परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

१३. उजूरी गर्न सकिनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर कसैले गरेको, गर्न लागेको वा गरिरहेको कुरा थाहा पाउने कुनै पनि व्यक्तिले विभाग समक्ष लिखित वा मौखिक रुपमा उजूरी, निवेदन, जानकारी वा सूचना दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उजूरी, निवेदन, जानकारी वा सूचना लिखित रुपमा प्राप्त भएमा विभागले त्यस्तो सूचना दर्ता गर्नु पर्नेछ र मौखिक रुपमा प्राप्त भएकोमा त्यस्तो उजूरी, सूचना वा जानकारीलाई लिखित रुप दिई दर्ता गर्नु पर्नेछ ।
तर आफ्नो नाम, ठेगाना गोप्य राख्ने गरी कसैले उजूरी दिएकोमा उजूरी दर्ता गर्दा उजूरीकर्ताको नाम ठेगानाको सट्टा विभागको प्रमुखले तोकिदिए बमोजिमको संकेत राखी त्यस्तो उजूरी दर्ता गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको, गर्न लागेको वा गरिरहेको कुरा विभाग वा विभागको कुनै कर्मचारीलाई कुनै व्यहोराले थाहा हुन आएमा त्यस्तो व्यहोरालाई उजूरीको रुपमा दर्ता गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम प्राप्त भएको उजुरीको औचित्यता हेरी उजुरी सनाखत गराउनु पर्ने देखिएमा सम्बन्धित उजुरीकर्तालाई झिकाई सनाखत गराउन सकिनेछ ।
(५) उपदफा (४) बमोजिम सनाखत गर्ने व्यक्तिले आफ्नो नाम, ठेगाना गोप्य राख्न चाहेमा निजको नाम, ठेगाना गोप्य राख्नु पर्नेछ ।
१४. प्रारम्भिक जाँचबुझ गर्नेः (१) दफा १३ बमोजिम उजूरी वा दफा १० बमोजिम वित्तीय जानकारी इकाईबाट विश्लेषणको निष्कर्ष सहितको जानकारी प्राप्त भएमा विभागको प्रमुखले त्यस्तो उजूरी वा सूचनाका सम्बन्धमा प्रारम्भिक जाँचबुझ गर्नु वा गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रारम्भिक जाँचबुझ गराउन विभागको प्रमुखले त्यस्तो उजूरी वा जानकारीको प्रकृति हेरी उपयुक्त समय दिई मातहतको कुनै अधिकृतलाई खटाउन सक्नेछ ।
(३) प्रारम्भिक जाँचबुझ गर्दा जाँचबुझ अधिकृतले यस ऐन अन्तर्गत अनुसन्धान अधिकृतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्नेछ ।
१५. अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्नेः(१) दफा १४ बमोजिम गरिएको प्रारम्भिक जाँचबुझबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर भएको वा हुन सक्ने मनासिब आधार भई अनुसन्धान कार्य अगाडि बढाउनु पर्ने देखेमा विभागको प्रमुख आफैंले अनुसन्धान गर्न वा आवश्यकता अनुसार विभागको कुनै अधिकृत कर्मचारी, अन्य सरकारी अधिकृत कर्मचारी वा सार्वजनिक संस्थाको कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अन्य सरकारी निकाय वा सार्वजनिक संस्थाको अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्नु वा तोक्नु अघि विभागको प्रमुखले सम्बन्धित निकाय वा संस्थाको प्रमुखसँग परामर्श गर्नु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको प्रमुखले कुनै कसूरको अनुसन्धान गर्न कुनै अनुसन्धान गर्ने निकाय उपयुक्त हुने देखेमा उक्त निकायसँग समन्वय गरी त्यस्तो निकायलाई नै अनुसन्धानको कार्य सुम्पन सक्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको प्रकृतिका आधारमा दुई वा दुई भन्दा बढी निकाय वा सार्वजनिक संस्था समेतको सहभागितामा कसूरको अनुसन्धान गर्नु पर्ने देखेमा विभागको प्रमुखले सम्बन्धित निकाय वा सार्वजनिक संस्थाको प्रमुखसँग परामर्श गरी संयुक्त अनुसन्धान टोली गठन गर्न  सक्नेछ ।
(५) उपदफा (३) बमोजिम अनुसन्धान गर्ने निकाय वा उपदफा (४) बमोजिम गठित संयुक्त अनुसन्धान टोलीले अनुुसन्धान गर्दा यस ऐन बमोजिम अनुसन्धान अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछ ।
(६) अनुसन्धान अधिकृतले अनुसन्धान सम्बन्धी काम प्रारम्भ गर्नु अगावै तोकिए बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(७) संयुक्त अनुसन्धान टोली सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम  हुनेछ ।
१६. अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकारः (१) विभागको प्रमुखको सामान्य निर्देशन र नियन्त्रणमा रही यस ऐनको प्रयोजनका लागि अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कुनै सरकारी निकाय, नियमनकारी निकाय, सूचक संस्था वा सम्बन्धित व्यक्तिसँग रहेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी पेश गर्न आदेश दिने,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित कुनै कागजात, लिखत, दशी, प्रमाण वा कसूरसँग सम्बन्धित साधन रहे भएको देखिएमा वा विश्वास गर्नु पर्ने मनासिब आधार भएमा तोकिए बमोजिमको सूचना दिई कुनै सरकारी निकाय, नियमनकारी निकाय, सूचक संस्था, व्यक्ति वा अन्य जुनसुकै स्थानको खानतलासी लिने तथा सम्बन्धित व्यक्ति वा पदाधिकारीलाई भरपाइ दिई त्यस्तो कागजात, लिखत, दशी, प्रमाण वा कसूरसँग सम्बन्धित साधन वा कसूरबाट प्राप्त सम्पत्ति बरामद गरी नियन्त्रणमा लिने,
(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्ति फरार हुने वा कुनै प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानको कारबाहीमा बाधा अवरोध गर्ने वा प्रतिकूल प्रभाव पार्न सक्ने मनासिब आधार भएमा निजलाई पक्राउ गरी प्रचलित कानून बमोजिम थुनामा राख्ने,
(घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा जानकारी भएको वा हुन सक्ने मनासिब आधार भएको व्यक्तिसँग जानकारी, बयान वा ततिम्बा बयान लिने,
(ङ) खण्ड (घ) बमोजिम जानकारी, बयान वा ततिम्बा बयान लिदा त्यस्तो व्यक्तिसँग थप जानकारी लिनु पर्ने देखिएमा खोजेका बखत हाजिर हुने गरी कागज गराई छाड्ने वा जमानत माग गर्ने र जमानत नदिएमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राख्ने,
(च) दफा १८ बमोजिम कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन रोक्का राख्न वा नियन्त्रणमा लिन त्यस्तो सम्पत्ति वा साधनको पूर्ण तथा प्रभावकारी पहिचान गर्ने, पत्ता लगाउने तथा मूल्याङ्कन गर्ने,
(छ) विदेशी वित्तीय जानकारी इकाईसँग कुनै सूचना हुन सक्ने लागेमा वित्तीय जानकारी इकाईमा लेखी पठाउने, र
(ज) तोकिएको अन्य कार्य गर्ने ।
(२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा दिएको आदेश पालना नगर्ने व्यक्तिलाई अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा विभागको प्रमुखले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न मद्दत गर्ने उद्देश्यले सम्पत्ति वा साधन रोक्का राख्न दफा १८ बमोजिम जारी गरेको आदेश पालना नगरेको देखिएमा त्यस्तो व्यक्ति विरुद्ध सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्न तथा मुद्दा चलाउन बाधा पर्ने छैन ।
१७. अनुसन्धानका लागि थुनामा राख्नेः (१) सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्तिलाई थुनामा राख्दा प्रचलित कानून बमोजिम थुनुवा पुर्जी दिनु पर्नेछ ।
(२) कुनै व्यक्तिलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको लागि थुनामा राख्दा बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई त्यस्तो अधिकारीको अनुमति लिई थुनामा राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमतिको लागि पेश गर्दा अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ वा थुनामा परेको व्यक्तिलाई लागेको अभियोग, त्यसको कारण तथा आधार, निजको बयान भएको भए बयानको व्यहोरा तथा निजलाई थुनामै राखी अनुसन्धान गर्नु पर्ने कारण स्पष्टरुपमा उल्लेख गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम थुनामै राखी अनुसन्धान गर्न माग गरिएकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजात हेरी अनुसन्धान सन्तोषजनक रुपमा भए वा नभएको विचार गरी अनुसन्धान सन्तोषजनक रुपमा भइरहेको देखिएमा एकैपटक वा पटक पटक गरी तीस दिनमा नबढ्ने गरी नब्बे दिनसम्म थुनामा राख्न अनुमति दिन सक्नेछ ।
(५) उपदफा (२) बमोजिम थुनामा राख्न अनुमति माग गरिएकोमा थुनामा रहेको व्यक्तिले थुनामा रहन नपर्ने कारण र आधार खुलाई मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(६) यस दफा बमोजिम अनुसन्धान अधिकृतले कसैलाई पक्राउ गर्नु पर्दा, थुनामा राख्नु पर्दा वा म्याद थप गर्न मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउदा सो गर्नु अगावै सोको जानकारी विभागको प्रमुखलाई दिनु पर्नेछ ।
तर कुनै व्यक्तिलाई तत्काल पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान अधिकृतले त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ गरी सोको जानकारी यथाशीघ्र विभागको प्रमुखलाई दिनु पर्नेछ ।
१८. रोक्का राख्ने वा नियन्त्रणमा लिनेः(१) अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा देहायको सम्पत्ति वा साधन र सोसँग सम्बन्धित भएको शंका गर्नु पर्ने मनासिब आधार भएको सम्पत्ति वा साधन जो सुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको हित रहे भएको भए तापनि रोक्का राख्न वा नियन्त्रणमा लिन  सक्नेछः–
(क) शुद्धीकरण गरिएको सम्पत्ति,
(ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,
(ग) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी  कसूरबाट प्राप्त सम्पत्ति,
(घ) आतड्ढवादी कृयाकलापमा वित्तीय लगानीको लागि वा आतड्ढकारी कार्य वा आतड्ढकारी व्यक्ति, आतड्ढकारी संगठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति वा कोष, वा
(ङ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसग सम्बन्धित साधन ।
(२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निःसर्ग गरेको वा अन्य कुनै कारणले रोक्का राख्न वा नियन्त्रणमा लिन नसकिने भएमा अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको शंका लागेको व्यक्तिको सोही मूल्य बराबर हुन सक्ने अन्य सम्पत्ति रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धमा अनुसन्धान अधिकृतले देहाय बमोजिम गर्न सक्नेछः–
(क) त्यस्तो सम्पत्ति वा साधन आफैले नियन्त्रणमा लिने वा सम्बन्धित सरकारी निकाय मार्फत नियन्त्रणमा लिन आदेश जारी गर्ने, वा
(ख) त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिलाई कुनै सूचना नदिई एकतर्फी रुपमा रोक्का राख्न आदेश जारी गरी सम्बन्धित निकायलाई लेखि पठाउने ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा उपस्थित हुन दिएको सूचना बमोजिमको म्यादभित्र वा दफा ४० बमोजिम तामेल भएको म्यादभित्र उपस्थित नहुने व्यक्तिको सम्पत्ति निज अनुसन्धान अधिकृत समक्ष उपस्थित नभएसम्मको लागि रोक्का राख्न आदेश दिन सक्नेछ ।
(५) उपदफा (३) को खण्ड (ख) वा उपदफा (४) बमोजिम कुनै सम्पत्ति वा साधन रोक्का राख्न लेखी पठाएकोमा त्यस्तो सम्पत्ति वा साधन जिम्मा लिने वा नियन्त्रणमा राख्ने व्यक्ति, निकाय वा संस्थाले सो सम्पत्ति वा साधन कसैले हस्तान्तरण गर्न, धितो वा बन्धक दिन, बिक्री वा वितरण गर्न वा अन्य कुनै कारोबार गर्न वा अन्य लाभ लिन नपाउने व्यवस्था गर्नु पर्नेछ ।
(६) अनुसन्धान अधिकृतले उपदफा (३) वा (४) बमोजिम सम्पत्ति वा साधन रोक्का राख्नु वा नियन्त्रणमा लिनु अगावै विभागको प्रमुखलाई जानकारी दिनु   पर्नेछ ।
तर अनुसन्धानको सिलसिलामा कुनै सम्पत्ति वा साधन तत्काल रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने भएमा त्यस्तो सम्पत्ति वा साधन तत्काल रोक्का राख्ने आदेश जारी गरी वा नियन्त्रणमा लिई यथाशीघ्र सोको जानकारी विभागको प्रमुखलाई दिनु पर्नेछ ।
(७) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राखेमा वा नियन्त्रणमा लिएमा अनुसन्धान अधिकृतले तीन दिनभित्र सोको लिखित जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(८) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राखेको वा नियन्त्रणमा लिएको विषयमा चित्त नबुझेमा सम्बन्धित व्यक्तिले दफा २२ को उपदफा (२) बमोजिम तोकिएको अदालत समक्ष रोक्का भएको सम्पत्ति वा साधन फुकुवा गर्न निवेदन गर्न सक्नेछ ।
(९) उपदफा (८) बमोजिम निवेदन परेमा र उपदफा (१) वा (४) बमोजिम नियन्त्रण वा रोक्का रहेको सम्पत्ति वा साधन निवेदकको सम्पत्ति भएको देखिएमा तथा देहायको अवस्था विद्यमान भएमा अदालतले रोक्का राखेको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन फुकुवा गरिदिन सक्नेछः–
(क) निवेदक सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,
(ख) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरबाट प्राप्त सम्पत्ति वा साधन भएको वा त्यस्तो शंका गर्नु पर्ने मनासिब आधार नभएमा, र
(ग) त्यस्तो सम्पत्ति वा साधन निवेदकले गरेको अन्य कुनै कसूरसँग सम्बन्धित भएको नदेखिएमा ।
(१०) कसैले दफा ३४ बमोजिम जफत हुन सक्ने सम्पत्ति वा साधनको जफतमा प्रतिकूल असर पर्ने गरी कुनै करारीय वा अन्य दायित्व सिर्जना गर्न खोजेको देखिएमा त्यस्तो कार्य रोक्न वा गरिसकेको भए त्यस्तो कार्य बदर गराउन अनुसन्धान अधिकृतलाई आवश्यक कारबाही चलाउने अधिकार हुनेछ ।
(११) अनुसन्धान अधिकृतले यस दफा बमोजिम सम्पत्ति वा साधन नियन्त्रणमा लिएमा वा रोक्का राखेमा सो गरेको मितिले सातदिन भित्र सो कुराको प्रतिवेदन मुद्दा हेर्ने अधिकारी समक्ष दिनु पर्नेछ ।
(१२) उपदफा (११) बमोजिम प्रतिवेदन प्राप्त भएमा मुद्दा हेर्ने अधिकारीले सो सम्बन्धमा आवश्यक र उपयुक्त आदेश दिन सक्नेछ ।
(१३) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१९. सम्बन्धित मुलुकलाई अनुरोध गर्नेः(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा दफा १८ बमोजिम रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने देखिएको कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन विदेशमा रहे भएको देखिएमा विभागले त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन सम्बन्धित मुलुकमा प्रचलित कानून बमोजिम तत्काल लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी पठाउँदा विभागले त्यस्तो व्यक्ति र निजको सम्पत्ति वा साधन रहे भएको स्थान वा बैंक वा वित्तीय संस्थाको जानकारी उपलब्ध भएमा सो समेत खुलाउनु पर्नेछ ।
१९क. कारोबारको नियमित अनुगमन गर्न सक्नेः (१) अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान भैरहेको कुनै व्यक्तिको कारोबारको नियमित रुपमा अनुगमन गरी प्रतिवेदन पेश गर्न सूचक संस्थालाई निरन्तर अनुगमन आदेश (कन्टिन्यू मोनिटरिङ अर्डर) दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश दिदा सामान्यतया तीन महिनाभन्दा बढी नहुने गरी दिनु पर्नेछ ।
(३) यस दफा बमोजिम आदेश भएमा सूचक संस्थाले सम्बन्धित व्यक्तिको कारोबारको नियमित रुपमा अनुगमन गरी त्यस्तो व्यक्तिको कारोबार सम्बन्धी प्रतिवेदन विभागले तोके बमोजिम पठाउनु पर्नेछ ।
१९ख. राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्नेः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुनै व्यक्तिको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी नगर्न वा जारी भइसकेको भए रोक्का राख्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्तिलाई जारी नभइसकेको भए निजको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी गर्न हुदैन र जारी भइसकेको भए त्यस्तो व्यक्तिको राहदानी वा ट्राभलर डकुमेण्ट रोक्का राख्नु पर्नेछ ।
१९ग. विशेष अनुसन्धान प्रविधि अवलम्बन गर्न सक्नेः (१) अनुसन्धान अधिकृतले विभागको प्रमुखको प्रत्यक्ष निगरानीमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न प्रत्यक्ष भुक्तानी प्रविधि (कन्ट्रोल डेलिभरी) तथा सुराकी परिचालन (अण्डरकभर अपरेशन) गर्न सक्नेछ ।
(२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा कसूरमा संलग्न रहेको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्तिलाई तत्काल पक्राउ गर्नु भन्दा पक्राउ नगर्दा कसूर तथा कसूरदारका सम्बन्धमा थप प्रमाण तथा सूचना हासिल हुन सक्ने देखिएमा र सो गर्दा कसूरमा संलग्न रहेको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्ति भागी जाने सम्भावना न्यून रहेको कुराको प्रतिवेदन अनुसन्धान अधिकृतबाट प्राप्त भई सो कुरामा विभागको प्रमुख सन्तुष्ट भएमा निजले त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ नगरी निजको गोप्य निगरानी मात्र गर्न सक्ने गरी आदेश दिन सक्नेछ ।
(३) यस दफा बमोजिम अवलम्वन गरिने विशेष अनुसन्धान प्रविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२०. सुरक्षित राख्नु पर्नेः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतले यस परिच्छेद बमोजिम नियन्त्रणमा लिएको सम्पत्ति, साधन तथा सोसँग सम्बन्धित लिखत विभागमा सुरक्षित राख्नु पर्नेछ ।
२१. सम्बन्धित निकायको सहयोग लिन सकिनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा विभागले आवश्यकता अनुसार कुनै निकाय वा सार्वजनिक संस्थाको सहयोग माग गर्न सक्नेछ र विभागले यसरी सहयोग मागेका बखत सहयोग गर्नु त्यस्तो निकाय वा संस्थाको कर्तव्य हुनेछ ।
(२) विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्ने सिलसिलामा नेपाल प्रहरीको समेत सहयोग माग्न सक्छ । विभागले यसरी सहयोग मागेमा सहयोग गर्नु सम्बन्धित प्रहरी अधिकृत वा कर्मचारीको कर्तव्य हुनेछ ।
(३) विभागले अनुसन्धान गर्न लागेको कसूरको प्रकृतिबाट कुनै निकायमा कार्यरत कुनै विशेषज्ञसँग परामर्श गर्नु पर्ने वा त्यस्तो विशेषज्ञलाई समेत अनुसन्धानमा संलग्न गराउनु पर्ने देखेमा निजलाई केही अवधिको लागि काजमा पठाइदिन सम्बन्धित निकायसँग अनुरोध गर्न सक्नेछ र यसरी अनुरोध भई आएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो निकायले विभागलाई सम्बन्धित विशेषज्ञ उपलब्ध गराई दिनु पर्नेछ ।
२२. मुद्दा दायर गर्नु पर्नेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा अनुसन्धान समाप्त भए पछि विभागको प्रमुखले आफ्नो राय सहित मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित सरकारी वकील समक्ष मिसिल एवं प्रमाण पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी पठाएकोमा मुद्दा चलाउने गरी सम्बन्धित सरकारी वकीलबाट निर्णय भई आएमा विभागले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालत समक्ष मुद्दा दायर गर्नेछ ।
२३. हदम्यादः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धी मुद्दा दायर गर्न हदम्याद लाग्ने छैन ।
२४. सरकारवादी हुनेः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धी मुद्दा नेपाल सरकारवादी हुनेछ ।
२५. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्नेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य प्रचलित अन्य कानून बमोजिम समेत दण्डनीय हुने रहेछ भने त्यस्तो कानून बमोजिम समेत मुद्दा दायर गर्न सकिनेछ ।
(२) प्रचलित कुनै कानून अन्तर्गतको कसूरमा संलग्न व्यक्तिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य गरेको देखिएमा त्यस्तो कसूर अनुसन्धान गर्ने निकाय वा अधिकारीले विभागलाई सोको जानकारी दिनु पर्नेछ ।
(३) अनुसन्धानको क्रममा सो कसूरका सम्बन्धमा प्रचलित कानून बमोजिम समेत मुद्दा चल्ने र सजाय हुने देखिएमा विभागले सोको जानकारी सो मुद्दाको प्रचलित कानून बमोजिम अनुसन्धान तहकिकात गर्ने अधिकारीलाई समेत दिनु पर्नेछ ।
२५क. लेखी पठाउनु पर्नेःसम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर बाहेकको अनुसूचीमा उल्लिखित सम्बद्ध कसूर वा प्रचलित कानून बमोजिमको अन्य कसूर सम्बन्धी सूचना वा उजूरी विभागमा प्राप्त भएमा वा परिच्छेद–२ बमोजिमको कसूरको अनुसन्धान गर्र्दै जाँदा अन्य कसूर भए गरेको देखिएमा विभागले सो सम्बन्धी सूचना, उजूरी तथा अनुसन्धानबाट प्राप्त निष्कर्ष र सङ्कलन गरिएका प्रमाण कागजात सहितको मिसिल आवश्यक कारबाहीको लागि प्रचलित कानून बमोजिमको अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई लेखी पठाउनु पर्नेछ ।
२६. गोप्यता भङ्ग गर्न नहुनेः अनुसन्धान अधिकृत वा अनुसन्धानको काममा संलग्न कर्मचारी वा व्यक्तिले यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा वा आफ्नो कर्तव्य पालन गर्दा निजलाई ज्ञात हुन आएको कुनै कुरा वा दाखिला भएको कुनै लिखतको गोप्यता प्रचलित कानूनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भङ्ग गर्नु हुँदैन ।
२७. स्वतः निलम्बन हुनेः प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।
२८. सम्पत्तिको स्रोत प्रमाणित गर्नु पर्नेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा मुद्दा चलाइएको व्यक्तिको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा निजको सम्पत्ति अस्वाभाविक देखिन आएमा वा निजले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियत भन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा निजले त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा प्रमाणित गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकेमा स्रोत प्रमाणित गर्न नसकेको जति त्यस्तो सम्पत्ति जफत हुनेछ ।
२९. मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्नेः प्रचलित कानून बमोजिम सम्बद्ध कसूरमा मुद्दा नचलेको वा चलेकोमा पनि नठहरेको कारणले मात्र कुनै सम्पत्ति कसूरबाट प्राप्त सम्पत्ति भएको देखिएमा सोको सम्बन्धमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा चलाउन र सजाय गर्न बाधा पर्ने छैन ।