परिच्छेद – ४ इन्साफ सम्बन्धी  काम  र  अन्य काम

परिच्छेद – ४ इन्साफ सम्बन्धी  काम  र  अन्य काम

१९.  इन्साफसम्बन्धी  काम: अदालतमा दायर भएका मुद्दाहरूमा इन्साफ गर्ने र मुद्दाको दायरीको लगत कट्टा गर्ने काम न्यायाधीशले मात्र गर्नेछ ।

२०.  देवानी फौजदारी इजलासको सञ्चालन: (१) छुट्टाछुट्टै फौजदारी र देवानी इजलास गठन भएको अवस्थामा त्यस्तो अदालतमा प्रधान न्यायाधीशले त्यस्ता इजलाससँग सम्बन्धित मुद्दा हेर्नका लागि न्यायाधीशलाई तोक्न सक्नेछ ।

(२) कुनै अदालतमा एउटा भन्दा बढी देवानी इजलास वा एउटा भन्दा बढी फौजदारी इजलास गठन भएका रहेछन् भने मुद्दा दर्ता भएपछि सम्बन्धित मुद्दा हेर्नको लागि तोकिएका न्यायाधीशमध्ये कसको इजलासले कुन मुद्दा हेर्ने भन्‍ने निश्चित हुने गरी प्रमुख भै काम गर्ने जिल्ला न्यायाधीशले गोलाबाट तोक्नेछ । यसरी मुद्दा तोकिएपछि सो मुद्दाको बाँकी कारबाही र किनारा सोही न्यायाधीशको इजलासले गर्नेछ ।

(३) उपनियम (२) बमोजिम मुद्दा तोकिँदा लगाउका मुद्दाहरू भएको अवस्थामा मुद्दाको कारबाही र किनारा गर्दा मूल मुद्दा फौजदारी र अन्य लगाउ मुद्दा देवानी वा मूल मुद्दा देवानी र अन्य लगाउ मुद्दा फौजदारी भएमा मूल मुद्दा रहेको इजलासबाट अन्य लगाउका मुद्दासमेत हेरिने गरी तोकिनेछ।

स्पष्टीकरण: यस उपनियमको प्रयोजनको लागि “मूल मुद्दा” भन्‍नाले सबैभन्दा पहिले दर्ता भएको मुद्दा सम्झनु पर्छ । तर दुवै मुद्दा एकै मितिमा दर्ता भएकोमा देवानी मुद्दालाई मूल मुद्दा मानिनेछ।

(४) छुट्टाछुट्टै फौजदारी र देवानी इजलास गठन भएका अदालतमा कुनै इजलाससँग सम्बन्धित न्यायाधीश सात दिन वा सोभन्दा बढी समय अनुपस्थित हुने भएमा सम्बन्धित उच्च अदालतका मुख्य  न्यायाधीशले सोही अदालतमा रहेको अर्को इजलाससँग सम्बन्धित न्यायाधीशले मुद्दा हेर्ने गरी तोकिदिन सक्नेछ। यसरी मुद्दा हेर्ने न्यायाधीश तोकिएको अवस्थामा यथाशीघ्र सो कुराको जानकारी मुख्य न्यायाधीशले प्रधान न्यायाधीशलाई दिनु पर्नेछ ।

(५) छुट्टाछुट्टै फौजदारी र देवानी इजलास गठन भएको अदालतमा कुनै इजलाससँग सम्बन्धित न्यायाधीश अनुपस्थित रहेमा उपस्थित रहेको अर्को इजलासको न्यायाधीशले बयान, बकपत्र, थुनछेक–आदेश र मिलापत्रको काम गर्नेछ । यसरी कारबाही गर्दा देवानी मुद्दा हेर्ने न्यायाधीश अनुपस्थित  भएमा भएसम्म देवानी मुद्दा हेर्ने अर्को न्यायाधीशले र फौजदारी मुद्दा हेर्ने न्यायाधीश अनुपस्थित भएमा भएसम्म फौजदारी  मुद्दा  हेर्ने अर्को न्यायाधीशले नै सो काम कारबाही गर्नेछ । सम्बन्धित इजलासका एकभन्दा बढी न्यायाधीश भएको अवस्थामा भने जिल्ला न्यायाधीशले गोलाद्वारा त्यस्तो मुद्दा हेर्ने न्यायाधीश तोक्नेछ ।

(६) देवानी र फौजदारी इजलास बीच कार्य बोझमा असमानता देखिएमा सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले अर्को इजलाससँग सम्बन्धित न्यायाधीशले मुद्दा हेर्ने गरी तोक्न    सक्नेछ । यसरी न्यायाधीश तोकिएको कुराको जानकारी मुख्य न्यायाधीशले प्रधान न्यायाधीशलाई यथाशीघ्र दिनु पर्नेछ ।

(७) छुट्टाछुट्टै फौजदारी तथा देवानी इजलास गठन भएका अदालतको कुनै इजलाससँग सम्बन्धित न्यायाधीशले हेर्ने गरी तोकिएको मुद्दा मुलुकी फौजदारी कार्यबिधि (संहिता) ऐन, २०७४ को दफा १७६ तथा मुलुकी देवानी कार्यबिधि (संहिता) ऐन,२०७४ को दफा २७१ बमोजिम वा अन्य कुनै कारणले हेर्न नमिल्ने भएको अवस्थामा त्यस्तो मुद्दा सोही अदालतको अर्को न्यायाधीशले ह्नेर्ने गरी तोकिनेछ ।

२१.  हेर्न नमिल्ने मुद्दा अर्को अदालतमा पठाउनेः एक जना न्यायाधीश मात्र कार्यरत रहेको अदालतमा दायर रहेको कुनै मुद्दा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन,२०७४ को दफा १७६ तथा मुलुकी देवानी कार्यविधि (संहिता) ऐन,२०७४ को दफा २७१ को अवस्था परी हेर्न नमिल्ने भएमा त्यस्तो मुद्दा अर्को समानस्तरको अदालतमा स्थानान्तरणको लागि सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा लेखी पठाइ भएको आदेश बमोजिम गर्नु पर्नेछ ।

२२.  इन्साफसम्बन्धी  काम बाहेक अन्य काम: (१) इन्साफ गर्ने र न्यायाधीशले गर्ने भनी कानूनमा व्यवस्था भएको बाहेक अदालतले गर्नु पर्ने अन्य कामहरू यस नियमावलीमा तोकिएबमोजिमको कर्मचारीले र त्यसरी नतोकिएको हकमा प्रमुख भई काम गर्ने न्यायाधीशले वा निजले अख्तियार दिएको कर्मचारीले  गर्नेछ ।

(२) स्रेस्तेदार, तहसिलदार वा अदालतका अन्य कर्मचारीले यो नियमावली वा प्रचलित नेपाल कानूनबमोजिम तोकिएको प्रशासनिक वा व्यवस्थापन प्रकृतिको काम गर्दा प्रमुख भई काम गर्ने न्यायाधीशको निर्देशन र नियन्त्रणमा रही गर्नु पर्नेछ ।

२३.  पूर्ण बैठक: एकभन्दा बढी न्यायाधीश भएको अदालतमा प्रमुख भई काम गर्ने न्यायाधीशले अदालतको नीतिगत विषयहरु, अदालत व्यवस्थापनका विषयहरु, वार्षिक प्रतिवेदन, फाँट निरीक्षणसम्बन्धी प्रतिवेदन र अदालतलाई उपयोगी हुने अन्य समसामयिक विषयमा छलफल गर्न न्यायाधीशहरूको पूर्ण बैठक बोलाउन सक्नेछ ।