परिच्छेद–९ विविध

परिच्छेद–९ विविध

७२. कसूर र सजाय : (१) कसैले देहायको कुनै कार्य गरे गराएमा यस ऐनबमोजिम कसूर गरेको
मानिनेछ :–
(क) कम्पनीको सञ्चालक पदमा बहाल रहेका व्यक्तिले दफा १६ बमोजिम कम्पनीको वित्तीय स्थिति तथा कारोबारको सम्बन्धमा तोकिएको ढाँचामा अदालतमा प्रतिवेदन नदिएमा,
(ख) यस ऐनबमोजिम कार्यालयबाट इजाजतपत्र प्राप्त नगरी कसैले दामासाहीसम्बन्धी व्यवसाय सञ्चालन गरेमा,
(ग) कम्पनीको सञ्चालकले कम्पनी दामासाहीमा परेको वा पर्न लागेको कुरा जानीजानी लुकाएमा,

(घ) दामासाहीसम्बन्धी व्यवसायीले यस ऐनबमोजिम गर्नु पर्ने कार्य असल नियतकासाथ सम्पन्न नगरेमा, वा
(ङ) कम्पनीको सञ्चालक वा कर्मचारी वा शेयरवाला वा कुनै व्यक्तिले कम्पनी वा त्यसका साहूहरूलाई जालसाजी, ठगी वा झुक्याउने कार्य गरेमा ।
(२) उपदफा (१) को खण्ड (क) बमोजिमको कसूर गर्ने सञ्चालकलाई अदालतले पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) उपदफा (१) को खण्ड (ख) बमोजिमको कसूर गर्ने व्यक्तिलाई अदालतले दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(४) उपदफा (१) को खण्ड (ग) बमोजिमको कसूर गर्ने सञ्चालकलाई दुई लाख रुपैयाँसम्म जरिबाना हुनेछ र त्यस्तो जरिबाना सञ्चालकले व्यक्तिगतरूपमा बुझाउनु पर्नेछ ।
(५) उपदफा (१) को खण्ड (घ) बमोजिम दामासाहीसम्बन्धी व्यवसायीले गर्नु पर्ने कार्य असल नियतका साथ सम्पन्न नगरी कम्पनी वा साहू वा सम्बन्धित पक्षलाई कुनै नोक्सानी पर्न गएमा त्यस्तो नोक्सानीबापतको क्षतिपूर्ति निजबाट भराई निजलाई पाँच लाख रुपैयाँसम्म जरिबाना हुन सक्नेछ ।
(६) उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूर गर्ने सञ्चालक, कर्मचारी, शेयरवाला वा कुनै व्यक्तिलाई अदालतले बिगो भराई एक बर्षदेखि दुई बर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

७३. मुद्दा दायर गर्न सकिने : दफा ७२ बमोजिमको कसूर गरेको देखिएमा सोको आधार सहित
लिक्विडेटर, कार्यालय वा सम्बन्धित पक्षले सम्बन्धित अदालतमा मुद्दा दायर गर्न सक्नेछ ।

७४. खर्च तथा क्षतिपूर्ति भराउन सक्ने : (१) यस ऐनबमोजिम शुरु गरिएको दामासाहीसम्बन्धी
काम कारबाहीका सम्बन्धमा अदालतले दिएको आदेश वा निर्णयउपर कुनै व्यक्तिको सम्बन्धित अदालतमा पुनरावेदन परी पुनरावेदन तहबाट समेत अदालतको आदेश वा निर्णय सदर भएमा यस्तो कारबाहीका सिलसिलामा अर्को पक्षले व्यहोर्नु परेको सम्पूर्ण खर्च पुनरावेदन गर्ने व्यक्तिबाट भराई लिन पाउनेछ ।
(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिम कारबाही चलाएको कारणबाट दामासाहीको काम कारबाही लम्बिन गई सम्बन्धित कम्पनी वा त्यसका साहू वा शेयरधनीहरूलाई कुनै हानि नोक्सानी पुग्न गएको देखिएमा अदालतले त्यस्तो व्यक्तिबाट वास्तविक हानि नोक्सानीको क्षतिपूर्तिसमेत भराइदिन सक्नेछ ।

७५. नियम बनाउन सक्ने : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।

७६. निर्देशिका बनाउन सक्ने : दामासाहीसम्बन्धी काम कारबाहीलाई सहज तुल्याउन कार्यालयले आवश्यक निर्देशिका बनाउन सक्नेछ ।

७७. दामासाही सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि त्यसको परिणाम : दामासाहीसम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा त्यस्तो निष्क्रियताले,
(क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन ।
(ख) सो अध्यादेशबमोजिम चालु भएको कुरा वा सोबमोजिम रीत पु¥याई अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,
(ग) सो अध्यादेशबमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,
(घ) सो अध्यादेशबमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन,
(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहेसरह त्यस्तो कुनै कानुनी कारवाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।