परिच्छेद –८ विशेष प्रकृतिका निवेदन सम्बन्धी व्यवस्था

परिच्छेद –८ विशेष प्रकृतिका निवेदन सम्बन्धी व्यवस्था

६०.  मृत्युको न्यायिक घोषणाको लागि निवेदन दिनुपर्नेः (१) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ४० को उपदफा (४) बमोजिम कुनै व्यक्ति बिना सूचना बेपत्ता भएको वा कुनै विपद् वा दुर्घटनामा परेकोले मृत्युको न्यायिक घोषणा गरिपाउँ भनी निवेदन दिँदा सरोकारवाला व्यक्तिले अनुसूची -२१ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(२) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ४० को उपदफा (५)  बमोजिम मृत घोषित भई सकेको व्यक्ति जीवित रुपमा फर्की आएको वा निजको मृत्यु भएको भनिएको मिति न्यायिक घोषणामा फरक परेको कारणले गर्दा उक्त मृत्युको न्यायिक घोषणा संशोधन वा बदर गरिपाउँ भनी अनुसूची -२२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (१) वा (२)  बमोजिम दर्ता हुन आएका निवेदन अनुसूची -२३ बमोजिमको दर्ता किताबमा दर्ता गरी यथासम्भव सोही दिन इजलास समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपनियम (३)  बमोजिम पेश हुन आएका निवेदनका सम्बन्धमा इजलासले अनुसूची -२३ बमोजिमको दर्ता किताबमा निर्णय गर्नु पर्नेछ ।

(५)  उपनियम (३)  बमोजिम पेश भएको निवेदनमा मृत्युको न्यायिक घोषणा गर्ने निर्णय भएमा निवेदकलाई अदालतबाट अनुसूची -२४ बमोजिमको ढाँचामा सोको प्रमाणपत्र दिनु पर्नेछ।

(६) उपनियम (३) बमोजिम पेश भएको निवेदनमा मृत्युको न्यायिक घोषणा संशोधन वा बदर गर्ने निर्णय भएमा निवेदकलाई अदालतबाट अनुसूची -२५ बमोजिमको ढाँचामा सोको प्रमाणपत्र दिनु पर्नेछ ।

६१.  प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी निवेदनको कारबाहीः (१) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ५५ बमोजिम प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी कारबाही गर्नको लागि दर्ता भएको निवेदनको कारबाही प्रारम्भ गर्नु अगाडि इजलासमा पेश गर्नु  पर्नेछ ।

(२) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ५८ को उपदफा (३)  अनुसार सम्पत्ति व्यवस्थापन गर्न जिम्मेवारी दिने प्रयोजनको लागि अदालतले कानून बमोजिम दामासाही व्यवसायीको रुपमा इजाजत प्राप्त गरेका व्यक्तिहरुको सूची दामासाही प्रशासन कार्यालयबाट झिकाई अद्यावधिक गरी राख्नु पर्नेछ ।

(३) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ५८ को उपदफा (३) बमोजिम अदालतले सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मेवारी दिनु अगाडि सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मेवारी दिन लागिएको व्यक्तिसँग देहाय बमोजिमको कार्ययोजना विवरण माग गर्न सक्नेछः-

(क)   दामासाहीको प्रकृया पुरा गर्न लाग्ने समय,

(ख)     अपेक्षा गरेको पारिश्रमिक र सोका आधारहरु,

(ग)   कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने खर्च विवरण,

(घ)   दामासाहीको प्रकृति हेरी इजलासले आवश्यक सम्झेका अन्य विवरण ।

(४)  उपनियम (३)  बमोजिम पेश भएको विवरण उपयुक्त देखिएमा विवरण पेश गर्ने दामासाही ब्यवस्थापकलाई मुलुकी देवानी (संहिता) ऐन, २०७४ को भाग -२ परिच्छेद -३ मा उल्लेख भए बमोजिमको दामासाही सम्बन्धी कार्य गर्ने गरी अदालतले आदेश दिन सक्नेछ ।

(५)   उपनियम (४)  बमोजिम दामासाही सम्बन्धी कामको जिम्मेवारी पाएका दामासाही व्यबस्थापकले अदालतले दिएको समयभित्र तोकिएको कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(६)  उपनियम (१)   बमोजिम दर्ता हुन आएका निवेदन अनुसूची -२६ बमोजिमको दर्ता किताबमा दर्ता गरी सो निवेदनका सम्बन्धमा सोही दर्ता किताबमा निर्णय गर्नु      पर्नेछ ।

(७) यस नियम बमोजिम दामासाही ब्यबस्थापकले गरेको कुनै काम कारबाहीमा चित्त नबुझ्ने व्यक्तिले सम्बन्धित जिल्ला अदालतसमक्ष निवेदन दिन सक्नेछ ।

६२.  दर्ताद्वारा विवाहः (१) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७७ बमोजिम कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गरिपाउँ भनी अनुसूची -२७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१)  बमोजिम परेको निवेदन जाँच गर्दा कानून बमोजिमको रित पुगेको देखिएमा अनुसूची -२८ बमोजिमको निवेदन दर्ता किताबमा दर्ता गरी इजलास समक्ष पेश गर्नु पर्नेछ।

(३) उपनियम (३)  बमोजिम पेश भएको निवेदन दर्ता भई मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७८ बमोजिम छानबिन गर्दा निवेदन माग बमोजिम दर्ताद्वारा विवाह हुने अवस्था देखिएमा सोही ऐनको दफा ७९ बमोजिमको विवाहको सहमतिपत्र तयार गरी पुरुष, महिला र उपस्थित साक्षीको सहीछाप गराई विवाह दर्ता किताबमा दर्ता गरी विवाहको प्रमाणपत्र दिने निर्णय गर्नु पर्नेछ ।

(४ उपनियम  ((३) बमोजिमको विवाहको सहमतिपत्र अनुसूची -२९ बमोजिमको ढाँचामा तयार गरी मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७९ को रीत पुर्‍याई सहीछाप गर्नु गराउनु पर्नेछ।

(५) उपनियम (४) बमोजिम विवाहको सहमतिपत्रमा सहीछाप गराइसकेपछि त्यस्तो विवाहलाई अनुसूची -३० बमोजिमको विवाहको दर्ता किताबमा दर्ता गरी विवाह गर्ने पक्ष र साक्षीको हस्ताक्षर र ल्याप्चे सहिछाप गराई न्यायाधीशलेसमेत हस्ताक्षर गर्नु पर्नेछ ।

(६) उपनियम (५ बमोजिम विवाह दर्ता गरिसकेपछि विवाह दर्ताका पक्षहरुलाई विवाहको प्रमाणपत्र दिनु पर्नेछ ।

६३.  संरक्षक प्रमाणित गर्न निवेदन दिनुपर्नेः (१) ऐनको दफा १३६ को उपदफा (२) को खण्ड (ग) बाहेकका अन्य व्यक्ति वा दफा १३७ बमोजिम संरक्षकत्व प्रदान गर्नुपर्ने व्यक्ति बाहेक अन्य व्यक्तिले असक्षम वा अर्धसक्षम व्यक्तिको संरक्षक प्रमाणित गरिपाउँ भनी निवेदन दिँदा अनुसूची -३१ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(२) उपनियम (१)बमोजिम  दर्ता हुन आएका निवेदन अनुसूची -३२ बमोजिमको दर्ता किताबमा दर्ता गरी यथासम्भव सोही दिन इजलास समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम  पेश हुन आएका निवेदनका सम्बन्धमा इजलासले अनुसूची -३२ बमोजिमको दर्ता किताबमा निर्णय गर्नु पर्नेछ ।

(४) उपनियम (२) बमोजिम पेश भएको निवेदनमा संरक्षक प्रमाणित गर्ने निर्णय भएमा निवेदकलाई अदालतबाट अनुसूची -३३ बमोजिमको ढाँचामा सोको प्रमाणपत्र दिनु पर्नेछ।

६४.  संरक्षक नियुक्ति गर्न निवेदन दिनुपर्नेः (१) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा १३९ बमोजिम वडा समिति वा सरोकारवालाले असक्षम वा अर्धसक्षम व्यक्तिको तर्फबाट कुनै खास व्यक्तिलाई संरक्षक नियुक्त गरिपाउँ भनी निवेदन दिँदा अनुसूची -३४ बमोजिमको ढाँचामा दिनु पर्नेछ।

(२)  उपनियम (१)  बमोजिम दर्ता हुन आएका निवेदन अनुसूची -३५ बमोजिमको दर्ता किताबमा दर्ता गरी यथासम्भव सोही दिन इजलास समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम पेश हुन आएका निवेदनका सम्बन्धमा इजलासले अनुसूची -३५ बमोजिमको दर्ता किताबमा निर्णय गर्नु पर्नेछ ।

(४)  उपनियम (२) बमोजिम पेश भएको निवेदनमा संरक्षक नियुक्त गर्ने गरी आदेश भएमा निवेदकलाई अदालतबाट अनुसूची -३६ बमोजिमको ढाँचामा सोको प्रमाणपत्र दिनु पर्नेछ ।

६५.  माथवर नियुक्ति वा प्रमाणित गर्न निवेदन दिनुपर्नेः (१) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद -७ बमोजिम नाबालक वा होश ठेगानामा नभएका व्यक्तिको पालन पोषण, स्वास्थ्य, शिक्षा, हेरविचार तथा सम्पत्तिको संरक्षण गर्नको लागि कुनै व्यक्तिले माथवर नियुक्त गरिपाउँ वा प्रमाणित गरिपाउँ भनी निवेदन दिँदा अनुसूची -३७ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(२)  उपनियम (१)   बमोजिम दर्ता हुन आएका निवेदन अनुसूची -३८ बमोजिमको दर्ता किताबमा दर्ता गरी यथासम्भव सोही दिन इजलास समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपनियम (२)  बमोजिम पेश हुन आएका निवेदनका सम्बन्धमा इजलासले अनुसूची -३८ बमोजिमको दर्ता किताबमा निर्णय गर्नु पर्नेछ ।

(४) उपनियम (२)  बमोजिम पेश भएको निवेदनमा कुनै व्यक्तिलाई माथवर नियुक्त गर्ने वा माथवर प्रमाणित गर्ने आदेश भएमा निवेदकलाई अदालतबाट अनुसूची -३९ बमोजिमको ढाँचामा माथवर नियुक्त भएको वा माथवर प्रमाणित भएको  प्रमाणपत्र दिनु पर्नेछ ।

६६.  धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति लिनेः (१) ऐनको दफा १७७ बमोजिम कसैले कुनै बालबालिकालाई धर्मपुत्र धर्मपुत्री राख्न अनुसूची -४० को ढाँचामा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्ना छोरा छोरी हुने कुनै व्यक्तिले मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा १७१ को उपदफा (३) बमोजिम अन्य बालबालिकालाई धर्मपुत्र धर्मपुत्री राख्न अनुमतिको छुट्टै निवेदनसमेत दिनु पर्नेछ ।

(३)   उपनियम (१)  वा (२)  बमोजिम दर्ता हुन आएका निवेदन अनुसूची -४१ बमोजिमको दर्ता किताबमा दर्ता गरी यथासम्भव सोही दिन इजलास समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपनियम (३)  बमोजिम पेश भएका निवेदनका सम्बन्धमा इजलासबाट अनुसूची -४१ बमोजिमको दर्ता किताबमा निर्णय गर्नु पर्नेछ ।

(५) उपनियम (४)  बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्न दिने निर्णय भएमा अनुसूची -४२ बमोजिमको ढाँचामा मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा १७७ को उपदफा (२) बमोजिमको धर्मपुत्र वा धर्मपुत्रीको दुई प्रति लिखत तयार गर्न लगाउनु   पर्नेछ ।

(६)  उपनियम (५)  बमोजिम तयार भएका लिखत ईजलासबाट प्रमाणीकरण गरी एक प्रति निवेदकलाई दिई एक प्रति अदालतमा अभिलेखको रुपमा राख्नु पर्नेछ ।

६७. गुठी सञ्चालक नियुक्ति गर्न निवेदन दिनुपर्नेः  (१) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा  ३२८ को उपदफा (३) बमोजिम हितग्राही वा स्थानीय तहले गुठी सञ्चालक नियुक्त गरिपाउँ भनी निवेदन दिँदा अनुसूची -४३ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(२)   उपनियम (१) बमोजिम दर्ता हुन आएका निवेदन अनुसूची -४४ बमोजिमको दर्ता किताबमा दर्ता गरी यथासम्भव सोही दिन इजलास समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम पेश भएका निवेदनका सम्बन्धमा इजलासबाट अनुसूची -४४ बमोजिमको दर्ता किताबमा निर्णय गर्नु पर्नेछ ।

६८.  अधिकृत वारिसनामा प्रमाणित गर्न निवेदन दिनुपर्नेः (१) ऐनको दफा १५३ बमोजिम अधिकृत वारिसनामा प्रमाणित गर्न अदालतमा निवेदन दिँदा अनुसूची -४५  बमोजिमको ढाँचामा दिनु   पर्नेछ ।

(२)  उपनियम (१) बमोजिम दिइने अधिकृत वारिसनामाको निवेदन ऐनको दफा १५४ मा उल्लिखित अचल सम्पत्तिको हक हस्तान्तरणको विषयसँग सम्बन्धित भएमा सो निवेदनमा देहायका कुरासमेत खुलाएको हुनु पर्नेछ :-

(क)     सम्पत्ति रहेको स्थान वा ठेगाना,

(ख)     कित्ता नम्बर र क्षेत्रफल,

(ग)      अचल सम्पत्तिको चालु वर्षको तिरो बुझाएको रसिद ।

(३) उपनियम (१) बमोजिम दर्ता हुन आएका निवेदन अनुसूची -४६ बमोजिमको दर्ता किताबमा दर्ता गरी निवेदनका सम्बन्धमा सोही दर्ता किताबमा निर्णय गर्नु पर्नेछ ।

(४) उपनियम (३)  बमोजिम अधिकृत वारिसनामा प्रमाणित गर्ने निर्णय भएमा निवेदकले निवेदन साथ पेश गरेको अधिकृत वारिसनामाको कागज न्यायाधीशले प्रमाणित गरी एक प्रति अदालतमा अभिलेखको रुपमा राखी एक प्रति निवेदकलाई दिनु पर्नेछ ।

६९.  निवेदन दर्ता गर्नेः यस परिच्छेद बमोजिम अदालतमा दर्ता भएका निवेदनलाई विषयगत रुपमा अदालतको सफ्टवेयरमा प्रविष्ट गर्नु पर्नेछ ।

७०.  तारिखमा राख्न सक्नेः यस परिच्छेद बमोजिम अदालतमा दर्ता भएका निवेदन सोही दिन किनारा नलागेमा आवश्यकता अनुसार अदालतले निवेदकलाई तारिखमा राख्न सक्नेछ ।

७१.  अदालतले बुझ्न सक्नेः यस परिच्छेद बमोजिम अदालतमा दर्ता भएका निवेदनमा उल्लिखित विषयका सम्बन्धमा अदालतले छानबिन तथा जाँचबुझको सिलसिलामा आवश्यकता अनुसार निवेदकहरुसँग कागज गराउने,  कुनै निकाय वा व्यक्तिलाई बुझ्ने, कागज प्रमाण माग गर्ने वा झिकाउने, अदालत वा स्थानीय तह वा कुनै सरकारी निकायमार्फत मुचुल्का गराउने, पेश गरेका कागज प्रमाणको आधिकारिकता परीक्षण गर्ने लगायतका कार्य गर्न सक्नेछ ।

तर नियम ६१ बमोजिम अदालतमा पेश हुने प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी निवेदनमा मुद्दा सरहको कार्यविधि अपनाउन बाधा परेको मानिने छैन ।

७२.  अभिलेख राख्नु पर्नेः यस परिच्छेद बमोजिम अदालतमा परेका निवेदन सहितका कागजातको फाईल र दर्ता तथा निर्णय किताब सुरक्षित साथ राख्नु पर्नेछ ।

७३.  प्रमाणपत्र दिनुपर्नेः यस परिच्छेद बमोजिम प्रदान गरिने प्रमाणपत्र दुई प्रति तयार गरी एक प्रति निवेदकलाई उपलब्ध गराई एक प्रति अदालतमा अभिलेखको रुपमा राख्नु पर्नेछ ।