परिच्छेद –७ मुद्दाको फैसला  र पुनरावेदन सम्बन्धी व्यवस्था

परिच्छेद –७ मुद्दाको फैसला  र पुनरावेदन सम्बन्धी व्यवस्था

६६.  मिलापत्र गर्दाको कार्यविधिः (१) ऐनको दफा ११८ को उपदफा (३) बमोजिम पक्षहरूले राजिखुशीले मिलापत्र गर्न चाही मिलापत्र गराउँदा तीन प्रति लिखत तयार गरी दुवै पक्षहरूको सहीछाप गराई न्यायाधीशले प्रमाणीकरण गरी एक प्रति सम्बन्धित मिसिलमा राखी बादी र प्रतिबादीलाई एक एक प्रति बुझाई भरपाई मिसिल सामेल राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम भएको मिलापत्रको कार्यान्वयन अन्य कार्यालयबाट हुने भएमा अदालतले मिलापत्र भएको तीन दिनभित्र सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।

६७.  मुद्दाको फैसलाः (१) मुद्दाको फैसला गर्दा अभियुक्तले कसूर गरे नगरेको ठहर गरी कसूर गरेको ठहर भएमा निजलाई हुने सजाय समेत राय किताबमा खुलाउनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम सजाय निर्धारणको लागि छुट्टै सुनुवाई गर्नु पर्ने भएमा सो प्रयोजनको लागि तीस दिनभित्र पर्ने गरी अर्को तारिख तोक्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिम कसूरदार ठहरी सजाय निर्धारणको लागि छुट्टै सुनुवाई गर्नु पर्ने  अवस्थामा निर्णयको बेहोरा राय किताबमा लेखी सोको छोटकरी विवरण अनुसूची -२२ बमोजिमको ढाँचामा तयार गरी मिसिल सामेल राख्‍नु पर्नेछ।

(४) उपनियम (३) बमोजिम तयार गरिएको विवरण सरकारी वकिल कार्यालयलाई र अभियुक्त थुनामा रहेको भए निजलाई समेत उपलब्ध गराउनु पर्नेछ।

(५) सजाय निर्धारण गर्दा कसूरदारलाई निर्धारण भएको सजाय उल्लेख गरी छुट्टै राय किताबमा निर्णय लेख्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिमको राय किताबमा मुद्दा नम्बर, मुद्दाको नाम, पक्ष बिपक्षको नाम, कसूर ठहर भएको निर्णय मिति र निर्णय नम्बर, कसूर ठहर गर्ने न्यायाधीशको नाम र इजलास नम्बर समेत उल्लेख गर्नु पर्नेछ ।

(७) मुद्दा फैसला भएपछि मुद्दाको लगत कट्टा गर्नु पर्नेछ ।

तर सजाय निर्धारणको लागि छुट्टै सुनुवाई हुने निर्णय भएको मुद्दाको लगत सजाय निर्धारणको निर्णयपछि मात्र कट्टा गर्नु पर्नेछ ।

(८) मुद्दाको पुर्पक्षका क्रममा धरौट वा जमानत वा तारिखमा रहेको अभियुक्तलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसूरमा कसूरदार ठहर भई निजको हकमा सजाय निर्धारण गर्न छुट्टै सुनुवाई हुने भएमा त्यस्तो सुनुवाई नहुँदासम्म निजलाई थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्नु पर्नेछ ।

६८.  बुझ्नु पर्ने कुरा बाँकी राखी फैसला गर्न नहुनेः ऐन बमोजिम मुलतवी रहको अवस्थाको मुद्दामा बाहेक अन्य मुद्दामा फैसला गर्दा एउटै मिसिलबाट गर्नु पर्ने काम मध्ये केही बाँकी राखी पछि बुझी छिन्ने भनी फैसला गर्न हुँदैन ।

६९.  फैसला वा आदेशको सामान्य त्रुटि सच्याउने: (१) मुद्दाका पक्ष वा निजको वारिसले फैसला वा आदेशमा रहेको लेखाई सम्बन्धी सामान्य त्रुटि सच्याउन अदालत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फैसला वा आदेशमा त्रुटि भएको कुरा अदालत स्वयंको जानकारीमा आएमा सम्बन्धित कर्मचारीले सोही बेहोराको प्रतिवेदन दिन सक्नेछ।

(३) उपनियम (१) वा (२) बमोजिम निवेदन वा प्रतिवेदन प्राप्त हुन आएमा सो निवेदन वा प्रतिवेदन र सम्बन्धित मिसिल फैसला वा आदेश गर्ने न्यायाधीश समक्ष पेश गर्नु पर्नेछ ।

तर फैसला वा आदेश गर्ने न्यायाधीश सात दिन भन्दा बढी अनुपस्थित रहने अवस्था भएमा कार्यरत अन्य न्यायाधीश समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम पेश भएको निवेदन वा प्रतिवेदन र मिसिल अध्ययन गर्दा त्रुटि सच्याउनु पर्ने देखेमा इजलासले फैसला वा आदेश संशोधन गर्ने गरी छुट्टै आदेश दिन सक्नेछ ।

(५) उपनियम (४) बमोजिम गरिएको आदेश मूल फैसला वा आदेशको अभिन्न अङ्ग मानिनेछ ।

(६) उपनियम (५) बमोजिम गरिएको आदेशको बेहोरा मुद्दाका अन्य पक्षलाई पनि जानकारी गराउन आवश्यक देखिएमा अदालतले सूचना दिन सक्नेछ ।

७०.  फैसलामा हेरफेर वा थपघट गर्न नहुनेः  फैसलामा दस्तखत भईसकेपछि कसैले पनि सो फैसलामा हेरफेर वा थपघट गर्न हुँदैन ।

७१.  पुनरावेदनपत्रमा उल्लेख गर्नु पर्ने विवरणः कानूनमा अन्यत्र उल्लिखित  विषयका  अतिरिक्त पुनरावेदनपत्रमा देहाय बमोजिमको विवरण उल्लेख गर्नु पर्नेछः-

(क)   फैसला वा अन्तिम आदेश गर्ने अदालतको नाम,

(ख)   पुनरावेदक वादी वा प्रतिवादी भएको बेहोरा,

(ग)   मुद्दाको नाम,

(घ)   फैसला वा अन्तिम आदेश भएको मिति, थाहा पाएको मिति र पुनरावेदनको म्याद सम्बन्धी विषय,

(ङ)   मुद्दामा भएको सजाय र कायम भएको बिगो,

(च)   फैसला वा अन्तिम आदेशमा चित्त नबुझेको विषय, त्यसको आधार र कारण,

(छ)   पुनरावेदन जिकिर र सोको कानूनी आधार,

(ज)   अन्य पक्ष वा प्रत्यर्थीको पुनरावेदन परे वा नपरेको जानकारी भए सो बेहोरा,

(झ)   पुनरावेदक कैद वा थुनामा परेको भए कहिलेदेखि कैद वा थुनामा परेको हो सो कुरा,

(ञ)   दण्ड, जरिबाना, बिगो बुझाएको भए कहिले, कहाँ बुझाएको हो त्यसको प्रमाण,

(ट)   पुनरावेदन दस्तुर बुझाएको प्रमाण,

(ठ)   पुनरावेदनको म्याद सम्बन्धी विषय,

(ड)   अधिकारक्षेत्र सम्बन्धी विषय ।

७२.  पुनरावेदनपत्र दर्ता गर्नु पर्नेः (१) अदालतमा दर्ताको लागि पेश गरेको पुनरावेदनपत्र देहाय बमोजिमको भए नभएको हेरी रीत पुगेको देखिए दर्ता गर्नु पर्नेछः-

(क)   रीत र ढाँचा मिलेको,

(ख)   पुनरावेदन गर्ने म्यादभित्रको भएको,

(ग)   उल्लेख गर्नु पर्ने आवश्यक विवरण उल्लेख गरेको,

(घ)   तल्लो तहको अदालतबाट सो मुद्दामा भएको फैसला वा अन्तिम आदेशको स्पष्ट बुझिने प्रमाणित प्रतिलिपि संलग्न गरेको,

(ङ)   पुनरावेदनपत्रको स्पष्ट बुझिने प्रतिलिपि संलग्न गरेको,

(च)   लागेको दण्ड जरिबाना र पुनरावेदन दस्तुर दाखिल गरेको ।

तर खण्ड (ख) बमोजिमको विषय शुरु मिसिल हेरेपछि मात्र यकिन हुनसक्ने रहेछ भने त्यस्तो मुद्दाको शुरु मिसिल झिकाइ हेरी दर्ता गर्न सकिनेछ ।

(२) उपनियम (१) बमोजिमको रीत नपुगेको पुनरावेदनपत्र दर्ता गर्न हुँदैन । त्यस्तो रीत नपुगेको देखिएमा बाटाको म्यादबाहेक सात दिनभित्र सो रीत पुर्‍याउने शर्तमा धरौटीमा दर्ता गर्न सकिनेछ ।

(३) उपनियम (२) बमोजिम धरौटीमा रहेको पुनरावेदकले पुनरावेदनपत्र दर्ता नहुँदै तारिख गुजारेमा थाम्ने अवधि भुक्तान भएपछि त्यस्तो पुनरावेदनपत्र तामेलीमा राखिनेछ ।

७३.  रीत नपुगेको पुनरावेदनपत्र फिर्ता पठाउनेः (१) ऐनको दफा १३५ बमोजिम कारागार मार्फत पुनरावेदन सुन्‍ने अदालतमा प्राप्त भएको पुनरावेदनपत्र जाँच गर्दा रीत नपुगेको देखिएमा सो बेहोरा जनाई यथासक्य चाँडो रीत पुर्‍याई पठाउनको लागि प्राप्त पुनरावेदनपत्र सम्बन्धित कारागारमा तीन दिनभित्र फिर्ता पठाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम फिर्ता पठाइएको पुनरावेदनपत्र रीत पुर्‍याई पुनः पुनरावेदन सुन्ने अदालतमा पठाएमा म्याद भित्रै पठाएको मानिनेछ ।

७४.  प्रमाण मिसिल र निस्सा पठाउनु पर्नेः (१) पुनरावेदन सुन्ने अदालतमा ऐनको दफा १३५ को उपदफा (३) र दफा १३८ बमोजिम मिसिल पठाउँदा पक्षलाई फैसलाको सूचना दिनु पर्ने भए ऐनको दफा १३२ बमोजिम फैसलाको सूचना दिएको निस्सा र सो फैसला भएको सूचना पत्रिकामा प्रकाशन गरेको भए सो सूचना समेत मिसिल संलग्न गरी पठाउनु पर्नेछ।

(२) पुनरावेदन सुन्ने अदालतमा मिसिल पठाउँदा सो मुद्दासाथ प्रमाण मिसिल संलग्न रहेको भए सो प्रमाण मिसिल समेत साथै पठाउनु पर्नेछ ।

७५.  पुनरावेदक वा प्रत्यर्थीलाई सूचना दिनेः (१) ऐनको दफा १४० को  उपदफा (३) बमोजिम पुनरावेदन जिकिरको खण्डन गर्नको लागि प्रत्यर्थीलाई सूचना दिने आदेश भएमा बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र उपस्थित हुन आउनु भनी आदेशको प्रतिलिपि समेत साथै राखी अनुसूची -२३ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ ।

(२) ऐनको दफा १४२ को उपदफा (३) बमोजिम तारिखमा नबसेको पुनरावेदक वा प्रत्यर्थीलाई केहि कुरा बुझ्न वा प्रमाण दाखिल गराउने प्रयोजनका लागि झिकाउनु परेमा बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र उपस्थित हुन आउनु भनी आदेशको प्रतिलिपि समेत साथै राखी अनुसूची -२४ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ ।

७६.  थुनामा रहेको व्यक्ति छुट्ने भएमा जानकारी दिनेः मुद्दाको कारबाहीको सिलसिलामा अदालतको आदेश वा फैसला अनुसार थुनामा रहेको व्यक्ति थुनाबाट छुट्ने भएमा निजलाई थुना मुक्त गर्न थुनामा राख्ने निकाय वा कारागारलाई तुरुन्त पत्र लेखी सोको जानकारी लगत रहेको अदालतमा समेत पठाउनु पर्नेछ ।

७७.  वादी तथा पीडितलाई जनाउ दिनुपर्ने: बिगो वा क्षतिपूर्ति भराउने दाबी भएको मुद्दामा फैसला तयार भएको मितिले तीन दिनभित्र बिगो वा क्षतिपूर्ति भरि पाउने वादी वा पीडित वा जाहेरवालालाई सो फैसलाको सूचना दिनु पर्नेछ।