परिच्छेद–३ केन्द्रीय कानूनी सहायता समितको काम, कर्तव्य र अधिकार तथा बैठकसम्बन्धी

परिच्छेद–३ केन्द्रीय कानूनी सहायता समितको काम, कर्तव्य र अधिकार तथा बैठकसम्बन्धी

८. केन्द्रीय कानूनी सहायता समितिको काम, कर्तव्य र अधिकारः

ऐनको दफा ६ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रीय कानूनी सहायता समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–

(क) नियम ६ को उपनियम (१) बमोजिम तोकिएको आयभन्दा कम आय भएका धेरै व्यक्तिहरूबाट कानूनी सहायताको माग भएमा कानूनी सहायता उपलब्ध गराउनु पर्ने व्यक्तिहरूको प्राथमिकता क्रम निर्धारण गर्न आवश्यक नीति निर्धारण गर्ने र त्यसरी निर्धारित नीतिको अधीनमा रही कानूनी सहायता उपलब्ध गराउनु पर्ने व्यक्तिहरूको प्राथमिकता क्रम निर्धारण गर्ने,

(ख) ऐनको दफा ४ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै व्यक्तिलाई कानूनी सहायता उपलब्ध गराउने क्रममा समितिले गरेको खर्च आंशिक वा पूर्णरूपले छुट दिने नीति निर्धारण गर्ने,

(ग) ऐनको दफा ५ को उपदफा (४) बमोजिम कानूनी सहायता प्रदान गर्ने कानून व्यवसायीलाई दिईने पारिश्रमिकको अङ्क निर्धारण गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने र त्यसरी निर्धारित नीतिको अधीनमा रही कानूनी सहायता उपलब्ध गराउने कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्ने,

(घ) नियम ७ को उपनियम (२) बमोजिम समितिले गरेको खर्चको सोधभर्ना गराउँदा निजले प्राप्त गरेको कुल सम्पत्ति वा आर्थिक लाभको मूल्याङ्कन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने र त्यसरी निर्धारित नीतिको अधीनमा रही कानूनी सहायता प्राप्त गरेको व्यक्तिले प्राप्त गरको कुल आर्थिक लाभको मूल्याङ्कन गर्ने,
(ङ) ऐन तथा यस नियमावलीबमोजिम कानूनी सहायता उपलब्ध गराउन समितिले तोकेको कुनै कानून व्यवसायीले कानूनी सहायता उपलब्ध गराउने काममा हेलचक्रया“ई वा लापरबाही गरी सम्बन्धित व्यक्तिको मुद्दा बिग्रन गएमा त्यस्तो कानून व्यवसायीलाई प्रचलित कानूनबमोजिम कारबाहीको लागि कानून व्यवसायी परिषद् समक्ष सिफारिस गर्ने,

(च) केन्द्रीय समितिको वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने ।

९. केन्द्रीय कानूनी सहायता समितिको बैठकसम्बन्धी कार्यविधिः

(१) केन्द्रीय समितिको बैठक प्रत्येक बर्षमा चार पटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ र आवश्यक भएमा सोभन्दा बढी पटक पनि बैठक बस्न सक्नेछ ।
(२) केन्द्रीय समितिले आवश्यकता अनुसार कुनै पदाधिकारी वा विशेषज्ञलाई केन्द्रीय समितिको बैठकमा आमन्त्रित वा पर्यवेक्षकको रूपमा भागलिन आमन्त्रण गर्न सक्नेछ ।
(३) केन्द्रीय समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा केन्द्रीय समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) केन्द्रीय समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) केन्द्रीय समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) केन्द्रीय समितको बैठकको निर्णय समितिको सदस्य–सचिवले निर्णय पुस्तिकामा जनाई प्रमाणित गरी जानकारीको लागि सबै सदस्यहरूलाई उपलबध गराउनेछ ।
(७) केन्द्रीय समितिको बैठकसम्बन्धी अन्य कार्यविधि केन्द्रीय समिति आफंैले निर्धारण गरेबमोजिम हुनेछ ।