परिच्छेद –६ पुनरावेदन सम्बन्धी व्यवस्था

परिच्छेद –६ पुनरावेदन सम्बन्धी व्यवस्था

४४.  पुनरावेदनपत्रमा उल्लेख गर्नु पर्ने विवरणः कानूनमा अन्यत्र उल्लिखित  विषयका  अतिरिक्त पुनरावेदनपत्रमा देहाय बमोजिमको विवरण उल्लेख गर्नु पर्नेछः-

(क)   फैसला वा अन्तिम आदेश गर्ने अदालतको नाम,

(ख)   पुनरावेदक वादी वा प्रतिवादी भएको बेहोरा,

(ग)   मुद्दाको नाम,

(घ)   फैसला वा अन्तिम आदेश भएको मिति, प्रमाणीकरण मिति र थाहा पाएको मिति,

(ङ)   मुद्दामा दाबी गरेको बिगो र कायम भएको बिगो,

(च)   फैसला वा अन्तिम आदेशमा चित्त नबुझेको विषय, त्यसको आधार र कारण,

(छ)   पुनरावेदन जिकिर र सोको कानूनी आधार,

(ज)   अन्य पक्ष वा प्रत्यर्थीको पुनरावेदन परे वा नपरेको जानकारी भए सो बेहोरा,

(झ)   लाग्ने अदालती शुल्क र पुनराबेदन दस्तुर बुझाएको भए सोको प्रमाण,

(ञ)   पुनरावेदनको म्याद सम्बन्धी विषय,

(ट)   अधिकारक्षेत्र सम्बन्धी विषय ।

४५.  पुनरावेदनपत्र दर्ता गर्नु पर्नेः (१) अदालतमा दर्ताको लागि पेश गरेको पुनरावेदनपत्र देहाय बमोजिमको भएमा अदालतले दर्ता गर्नु पर्नेछः-

(क)   रीत र ढाँचा मिलेको,

(ख)   पुनरावेदन गर्ने म्यादभित्रको भएको,

(ग)   उल्लेख गर्नु पर्ने आवश्यक विवरण उल्लेख गरेको,

(घ)   तल्लो तहको अदालतबाट सो मुद्दामा भएको फैसला वा अन्तिम आदेशको स्पष्ट बुझिने प्रमाणित प्रतिलिपि संलग्न गरेको,

(ङ)   पुनरावेदनपत्रको स्पष्ट बुझिने प्रतिलिपि संलग्न गरेको,

(च)   अदालती शुल्क र पुनरावेदन दस्तुर दाखिल गरेको ।

तर उल्लिखित कुनै विषय शुरु मिसिल हेरेपछि मात्र यकिन हुनसक्ने रहेछ भने त्यस्तो  शुरु मिसिल आउनासाथ अदालती शुल्क दाखिल गराउन सकिनेछ ।

(२) उपनियम (१) बमोजिमको रीत नपुगेको पुनरावेदनपत्र दर्ता गर्न]’ हुँदैन । त्यस्तो रीत नपुगेको देखिएमा बाटाको म्यादबाहेक सात दिनभित्र सो रीत पुर्‍याउने शर्तमा धरौटीमा दर्ता गर्न सकिनेछ ।

(३) उपनियम (२) बमोजिम धरौटीमा रहेको पुनरावेदकले पुनरावेदनपत्र दर्ता नहुँदै तारिख गुजारेमा थाम्ने अवधि भुक्तान भएपछि त्यस्तो पुनरावेदनपत्र तामेलीमा राखिनेछ ।

४६.  अन्य अदालत मार्फत प्राप्त पुनरावेदनपत्रमा रीत पुर्‍याउन लगाउनेः (१) ऐनको दफा २१० बमोजिम फैसला गर्ने अदालत मार्फत वा ऐनको दफा २११ बमोजिम सरकारी कर्मचारी बहाल रहेको इलाकाको अदालत मार्फत दर्ता भएको पुनरावेदनपत्र पुनरावेदन सुन्‍ने अदालतमा प्राप्त भएपछि रीत पुगे नपुगेको जाँच गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जाँच गर्दा प्राप्त पुनरावेदनपत्र रीत पुगेको देखिएमा दर्ता गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम जाँच गर्दा प्राप्त पुनरावेदनपत्र रीत नपुगेको देखिएमा पुनरावेदक तारिखमा रहेको भए रीत नपुगेको बेहोरा सुनाई ऐनको दफा १२७ बमोजिम रीत पुर्‍याई ल्याउन समय दिनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको अवस्थामा पुनरावे  तारिखमा नरहेको भए रीत नपुगेको बेहोरा उल्लेख गरी यथासक्य चाँडो रीत पुर्‍याई पठाउनको लागि प्राप्त पुनरावेदनपत्र सहितका मिसिल कागजात सम्बन्धित अदालतमा तीन दिनभित्र फिर्ता पठाउनु पर्नेछ।

(५) उपनियम  (४)   बमोजिम फिर्ता पठाइएको पुनरावेदनपत्र रीत पुर्‍याई पुनः पुनरावेदन सुन्ने अदालतमा प्राप्त भएमा म्यादभित्रै पुनरावेदनपत्र दर्ता भएको मानिनेछ ।

४७.  मिसिल पठाउनेः ऐनको दफा २१० र दफा २१२ बमोजिम पुनरावेदन सुन्‍ने अदालतमा मिसिल पठाउँदा मुद्दाको पक्षलाई ऐनको दफा २०० बमोजिमको फैसला सुनी पाएको कागज वा पुनरावेदनको तामेली म्याद वा फैसला भएको सूचना र प्रमाण मिसिल भए सोसमेत संलग्न गरी पठाउनु पर्नेछ।

४८.  सुरू अदालतलाई जनाउ दिनेः पुनरावेदनपत्र दर्ता हुँदा तल्लो तहको अदालतको फैसला बमोजिम लागेको दण्ड जरिबाना बुझिलिई पुनरावेदनपत्र दर्ता गरिएको भए अदालतले सो कुराको सूचना त्यस्तो अदालतलाई दिनु पर्नेछ ।

४९.  प्रत्यर्थीलाई झिकाउनेः ऐनको दफा २१३ बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएमा प्रत्यर्थीका नाउमा पठाउने म्यादको साथमा त्यस्तो आदेश र पुनरावेदनपत्रको प्रतिलिपिसमेत संलग्न गरी पठाउनु पर्नेछ ।

५०.  लिखित प्रतिवादः ऐनको दफा २१३ बमोजिम झिकाएको प्रत्यर्थीले चाहेमा पुनरावेदन जिकिर र अदालतको आदेशलाई लिखित रूपमा प्रतिबाद गरी आफ्नो बेहोरा प्रस्तुत गर्न       सक्नेछ ।