परिच्छेद–५ कम्पनीको खारेजी

परिच्छेद–५ कम्पनीको खारेजी

३७. कम्पनी खारेज हुने आदेश भएकोमा खारेज गर्नु पर्नेः (१) अदालतले यस ऐनबमोजिम कम्पनी खारेज गर्ने आदेश दिएकोमा त्यसरी आदेश दिँदाका बखत दामासाहीसम्बन्धी व्यवसाय गर्न पाउने व्यक्तिहरूमध्येबाट अदालतले एकजना लिक्विडेटर नियुक्त गर्ने आदेश दिनेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश भएपछि कम्पनी खारेज गर्ने काम कारबाही प्रारम्भ भएको मानिनेछ ।

३८. कम्पनी खारेजीको काम कारबाही प्रारम्भ भएमा हुने परिणाम : (१) कुनै कम्पनी खारेज
गर्ने काम कारबाही प्रारम्भ भएपछि त्यस्तो कम्पनीका सम्बन्धमा देहायका कुराहरूमा देहायबमोजिम हुनेछ :–
(क) कम्पनीका सञ्चालक तथा पदाधिकारी आफ्नो पदबाट मुक्त भएमा सो कम्पनीको व्यवस्थापनका सम्बन्धमा सो कम्पनीका सञ्चालक तथा पदाधिकारीले प्रयोग गर्ने सम्पूर्ण अधिकार लिक्विडेटरले प्रयोग गर्नुपर्ने,
(ख) सुरक्षित साहूको कब्जामा रहेको सम्पत्तिबाहेक कम्पनीका सम्पूर्ण जायजेथा, हिसाबकिताब र लेखा लिक्विडेटरले आफ्नो जिम्मा र नियन्त्रणमा लिनु पर्ने,
(ग) लिक्विडेटरले अन्यथा आदेश दिएकोमा बाहेक कम्पनीले नियुक्त गरेका कम्पनीका सम्पूर्ण कर्मचारीहरूको सेवा अन्त्य हुने ।
(२) देहायका कुरामा बाहेक दफा १९ बमोजिमको स्वतः स्थगनसम्बन्धी व्यवस्था खारेजीको काम कारबाही कायम रहेको अवधिभर लागू हुनेछ :-
(क) यस ऐनबमोजिम सुरक्षित साहूको चलन चलाउने अधिकारको कार्यान्वयन, वा
(ख) यस ऐनबमोजिम कम्पनीले पट्टामा लिएको सम्पत्ति पट्टा दिनेलाई फिर्ता लिने अधिकारको कार्यान्वयन ।

३९. कम्पनीको खारेजीलाई पुनर्संरचना कार्यक्रममा परिणत गर्न सकिने : (१) कम्पनीको व्यवसाय तथा जायजेथा, कम्पनीले उत्पादन गर्ने सेवा वा वस्तुको प्रकृति तथा त्यसको बजार सम्भाव्यताको अध्ययन तथा जाँचबुझ गर्दा कम्पनीको पुनर्संरचना कार्यक्रम साहूको सभाबाट पारित भई स्वीकृत हुन सक्ने लिक्विडेटरलाई लागेमा कारणसहित निश्चित समयावधिको लागि यस ऐनबमोजिम अदालतले जारी गरेको कम्पनी खारेजीसम्बन्धी आदेश मुलतबी राखी यस ऐनबमोजिम पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने आदेश माग गरी अदालतमा निजले निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएका निवेदनको व्यहोराबाट अदालत सन्तुष्ट भएमा कुनै खास समयको लागि पहिले जारी गरेको कम्पनी खारेजीको आदेश निलम्बन गरी पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्न आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएकोमा यस ऐनबमोजिम सो आदेश कार्यान्वयन गर्नु पर्नेछ।

४०. लिक्विडेटरको काम, कर्तव्य र अधिकार : (१) यस ऐनमा उल्लेख भएका अन्य व्यवस्थाहरूका अतिरिक्त लिक्विडेटरको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:–
(क) कम्पनीको तर्फबाट कुनै मुद्दा वा कुनै कानुनी कारबाही चलाउने वा त्यसको प्रतिरक्षा गर्ने,
(ख) आफ्नो कार्य सम्पादनमा सहयोग पु¥याउनका लागि कर्मचारी नियुक्त गर्ने,
(ग) कम्पनीको शेयरबापतको किस्ता चुक्ता नभएकोमा शेयरधनीहरूबाट त्यस्तो किस्ता चुक्ता गर्न माग गर्ने,
(घ) कम्पनीको तर्फबाट र कम्पनीको नाममा गर्नुपर्ने सम्पूर्ण काम र लिखत वा कागजात गर्ने वा गराउने र सो प्रयोजनका लागि कम्पनीको छाप प्रयोग गर्ने,
(ङ) कम्पनीको जायजेथा सुरक्षण राखी ऋण प्राप्त गर्ने,
(च) कुनै सम्पत्ति बेचबिखन गर्दा वा कुनै करार वा दायित्व अन्त्य गर्दा कम्पनीलाई फाइदा हुन्छ भन्ने लिक्विडेटरलाई लागेमा त्यस्तो सम्पत्ति बेचबिखन गर्ने वा त्यस्तो करार वा दायित्वको अन्त्य गर्ने,
(छ) कम्पनीको कुनै साहूसँग वा कम्पनीको साहू भएको दाबी गर्ने कुनै व्यक्तिसँग निजले लिएको दाबीको सम्बन्धमा मिलापत्र गर्ने,
(ज) कुनै व्यक्तिउपर कम्पनीले दाबी गर्न सक्ने ऋण, दायित्व वा अन्य कुनै दाबीका सम्बन्धमा त्यस्तो व्यक्तिसँग मिलापत्र गर्ने,
(झ) कम्पनीको जायजेथा बिक्री गर्ने तथा सोबापत प्राप्त रकम यस ऐनबमोजिम वितरण गर्ने, र
(ञ) कम्पनी खारेज गर्न आवश्यक अन्य सबै काम कारबाही गर्ने, गराउने ।
(२) उपदफा (१) मा लेखिएको अतिरिक्त देहायका काम गर्नु लिक्विडेटरको कर्तव्य हुनेछ :-
(क) कम्पनीको जायजेथा सङ्कलन गर्ने, सम्रक्षण गर्ने र बिक्री गर्ने,
(ख) कम्पनीको व्यवसाय र वित्तीय अवस्थाको जाँचबुझ गर्ने,
(ग) परिच्छेद–६ को अधीनमा रही साहूको ऋण दाबी स्वीकार गर्ने,
(घ) यस ऐनबमोजिम दायित्व भुक्तानीको लागि निर्धारण भएको प्राथमिकताक्रमको अधीनमा रही कम्पनीको जायजेथाको बिक्रीबाट प्राप्त रकम वितरण गर्ने,
(ङ) साहूहरूको सभा बोलाउने र सञ्चालन गर्ने,
(च) आफ्नो काम कारबाहीको प्रतिवेदन तयार गरी अदालत तथा कार्यालयमा प्रस्तुत गर्ने,
(छ) कम्पनीको दर्ता खारेजीलाई सहज तुल्याउने, र
(ज) कम्पनीको कुनै सञ्चालक वा कर्मचारी वा शेयरवाला वा कुनै व्यक्तिले कम्पनी वा त्यसका साहूहरूलाई जालसाजी, ठगी वा झुक्याउने कार्य गरे नगरेको बारेमा जाँचबुझ गर्ने र त्यस्ता व्यक्तिको विरुद्घमा आवश्यक कानुनी कारबाही चलाउने ।
(३) उपदफा (१) वा (२) मा लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त लिक्विडेटरले कम्पनीको कुनै सम्पत्ति कसैले प्रयोग गरेको भए सो फिर्ता लिने वा त्यस्तो सम्पत्ति वा बदर भएको कारोबारबाट रकम फिर्ता लिन कानुनी कारबाही चलाउनेजस्ता अन्य कामसमेत गर्न सक्नेछ ।
तर कम्पनीको जायजेथाबाट भुक्तानी नहुने खर्च गर्न पाउने छैन ।
(४) उपदफा (१), (२) वा (३) मा लेखिएको अधिकार प्रयोग गर्न वा कर्तव्य पालना गर्न लिक्विडेटरलाई आवश्यक खर्च वा पारिश्रमिकको भुक्तानी गर्न कम्पनीमा पर्याप्त रकम नभए तापनि निजले त्यस्तो अधिकारको प्रयोग र कर्तव्यको पालना गर्नु पर्नेछ ।
(५) लिक्विडेटरलाई यस परिच्छेदबमोजिम कुनै अधिकार प्रयोग गर्दा वा कर्तव्य पालना गर्दा बाधा अड्काउ परेमा सोको फुकुवाको लागि निजले अदालतमा निवेदन दिन सक्नेछ र त्यसरी निवेदन पर्न आएमा अदालतले मनासिब ठहर्याएमा बाधा अड्काउ फुकाई दिन सक्नेछ ।

४१. साहूले रकम दिन सक्ने : (१) खारेजीमा परेको कम्पनीले कुनै काम कारबाही गर्दा साहूहरूलाई हित हुने वा लाभ पुग्न सक्ने भएमा सो काम गर्न त्यस्तो कम्पनीको साहूले लिक्विडेटरलाई सापटीस्वरूप रकम दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लिएको रकम त्यस्तो काम कारबाहीबाट प्राप्त रकमबाट नै भुक्तानी गर्नु पर्नेछ ।
(३) कम्पनीले स्वीकार गरेको ऋणको दाबी रकमसमेत उपदफा (१) बमोजिम प्राप्त रकमबाट भुक्तानी गर्ने आदेशका लागि कुनै साहूले अदालतमा निवेदन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन परेकोमा उपदफा (१) बमोजिमको रकमबाट त्यस्तो ऋण भुक्तानी हुन अदालतले मनासिब ठानेमा सो प्रयोजनका लागि आदेश गर्न सक्नेछ ।

४२. लिक्विडेटरले प्रतिवेदन पेश गर्नु पर्ने : (१) लिक्विडेटरले आफुले नियुक्त भएको मितिले तीन महीनाभित्र कम्पनी खारेजीका सम्बन्धमा भएको काम कारबाहीको प्रगति प्रतिवेदन तयार गरी अदालत र कार्यालयमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछ :–
(क) कम्पनीको जारी पूँजी, शेयरधनीले लिन कबूल गरेको पूँजी तथा चुक्ता पूँजीको रकम,
(ख) कम्पनीको जायजेथा र दायित्वको अनुमानित रकम,
(ग) कम्पनीको आर्थिक असफलताको कारण सम्बन्धमा लिक्विडेटरको राय,
(घ) कम्पनीको प्रवद्र्धन, संस्थापना वा कम्पनी तथा यसका सञ्चालक र शेयरधनीहरूको काम कारबाहीका सम्बन्धमा थप जाँचबुझ गर्न आवश्यक भएको सम्बन्धमा लिक्विडेटरको राय,
(ङ) लिक्विडेटरले उचित ठहराएको अन्य आवश्यक कुरा ।

४३. साहूको सभा बोलाउनु पर्ने : (१) लिक्विडेटरले दफा ४२ बमोजिम आफ्नो प्रतिवेदन तयार
गर्नुअघि र त्यसपछि आवश्यकता अनुसार समय समयमा कम्पनीका साहूहरूको सभा बोलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम साहूको बैठक बोलाउँदा दफा २१ को उपदफा (२) र
(३) को रीत पुर्याई बोलाउनु पर्नेछ ।
(३) साहूको सभाको अध्यक्षता लिक्विडेटरले गर्नेछ ।
(४) साहूको सभासम्बन्धी अन्य कुराहरूका सम्बन्धमा दफा २४ का व्यवस्थाहरूआवश्यक हेरफेर सहित लागू हुनेछन् ।

४४. साहूहरूको समिति गठन हुन सक्ने : (१) दफा ४३ बमोजिम भएको साहूको सभाले कम्पनी खारेज गर्ने सम्बन्धमा लिक्विडेटरलाई सहयोग पुर्याउन बढीमा पाँचजनासम्मको साहूको समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिको कार्यक्षेत्र, बैठकसम्बन्धी कार्यविधि वा अन्य आवश्यक कुराहरू त्यस्तो समिति गठन गर्दाका बखत साहूको सभाले तोकेबमोजिम हुनेछ।

४५. ऋण दाबी पेश गर्न म्याद दिनु पर्ने : (१) लिक्विडेटरले खारेजीमा परेको कम्पनीका सबै
साहूहरूलाई तोकिएको ढाँचामा आफ्नो ऋण दाबी पेश गर्न पन्ध्र दिनको म्याद सूचना दिनु
पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको सूचना राष्ट्रिय स्तरको पत्रपत्रिकामा कम्तीमा दुईपटक प्रकाशन गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिमको म्यादभित्र दाबी पेश नगरेका साहूहरूको दाबीलाई लिक्विडेटरले स्वीकृत नगर्न सक्नेछ ।
तर सो म्यादभित्र दाबी पेश गर्न नसकेको मनासिब कारण सहित लिक्विडेटरसमक्ष निवेदन गरेमा निजले त्यस्तो निवेदनको व्यहोरा मनासिब भए त्यस्तो दाबी स्वीकार
गर्न सक्नेछ ।

४६. कम्पनी खारेजका सम्बन्धमा अदालतले आदेश  दिन सक्ने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खारेजीको प्रक्रियामा रहेको कुनै कम्पनीका सम्बन्धमा अदालतले कुनै पनि बखत देहायको आदेश जारी गर्न सक्नेछ :-
(क) कम्पनीको खारेजी मुलतबी गर्ने वा अन्त्य गर्ने,
(ख) कम्पनीको जायजेथा लिक्विडेटरलाई बुझाउन लगाउने,
(ग) किस्ता तलब माग गरिएको रकम भुक्तानी गर्ने,
(घ) कम्पनीको कुनै सम्पत्ति कसैले भोगचलन गरिरहेको शङ्का भएमा सो भोगचलन रोक्ने, वा
(ङ) लिक्विडेटरलाई आफ्नो काम र कर्तव्य पालना गर्दा वा अधिकार प्रयोग गर्दा बाधा
अवरोध पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने ।

४७. कम्पनीको दर्ता खारेज गर्ने : यस परिच्छेदबमोजिम कुनै कम्पनी खारेज गर्न नियुक्त भएको
लिक्विडेटरले कम्पनी खारेज गर्दा यस ऐन वा अन्य प्रचलित कानुनमा निर्धारण गरेको कार्यविधि अपनाई कम्पनीको दर्ता खारेज गर्नेछ ।