परिच्छेद –५ ऐनको अनुसूची –४ अन्तर्गतका मुद्दाको लिखत दर्ता सम्बन्धी व्यवस्था

परिच्छेद –५ ऐनको अनुसूची –४ अन्तर्गतका मुद्दाको लिखत दर्ता सम्बन्धी व्यवस्था

४२.    अदालतमा पेश गर्ने लिखतमा पुर्‍याउनु पर्ने सामान्य रीतः (१) अदालतमा पेश हुने निवेदनपत्र, फिरादपत्र, प्रतिउत्तरपत्र, लिखित जवाफ, लिखित प्रतिवाद, पुनरावेदनपत्र लगायतका लिखत ए फोर (चौडाई ८.३ ईन्च र लम्बाई ११.७ ईन्च) साइजको सादा नेपाली कागजमा प्रत्येक पृष्ठमा शिर र पुछारमा एक इन्च, बायाँतर्फ डेढ इन्च र दायाँतर्फ आधा इन्च तथा पहिलो पृष्ठको हकमा शिरतर्फ तीन इन्च ठाउँ छोडेको हुनु पर्नेछ ।

(२) अदालतमा पेश हुने लिखत कागजको एकापट्टि मात्र युनिकोड नेपाली फन्टको बाह्र साइजमा कम्प्युटर टाइप वा मुद्रण गरिएको तथा लाईन बीचको फरक एक दशमलब एक पाँच रहेको हुनु पर्नेछ ।

(३) लिखत दर्ता गर्न ल्याउने व्यक्तिको र अर्को पक्षको थाहा भएसम्म देहाय बमोजिमको विवरण  लिखतमा उल्लेख गरेको हुनु पर्नेछ:-

(क)   नाम, थर र उमेर,

(ख)   पति, पत्नी, बुबा, आमा, बाजे र बज्यैको नाम,

(ग)   उपलब्ध भएसम्म फ्याक्स, इमेल, टेलिफोन नम्बर, मोबाइल नम्बर र अन्य परिचयात्मक विवरण,

(घ)   कुनै कार्यालय वा संस्थामा कार्यरत रहेकोमा निजको पद, कार्यालय, संस्थाको नाम, ठेगाना र उपलब्ध भएसम्म फ्याक्स, इमेल र टेलिफोन नम्बर,

(ङ)   स्थायी ठेगाना र हाल बसोबास गरेको ठेगाना (जिल्ला, सम्भब भएसम्म साबिकको र हालको महानगरपालिका/ उपमहानगरपालिका/ नगरपालिका/ गाउँपालिका, वडा नम्बर, टोल, मार्ग र भएसम्म घरको ब्लक नं.),

(च)   सङ्गठित संस्था भए सो संस्थाको नाम,  ठेगाना, सम्पर्क टेलिफोन नम्बर, ईमेल ठेगाना, रजिष्ट्रर्ड कार्यालय, प्रधान कार्यालय वा कारोबार रहेको मुख्य कार्यालय,

(छ)   सरकारी कार्यालय, अदालत, संवैधानिक निकाय भए सोको नाम, ठेगाना, सम्पर्क टेलिफोन नम्बर, ईमेल ठेगाना आदि ।

(४) लिखतको पेटबोलीमा उल्लेख भएको प्रत्येक व्यक्तिलाई सजिलैसँग पहिचान गर्न सकिने गरी निजको पूरा नाम, थर, ठेगाना र अन्य आवश्यक परिचयात्मक विवरण स्पष्ट रूपमा उल्लेख गरेको हुनु पर्नेछ ।

(५) लिखतमा उल्लिखित स्थानको पहिचान हुने गरी पूरा ठेगाना स्पष्टरूपमा उल्लेख गरेको हुनु पर्नेछ ।

(६) लिखत दर्ता गर्न ल्याउने व्यक्तिले प्रत्येक पृष्ठको शिर पुछारमा ल्याप्चे सहीछाप र लेख्न जान्नेले छोटकरी दस्तखत र आखिरी पृष्ठमा बुझिने गरी पूरा दस्तखत समेत गरेको हुनु पर्नेछ ।

(७) कानून व्यवसायीले लिखतको मस्यौदा गरेको भए सो लिखतको पहिलो पृष्ठको बायाँ किनारामा सो लिखत निजले मस्यौदा गरेको बेहोरा र निजको नाम, थर तथा प्रमाणपत्र नम्बर स्पष्ट रूपमा उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।

(८) कानून व्यवसायी वा लिखत दर्ता गर्न आउने व्यक्ति बाहेक अरूले लिखतको मस्यौदा गरेको भए सो लिखतको पहिलो पृष्ठको बायाँ किनारामा सो मस्यौदा गर्ने व्यक्तिले “यो लिखत मैले मस्यौदा गरेको हुँ, लिखत तयार गर्नका लागि म कानून बमोजिम अयोग्य छैन” भन्ने बेहोरा र आफ्नो नाम, थर र ठेगाना स्पष्ट रूपमा उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।

(९) लिखतको आखिरी प्रकरणमा “यसमा लेखिएको बेहोरा साँचो छ, झुट्टा ठहरे कानूनबमोजिम सहुँला बुझाउँला, अदालतबाट जारी हुने म्याद वा सूचना तामेली लगायतका अन्य काम कारबाहीमा अदालतलाई सहयोग गर्नेछु”भन्ने बेहोरा उल्लेख गरी त्यसको मुनि दायाँ किनारामा लिखत दर्ता गर्न ल्याउने व्यक्तिले दस्तखत गरेको हुनु पर्नेछ ।

(१०) लिखतका विषयहरू सिलसिलेवार रूपमा प्रकरण छुट्याई उचित र संयमपूर्ण भाषामा लेखिएको हुनु पर्नेछ ।

(११) लिखत दर्ता गर्न ल्याउने वा अदालतमा कागज गर्न आउने व्यक्तिले आफ्नो नागरिकता वा नाम, थर, वतन यकिन खुलेको अन्य कुनै परिचय खुल्ने प्रमाण पेश गर्नु पर्नेछ ।

(१२) उपनियम (११) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै परिचय खुल्ने प्रमाण पहिले सोही मुद्दामा पेश भई मिसिल संलग्न रहेको भए पुनः पेश गर्नु पर्ने छैन ।

(१३) अदालत वा अन्य न्यायिक निकायबाट कैद वा जरिबानाको सजाय पाएको व्यक्तिले पुनरावेदन वा अन्य कुनै लिखत दर्ता गर्न आउँदा त्यस्तो कैद सजाय भोगेको, भोगिरहेको, जरिबानाको रकम तिरेको वा सोबापत कानून बमोजिम धरौट वा जमानत दिन पाउनेमा सो दिएको निस्सा पेश गर्नु पर्नेछ ।

(१४) लिखतसाथ पेश गर्ने कागज नेपाली भाषा बाहेक अन्य भाषामा तयार भएको भए अदालतले आवश्यक देखेमा सोको प्रचलित कानून बमोजिम नेपाली भाषामा अनुवाद गरी सो अनुवादको प्रमाणित प्रति समेत लिखतसाथ पेश गर्न लगाउन सक्नेछ।

(१५) उपनियम (३) बमोजिमको विवरणमा कुनै परिवर्तन भएमा परिवर्तन भएको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र सम्बन्धित पक्षले सोको जानकारी अदालतलाई दिनु पर्नेछ।

४३.  स्पष्ट विवरण उल्लेख गर्नु पर्ने: (१) अदालतमा पेश गर्ने मुद्दासँग सम्बन्धित निवेदनमा मुद्दा परेको साल, मुद्दाको क्रम सङ्ख्या र नाम, माग गरेको कुरा र त्यसको कारण, आधार तथा सम्बद्ध कानून समेत उल्लेख गर्नु पर्नेछ ।

(२) अन्य कार्यालय वा अदालतमा भएको मिसिल वा कागज झिकाई पाउँ भनी पेश गर्ने निवेदनमा मिसिल कागज रहेको कार्यालयको नाम, ठेगाना, कागज रहेको मुद्दाको नाम वा विषय र क्रम सङ्ख्या, अन्य विवरण, कागज भएको मिति, कुन तथ्यको पुष्ट्याई वा खण्डनको लागि सो मिसिल कागज आवश्यक परेको हो सो बेहोरा समेत उल्लेख गर्नु पर्नेछ ।

(३) पहिले निवेदन परी आदेश भइसकेको विषयमा पुनः सोही बेहोरा वा समान उद्देश्यले निवेदन दिँदा पहिलेको निवेदनमा भएको आदेश र पुनः निवेदन दिनु पर्ने कारण तथा आधार समेत स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।

४४.  लिखत जाँच गर्नेः कुनै व्यक्तिले अदालत समक्ष दर्ताका लागि कुनै लिखत पेश गरेमा सम्बन्धित अधिकारीले देहायबमोजिम भए नभएको जाँच गर्नु पर्नेछ:-

(क)   कानून बमोजिमको ढाँचा मिले नमिलेको,

(ख)   हदम्याद वा म्यादभित्र भए नभएको,

(ग)   अदालतको अधिकार क्षेत्रभित्र पर्ने नपर्ने,

(घ)   हकदैया भए नभएको,

(ङ)   कानूनी आधार भए नभएको,

(च)   लिखतको लेखाई, प्रस्तुति वा उल्लेखनमा कुनै अशुद्धि, अपूर्णता वा अस्पष्टता भए नभएको,

(छ)   अङ्क र अक्षरमा फरक परे नपरेको,

(ज)   शिष्ट भाषामा लेखिए नलेखिएको ।

४५.  लिखत दर्ता गर्नेः (१) लिखत जाँच गर्दा रीत पुगेको देखिएमा सम्बन्धित अधिकारीले त्यस्तो लिखत दर्ता गर्नु पर्नेछ।

(२) यस नियम बमोजिम लिखत दर्ता गरे पछि दर्ता गर्न ल्याउनेको सहीछाप गराई त्यसको दर्ता नम्बर र मिति जनाई दर्ता गर्न ल्याउने व्यक्तिलाई सोको भरपाई दिनु पर्नेछ ।

(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले विद्युतीय माध्यमबाट कुनै लिखत दर्ता गर्ने व्यवस्था गरेको अवस्थामा सोही बमोजिम लिखत दर्ता गर्न सकिनेछ ।

(४) उपनियम (३) बमोजिम कुनै लिखत दर्ता गराएकोमा सम्बन्धित अधिकारीले आवश्यक देखेमा अवधि तोकी सक्कल लिखत पेश गर्न आदेश दिन सक्नेछ ।

४६.  लिखतको विद्युतीय प्रति पेश गर्नेः उजुरी, फिरादपत्र, अभियोगपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, लिखित प्रतिवाद जस्ता लिखत अदालतमा पेश गर्दा सोको विद्युतीय प्रति समेत पेश गर्नु पर्नेछ।

४७.  लिखत फिर्ता वा दरपीठको अभिलेख राख्नेः ऐनको दफा १८२ को उपदफा (२) बमोजिम रीत पुर्‍याउन फिर्ता दिएको वा दरपीठ गरेको लिखतको अभिलेख अनुसूची -१६ बमोजिमको ढाँचामा राखी विवरण अध्यावधिक गर्नु पर्नेछ ।

४८.  लिखतको सामान्य त्रुटि सच्याउनेः (१) अदालतमा लिखत पेश गर्ने व्यक्तिले एक पटक दर्ता भईसकेको लिखतमा लेख, टाइप वा मुद्रणको सामान्य त्रुटि सच्याउन चाहेमा सो बेहोरा उल्लेख गरी अदालतमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन पेश हुन आएमा आवश्यक जाँचबुझ गर्दा निवेदकको मागबमोजिम त्रुटि सच्याउन मनासिब देखेमा अदालतले त्यस्तो निवेदनलाई नै लिखतको पूरकको रूपमा मिसिल सामेल गर्ने आदेश दिन सक्नेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मूल लिखतको जुन बेहोरा सच्याउनका लागि माग गरेको हो, सोबाट मुद्दाको सम्पूर्ण कारबाही वा इन्साफमा तात्‍विक असर पर्न सक्ने देखेमा अदालतले त्यस्तो निवेदनलाई पूरक लिखतको रूपमा स्वीकार गर्ने छैन ।

(४) अदालतले आवश्यक देखेमा यस नियम बमोजिम त्रुटि सच्याएको जनाउ अर्को पक्षलाई दिन सक्नेछ ।

४९.   फिरादपत्रमा खुलाउनु पर्ने कुराहरुः ऐनको दफा ४३ को उपदफा (१) को खण्ड (ग) बमोजिम अदालतमा दर्ता गर्न ल्याएको उजुरीसरहको फिरादपत्रमा प्रचलित कानूनमा लेखिएका कुराहरुका अतिरिक्त देहायका कुराहरु खुलाउनु पर्नेछः-

  • फिरादपत्र दिने हकदैया,
  • हदम्याद,
  • अदालतको अधिकारक्षेत्र,
  • यसै विषयमा अन्यत्र फिराद दिए नदिएको,
  • सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र ल्याउने व्यक्तिको हकमा फिरादपत्र दर्ता गर्ने अख्तियारी भएको,
  • संरक्षक, माथवर वा हकवालाको हकमा सो पुष्टि हुने प्रमाण,
  • मुद्दा गर्नका लागि कानून बमोजिम अनुमति लिनुपर्नेमा अनुमति लिएको कुरा,
  • फिराद दाबीसँग सम्बद्ध कानून र सोको आधार,
  • फिरादपत्रमा उल्लेख गरिएका प्रमाण संलग्न गरेको,
  • लाग्ने दस्तुर संलग्न गरेको,
  • आवश्‍यक सङ्ख्यामा फिरादपत्र र प्रमाणको प्रतिलिपि संलग्न गरेको,
  • लिखतमा खुलाउनु पर्ने अन्य कुराहरु खुलाएको ।

(२) फिरादपत्र दिदा अनुसूची -१७ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

५०.  प्रतिउत्तरपत्र सम्बन्धी व्यवस्था:  (१) अदालतमा दर्ता गर्न ल्याएको प्रतिउत्तरपत्रमा प्रचलित कानूनमा लेखिएका कुराहरुका अतिरिक्त देहाय बमोजिमका कुराहरु खुलाउनु पर्नेछः-

  • प्रतिउत्तरपत्र म्यादभित्रको भएको,
  • प्रतिउत्तर दस्तुर संलग्न गरेको,
  • प्रतिउत्तरपत्रमा उल्लेख गरिएका प्रमाण संलग्न गरेको,
  • लिखतमा खुलाउनु पर्ने अन्य कुराहरु खुलाएको ।

(२) प्रतिउत्तरपत्र दिँदा अनुसूची -१८ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(३) अदालतमा दर्ता गर्न ल्याएको प्रतिउत्तरपत्र जाँच गर्दा म्यादभित्र र रीतपूर्वकको भए नभएको जाँची रीत पुगेको देखिए दर्ता गरी मिसिल संलग्न गर्नु पर्नेछ ।

५१.  मुद्दा फिर्ता लिन सक्नेः (१) ऐनको अनुसूची -४ अन्तर्गतको मुद्दामा पक्षले फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्रमा आफूले लिएको दाबी त्यागी सो दाबी फिर्ता लिनको लागि वा आफ्नो दाबी सावित गर्न नसक्ने वा दाबीको प्रयोजन समाप्त भएको कारण देखाई सो फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र फिर्ता लिनको लागि मुद्दाको फैसला हुनु अघि जुनसुकै बखत अदालतमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा इजलासले निवेदन माग बमोजिम फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र फिर्ता लिन अनुमति दिने आदेश गर्न सक्नेछ ।

(३) उपनियम (२) बमोजिम फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र फिर्ता दिने आदेश भएमा अदालतले सो मुद्दाको लगत कट्टा गर्नु पर्नेछ ।

(४) यस नियम बमोजिम कसैले फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र फिर्ता लिएकोमा सोही व्यक्तिले त्यस्तो फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्रमा विपक्ष बनाइएका व्यक्ति उपर सोही विषयमा उजूर गर्न सक्ने छैन ।