परिच्छेद–५ प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार

परिच्छेद–५ प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार

१०. प्राज्ञिक परिषद्को गठनः (१) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कार्यलाई व्यवस्थित गर्ने निकायको रूपमा काम गर्न एक प्राज्ञिक परिषद् रहनेछ ।

(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछः–

(क) उप–कुलपति – अध्यक्ष

(ख) रजिष्ट्रार – सदस्य

(ग) डीन – सदस्य

(घ) विश्वविद्यालयका विभिन्न विषय समितिका अध्यक्षहरूमध्येबाट तीनजना – सदस्य

(ङ) क्याम्पस प्रमुखहरूमध्येबाट एकजना – सदस्य

(च) शिक्षकहरूमध्येबाट एकजना – सदस्य

(छ) लब्धप्रतिष्ठित विद्वानहरूमध्येबाट दुईजना – सदस्य

(ज) डीनहरूमध्येबाट उप–कुलपतिले तोकेको डीन – सदस्य–सचिव

(३) उपदफा (२) बमोजिमका पदेन सदस्य बाहेक अन्य सदस्यको मनोनयन उप–कुलपतिबाट हुनेछ ।

(४) उपदफा (२) बमोजिमका मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।

(५) कुनै कारणले प्राज्ञिक परिषद्का मनोनीत सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।

(६) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्मको लागि बैठक सम्बन्धी कार्यविधि प्राज्ञिक परिषद् आफैले निर्धारण गर्न सक्नेछ ।

 

११. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकारः प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) विश्वविद्यालयको पाठ्यक्रम निर्धारण तथा स्वीकृत गर्ने,

(ख) विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने परीक्षाको किसिम तोक्ने,

(ग) विश्वविद्यालयको शैक्षिक गुणस्तर निर्धारण तथा कायम गर्ने,

(घ) अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने र अनुसन्धान कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने,

(ङ) विश्वविद्यालयमा अध्ययन, अध्यापन गरिने विषयहरूमा भर्ना हुन चाहिने योग्यता, विद्यार्थी भर्ना संख्या र भर्ना हुन चाहिने आधार तोक्ने,

(च) प्राज्ञिक विषयमा कार्यकारी परिषद्लाई राय सल्लाह दिने,

(छ) विश्वविद्यालयबाट दिइने मानार्थ उपाधिहरूको लागि सभामा सिफारिस गर्ने,

(ज) तोकिए बमोजिम अन्य कामहरू गर्ने ।