परिच्छेद–७ दण्ड सजाय

परिच्छेद–७ दण्ड सजाय

३०. सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी गर्नेलाई सजायः(१) दफा ३ को उपदफा (१) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ ।
(२) दफा ३ को उपदफा (२) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर मध्ये षडयन्त्र गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम र अन्य कसूर गर्ने व्यक्तिलाई उपदफा (१) मा उल्लिखित सजायको आधा सजाय  हुनेछ ।
(३) दफा ४ को उपदफा (१) मा उल्लिखित आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई विगो खुलेकोमा विगोको पाँच गुणा र विगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसूरको गाम्भीर्य हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ ।
(४) दफा ४ को उपदफा (२), (३) वा (४) मा उल्लिखित आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ ।
(५) कानूनी व्यक्ति वा सोको प्रयोग गरी कुनै व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१), (२),  (३) वा (४) बमोजिम सजाय हुनेछ ।
(६) उपदफा (५) बमोजिमको व्यक्ति, पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेमा त्यस्तो कसूर हुँदाको बखत प्रमुख भई कामकाज गर्ने पदाधिकारीलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
(७) कुनै राष्ट्रसेवक वा सूचक संस्थाको पदाधिकारी वा कर्मचारीले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई उपदफा (१), (२), (३) वा (४) मा उल्लिखित सजायमा थप दश प्रतिशत सजाय हुनेछ ।
(८) कुनै कानूनी व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानूनी व्यक्तिलाई प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको गाम्भीर्यका आधारमा देहायका कुनै वा सबै सजाय हुनेछः–
(क) उपदफा (१), (२), (३) वा (४) बमोजिम हुन सक्ने जरिवानाको पाँच गुणासम्म जरिवाना गर्ने,
(ख) अवधी तोकी सार्वजनिक खरीदमा निषेध गर्ने,
(ग) अवधी तोकी उत्पादन वा सेवाको खरीद गर्न रोक लगाउने,
(घ) हानि नोक्सानीको क्षतिपूर्ति भराउने,
(ङ) इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्ने, वा
(च) त्यस्तो कानूनी व्यक्तिलाई खारेज गर्ने ।
(९) उपदफा (१) देखि (८) सम्म लेखिए बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा बिगो खुलेकोमा बिगो जफत गरी विगो बमोजिमको जरिबाना र विगो नखुलेकोमा दशलाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
३१. गोपनीयता भंग गर्नेलाई सजायः दफा १०ख. को उपदफा (२) बमोजिम गोपनीयता कायम नगर्ने वा दफा २६ विपरीत गोप्यता भंग गर्ने व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
३२. प्रमाण लुकाउने वा नष्ट गर्नेलाई हुने सजायः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने काम कारबाहीसँग सम्बन्धित प्रमाण लुकाउने वा नष्ट गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार एक महिना देखि तीन महिनासम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो कार्य गर्न सहयोग गर्नेलाई सो सजायको आधा सजाय हुनेछ ।
३३. बाधा विरोध गर्नेलाई सजायः अनुसन्धान सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ ।
३३क. हैरानी वा झण्झट दिनेलाई सजायः कसैले उजूरी दिनु पर्ने मनासिब कारण नभई कसैलाई कुनै किसिमको हानि नोक्सानी पुर्याउने वा दुःख, हैरानी वा झण्झट दिने नियतले झूट्टो उजूरी दिएको प्रमाणित भएमा अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दशहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
३४. सम्पत्ति वा साधन जफत हुनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर प्रमाणित भएमा कसूरसँग सम्बन्धित जो सुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको स्वार्थ रहे भएको  देहायको सम्पत्ति वा साधन जफत हुनेछः–
(क) शुद्धीकरण गरिएको सम्पत्ति,
(ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,
(ग) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त सम्पत्ति,
(घ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानीको लागि वा आतङ्ककारी कार्य वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी संगठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति, र
(ङ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको साधन ।
(२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निःसर्ग गरेको, निर्दोष व्यक्तिको सम्पत्ति वा साधन भएको वा अन्य कुनै कारणले जफत गर्न नसकिने भएमा कसूरदारको सो मूल्य बराबरको अन्य सम्पत्ति जफत  हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन जफत गर्दा कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको कानूनी अधिकारको समुचित रुपमा संरक्षण गर्नु पर्नेछ ।
(४) उपदफा (३) को प्रयोजनका लागि उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको सम्पत्ति वा साधन र सोबाट बढे बढाएको सम्पत्ति देहायको अवस्था विद्यमान भएमा अदालतले जफत गर्ने छैनः–
(क) त्यस्तो व्यक्ति सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,
(ख) त्यस्तो सम्पत्ति वा साधन कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन भएको नदेखिएमा,
(ग) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनुभन्दा अगावै प्राप्त गरेको र त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिले कसूरमा प्रयोग गर्न सक्छ भन्ने निजलाई थाहा नभएको देखिएमा ।