन गर्ने, वा (ख) सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा आदेशमा तोकिएको अवधिपछि गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग नगर्ने ।

१२. इजाजतपत्र वा प्रमाणपत्रको अवधि र नवीकरणः (१) इजाजतपत्रको अवधि तीन वर्षको हुनेछ ।(२) प्रमाणपत्रको अवधि प्रमाणपत्रमा तोकिए बमोजिम हुनेछ र त्यसको नवीकरण हुनेछैन ।
(३) इजाजतपत्रवालाले आफ्नो इजाजतपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा तीस दिन अगावै परिषद्ले तोके बमोजिमको नवीकरण दस्तूर सहित इजाजतपत्र नवीकरणको लागि कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको दरखास्त प्राप्त भएपछि कार्यालयले प्रत्येक पटक बढीमा तीन वर्षको लागि मान्य हुने गरी इजाजतपत्र नवीकरण गरी दिन सक्नेछ ।
(५) म्यादभित्र नवीकरण नगराएको इजाजतपत्र स्वतः रद्द भएको मानिनेछ ।

१३. निरीक्षकको परिचयपत्रः(१) ऐनको दफा १२ बमोजिम नियुक्त गरिएको वा तोकिएको निरीक्षकलाई कार्यालयले अनुसूची–४ बमोजिमको ढाँचामा निरीक्षकको परिचयपत्र दिनु पर्नेछ ।(२) निरीक्षकले आफ्नो परिचयपत्र सँधै साथमा राख्नु पर्नेछ र आफ्नो कर्तव्य पालनको सिलसिलामा जाँचबुझ वा निरीक्षण गर्न गएको बखत दरखास्तवाला वा इजाजतपत्रवालाले हेर्न मागेमा देखाउनु पर्नेछ ।

१४. जाँचबुझ वा निरीक्षण गर्दा अपनाउनु पर्ने विधिः (१) कुनै पदार्थ वा प्रक्रियाको गुणस्तर सम्बन्धी जाँचबुझ वा निरीक्षण गर्न जाँदा सम्बन्धित पदार्थ उत्पादन गरिने ठाउँ प्रक्रिया चालु रहेको ठाउँ, सेवा प्रदान गरिने ठाउँ, कार्यशाला वा गुण नियन्त्रण एवं परीक्षण गरिने ठाउँ वा त्यस्तो पदार्थ वा त्यस्तो पदार्थ सम्बन्धी कोरा वा तयारी माल राखिने गोदाम आदिमा प्रवेश गर्न सक्नेछ । त्यसरी प्रवेश गर्नु भन्दा अगावै निरीक्षकले दरखास्तवाला वा इजाजतपत्रवालालाई आफूले जाँचबुझ वा निरीक्षण गर्न चाहेको कुराको जानकारी दिनु पर्नेछ ।
(२) निरीक्षकले जाँचबुझ वा निरीक्षणको सिलसिलामा गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग गरिएको कुनै पदार्थ वा त्यस पदार्थ सम्बन्धी कोरा वा तयारी माल इत्यादीको नमूना लिंदा दरखास्तवाला वा इजाजतपत्रवालाको उपस्थितिमा लिनु पर्नेछ । (३) निरीक्षकले दरखास्तवाला वा इजाजतपत्रवालालाई उपनियम (२) बमोजिम नमूना लिएको पदार्थको नाम, परिमाण र अवस्था समेत खुलाई त्यसको रसीद दिनु पर्नेछ ।

(४) निरीक्षकले परिषद्द्वारा मान्यता प्राप्त सरकारी वा गैर सरकारी प्रयोगशालाबाट उपनियम (२) बमोजिम नमूना लिएको पदार्थको गुणस्तर परीक्षण गराउन सक्नेछ ।
(५) निरीक्षकले आफूले गरेको जाँचबुझ वा निरीक्षणको नतीजा र कुनै सुझाव भए सो समेत प्रष्ट खुलाई कार्यालयमा प्रतिवेदन दिनु पर्नेछ ।

१५. प्रयोगशालाको अभिलेखः कुनै पदार्थ र त्यसको उत्पादन प्रक्रियाको आवश्यक जाँचबुझ वापरीक्षणको लागि परिषद्बाट मान्यता प्राप्त सरकारी वा गैर सरकारी प्रयोगशालाहरूको नामावली सहितको अभिलेख कार्यालयले राख्नु पर्नेछ ।

१६. इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्नेः (१) यो नियमावली बमोजिम दिइएकोइजाजतपत्र वा प्रमाणपत्र देहायका अवस्थामा कार्यालयले स्थगित वा रद्द गर्न सक्नेछ
(क) इजाजतपत्रवालाले उत्पादित, निर्मित वा अङ्गिकृत प्रक्रिया वा प्रदत्त सेवा नेपाल गुणस्तर अनुरूप नभएमा,(ख) इजाजतपत्रवालाले नेपाल गुणस्तरमा निर्दिष्ट विधिहरू नअपनाई कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग गरेमा,
(ग) इजाजतपत्रवालाले ऐन वा यो नियमावलीको प्रतिकूल काम कारवाही गरेमा वा कार्यालयले दिएको आदेश नमानेमा, वा
(घ) इजाजतपत्रवालाले इजाजतपत्र, प्रमाणपत्र वा कबूलियत वा मन्जूरनामामा तोकिएको शर्तहरू पालना नगरेमा ।
(२) इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्नु भन्दा अगावै इजाजतपत्रवालालाई आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्नेछ । इजाजतपत्रवालाले म्यादभित्र स्पष्टीकरण पेश गरेमा त्यस्तो स्पष्टीकरणमा समेत विचार गरी कार्यालयले इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्ने नगर्ने कुराको अन्तिम निर्णय गर्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र वा प्रमाणपत्र स्थगित भएको अवस्थामा सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा इजाजतपत्रवालाले गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग गर्न पाउने छैन ।

१७. अनुसूचीमा हेरफेर गर्ने अधिकारः  नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।

द्रष्टब्य – केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू