परिच्छेद –२ पक्राउ पूर्जी र हिरासतमा राख्ने अनुमति सम्बन्धी व्यवस्था

परिच्छेद –२ पक्राउ पूर्जी र हिरासतमा राख्ने अनुमति सम्बन्धी व्यवस्था

३.    पक्राउ पूर्जी जारी गर्ने अनुमतिः (१) ऐनको दफा ९ को उपदफा (२) बमोजिम अनुसन्धान अधिकारी वा प्रहरी कार्यालय वा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले कुनै व्यक्तिका नाउँमा पक्राउ पूर्जी जारी गर्ने अनुमतिका लागि अदालतसमक्ष अनुसूची -१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको निवेदनमा सम्भव भएसम्म देहायका विवरणहरु उल्लेख गरी सो सम्बन्धी कागजात समेत संलग्न गर्नु पर्नेछः-

  • पक्राउ गर्नुपर्ने व्यक्तिको नाम, थर, वतन वा अन्य परिचयात्मक विवरण,
  • कसूरको छोटकरी विवरण र पक्राउ गर्नुपर्ने व्यक्तिको संलग्नता देखिने प्रमाण,
  • वारदात मिति, समय र स्थान,
  • पक्राउ गर्नुपर्ने आधार र कारण ।

(३) उपनियम (१) बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति माग भएको अवस्थामा अदालतले आवश्यक देखेमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिनु पूर्व निवेदकसँग थप विवरण वा कागजात माग गर्न सक्नेछ ।

(४) उपनियम (१) बमोजिम निवेदन परेमा र बेहोरा मनासिव देखिएमा अदालतले      अनुसूची -२ बमोजिमको ढाँचामा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ।

(५) अदालतले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको अभिलेख अनुसूची -३ बमोजिमको ढाँचामा राख्‍नु पर्नेछ ।

(६) एक भन्दा बढी न्यायाधीश कार्यरत रहेको अदालतमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिने कार्य उच्च अदालतको हकमा मुख्य न्यायाधीश, उच्च अदालतको इजलास  वा अस्थायी इजलासको हकमा मुख्य भई काम गर्ने न्यायाधीश र जिल्ला अदालतको हकमा प्रमुख भई काम गर्ने न्यायाधीशले तोकेबमोजिम हुनेछ।

(७) कार्य कार्यालय समय अघि पछिको समय वा बिदाको दिनमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिने सम्बन्धी कार्यको लागि अदालतले उपयुक्त व्यवस्था गर्न     सक्नेछ ।

(८) पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको व्यक्ति पक्राउ नपरेसम्म सो अनुमति सम्बन्धी कारबाहीको विवरण अदालतबाट सार्वजनिक गरिने छैन ।

४.    न्यायाधीशको अनुपस्थितिमा पक्राउ पूर्जी जारी गर्ने अनुमतिः अदालतमा न्यायाधीश उपस्थित नभएको अवस्थामा अदालतमा उपस्थित भए मध्ये सबैभन्दा वरिष्ठतम् कर्मचारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति सम्बन्धी कार्य गर्नेछ ।

५.    जरुरी पक्राउको स्वीकृति लिनेः (१) अनुसन्धान अधिकारी वा प्रहरी कार्यालय वा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले ऐनको दफा ९ को उपदफा (६) बमोजिम जरुरी पक्राउ पूर्जी जारी गरी अनुसूची -४ बमोजिमको ढाँचाको निवेदनमा देहायका विवरण उल्लेख गरी पक्राउ गरेको व्यक्ति र सम्बन्धित कागजातहरु सहित पक्राउको स्वीकृतिका लागि अदालतमा पेश गर्नु पर्नेछः-

  • पक्राउ गरेको व्यक्तिको नाम, थर, वतन वा अन्य परिचयात्मक विवरण,
  • पक्राउ गरेको मिति, समय र स्थान,
  • वारदात मिति, समय र स्थान,
  • कसूरको नाम,
  • सम्भव भएसम्म पक्राउ गरेको व्यक्तिको संलग्नता देखिने प्रमाण,
  • खानतलासी गर्दा दशी प्रमाण बरामद भएको भए सोको मुचुल्का,
  • जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गर्नु परेको कारण ।

(२) उपनियम (१) बमोजिम निवेदन पेश भएपछि पक्राउको कारण मनासिब देखिएमा अदालतले पक्राउको स्वीकृति दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम अदालतले स्वीकृति दिएकोमा  सोको अभिलेख अनुसूची -५  बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।

६.    अनुसन्धानको लागि हिरासतमा राख्ने अनुमतिः (१) ऐनको दफा १४ बमोजिम अनुसन्धानको लागि अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान अधिकृतले अनुसूची -६ बमोजिमको ढाँचामा सरकारी वकिल कार्यालय मार्फत अदालतमा निवेदन दिनु पर्नेछ।

(२) ऐनको दफा १४ को उपदफा -७_ मा उल्लिखित कसूरका सम्बन्धमा अभियुक्तलाई थप अवधि हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान गर्ने अधिकारी र सरकारी वकिल दुवैले अदालतमा निवेदन दिन सक्नेछन् ।

(३) यस नियम बमोजिम दिइने निवेदनमा अनुसन्धान सन्तोषजनक रुपमा भएको र अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण तथा सम्पन्न गर्नुपर्ने कामहरुको विवरण समेत खुलाउनु पर्नेछ।

७.    हिरासतमा राख्ने अनुमति दिँदा विचार गर्नुपर्ने कुरा : (१) नियम ६ बमोजिम अभियुक्तलाई हिरासतमा राख्‍ने अनुमति माग गरी निवेदन परेमा अदालतले देहायका कुराहरु विचार गरी अनुसन्धान सन्तोषजनक रुपमा भएको देखिई निवेदन माग बमोजिम हिरासतमा राख्‍न आवश्यक देखिएमा माग बमोजिम अनुमति दिन सक्नेछ:-

  • अभियुक्तको नाम, थर, उमेर, वतन, बाबु आमाको नाम, सम्पर्क फोन नम्बर, ईमेल ठेगाना जस्ता परिचयात्मक विवरण मिसिलमा उल्लेख भए वा नभएको,
  • अभियुक्तको वास्तविक परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी वा निजको परिचय खुल्ने अन्य कागजात मिसिल संलग्न रहे नरहेको,
  • पक्राउ परेको मिति, स्थान र निजको परिचयात्मक विवरण भिडे नभिडेको,

(घ)   अभियुक्तलाई हिरासतमा उचित व्यवहार गरे नगरेको,

(ङ)   अभियुक्तलाई थुनुवा पूर्जी दिए नदिएको तथा पक्राउको कारण जानकारी गराए नगराएको,

(च)   अभियुक्तको स्वास्थ्य जाँच गराए नगराएको,

(छ)   अभियुक्तले कानून व्यवसायीसँग सल्लाह लिन पाए नपाएको ।

(२) उपनियम (१) मा उल्लिखित कुराहरु यकिन गर्नको लागि अदालतले अभियुक्तसँग आवश्यक सोधपुछ गर्न वा जानकारी लिन सक्नेछ।

(३) हिरासतमा राख्‍ने अनुमतिको लागि  पेश भएको अभियुक्तलाई हिरासतमा राख्न अनुमति दिनु पूर्व अदालतले निजको अधिकारको बारेमा जानकारी गराउनु पर्नेछ।

(४) हिरासतमा रहेको अभियुक्त बिरामी भइ उपचार गर्नुपर्ने अवस्थाको देखिएमा अदालतले आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिनु पर्नेछ ।

(५) हिरासतमा रहेको अभियुक्त विशेष हेरचाह गर्नुपर्ने गर्भवती वा सुत्केरी महिला, बालबालिका, बृद्ध अवस्था वा बिरामी वा अन्य कुनै प्रकारको अशक्त देखिए आवश्यक हेरचाहको व्यवस्था गर्न आदेश दिनु पर्नेछ ।

(६) अभियुक्तलाई हिरासतमा राख्‍ने अनुमतिको लागि पेश भएकोमा ऐनको दफा १४ को उपदफा (६) बमोजिम कानून व्यवसायीको बहस सुन्न आवश्यक देखिएमा अभियुक्तले नियुक्त गरेको कानून व्यवसायी वा वैतनिक कानून व्यवसायी र सरकारी वकिलबाट बहस गराउन सकिनेछ।

(७) अदालतले अभियुक्तलाई हिरासतमा राख्ने अनुमति दिँदा अनुसूची -७ बमोजिमको ढाँचामा आदेश पर्चा खडा गरी सोको अभिलेख राख्‍नु पर्नेछ ।

८.        शारीरिक जाँचको आदेश गर्ने: (१) अदालतले आवश्यक देखेमा हिरासतमा रहेको व्यक्तिको देहायको अवस्थामा शारीरिक जाँच गर्न आदेश दिन सक्नेछ:-

(क)   हिरासतमा राख्‍ने अनुमतिको लागि अदालतमा पेश भएको अवस्थामा,

(ख)   ऐनको दफा २२ को उपदफा (२) बमोजिम हिरासतमा रहेको व्यक्ति वा निजको तर्फबाट अरु कसैले अदालत समक्ष निवेदन दिएको अवस्थामा,

(ग)    अन्य कुनै बेहोराबाट हिरासतमा रहेको व्यक्तिको शारीरिक जाँच हुन आवश्यक छ भनी अदालतलाई जानकारी हुन आएको अवस्थामा।

(२) उपनियम (१) को खण्ड (ख) बमोजिम दिने निवेदनमा हिरासतमा रहेको व्यक्तिलाई कुटपिट गरिएको, यातना दिइएको वा निज विरुद्ध कुनै कसूर गरिएको भए सो बेहोरा र सोको आधारसमेत खुलाउनु पर्नेछ।

(३) हिरासतमा रहेको व्यक्तिलाई कुटपिट गरेको, यातना दिएको वा निज विरुद्ध अन्य कुनै कसूर गरेको जानकारी हुन आएमा अदालतले कुनै अस्पतालबाट निजको शारीरिक जाँच गराउन आदेश दिनेछ।

(४) उपनियम (३) बमोजिम हिरासतमा रहेको व्यक्तिको शारीरिक जाँचसम्बन्धी आदेश गर्दा अस्पतालले त्यस्तो जाँच प्रतिवेदन बढीमा तीन दिनभित्र सम्बन्धित कार्यालय वा अनुसन्धान अधिकारीलाई पठाई सोको प्रतिलिपि अदालतमा समेत पठाउने बेहोरा उल्लेख गर्नु पर्नेछ।

(५) उपनियम (४) बमोजिम शारीरिक जाँचसम्बन्धी प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित अनुसन्धान अधिकारीले त्यस्तो प्रतिवेदन सम्बन्धित मिसिल सामेल गरी तत्काल अदालत समक्ष पेश गर्नु पर्नेछ।

९.      उपचार, अन्तरिम राहत तथा विभागीय कारबाहीको आदेश दिनेM (१) नियम ८ बमोजिम प्राप्त परीक्षण प्रतिवेदन समेतका आधारमा हिरासतमा राखिएको व्यक्तिलाई ऐनको दफा २२ को उपदफा (५) बमोजिम अन्तरिम राहत उपलब्ध गराउनु पर्ने देखिएमा अदालतले आवश्यकता अनुसार देहाय बमोजिमको कुनै वा सबै कार्य तत्काल गर्न सम्बन्धित प्रहरी कार्यालय वा अन्य सम्बन्धित निकायलाई आदेश दिनु पर्नेछः-

  • हिरासतमा राखिएको व्यक्तिको स्वास्थ्य उपचार गराउनु पर्ने देखिएमा निजलाई उपचारको उपयुक्त प्रबन्ध गर्ने,
  • निजलाई पुगेको शारीरिक चोट एवं मानसिक पीडाका आधारमा अन्तरिम राहत स्वरुप उपयुक्त रकम उपलब्ध गराउने ।

(२) ऐनको दफा २२ को उपदफा (२) बमोजिमको आदेश अनुसार प्राप्त परीक्षण प्रतिवेदन समेतका आधारमा हिरासतमा राखिएको व्यक्तिलाई कुटपिट गरेको वा यातना दिएको देखिएमा अदालतले सम्बन्धित कार्यालय वा व्यक्ति समेतलाई बुझी यातना दिने व्यक्तिलाई ऐनको दफा २२ को उपदफा (५) बमोजिम विभागीय कारबाही गर्ने आदेश गर्न सक्नेछ।

(३) उपनियम (१) वा (२) बमोजिम आदेश प्राप्त भएमा सम्बन्धित कार्यालयले यथाशीघ्र सो आदेश कार्यान्वयन गरी सोको जानकारी अदालतलाई गराउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम प्राप्त हुन आएको जानकारी सम्बन्धित मिसिलमा संलग्न गर्नु पर्नेछ।

१०. जाहेरी दरखास्तको अभिलेखः ऐनको दफा २८ बमोजिम प्रहरी कार्यालय वा अनुसन्धान अधिकारीबाट प्राप्त जाहेरी दरखास्त वा सूचनाको प्रतिलिपि अदालतले अनुसूची -८ बमोजिमको ढाँचाको दर्ता किताबमा जनाई अभिलेख राख्नु पर्नेछ।